Skip to content

साउनमा

तिमी झर्झरायौ कलिलो धरामा
अनि वग्न थाल्यौ पखेरो गरामा
रसायौ भुमिका परेका चिरामा
रमायौ खुशिले घना कन्दरामा

जसै मेघ बन्दै खुशि गड्गडायो
सयौं वायु डर्दै अहो हड्वडायो
घचेट्यो र ढाक्यो सगर् मेघले नै
अनि ओढि घुम्टो भुमि बेहुली झैं

ति मोति सरिका बुँदा तप्प झर्दा
किसानी हरुको खुशि सामु पर्दा
सबै गाउँ बेंसी कति व्यस्त हुन्छन्
भुमी मन्द हाँस्छीन् ति आकाश रुन्छन्

हिलो खेत बारी हिलै छन् किसान
हिलोमा खुलेकी परि झन् महान
हिलो छप्छपाई उनि धान रोप्छिन्
हँसाई रमाई खुशि शब्द बोक्छिन्

छ वारी र पारि ति भाका मिलेका
असारे सवाई कराई झुलेका
कतै बेठि लाए मुखिया रमाए
सबै छन् बराबर् कुरिती हराए

मकै बारी हेर्दा हरियो छ सारो
पसि काम गर्दा अनि हुन्छ गारो
छहारी मिलेमा कति शान्त हुन्थ्यो
उडेर चरि मन् वहाँ माथि पुग्थ्यो

थकाई हरायो करायो बतास
छिटो सक्नु पर्ने बनायो हताश
करायो र झ्याँउकिरी भन्न लाग्यो
पुग्यो आज जाउ यता रात जाग्यो

रमाएँ घर फर्किएर म आएँ्
मिल्यो स्नेह पाएँ मिठो झन् अघाएँ
भुलें दुख सारा पिताको नजिकै
भएँ स्वच्छ जस्तो थिएँ झैँ अघिकै ।।

सुनें बोली तोते भएँ झन् फुरुङ्ग
रमाए ति बाला भएँ झन् म दङ्ग
भुलें दुख सारा घरैमा रमाएँ
अनि दिन् सुनौलो त्यसैमा हराएँ ।।

छन्द: भुजङ्गप्रयात् य य य य

Leave a Reply

Your email address will not be published. Required fields are marked *