२०६४ असोजको पहिलो साताबाट गोरखापत्र राष्ट्रिय दैनिकमा ‘नयाँ नेपाल’ पृष्ठ अन्तर्गत नेपालका विभिन्न राष्ट्रिय भाषाभाषीको सामाग्रीले स्थान पाएको छ । गोरखापत्रको इतिहासमा १ सय ८ वर्षपछि यसरी एउटै नेपाली भाषाको सट्टा हाल विभिन्न २५ भाषालाई समावेशीकरण गरिएको छ । भाषाभाषीका लागि यो अमूल्य कोसेली हो ।
बदलिंदो परिस्थितिसँगै नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्रको झण्डा फहराएको छ । सङ्घीयताको प्रसड्ढसँगै जातीयताको मुद्दा उठेको छ । अनि आइ एल ओ १६९ महासन्धिको बुँदा बुँदा केलाउँदै जल, जंगल, जमिनमा आदिवासीहरूको अधिकार, भाषा, संस्कृतिलगायत विषयको संरक्षणको प्रसड्ढले व्यापकता पाएको छ । सङ्कटकालमा विदेशमा बसेका या देशमै रहेका आफन्तसँग टेलिफोनमा बात मार्दा सुरक्षाकर्मीले कतिपय गाउँठाउँमा मातृभाषामा बोल्न प्रतिबन्ध लगाइदिएका थिए । यसले खस नेपाली भाषा नजान्ने तमाम हजुरबा, हजुरआमाहरूले गहभरि आँसु निकाल्दै केवल मौन संवाद गर्नुपर्ने बाध्यता आइ परेको थियो । आˆनो भाषाको प्रयोग निर्बाध रूपले गर्न नपाउनु मानव अधिकारको सरासर उल्लङ्घन हो ।
छापा पत्रकारिताको इतिहासभन्दा रेडियो पत्रकारिताको इतिहास नेपालमा निकै छोटो छ । तर जसरी छोटै समयमै एफएम रेडियोहरूले स्थानीय विषयवस्तुलाई उठाउन स्थ्ाानीय भाषालाई केही प्राथमिकता दिए, त्यसरी छापा पत्रकारिताले कनै कदम चालेन । यसको थालनी गोरखापत्र राष्ट्रिय दैनिकले गरेको छ । सरकारले गोरखापत्र नयाँ नेपाल पृष्ठका लागि भाषा संरक्षण हेतु तीन करोड रुपियाँ छुट्याएको छ । यो रकमको सही सदुपयोग हुनुपर्छ ।
बुटवललाई मोफसलको पत्रिकारिताको राजधानी भनिन्छ । अहिले वीरगन्ज होस् या नेपालगन्ज, विराटनगर होस या महेन्द्रनगर, या पत्रकारिताको मोफसलको राजधानी कहलाउन उद्यत बुटवल होस् या धनगढी । त्यहाँबाट दैनिक पत्रिका प्रकाशन सङ्ख्यात्मक स्थिति पाठकले चाहे भन्दा बढी नै छ ।
गोरखापत्रले विभिन्न भाषाभाषीलाई स्थान दिएपछि दाङबाट प्रकाशन भइरहेको गोरक्ष दैनिकले तीन महिना अघिदेखि प्रत्येक शनिबार थारू भाषाको सामग्रीलाई २ पृष्ठ छुट्याएको छ । सो थारू भाषाको शनिवासरीय अङ्क संयोजन गर्दै आएका पुरन पुकार चौधरी भन्छन्- ‘हामीले थारू भाषाको अग्रासन मासिक प्रकाशन गथ्र्याै । मासिक भएकोले थारू समुदायको ताजा गतिविधि समेट्न गाह्रो भइरहेको थियो । गोरखापत्रको उदाहरण दिंदै भाषिक समावेशी गर्न अनुरोध गरेपछि प्रकाशक मन्जुर भए ।’ गोरक्ष दैनिकका प्रकाशक किशोरचन्द्र गौतम मोफसलबाट यसरी नेपालीबाहेक अन्य स्थानीय भाषालाई स्थान दिएकोमा आत्मसन्तुष्टि अनुभव भएको जनाउँदै भन्छन्- ‘पत्रिकाको थारू संस्करणले थारू समुदायबाट राम्रो प्रतिक्रिया पाएको छु । यसले हाम्रो सर्कुलेशन पनि बढेको छ ।’ गोरक्ष दैनिकको थारू संस्करण हेर्ने टीम कति उत्साहित छ भने अग्रासन मासिकलाई साप्ताहिक रूपमा मङ्सिर मसान्तसम्म लावा अग्रसानको नाममा प्रकाशित गर्दैछ ।
कञ्चनपुरबाट प्रसारण भइरहेको महाकाली एफएमले थालनी समयमा राना र दंगौरा गरी ४० वटासम्म थारू भाषाको कार्यक्रम प्रसारण गरेको थियो । हाल पनि सो एफएममा सातवटा थारू भाषाका कार्यक्रम र राना तथा दंगौरा भाषामा न्यूज बुलेटिन दैनिक रूपमा प्रसारण भइरहेको छ । महाकाली एफएमका स्टेशन म्यानेजर खेम भण्डारी अभियान दैनिकका प्रकाशक /सम्पादकसमेत हुन् । डोट्याली र थारू भाषाका कार्यक्रमलाई रेडियोमा प्राथमिकता दिएका भण्डारीले पत्रिकामा पनि ती भाषालाई स्थान दिनुपर्छ भन्ने सोच्न भ्याएका छैनन् । कारण यसको लहर चल्नसकेको छैन । तर ढिलो चाँडो पत्रिकाले पनि ठाउँ विशेष अनुसार स्थानीय स्तरमा रहेका राष्ट्रिय भाषालाई समाविष्ट गर्न करै लाग्छ ।
पूर्वी भेगमा केही समय पहिले केही राष्ट्रिय दैनिकलाई स्थानीय भाषामा समाचार दिनुपर्यो भनेर आगजानीसमेत गरिएको थियो । त्यसो त पत्रिकाको भाषा कुन राख्ने ? त्यो प्रकाशकको आˆनो स्वविवेकको कुरा हो । जसरी एफएम रेडियोलाई व्यावसायिक र सामुदायिक भनि वर्गीकरण गरिएको छ, त्यसरी पत्रिकामा प्रावधान छैन । सबै पत्रपत्रिका व्यावसायिक नै हुन् । तर आˆनो व्यवसायलाई बढाउन, स्थानीय पाठकको मन जित्न कम्तीमा मोफसलका पत्रपत्रिकाले भाषाभाषी संस्करण अभियानमा सक्रियता देखाउनैपर्छ ।
उर्दूमा सटीक गजल लेख्ने अब्दुल लतिफ शौकको गुनासो थियो- ‘एक दैनिकका सम्पादकले कार्यक्रममा मेरो गजल मन पराएर आफैं छाप्दिन्छु भनेर लगेका थिए । धेरै दिनसम्म नछापिएपछि मैले कुरा उप्काउँदा उनले उर्दू होइन, नेपालीमै रचना दिनुस् न, तुरुन्तै छाप्छु भने । त्यही इखले मैले अब उर्दूसँगै बिस्तारै नेपालीमा पनि गजल लेख्न थालेको छु ।’ नेपालगन्जमा मात्रै एक दर्जन दैनिक पत्रिका छन् तर कुनैले स्थानीय भाषालाई टेढो आँखाले समेत हेरेका छैनन् ।
धनगढी, महेन्द्रनगर क्षेत्रबाट थारू, डोट्याली भाषामा स्थ्ाानीय दैनिकहरूले साप्ताहिक रूपमा संस्करण निकालेमा लोकपि्रय हुने देखिन्छ । त्यस्तै बाँके, बर्दियाबाट थारू, अवधि, उर्दू भाषा संस्करणले राम्रो बजार पाउन सक्छ । दाङ, कपिलवस्तु, रूपन्देहीमा थारू, अवधि, संस्करण तथा बारा, पर्सातिर भोजपुरी अनि सप्तरी, सिरहातिर मैथिली संस्करणले लोकपि्रयता पाउनेमा शङ्का छैन । त्यस्तै पोखरामा गुरुङ, पाल्पामा क्षेत्रमा मगर भाषा संस्करण दिन सके त्यहाँका पत्रिकाले पाठक सङ्ख्या बढाउन सक्छन् । यी केही उदाहरण मात्र हुन् ।
आˆनो मातृभाषामा पनि धेरैले व्यावसायिक रूपमै पत्रपत्रिका प्रकाशन गर्न थालेका सुखद खबर छ । राजधानी काठमाडौंबाट नेवारी भाषामा निस्किने विश्वभूमि लगायत सन्ध्याकालीन दैनिकले राम्रै बजार ओगटेका छन् । धनगढीबाट हमार पहुरा नामक दैनिक थारू पत्रिका प्रकाशन हुन थालेको छ । नेपाली दैनिकहरूमा झैं भाषाभाषीका पत्रपत्रिकालाई विज्ञापन दिन सौताको व्यवहार गरिएकोले पत्रिका टिकाउन हम्मेहम्मे परेको प्रकाशकहरूको गुनासो छ । जवकी कम्तीमा सरकारी विज्ञापनको पहिलो प्राथमिकता भाषा भाषीका पत्रिकालाई नै दिइनुपर्छ । भाषाभाषीका पत्रिकाले थोरै लगानीमा आˆनो बजार विस्तार गर्न सक्दैनन् । तर ठूला प्रकाशन कम्पनीले यसमा लगानी गरे राम्रो मुनाफा कमाउन सक्छन् । उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन । छिमेकी मुलुक भारतमा स्थानीय पत्रपत्रिकाले विभिन्न भाषा संस्करणमा पत्रपत्रिका प्रकाशन गर्छन् । द सन्डे इन्डियन साप्ताहिकले मात्रै पंजाबी, उडिया, असमिया, मराठी, गुजराती, मलायलम, तेलेगु, कन्नड, तमिल, बांग्ला, उर्दू, भोजपुरी लगायत १४ भाषामा संस्करण प्रकाशन गर्ने गरेको छ ।
केही ठूला राष्ट्रिय दैनिकले विराटनगर, चितवनबाट संस्करण प्रकाशित गरिरहेका छन् । नेपालगन्ज पनि संस्करणको लागि ठूला राष्ट्रिय दैनिकहरूले आखाँ गाडेको सम्भावित ठाउँ हो । निकट महिनामै नागरिक र दैनिकी दैनिक जस्ता ठूला राष्ट्रिय दैनिकहरू प्रकाशन हुँदै गरेको उद्घोष गरिसकेका छन् । तिनले पनि विस्तारै विभिन्न स्थानबाट संस्करण निकाल्न होडबाजी गर्ने देखिन्छ । तर जबसम्म ती संस्करण स्थानीय भाषामै, स्थानीय आदिवासी जनजातिहरूको आवाजलाई समेट्दैनन्, ती राजधानीका एफएमहरूबाट समाचार ‘हुक’ गरी स्थानीय एफएम रेडियोहरूले प्रसारण गरे जस्तो मात्र हुनेछ ।
