Skip to content


एक हजार वर्ष पहिले दुई दार्शनिकहरू लेबनानको एक पर्वतमा भेट भएछन, अनि एक दार्शनिकले अर्कोलाई सोध्यो – “कहाँ जाँदै हुनुहुन्छ।”

अनि अर्को दार्शनिकले उत्तर दियो – “म यौवनको झरनाको खोजीमा हिँडीरहेछु जुन मलाइ थाहा छ यीनै पर्वत, पखेरोहरूमा कतै हुनु पर्छ। मैले पढेको छु कि त्यो झरना सूर्यको दिशातिर बगिरहेको हुनेछ। अनि तपाईँ के खोज्दै हुनुहुन्छ?”

पहिलो दार्शनिकले उत्तर दियो – “म मृत्युको रहस्यको खोजीमा हिँडीरहेछु।”

अनि ती दुवै दार्शनिकलाई लाग्यो कि अर्को चाहिँ ज्ञानमा त्यति पोख्त छैन, अनि उनीहरू एक अर्कासँग वाद-विवाद, घोच-पेच गर्न थाले र अर्कोलाई आध्यात्मिकतामा अन्धो भएको दोषारोपण गर्न थाले।

त्यति बेला जब ती दुवै दार्शनिकहरू एक-अर्कासँग चर्को रूपमा विवाद गर्दै थिए, एक अपरिचित, जसलाई मानिसहरू मूर्ख मान्ने गर्थे, नजिकै आयो र उनीहरूको चर्का-चर्की ध्यान दिएर सुन्न थाल्यो।

त्यसपछि ऊ ती दुवै दार्शनिकहरू भए छेउ आयो र भन्यो – “महाशय, मलाई यस्तो लाग्दैछ कि यहाँहरू दुवै दर्शनशास्त्रको एकै भागको बारेमा कुरा गरिरहनुभएको छ, तर फरक शब्दहरूमा त्यहि कुराहरू अर्कोलाई मनाउन खोज्दै हुनुहुन्छ। तपाईँहरू एकजना यौवनको झरना खोज्दै हुनुहुन्छ भने अर्को मृत्युको रहस्य जान्न चाहनुहुन्छ। तर दुवै एकै कुरा त हो, अनि ती दुवैको वासस्थान तपाईँहरूमै छ।”

अनि त्यो अपरिचित फर्कँदै भन्न थाल्यो – “अलविदा सन्तहरू।” अनि जब ऊ फर्कँदै थियो ऊ सन्तुष्ट मुद्रामा हाँस्दै थियो।

अनि ती दुई दार्शनिकहरूले एकअर्कालाई केहिबेर मौनतापुर्वक नियाले, अनि उनिहरू पनि हाँस्न थाले। अनि एउटाले अर्कोसँग भन्यो – “हिँडनुस, सँगै खोज्न जाउँ।”

२०७१ आषाढ २५
खलिल जिब्रानको लघुकथा The Quest को नेपाली अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *