पूर्णिमा साहित्य प्रतिष्ठानले साधारणसभावाट नयाँ कार्यसमिति चयन गरेको छ । कोहलपुरमा शनिबार सम्पन्न साधारण सभाले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
अन्य कार्यक्रमभन्दा फरक ढंगबाट सम्पन्न गरिएको साधारण सभामा कोहलपुर क्षेत्रका जेष्ठ नागरिक तथा आदिवासी वयोवृद्ध ठाकुर थारुलाई प्रमुख अथिति बनाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । यस्ता साहित्यिक कार्यक्रममा गैर साहित्यिक व्यक्तित्वलाई प्रमुख अथिति बनाई साहित्यमा सबै वर्गलाई समेट्न जरुरी छ भन्ने सन्देश जनमानसमा पुर्याउने प्रयास गरेको प्रतिष्ठानले जनाएको छ ।
मध्यपश्चिमको साहित्यिक धरोहरको रुपमा हेरिएको प्रतिष्ठानले आयोजना गरेको साधारण सभामा शुभकामना मन्तव्यसँगै रचना वाचन पनि गरिएको प्रतिष्ठानका नवनिर्वाचित सचिव कपिल अञ्जानले जनाएका छन् । सचिव अञ्जानका अनुसार साधारण सभालाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कोहलपुरका समाजेसेवी एवम बुद्धिजीविहरू, हिक्मत ढकाल, भानुभक्त भट्टराई, कर्णबहादुर थापा, अमरराज खत्री, गीतकार सुशील पराजुली, टेलिकम कोहलपुरका प्रमुख तथा छन्द कवि जीतबहादुर त्यागी लगायतले शुभकामना मन्तव्यसँगै रचना वाचन पनि गरेका थिए ।
यस्तै साधारण सभाले महानन्द ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । चयन भएका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुष्कर रिजाल, प्रदिप भट्टराई, सचिवमा कपिल अञ्जान, सह-सचिवमा सन्तोषी विष्ट, कोषाध्यक्षमा बद्री ढकाल, सदस्यहरूमा विक्रम शिशिर, शान्ति अधिकारी, मणिप्रसाद गैरे, रामप्रसाद चापागाई, हेमप्रकाश मञ्जिल, तिलक वि.सी., केशवराज शाही रहेका छन् ।
सो कार्यक्रममा १३० जनाभन्दा बढीलाई आजीवन सदस्यताको प्रमाण-पत्र वितरण गरिएको थियो ।
निर्मल आचार्य
कोहलपुर, बाँके १७ श्रावण, २०७१

