Skip to content

स्रष्टा संवार्ता स्रष्टा खगेन्द्र गिरी कोपिलासँग


१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?

धेरैधेरै असमानताहरू छन् । उहिले हामीसित साना सपना, साना विपना, साना योजना, साँगुरो परिवेश र आशा निराशाको परिधि पनि साँगुरै थियो । आजका बालबालिकाहरूको सपनाको संसार फराकिलो छ । विपनाको धरातल पनि रंगीन छ । उतिखेरको हाम्रो बाल्यकाल आध्यात्मिक र प्राकृतिक परिवेशले ओतप्रोत थियो, प्रेमिल थियो, सामाजिक थियो । आजका बालबालिकाहरू प्रतिष्पर्धाको भुङ्रोमा जल्दै जीवनको गोरेटो पहिल्याउन अभिशप्त छन् । आजका बालबालिकाहरूलाई भौतिकवादी परिवेशले थिचेको छ । हामीले घर र समाजमैं आफूलाई समाहित गरेका थियौं आजका बालबालिकाहरूलाई देशको सीमाभन्दा पनि अझ पर पुगेर विश्व परिवेशमा आफ्नो अस्तित्व खोज्नु पर्ने चुनौति छ । हामी त्यो बेला हाम्रो कल्पनाको उडानलाई आफ्नै घरआँगनबाट उडाउँथ्यौँ र त्यही आँगनमैं अवतरण गराउँथ्यौँ । आजका बालबालिकाहरूको कल्पना र परिकल्पनाको उडान ब्रह्माण्डलाई पनि छिचोलेर पर पुगिसक्यो ।

२) यहाँनेर आइपुग्न के कति मेहनत गर्नुभयो त यहाँले ?

कहिलेकाहीँ आजको ठाउँसम्म मलाई समयले ल्याई पुर्याएको हो जस्तो लाग्छ । कहिलेकाँही लाग्छ म त पात्र मात्र हुँ जे भयो र म जहाँ पुगेको छु यो सब नियतिकै खेल हो तर कहिलेकाहीँ लाग्छ हामी कहीँ पुग्नु या नपुग्नुमा आफ्नो मेहनतको पनि केही न केही हात हुन्छ नै । सायद् मैले पनि मेहनत गर्ने कला जानेको भए आज आइपुगेको ठाउँभन्दा अलि पर पुगिसकेको पनि हुने थिएँ होला । राम्ररी मेहनत गर्न नसके पनि मानिसले बाँच्ने अभ्यास त गर्नै पर्दोरहेछ । म पनि अभ्यासरत छु ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?

आम्मै जीवनलाई बुझिसकेपछि त बाँकी के नै रह्यो र हजुर ! जीवनलाई बुझ्नु त कता हो कता म त जीवनलाई बुझ्ने साधन, शिल्प र शैलीको खोजी गर्ने चरणमैं छु । अझैसम्म ।

४) के रहेछ त बास्तवमा जिन्दगी भनेको ?

‘जिन्दगी भन्नु त यौटा भौतिक प्रक्रिया रहेछ
यो त नियमित क्रियाको मात्र प्रतिक्रिया रहेछ ।
बनाउने त बनाएको हो यसलाई निकै सरल
तर जिन्दगीलाई जटिल बनाउने त यही दुनियाँ रहेछ ’

५) यहाँका प्रकाशित कृतिहरू कति छन् ? तपाईं अझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?

मेरा आजसम्म गजल विधामा तीन, मुक्तक विधामा दुई र नियात्रा विधामा एक गरी छ ओटा कृति प्रकाशित भैसकेका छन् । समीक्षा र सस्मरणका तीनओटा कृतिका पाण्डुलिपि तयार छन् । हेरौं नियतिले कहिलेसम्म आशाको गोलचक्करमा घुमाइरहन्छ ।

६) तपाईंलाई आफ्ना मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?

खुट्टामा बिझेको काँडा झिके पछिको आनन्दजस्तो भनौं या शरीरको कुनै अङ्गमा बिझाइरहने खिल झिके पछिको सन्तुष्टी भनौं । यस्तैयस्तै अमूर्त आनन्दको अनुभूति हुन्छ । बास्तवमा आफ्ना कृति प्रकाशन पश्चातको अनुभूतिमा केही प्रतिशत आनन्द र केही प्रतिशत सन्तुष्टी मिसिएका हुन्छन् ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
आफ्नो जीवनबाट त म केही हदसम्म सन्तुष्ट नै छु । भौतिक रूपले अभावै अभावको बीचमा बाँच्नु परिरहेको भएपनि हाँस्दैखेल्दै जिन्दगी बिताउन पाइएको छ । जीवनमा कुनै खासै पीडा र कष्ट व्यहोर्न परेन, ठूला विपत्तिहरू झेल्नु परेन । अनि कहिल्यै पराधीन नभएको नेपालजस्तो स्वतन्त्र देशको नागरिक भएर जन्मिन पाइयो । यो पनि जीवनदेखि सन्तुष्ट हुने एउटा अमिट कारण हो नि ।

८) जे भए पनि या नभए पनि मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?

साहित्य भावना र हृदयको स्पन्दनसित सम्बन्धित विषय भएकोले यो भूगोलमा बाँधिन्न । नेपाली साहित्यमा मोफसल भन्ने शब्दले हीनताबोधको आभास गराउँछ । कमसेकम म यसबाट मुक्त छु । राम्रा कुरा जहाँका पनि राम्रै हुन्छन् नराम्रा कुरा जहाँका पनि नराम्रै हुन्छन् । चाहे राजधानी होस् चाहे मोफसल । भानुभक्त, लेखनाथ, माधव घिमिरे, भवानी भिक्षुदेखि सरुभक्त, मनु मञ्जिल, बूँद राना, व्याकुल माइँला, अमर न्यौपानेसम्मका स्रष्टाहरूको सफलता र श्रेष्ठताले मोफसलको हीनताबोधलाई गतिलो किसिमले जवाफ दिएकै छ । हामी मोफसलको हीनताबोध मात्र होइन सीमान्तीकृत, आञ्चलिक, डायस्पोराजस्ता सीमाको सञ्कुचनबाट मुक्त हुन सक्नुपर्छ ।
९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?

यो निरर्थक छ । किनकि यौन मानिसको नितान्त व्यक्तिगत र निजी विषय हो । यसको सम्बन्ध अन्तरमनसित हुने भएकोले यसको चर्चा परिचर्चाले यौनकै महत्वलाई घटाइरहे जस्तो लाग्छ । साहित्यमा यौनको उपस्थिति भए पनि त्यो शब्द र संकेत भित्र मिसिएको हुनुपर्छ । बास्तवमा यौन पुँजीवादको विकृति र बजारवादको विज्ञापन भएकोले साहित्यमा यौनको चर्चाले कुनै महत्वपूर्ण उपलब्धी दिन सकेजस्तो लाग्दैन । साहित्यको फाँट शालीन, सभ्य र शिष्ट हुन्छ । हाम्रो पूर्वीय साहित्यमा यौनको उपस्थिति भएपनि त्यो साङ्केतिक र विम्बात्मक हुनुपर्छ भन्ने मान्यता छ । पश्चिमी साहित्यको जस्तो छाडा र खुला होइन । साहित्यले त आफै यौनले दिने आनन्दभन्दा पनि कैंयौं गुणाबढी मानसिक, बौद्धिक र प्राज्ञिक आनन्दको अनुभूति गराउन सक्छ भने हामी यसैमा किन अल्मलिइरहने ?

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ? उल्लेख नै गर्नु पर्दाका अवस्थामा कस्तो अवस्था छ ?

२०४६ भन्दा अगाडि नेपाली साहित्यमा बजारवाद हावी थिएन । त्यतिखेरका स्रष्टाहरू सामाजिक र युगीन उत्तरदायित्व बहन गर्ने मानसिकताले साहित्यको सिर्जना गर्थे । त्यतिखेरका प्रायःजसो कृतिहरूमा गुणवत्ता र प्रभावकारिता हुन्थ्यो भने २०४६ सालपछि नेपाली समाजजस्तै नेपाली साहित्य पनि बजारवादले प्रभावित हुँदै छ । आज बिक्ने कुरा लेख्नुपर्छ भन्ने मानसिकताले आम स्रष्टालाई गाँजेको छ । अचेल लेखिने साहित्यमा प्रायः मरमसला र चटकमटक बढी हुन्छ । आजभोलि साहित्यमा मिडिया र राजनीतिको हस्तक्षेप छ । स्तरीयता र सिर्जनात्मक क्षमता भएका स्रष्टाहरू कताकता ओझेल परेजस्तो देखिन्छ । मिडियाको लागि मसला बन्न र दिन जानेका ‘कलाकार’ टाइपका लेखकहरूको साहित्यमा हालीमुहाली छ । आजभोलिका लेखक—साहित्यकारहरूसित समाजलाई दिशानिर्देश गर्ने क्षमता ह्रास भएर समाजकै लय र होहल्लामा मिसिएर कोकोहोलो मच्चाउने गरिरहेको देखिन्छ, तर आशा गरौं यही माहोलको बिचबाट एकाध जना प्रभावशाली र आफ्नो मूल्य र
मान्यतामा बाँच्ने स्रष्टाको उदय हुनेछ ।

११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ? नामै किटेर भन्नु पर्दा केके हुन् ?

पुरानो जमानाका साहित्यिक कृतिहरूमा मलाई मदनमणि दीक्षितको उपन्यास ‘माधवी’, लेखनाथ तथा माधव घिमिरेका हरेकजसो कविताकृति, देवकोटाको खण्डकाव्य ‘मुनामदन’, पारिजातको उपन्यास ‘शीरिषको फूल,’ राजेश्वर देवकोटाको उपन्यास ‘उत्सर्ग प्रेम’ आदि मन पर्छन् । यस्ता कृतिहरूको प्रभावकारिता हरेक युगमा जीवन्त रहने छ । वीसवर्ष यताका कृतिहरूको कुरा गर्दा देवीचन्द्र श्रेष्ठको नियात्रा ‘हुम्ला बोल्छ मानसरोवरमा’, नयनराज पाण्डेको उपन्यास ‘लु’, अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’, मनु मञ्जिलको कविताकृति ‘ल्याम्पपोष्टबाट खसेको जून’ डा.नीरज भट्टराईको गजलसङ्ग्रह ‘तलाश’ र पर्वत शर्माको मुक्तकसङ्ग्रह ‘मुर्दावाद’ जस्ता कृति मलाई हदै मन पर्छन् । म विशेषतः गजल र मुक्तक मन पराउने मान्छे भएकोले कवितात्मक ओज बोकेका गजल र मुक्तक सङ्ग्रहहरू मलाई बढी मन पर्छन् ।

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु पर्यो होला ?

साहित्यको सिर्जना भनेको बास्तवमा आत्मसन्तुष्टी कै विषय रहेछ । रहर र बानीको सङ्गम पनि हो एक किसिमले यो । लेख्न शुरु गरौं भनेर शुरु गर्न नसकिने, लेख्न छोडौं भनेर छोड्न नसकिने । यस्तैयस्तै भैरहन्छ सधैंभरि । लेख्नको लागि परिश्रम या कसरत नै गरिन्छ भनेर त नभनौं तर लेख्ने कामको निरन्तरताका लागि लगन, धैर्यता र निष्ठाको आवश्यकता भने पर्दोरहेछ । मेरो हकमा त योजनाबद्ध किसिमले लेखेका मेरा रचनाभन्दा पनि आकस्मिक किसिमले लेखिएका रचनाहरूबाट म बढी सन्तुष्ट छु ।

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ? किन साहित्यकारहरू यो वाद या विचारमा कित्ताकाट गरेर बाँडिएका होलान् ?

हुन त उत्तरआधुनिकता भन्ने शब्दमा म कुनै खराबी देख्दिन । त्यस्तै प्रगतिशील भन्ने शब्द पनि आफैँमा बडो मीठो छ । तर नेपालमा यी दुवै शब्दको आशय, अर्थ र प्रयोगका पछाडि बजारवाद र राजनीति नै जोडिएको छ । उत्तरआधुनिकताले नेपाली साहित्यमा पुँजीवाद र पश्चिमा भोगवादको वकालत गर्छ भने प्रगतिशीलताले कम्युनिष्ट विचारधाराको । यी विचारधाराले नै साहित्यमा वाद र गुटबन्दीलाई प्रश्रय दिइरहेका छन् । यी दुवै विचारहरू नेपाली माटो, नेपाली हृदय र नेपाली मौसममा फलेका फूलेका विचार होइनन् । केही सयम यी विचारका तर्क र बहसले नेपालका जिज्ञासु मनहरूलाई आकर्षित गरेको भएपनि नेपाली मन यी विचारमा लामो समयसम्म बाँधिएर रहलान् जस्तो मलाई लाग्दैन । किनकि उत्तरआधुनिकता र प्रगतिशीलता दुवै विचारहरू वैचारिक पराधीनताका पर्याय हुन् साम्राज्यवादका साहित्यिक संस्करण हुन् । हाम्रो आफ्नै वाङ्मयको सनातन परम्परा अत्यन्त सम्बृद्ध, उर्जाशील र व्यापक छँदैछ । हाम्रै वाङ्मयको फूलबारीभित्र हाम्रो मन जति रमाउँछ त्यति बाहिरबाट आयात गरिएका विचारमा रमाउन सक्तैन । साहित्यमा पनि हामीले हाम्रै आफ्नो पन र आफ्नै सौन्दर्यलाई जोगाउनु पर्छ । बाहिरबाट आएका लाली पाउडरहरू दलेर सुन्दर हुने रहर दीर्घजीवी हँुदैन ।

१४) यतिको उमेरको भैसक्नु भयो अबको समयको जीवनमा यहाँको के धोको रहेको छ त ?

बास्तवमा जिन्दगी भन्नु नै इच्छा, चाहना, रहर, अभिलाषा, परिकल्पनाकै संचयन हो जस्तो लाग्छ –मलाई । जीवनमा गरिने र हुने कुराको योजना बनाइँदैन । आफैँ हुँदै जान्छन् व्यहोरिदै गइन्छ । जीवनका घटनाक्रमहरूसित आफूलाई समायोजन गर्दागर्दै न दिन बितेको थाह हुन्छ न रात कटेको । म अब जीवनमा यसो गर्छु र उसो गर्छु भन्नु त केवल मीठो भ्रम मात्रै हो ।

‘मान्छेका निर्दोष अभिलाषाजस्तो जिन्दगी हुँदो रहेनछ
गजल र कविताको भाषाजस्तो जिन्दगी हुँदो रहेनछ
कर्मको प्रयोगशालामा पुगेपछि बल्ल थाह हुन्छ
जिन्दगीकै परिभाषाजस्तो जिन्दगी हुँदो रहेनछ’

१५) स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?

बास्तवमा म न सफल हुन सकेको छु न असल । मानिसलाई जीवनमा सफल बन्नका लागि व्यक्तिगत लगन, परिवेश, संघर्ष र परिश्रमका साथसाथ केही न केही मात्रामा भाग्यले पनि साथ दिएको हुनुपर्दोरहेछ । अनि असल बन्नका लागि त्याग, उदारता र हार्दिकता चाहिँदो रहेछ । कर्मको प्रयोगशालामा म अलिअलि सफल भएको जस्तो आफँैलाई कहलिेकाहीँ लागे पनि पूर्णताबाट निकै टाढा छु । जहाँसम्म असल बन्ने कुरा छ यो त सारै गाहारो विषय हो । परोपकारी साधु सन्न्यासी बन्नु जस्तै कष्टकर बाटो हो । यो बाटोमा हिँड्दै थरथर खुट्टा काँप्छन् ।

१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरूले लेखिरहेका साहित्यलाई तपाईंको विचारबाट कसरी मूल्याङ्कन गर्नु भएको छ ? विस्तृत रूपमा बताइदिनुहोस् न ?

जहाँको भूमि र जुन ठाउँमा बसेर लेखिएको भए पनि साहित्यमा माटोको सुगन्ध मिसिएको हुनुपर्छ । साहित्य मान्छेलाई बाटो देखाउने हुनुपर्छ । मनोरन्जनको लागि मात्रै होइन मानव सभ्यता निर्माणको लागि सहायकसिद्ध हुने हुनुपर्छ ।

१७) नेपालका साहित्यिक गुट उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ? कसरी ?

नेपालका साहित्यिक गुट उपगुटहरू रहरका गुट हुन् । स्वार्थ र संकीर्णताका गुट हुन् । साहित्यको सार्थक विकासमा यस्तो गुटवादले सार्थक मद्दत पुर्याउन सकेको छैन । हो, गफ, सुविधाको बाँडफाँड र चर्चा परिचर्चाको क्षेत्रमा यी गुटमा लाग्नेहरूलाई भने निकै फलिफाप भैरहेको छ ।

१८) कागजका खोस्टामा सिमित रहेका तथाकथित नेपाली साहित्यिक संस्थाहरू र पुरस्कार लेनदेनमा गनाएका त्यस्ता संस्थाहरूले एउटा ऊर्जाशील लेखकलाई साहित्य लेख्नका लागि के भरथेग गर्न सक्ने स्थिति छ, नेपालमा अहिले ?

छैन, यहाँले भन्नु भए जस्तै कागजका खोस्टामा सिमित रहेका तथाकथित नेपाली साहित्यिक संस्थाहरू र पुरस्कार लेनदेनमा गनाएका त्यस्ता संस्थाहरू चर्चामुखी लेखकहरू रमाउने स्थल बनेका छन् तर राम्रो लेखकलाई यस्ता कुरादेखि खासै सरोकार हुँदैन । वाल्मीकि, वेदव्यास र कालीदास अनि भानुभक्त र लेखनाथहरू पुरस्कार र चर्चाले प्रसिद्ध भएका हैनन् राम्रो लेखेर मात्रै प्रसिद्ध भएका हुन् । यो कुरा बुझेकाहरू गनाउने कुराबाट टाढै रहन्छन् । रहनुपर्छ ।

१९) प्रकाशन गृहहरूको अहिलेको नेपाली पुस्तक व्यवसायमा भएको आक्रामक उपस्थितिले साहित्य लेखनका लागि लेखकलाई र पठनका लागि पाठकलाई कस्तो दिशानिर्देश गर्दै कतातिर लैजाँदै छन् जस्तो लाग्छ तपाईंलाई ?

साहित्यलाई नगदसित जोडेर हेर्दा केही प्रकाशन गृहहरूको अहिलेको नेपाली पुस्तक व्यवसायमा भएको आक्रामक उपस्थितिले केही साहित्यकारहरूलाई आर्थिक रूपले सघाउ पुर्याएको देखिए पनि साहित्यकार र साहित्यिक कृति अमर हुने त पाठकको हृदयमैं हो । साहित्यिक प्रकाशनको व्यवसायीकरणले गुणात्मकता भन्दा बिकाऊ कुरा खोजिरहने हुँनाले राम्रो लेख्ने र बजारु चर्चालाई महत्व नदिने स्रष्टाहरूलाई यसले खासै असर गर्दैन । साहित्यलाई व्यवसाय भन्दा सामाजिक उत्तरदायित्व ठान्नेहरूलाई नगदले खासै प्रभावित पार्दैन ।

२०) नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?

विश्व साहित्य भनेको के हो? यसकै स्पष्ट चित्र र परिभाषा छैन । अनि विश्व साहित्यमा को कहाँनिर उभिएको छ भन्ने कुराको निर्धारण वा फैसला कसले गर्ने? यही कुराको निक्र्योल गर्न गाहारो भैरहेको बेलामा नेपाली साहित्यको अनुहार विश्व साहित्यको ऐनामा कसरी हेर्न सकिएला र? बास्तवमा यहाँ अङ्ग्रेजीमा लेखिएका वा अङ्ग्रेजीमा अनुवाद गरिएका कृतिको विक्री र मिडियामा भएको चर्चालाई नै विश्व साहित्य मान्ने गरिएको छ । यो पनि अङ्ग्रेजी भाषा जानेका, अङ्ग्रेजी सभ्यता तथा सँस्कारमा डुबेका र अङ्ग्रेजी मिसिएका हरेक कुरालाई आधुनिकता ठान्ने मानसिकता बोकेको यौटा वर्गमैं सीमित छ । नेपाली साहित्य नेपाली परिवेश, नेपाली मानसिकता र नेपाली हृदयमैं खोजिनु पर्छ । नेपाली साहित्य नेपालीभाषि पाठकको सङ्ख्याले होइन नेपालीमा साहित्य सिर्जना गर्ने स्रष्टाहरूको प्रतिभा तथा प्रखरताले मात्रै विश्वमा चिनिन सक्छ । कविशिरोमणि लेखनाथको ‘तरुणतपसी’, महाकवि देवकोटाको ‘मुनामदन’ र मदनमणि दिक्षितको ‘माधवी’ जस्ता कृतिसित दाँज्न मिल्ने संसारमा कुनै कृति छन् र ?

२१) नेपाली साहित्यलाई अनुवाद गर्न किन सरकारी र गैरसरकारी स्तरबाट उदासिनता देखाइएको होला त ?

हो, यो भने गर्नैपर्ने कुरा हो । नेपाली साहित्यका चर्चित कृतिहरूलाई विश्वका विभिन्न भाषामा अनुवाद गराउन सबै अग्रसर हुनुपर्छ सरकार, संगठन र व्यक्तिगत स्तरबाट पनि ।

२२) तपाईंको मृत्यु चिन्तन कस्तो खालको रहेको छ ?

म जन्मिनु र मर्नु मेरो हातमा वा मेरो रूचिमा नभएपछि यसबारे चिन्तन गर्नु पनि किन चाहियो र ? तर हाँसीहाँसी बाँचेजस्तै हाँसीहाँसी मर्न पाए पुग्यो । तबसम्म त ः

‘बोकेर आआफ्ना कथाहरू जिन्दगी त बिताउनै पर्छ
पोखेर पीडा पिर व्यथाहरू जिन्दगी त बिताउनै पर्छ
हामी बुद्ध बन्न खोजौं अथवा हुन खोर्जौ कुबेर
भोगेर दुनियाँका प्रथाहरू जिन्दगी त बिताउनै पर्छ’

२३) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
आजको पुस्तालाई कसैले सल्लाह दिएको मन पर्दैन । तैपनि कसैले झुक्केर आँखा लगाइहाल्छ कि भनेर यत्ति चाहीँ भन्न चाहन्छु । आफ्नो माटोको सुगन्ध, आफ्नो परिवेशको आनन्द र आफ्नोपनको सौहाद्र्रताबाट टाढा न बनौं । टाढाबाट हर्दा टल्किएको देखिने हरेक सेता वस्तुहरू चाँदी हुँदैनन् भन्ने कुरा नबिर्सौ । जे लेखे पनि नेपाली संवेदनालाई आत्मसात गरौं । यसभन्दा बढी के भनूँ ? यहाँ कसलाई कसको सल्लाह सुन्ने फुर्सद् छ र अचेल हैन ?

‘जिन्दगीमा के छ र यहाँ तिर्सना बाहेक
केही पनि जोगिन्न भोलि सिर्जना बाहेक
के चाहिन्छ र मान्छेलाई ? मान्छेबाट धेरै
मात्र अलिकति उधारो सम्झना बाहेक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *