“धरहरा मैले बनाको हो,“ एउटा मान्छे फुटपाथको चिया पसलमा चिया पिउदै भन्दै थियो ।
मैले जिसक्याएँ, “हुन्छ तैले बनाको ? एकजना नेताको अवको राजनीति गर्ने एजेन्डा नै त्यै धरहरा मैले बनाको भन्ने छ। मैले बनाको भन्ने नामबाट गरिखान खोजिरहेका छन् । तेरो यो कुराले त त्यस्ता महान राजनेताको पेटमा लात्ती हानेको जस्तो भयो नि । तिमी जस्तो थोत्रोमोत्रो लुगा लगाकाले पनि धरहरा बनाउँ छ ?“
उसले जवाफ फर्कायो, “रड बङ्ग्याउने म, सिमेन्ट मुछ्ने म, ईटा बोक्ने म, गारो लाउने म, मेरो नाम खै ?“
मैले भनें, “कस्तो जिद्दी मान्छे रैछ । तँलाई थाहा छ ? यी शहरका पहरा जस्ता सबै घर मजदुरले बानाएका हुन् तर घर मालिक मैले बनाको भन्छ ।“
ऊ केही नबोली बस्यो ।
“के सोच्दैछौ ?” केही बेरको मौनता तोड्दै मैले सोधें ।
उसले उत्तर दियो, “सोच्दैछु ! मजदुरका पेटमा लात हान्नेहरूको समय कहिले सकिएला ।
हेम पोखरेल
