वर्षात शुरु हुनुभन्दा अगावै आएको प्री–मन्सुनबाट पानी परेपछि पलाएका कलिला कलिला घाँस र बोटविरुवाका कलिला मुनाहरूले यथेष्ठरुपमा पेट भरिए पछि एउटी मृगिनी केही क्षण सुस्ताउँन एउटा झ्याम्म परेको रुख मुनी बसी । उसका वथानका अरु सखा–सखी मृग तथा मृगिनीहरू अँझसम्म पनि कलिला र स्वादिला नरम नरम घाँसबाट मुख हटाउँन नसकी चरिरहेका थिए । मृगिनी केहीबेरसम्म डम्म आँखा चिम्लिई र तनक्क खुट्टा तन्काएर पल्टिइरही । बेला बेलामा चलेको मन्द–मन्द गतिको चिसो वायूले उसमा असिम आनन्दको अनुभूति गराइरहेको थियो । भरखरैको एकसे–एक स्वादिला घाँसको भोजन र जंङ्गलको शितल वायू शरिरमा पर्दाका आनन्दमा ऊ त्यसै–त्यसै लठ्ठीइरहेकी थिई ।
आनन्दसँग सुस्ताइरहेकी मृगिनीका नाकमा एक झोक्का हावासँगै एउटा चर्को गन्ध पनि ठोक्कियो । अप्रत्यासित कडा गन्धलाई उसको छैटौ इन्द्रीयले तुरुन्तै विश्लेषण गरेर मृगिनीको चेतनालाई खवर पठायो “सावधान यतै कतै नजिकमा तेरो काल चितुवा उपस्थित छ ।”
मृत्यूभयले मृगिनीले अहिलेसम्म लिइरहेको आनन्द हावाको झोक्कामा परेको कुहिरो झैं छिन्न–भिन्न भएर एकै क्षणमा हरायो । अनि ऊ आफू सुस्ताइरहेको ठाउँबाट जुरुक्क उठी र उसलाई भय जगाउँने गन्धको जानकारी लिन थुतुनु तल–माथि, तल–माथि गर्दै गन्ध आएको दिशा समेत पहीचान गर्न खोजी । मुण्टो फर्काइ–फर्काइ आफू वर पर भएका स–साना झाडी नियाली तर उसले उसको जीवनको प्रमुख सत्रु मध्येको एउटा सत्रु चितुवालाई देख्न सकिन चितुवाले निकाल्न सक्ने सम्भावित सर्याक–सुरुक आवाज नै सुन्न सकि । मृत्यू भयले दिग्भ्रमित उसको मनस्थितिले ठिक पहचान गर्न छोडिसकेकाले गर्दा उसले चितुवा बसेको स्थान स्पष्ठ पत्ता लगाउँन नसकेपछि तनक्क आफ्नो गर्धन र जीउ तन्काई र आफ्नो बथानलाई आफूले भरखरै पाएको खतराको संकेत दिन कु–कु आवाज निकाली । साथीसङ्गीहरूलाई खवर गरिसकेर ऊ आफैं पनि विस्तार विस्तार बथानको विचतिर लम्किई । कुनै पनि बेला हुन सक्ने सम्भावित चितुवाको आक्रमणबाट सतर्क रहदै ।
भरखरै सिकार गरेर सिकारको रगतले मदमत्त भएर झाडीभित्र सुतिरहेको चितुवाको नाकमा मृगिनीको गन्ध र कानमा उसका नजिकैबाट सुकेको पात बज्दाको खस्र्याक्क गरेको आवाज एकै साथ पर्यो । पेट डम्म भएर अघाइरहेको हुनाले उसले फेरि सिकार गरिरहनु पर्ने जरुरत त थिएन तर पनि ज्यादै नजिकबाट आएको मृगिनीको गन्ध र सर्याक्क गरेको गरेको आवाजले उसमा कौतुहलता नजगाइ छोडेन । पेट अघाएकै भएता पनि उसले अल्छी मानि–मानी यसो पुलुक्क चाहिं हेरी हालौन भने झै गरेर आँखा उघारेर आवाज आएतिर हेर्यो । उसको छेवैबाट पोटिलो–पोटिला तथा पुष्ट र चिल्लो शरिर भएकी, एकदम स्वस्थ र बैशले उन्मत्त भएकी सुन्दर मृगिनी लसक्क लसक्क गरेर अघि बढिरहेकी थिई ।
उसको चित्ताकर्षक जीउडालले चितुवालाई मन्त्र मुग्ध नबनाई छोडेन । मृगिनीको रुप र यौवनले उसको सरिर त्यसै त्यसै हलुको र रोमान्चित भएर आयो । चितुवाले मृगिनीलाई देख्ता भरखरै सिकार गर्दाको थकान पनि भुसुक्कै विर्षियो । उसका नेत्र मृगिनीको रुप लावण्यको लोभले धपक्क बले । त्यसपछि त अल्छी गर्दै सुतिरहेको चितुवा आफ्नो शरिरमा भएको आलश्यलाई एकातिर पन्छाएर जुरुक्क उठ्यो र तनक्क जीउ तन्काएर बडो फूर्तीलो भएर मृगिनी समात्न दगुर्यो ।
आफ्नो पछाडितिरबाट कोही कुद्दै–कुद्दै आइरहेको आवज मृगिनीले तुरुन्तै सुनी हाली साथै चितुवाको कडा गन्ध पनि त्यतिकै चाडो व्हास्स उसका नाकमा आएर बज्रियो । उसले स–संकित भएर फरक्क मुण्टो फर्काई र पछिल्तिर हेरी नभन्दै एउटा अजङ्गको चितुवा उसको पछि लागिसकेको रहेछ । मृत्यूभयले एक पटक त उसको आङ जिरिङ्ग गर्यो तर पनि उसले चितुवा आफ्नो पछि लागिसकेको र ज्यादै नजिक समेत आइपुगिसकेको हुनाले मर्ने निश्चित भै हाल्यो तैपनि प्रयास गरी हेरौन तै बँचिहालिन्छ कि भनेर साहस जुटाइ र हिम्मत गरेर धाइफल तोडी हाली ।
दौडदा दौडदै पनि उसले आफ्ना सहजातहरूलाई खताराको संकेत दिन भने छोडिन । ज्यान जोगाउँन ऊ बुर्कुसी मार्दै भाग्दा पनि ।
तत्क्षणमै मृगका बथानको कोलाहलले जङ्गलनै गुञ्जायमान हुन पुग्यो । मृग मृगिनीहरू आ–आफ्नो ज्यान जोगाउँन धाइफल तोडेर जता जता भाग्न सजिलो जस्तो ठाउँ देखा पर्यो त्यतै–त्यतै दगुरे ।
मृगिनी ज्यान जोगाउँन दगुरिरही–दगुरिरही । तर चितुवाले मृगिनी उसको बथानको बिचैबाट भागेर निस्कँदा पनि अरु मृगमृगिनीहरूलाई छोडेर उसैलाईमात्र खेदिरह्यो । कुद्दा–कुद्दा उसको शक्तिे जवाफ दिन थालेकोले उसका पाउ झनझन सिथिल हुँदै गए । तैपनि उसको जीवन मरणको सावल भएकाले ऊ कुदिरही । तर ऊ जति बल झिकेर दगुरिरहे पनि चितुवा झनझन उसको नजिक नजिक हुँदै गयो ।
झ्याप्प गरेर पछाडिबाट परेको चितुवाको शक्तिसाली पञ्जाको प्रहारले मृगिनीको कुद्दा कुद्दा लखतरान परेको सरिर पुर्लुक्क घासेमैदानमा ढल्यो । उसले अब चाहिं मेरो मिति पुगेकै रहेछ भन्ने ठानेर दुवै आँखा चिम्म पारेर बन्द गरी र चितुवाको अर्को आक्रमणलाई पर्खिई । नभन्दै उत्नीखेरै चितुवाले उसलाई गम्लङ्ग पारेर आफ्नो टाङमुनी छोप्यो । डरले न चाहँदा न चाहँदै पनि उसका आँखा अलिकति खुलीहाले । उसले देखि चितुवाले कसैगरी पनि उसलाई भाग्न नपाउँने गरी छोपिसकेको रहेछ । अनि उसले सोची अब पक्कै पनि यसले आफ्ना तिखा दाह्रा मेरो गर्धनमा गाड्ने छ । फेरि पनि उसको जिउ मृत्यू भयले लगलगी काम्यो । मृत्यूको कल्पनाले उसले आँखा उघारेर हेरिरहन नसकेकाले फेरि डम्म आँखा चिम्लििएर मृत्यूको प्रतिक्षा गर्न थाली । उसले आँखा चिम्लिएको ज्यादै थोरै समय व्यतित हुँदा नहुँदै चितुवाको थुतुनो उसको कानै निर गर्धनमा जोतीन आइपुगेको अनुभव उसले गरी अनि उसले आफ्नो जीवनको अन्तिम प्रयास स्वरुप कुँ–कु गरेर आवाज निकाल्दै गुहार मागी । भयका कारणले गर्दा उसको गलाबाट राम्रोसँग आवाज पनि निस्किएन ।
चितुवाले उसको गर्धनमा दाह्रा गाड्नुको सट्टामा कानमा मुख जोतेर सुस्तरी भन्यो–“ए ! उठ् । मैले तँलाई खानकालागि खेदेको र समातेको हैन । म भरखरै शिकार खाएर तृप्त भएको छु ।”
अप्रत्यासित रुपले यसरी चितुवाले आफूलाई जीवनदान दिएकोमा छक्क परेर मृगिनी उठ्नुको सट्टामा त्यतिकै पल्टीइरही । एक त उसलाई चितुवाको कुरा विश्वास लागिरहेको थिएन र अर्को उसभित्र रहेको मृत्यूको भय हराइसकेको थिएन । यस्तो अपत्यारिलो घटनाले असमन्जमा परिरहेकी उसले यो घटना सपनामा भै रहेको हो कि विपनामा भनेर ठम्याउँन नसकेकीले ऊ जुरुक्क उठेर आँखा झिमझिम पारी र चितुवातिर हेरि । चितुवा मृगिनीतिरै हेरेर मुस्कुराइरहेको थियो । उसले अँझ सपना र विपना खुट्ट्याउँन तथा आफूलाई संन्तुष्ट गराउँनका लागि पछिल्ला खुट्टा फ्याट् फ्याट् पारेर भड्कारी । त्यसैबेला उसले झड्कारेको एउटा चाहिं खुट्टा नजिकैको ठुटामा बजारिदा भएको असैह्य पीडाले ऊ आफू सपनामा नभएर विपनामानै रहिछु भनेर थाहापाई ।
अब चाहिं साच्चै बाँचिएछ कि क्या हो भनेर मृगिनी अलिकति आशावादी हुन पुगी अनि उसले तनक्क पारेर आङ् तन्काई र चितुवालाई सोधी–“तिमीले मलाई भक्षण नगर्ने भए किन मलाई यसरी त्रासपूर्ण तरिकाले खेदेर समातेको त ?”
चितुवाले शान्त स्वरमा मृगिनीको मासु भक्षण गर्ने मनसायले नभएर उसको यौवनले चम्किइरहेको सरिरको लोभले उसलाई पछ्याएको बताउँदै उसको यौवनको भोग गरेर चितृुवाले आफ्नो मनको चञ्चलता शान्त गराउँन चाहेको र मृगिनीलाई उसको चाहना पुरा गरी दिन पनि आग्रह गर्यो । मृगिनीले चितुवाको आग्रह जात र प्रकृति विरुद्घ भएको हुँदा उसको चाहना आफूले पुरा गरिदिन नसक्ने बताई । मृगिनीको यस्तो कुरा सुनेर चितुवाले उसलाई अँझ सम्झाउँदै भन्यो–“स्त्री र पुरुषको समागम कसरी अप्राकृत हुन्छ ? प्रकृतिले यो र त्यो जातको शिर्जना गरेको नभएर स्त्री र पुरुषको मात्र शिर्जना गरेको हो त्यसैले तिमीले हाम्रो सम्बन्धलाई जातसँग जोड्नुको सट्टा प्रकृतिसँगमात्र जोडेर हेर त कतै पनि अमिल्दो देखिदैन खाली तिम्रो भ्रममात्र हो त्यसैले स्त्री र पुरुषको मेल न जात विरुद्घ हुन्छ न प्रकृति विरुद्घ ।”
चितुवाको यस्तो चिप्लाकुरालाई मृगिनीले मान्यता दिइन र पत्याइन पनि बरु उसले आफूले जाने–सुनेसम्मका उदाहरणहरू दिएर चितुवाको मागको प्रतिवाद गरिरही । कसै गरे पनि मृगिनी आफ्नो कुरामा सहमत नभएपछि चितुवाले केही नलागेर धम्किको भषा प्रयोग गरेर भन्यो–“यदि आज तिमीले मलाई सन्तुष्ट गरायौ भनें अब उप्रान्त म तिम्रो भक्षण गर्नेछैन र तिमीले मबाट अभयदान ( जीवनदान ) पाउने छ्यौ तर तिमीले हठ गरेर मेरो इच्छालाई पुरागर्ने स्वीकृति दिइनौ भने पनि म बल् प्रयोग गर्नुपरे प्रयोग गरेर वा जसरी भए पनि म तिम्रो भोगगरेर मेरो इच्छा पुरागरेरै छाड्नेछु । बरु तिमीलाई अशक्त घाइते नै किन बनाउँनु नपरोस् ।”
बलिष्ठ चितुवाको यस्तो कुरा सुनेर मृगिनी निकैबेरसम्म घोरीइरही जति सोचे पनि उसले ‘अगाढी भिर, पछाडि खाडी’भन्दा केही पनि देखिन । उसले आफ्नो जन्मको सार्थकताबारे पुनर्विचार गरी र बाँकी जिन्दगी सम्झिई । जति जिन्दगी सम्झदै गयो त्यति उसलाई जीवनको मोह बढ्दै गयो । अनि उसले जीवनको सार्थकताको मूल्याङ्कन गर्दै सोची “आखिर यो जिन्दगीनै नरहने हो भनें के जन्म, के यौवन, के यो संसारको भोग, के इज्जत, के बेइज्जत । कमसेकम जिन्दगी बाँकीरहे त हो नि सबै भोग गर्न पाइने । आखिर यस्तो चाहना तृप्तीको लागि स्त्री र पुरुषनै हुनु पर्ने रहेछ भने यो पनि त पुरुषनै हो ।” उसले मृत्यूबाट बँचेर जीवन पाउँनका लागि चितुवालाई सहमति प्रदान गरी ।
मृगिनीलाई भोग गरिसकेपछि संन्तुष्ट भएको चितुवाले भन्यो–“आजदेखि तिमी मेरी स्त्री भयौ र म तिम्रो पुरुष । अब उप्रान्त म मेरो भोक मेटाउँनका लागि तिमी उपर आक्रमण गर्ने छैन । म देखि जीवनदान पाइ तिमी सुरक्षित भयौ ।”
मृगिनी पनि जीवनदान पाएको र चितुवाजस्तो बलिष्ठ जातलाई आफ्नो पुरुषको रुपमा पाएकोमा अति हर्षित भई ।
फेरि त्यस मृगिनीलाई अर्को चितुवाले लखेट्यो ।
यसपटक पनि केहीबेरसम्म त ऊ डरले भाग्दै गई तर केही समयसम्म भाग्दा न भाग्दै उसलाई झ्वाट्ट आफू चितुवाकी स्त्री भएको सम्झना आयो । अनि भाग्न छोडेर ऊ टक्क अडिइ । ऊ अडिनासाथ उसलाई खेद्दै आएको चितुवा पनि ऊ नजिकै आइ पुग्यो । एक्कासि मृगिनी भाग्नुको सट्टामा अडिएकी देखेर चितुवा पनि अकमक्क पर्यो । चितुवाको पनि एक पटक त बुद्घि चकरायो ।
यसपटक उसले आफ्नो डरलाई एकातिर पन्छाई र नडराइकन केही गर्जिएजस्तो गरेर भनि–“सावधान ! तिमी मेरो भक्षण गर्न सक्तैनौ र मिल्दैन पनि किनकि म पनि तिमीजस्तै एउटा चितुवाकी पत्नी हुँ ।”
मृगिनीको हठात भएको परिवर्तन प्रति आशंकित र आतंकित भएको चितुवा मृगिनीका यस्ता कुरा सुनेर तुरुन्तै होस आयो र हा–हा–हा–हा गर्दै लामो हाँसो हाँस्यो । उसको यस्तो बेअर्थको हँसाईले मृगिनी अलमल्ल परिरहेकी थिई । उसले हँसाईको कारण सोध्न नपाउँदै चितुवाले नै हाँसो रोकेर भन्यो–“के को स्त्री ? तिमीहरू त हाम्रा लागि सर्वथा भोग्या हौ, भोग्या ! उसलाई चाहिएको उसले भोग गर्यो, मलाई चाहिएको म भोग गर्छु । के को यसको र उसको स्त्रीको फुर्ती ?” भन्दै चितुवाले एक्कासि झम्टिएर मृगिनीको गर्धनमा आफ्ना दाँत गाढ्यो ।
मृगिनीले आश्चर्य चकित भएका विस्फारित नेत्रले चितुवालाई हेरिरही हेरिरही । हेर्दा हेर्दै उसले आँखा चिम्म गर्न नै विर्षिइ उसको प्राणले शरिर छोडेर निस्किइसक्ता पनि ।
जुरोपानी-४,झापा
हाल: काठमाडौँ |
