Skip to content


दामनको हिमशिखर रेष्टुरेण्टमा रमझम शुरू भयो।

हामी नजिकैको एक टेबलमा वीर गोर्खालीको चिनो अङ्कित बोतल खुल्यो।

बोतल खुल्दै गयो। गिलास भरीँदै खाली हुँदै गए। बोतल भित्रको बिजुली झोलले पनि उनीहरूलाइ खोल्दै गयो, उनीहरू पनि खुल्दै गए।

रात छिप्पिँदै गयो। माहोल तातीँदै गयो। दामनको चिसोले अब के छुन्थ्यो र। सँगैको टेबुलबाट एकजना फुटबल झैँ गोलो उदर भएका महानुभावले मोबाइलको रिसीभर कानतिर पुऱ्याए।

“नानु, सुतिसकेकी?”

. . .

“अँ मोरी, म तिमीलाई कहाँ बिर्सन्थेँ र। हेर न आज अचानक साथीहरूसँग प्लान बन्यो क्या। नत्र त तिमी र म मात्र आउँथ्यौँ नि त।”

. . .

“तिम्रो त म छँदैछु नि। चिन्ता नलेउ न नानु।”

. . .

“उसको बारेमा कुरा गरेर बढी चिन्ता नलेऊ नानु। ऊ उतै डलर छापीरा’को छ नि त। उसलाई डलर छाप्दैमा फुर्सत भए पो तिम्रो चिन्ता गर्नु त। भो अब उसको कुरै नगर।”

. . .

“ल ठीकै छ नानु। अर्को पटक तिमी र म मात्र है त।”

. . .

“एउटा बहाना बनिहाल्छ नि। मैले त घरमा आज अफिसमै मिटिङ छ भनेर आको छु। उसलाई त केही थाहा छैन।”

. . .

“ल नानु, राम्रोसँग सुत है त। गुड नाइट। लभ यु”

. . .

“देख्यौ त यो त मेरो तीन नम्बर हो। चार नम्बरलाई फोन गरौँ?” फोन राखीवरी चुपचाप उसको वरपर झुम्मीइरहेका साथीहरूलाई ऊ भन्दै थियो। म खाना सकेर जुसको क्यान खाली गर्नतिर लागेँ। केही बेर उता कल्याङ-मल्याङ चलिरह्यो।

केही बेर पछि मोबाइलको घण्टी फेरी बज्यो। फोनको रिसीभर उसैगरी कानतिर राख्दै ऊ भन्न थाल्यो – “हैन मैले अघि नै भनेको होइन, आज अफिसमा मिटिङ छ भनेर। अनि फेरी के-को कचकच नि अहिले। खुरूक्क खाना खाएर सुत्।”

म भने ट्वाँ परेर छेपारो झैँ रङ्ग फेर्ने उसलाई हेर्दै सोच्न थालेँ के ऊ त्यहि व्यक्ति हो जो अघिसम्म मस्की-मस्की नानुलाई मक्खन लगाउँदै थियो।

२०७१ श्रावण ५ गते सोमबार

2 thoughts on “छेपारो (लघुकथा)”

  1. एकदेवजी छेपारो कथा सामयिक
    एकदेवजी छेपारो कथा सामयिक विषायवस्तुमा लेखियाे यो कुरा कथाबाटै देखियाे । सुनिन्छ छेपाराले रङ फेर्छ अरे । यसमा पनि जँड्याहा छेपाराले रङ फेरेकाे छ । समाजमा यस्ता छेपाराहरु माैकामाैकामा रङ फेरिरहन्छन् । कथाकाे लेखनमा निकै परिष्कार अाइरहेकाे छ । अझ बढी सुघर पारेर लेख्तै जानुहोस् । सफलताले तपाइँलाइ अाफै‌ वरण गर्नेछे ।
    अँ कुनै एक वाक्यमा छेराराकाे रङ बदल्ने सन्दर्भ प्रवेश गराएकाे भए शीर्षकको चरितार्थ्याइँ अझ राम्रो हुँदाे हाे ।

  2. धन्यवाद होम जी। यहाँ हरू कै
    धन्यवाद होम जी। यहाँ हरू कै हाैसला, प्रेरणा नै मेरो लागि उर्जा बन्ने छ। यहाँ ले दिनुभएको सुझाव मननीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *