Skip to content

सिन्दूर त्यो साटेर यात्रा गर्नु जिन्दगीको


आवर्तन र परावर्तन
भोगिएका पानाहरू
मेटिएका सपनाहरू
सुकेका आँशुहरू
गीतहरू विरहका
झुल्के घामका शीतहरू
आवर्तन अनि परावर्तन
सधैं त्यही छ
जिउनेहरूको पीडा त्यो
संसार छोड्नेहरूको इतिहास
कैद भएर इभ र आदिमका हामी
सूर्यको तातोसँग बाफ भएर
भौतारिएको वादल भएको वस्ती
बा आमा !
प्यारीलाई घर रुङ्गन लगाएर
सिश्नु खोलेलाई परिवर्तन गर्न
यो मरुभूमिमा
ढाड माथि सिश्नु रोपेर तातो घाममा
सम्झनाहरू सूर्यास्त पछिलाई पन्छाएर
पैसाको रूख गोड्दै यो तातोमा यो रापमा
साहुको ऋणको बोझ भित्र
जिन्दगी खोच्च्याइरहेछु
कोशिसहरू -उज्यालोमा उठ्ने
उठ्न सकिएन उज्यालोमा प्यारी
निस्ताएका आँखाहरु टोलाएका होलान

म आउने जमर्को गर्दैछु

आउन त म अब आउदै छु
अपाङ्ग भएको एउटा खुट्टा टेकेर पनि आउन सक्छु
हातका औलाहरू उतै छोडेर पनि आउन सक्छु
बैशहरू निखारेर यो समरमा
प्यारी तिमीलाई नपुङ्ग्सकता को उपहार
लिएर लट्ठी टेकेर धर्तीमा
खोच्च्याएर पनि आउन सक्छु
म आउदा बक्सा भएर पनि आउन सक्छु
न आतिनु आमा बालाई दुख लाग्ला
हाम्रो पालोमा त्यो गएछ भनेर

बाटो नछेक्नु तिमीले जोवनको

हिसाबको जोड घटाउ
शेष कहिले कहीं शुन्य पनि हुन्छ
संसार शुन्यबाटै हो शुरु हुने
शुरु गर्नु भावनाहरू बैशका
मेरो शुन्यतामा भित्तामा नपर्खिनु
त्यो रातो चुरा नफुटोस
त्यो रातो सारी नछुटोस
थाहानै नदिई सुटुक्क
सिन्दूर त्यो साटेर यात्रा गर्नु जिन्दगीको
आवर्तन त्यो जिन्दगीको
परावर्तन यो जिन्दगीको ।!
srdhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *