Skip to content


एक साँझ,
जब गरें मैले तार घरमा
सुनियो दबेको स्वरमा
सञ्चै भएको खबर
सोधियो मेरो अवस्था र
कामना भयो सुखिरहने
तर त्यो आशिष दिने वृद्ध स्वर
काँपिरहेको थियो र
अड्किरहेका थिए हरेक शब्द
पुत्रको न्यास्रो मायामा
हो ती वृद्ध
मेरा मात्र हैन
तिम्रा पनि बा थिए ।।

मिर्मिरे बिहानी हुनै लाग्दा
सपनामा थिएँ म
आइन् एक वृद्धा म छेउ
र भनिन् मलाई
बाबु,
बगेको छ आमाको माया
हर दिन आँशु बनेर
लागेको छ चोट छातीमा
वियोगको प्रहारले
सबै ठिक हुन्थ्यो तिम्रो उपस्थितिमा
र रुँदै थिइन् हिक्क हिक्क
उपचार गर्ने छोरा तिमी
कहिले फर्कन्छौ आफ्नो घर भनेर
हो ती वृद्धा
मेरी मात्र हैन
तिम्री पनि आमा थिइन् ।।

दिउँसोपख
ढल्दै गएको घामसँगै
मनमनै म गम्दै थिएँ
आफ्नो ढल्दै गइरहेको जोश
मदै गइरहेको उत्साह
अनि मलाई नै पर्खिरहेको
त्यो मलिलो उर्वरभूमि
जहाँ म आफ्नो पसिनाले
सुन उब्जाउन सक्थें
हिरा हुर्काउन सक्थें
मणि फलाउन सक्थें
तर खै कुन बाध्यताले घचेट्यो मलाई
कुन परिवेशले बाध्य पार्यो
छाडेर मातृभूमि
हर क्षण हराउदै छु आफू भित्रै
हो साथी
यो मेरो मात्र हैन
तिम्रो पनि व्यथा हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *