Skip to content

कस्मिरबाट नेपाली लडाकुको पत्र


मममतामयी माता
साष्टाङ्ग दण्डवत!

माते! खै के लेखुँ यहाँको खबर? ठिक छैन भनुँ भने ठिकै छ। ठिकै छ भनुँ भने बेठिकै बेठिक छ। जीवनमा सपना त धेरै देखियो। सपनाकै हुटहुटीले ‘सपनापथ’का धेरै खाले दोबाटाहरू काटियो। तर, माता! सबै सपना कहा साकार हुदा रहेछन् र?

मान्छेको जातै सपनाको पहाड बनाउने। पहाड चढ्ने गोरेटा कोर्ने। सुरुङ बनाउने, सके केबुल कार, जहाज र रकेट बनाउने, अनि सपनाको शिखर पुग्ने। नसके सिसिफसको कथा जस्तो, थुन्सेभरी सपना पूर्तिका आकांक्षा र लक्ष्य बोकेर पहाड उक्लने। उक्लँदाउक्लँदै पहिरो आउँछ, पहिरोसँगै फेदीतिर झर्ने। अनि फेरि, अर्को सपनाको पहाड ठड्याउने। दैनिकी उही–थुन्सेभरी सपना, नाक ठोक्किने उकालो, पहिरो अनि फेदी।

हामी नेपाली साह्रै भाग्यमानी हौ या साह्रै अभागी। एकबारको जुनीमा हामीले जति धेरै सपनासँग साक्षात्कार गर्ने मौका दुनियाँका कमैले पाउलान्। हामी त सपना विज्ञानका प्रयोगकर्ता हौ। विज्ञानकै भाषामाभन्दा सपना विज्ञानका वैज्ञानिक हौ। सायद, नेपालीले जत्ति ‘जीवन–सपना’को परीक्षण गर्ने मौका कसले पाएका होउलान्?

दुनियाँका कैयौ पुस्ता आमाको गर्भमै माता–पिताले बनाइदिएका सपना र सपनाको संसारमा पुग्न कोरिदिएका गोरेटोमा दौडिए, दौडिरहेछन् र दौडिरहनेछन्। तर, हामी…….??? सायदै पाउने छौ त्यो सुअवसर वा कुअवसर? कुनै दिन सायद! झोंक चलेर देवकोटाले लेखेथें, के नेपाल सानो छ? के नेपाल गरिब छ? के नेपाली कम महान् छन्? प्रश्नै प्रश्नमा उत्तर आफैले दिएथें। नेपाल ठूलो छ, नेपाली धनी छन्, नेपाली महान् छन्।

खै! किन हो सानैमा देवकोटा आउँथे मेरो निद्रामा–सपना बनेर। केही मनोबैज्ञानिकहरूले भन्छन् र!े पुरा हुन नसकेका इच्छाहरू दमित मनमा दबिएर रहन्छन्। जब मान्छे निदाउँछ, उसको शरिर सुस्ताउँछ, थकाइ मार्छ। तर, दिमाग……? सल्बलाउछ, दमित मनका इच्छाहरू उजागर हुन्छन्। दबिएर रहेका आकांक्षाहरू बाहिर आउँछन्, अनि सिमीको बीउ चिसो माटोमा परेर पट्ट फुटेजस्तै फुट्छन्। जरा हाल्छन्, उम्रन्छन्, बढ्छन्, कोपिला बन्छन्, फूल्छन् अनि सिमीका जस्तै कोसा बन्छन्, सुक्छन् र तुन्द्रुङ्ग थाक्रोमा झुण्डिन्छन्।

खै! साच्चै त होला नि? फ्रायड र तिनका चेलाले भनेको। तर, हामी नेपालीका लागि फ्रायड पनि झूठा छन्, तिनका चेलाका के कुरा? होला निद्रादेवीको काखमा पसेपछि, जीवनमा पुरा हुन नसक्ने आकांक्षा सल्बलाउलान्, सिमीको बीउसरी पट्ट फुट्लान्। जरा पनि हाल्लान्, बढ्लान्, कोपिला बन्लान्, फूल्लान्। तर, मलाई लाग्दैन ती कोसा बन्न पाउँछन्, पाक्छन्, पहेलपुर हुन्छन् अनि थाक्रामा झुन्डिएर अर्को वंश परम्परा निभाउन तयार भएर बस्लान्।

देवकोटाको निबन्धका ‘धनी’ हामी नेपालीका सपना कहिले बीउ बनेर फुट्दा फुट्दै धुरीबाट पानी चुहिन्छ। कहिले हुरीले छानो उडाइदिन्छ, कहिले पहिरोले घरै बगाइदिन्छ, कहिले स्याल–कुुकुरको झगडाले गाउँ नै जगाइदिन्छ। सोच्छु, के हामीले साच्चै पुरा निद्रा सुत्न पाएका छौ? साच्चै भरपेट खान पाएका छौ? हुरीले नउडाउने गरी छानो छाउन पाएका छौ? पाएका थियौ भने त सायदै दमित मनका इन्छाहरू उम्रने, फूल्ने, फल्ने र पाक्ने मौका पाउथें होलान्। थाक्रोमा झुण्डिदै पहेला कोसाहरू वंश परम्परा धान्न उन्मत्त गीत गाउथे होलान्।

‘आमाले कुनैदिन नलको कुन्युमा जन्माइन्, खिया लागेको कर्दले नाल काटिन्, तोरिको तेलले लतपदिदा लतपतिदा साच्चैको रातो रङ बिर्सेर कालो भई कटकटिएको धागोले नाल बाधिन्’– यस्तै सुनेथें मैले आफ्नो जन्मको कथा। जब उनले थलामा भोको भैसी कराएको सुनिन्, पिसाब फेर्न निस्कदा ‘कैली गाई’ गोबरको हिलोमा डुबेको देखिन्। मन भतभती पोल्यो। घरकालाई भनिन्, परकलाई पनि भनिन्, सातै दिनमा न्वारान गर्न लगाइन्। पुरेतले मेरो नाम राखिदिए–हर्कबहादुर। अनि म दूधे बालखलाई अगेनाछेउ कोक्रोमा चार वर्षे दिदीको जिम्म लगाई न्वारनकै दिनदेखि घासको भारी कस्न गइन्।

माते! तिनी थिइन् मेरी जन्मदिने आमा। जसले सुत्केरीमै घासको भारी बोकेर आफ्नो आङ् खसाइन्। चालिस पार नगर्दै असीकी भइन्। पैतालिस् पार नगर्दै परमधाम गइन्। तिनै आमाले बिहानै झिसमिसेमा जातो घुमाउथिन्, लाउरी भैंसी दुहुन्थिन्, कैली गाइलाई बाछो लगाउँथिन्। अक्षर नछिचोले पनि अर्काले सुनाएकै भरमा कन्ठस्थ पारेका देवकोटाको ‘मुनामदन’का हरफ गाउथिन्। ‘गुणरत्न माला’का श्लोक भन्थिन्, ….. ‘आगो र पानी, तरुनी र मुर्ख, राजा र साहुदेखि कहिले नमान्नु हर्ष’….. ।

सायद! तिनले झिसमिसेमै जातो घुमाउदा गाउने ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु आएको बेस आनन्दी मनले’ कै कारण मलाई सानैमा देवकोटाको भक्त बनायो। खै! आजकल त उत्तरआधुनिक युग आएको छ क्यारे! तिनका भाषामाभन्दा मलाई मेरो मनले सानैमा बनायो देवकोटाको ‘फ्यान’। जब भर्ती भएँ, गाउँकै पाठशाला, तिनै ’चुरोटे’ देवकोटाको ‘…..नटिप्नु हेर कोपिला पाप लाग्दछ…..’ले मन तान्यो। अब त मन मात्र तानेन, निद्रामा आउने देवकोटा नै बन्ने बुनियो सपना। किन पो नबुन्नु, तिनैले सिकाएथें, ‘….उदेश्य के लिनु उडिछुनु चन्द्र एक…….’

माता! तिम्रो छातीमा टेकेर पाइला चाल्दै गर्दा यस्तै थियो मेरो सपना। जीवनमा देवकोटा बन्ने। त्यही सपनाको गोरेटोमा हिड्ने उत्कठ आशाले होला, सानैमा लेखिए नमिलेका हरफहरू, फूलका बारे, जीवनका बारे, पुस्तकका बारे, ज्ञानका बारे, प्रकृतिका बारे, धर्मका बारे, कर्मका बारे, आमाका बारे, बाका बारे, देशका बारे, भेषका बारे, गुरुका बारे, गोरुका बारे, गाइका बारे, भाइका बारे………..। खै! किन हो? आठ कक्षा नचढ्दै देवकोटा बन्ने सपना हरायो। देवकोटाको ‘….हातको मैला सुनको थैला……..’को ठाउँमा त भूपिको ‘हुदैन बिहान मिर्मिरमा तार झरेर नगए, बन्दैन मुलुक दुइचार सपुत मरेर नगए…’ पो आउन थाल्यो।

त्यसपछि मैले देवकोटाको चन्द्रमा छुने सपनाका गोरेटा छाडेर मुलुक बनाउने भूपिका चार किल्ला छुने समना देख्न थाले। त्यसपछि थपिदै गए चार किल्ला छुने सपना देखाउने राजकुमारहरू। प्रवेशिका परीक्षा अगावै मुलुक बनाउन चार किल्ला हान्न जाने सपना देखाउने मेरा राजकुमारहरू मुलुकको भौगोलिक सीमामा बाधिएनन्। माते! ती राजकुमारहरू कहिले मेक्सिम गोर्की र तिनको आमा बनेर आउथें त कहिले जोन रिडको ‘ती दशदिन जब दुनियाँ डगमगायो’ बनेर अनि कहिलेकाही ‘अग्निदीक्षा’ भएर।

त्यत्ति मात्र हो र? कहिले माक्र्स र एङ्गेलको ‘कम्युनिष्ट घोषणापत्र’ र ‘पूँजी’सँग जोडिएर मसम्म आइपुग्थे। यस्ता राजकुमारको नामावली लामो छ, माता! लेनिन, स्टालिन, माओ, चे, ग्राम्से खै को को हुन् को को? कोही ‘फ्रेन्चकट’ दाह्री पालेका कोही लेखनाथको जस्तो लामो दाह्री बनाका, कोही चुच्चो नाके, कोही थेप्चा नाके, कोही कोट लगाएका, कोही ह्याट लगाएका। कोही हेर्दै डरलाग्दा कोही देख्दै घिनलाग्दा। कोही हेर्दै मायालाग्दा। भनी साध्ये छैन।

अब ‘सपना नम्बर तीन’ पुगिसकेको थियो। देवकोटा, भूपि अनि लेनिन। पहिले कविता प्रतियोगितामा भाग लिन्थे। प्रकृतिको कविता लेख्थे। त्यसपछि पनि कविता प्रतियोगितामै भाग लिए। रातो र तातो रगतको कविता लेखे। अब पालो आयो वकृत्वकलामा भाग लिने। लिनथाले वकृत्वकलामा भाग। कस्नथाले मुठ्ठी। ठोक्न थाले टेबुल।

जब वकृत्वकलामा भाग लिन थाले। निद्रामा र किताबमा पन्नामा देखिने माक्र्सहरू गाउँमै देखिन थाले। लेनिन, स्टालिन, माओ, चेहरू राता झण्डा बोकेर बुट बजार्दै, बन्दुक तेस्र्याउदै पाठशालाको चउरमा परेड खेल्न थाले। मैले ठानेँ, देवकोटा बनेर के हुन्छ? भूपि भएर के हुन्छ? लेखेर मात्रै के नै हुन्छ? त्यस्तो सपना त्याग्नु पर्छ। आखिर सत्ता त बन्दुककै नालबाट आउछ। कलमको निभले जत्ति मसि धस्काएपनि बन्दुकको नालले दागा नधरी हुदैन। यत्तिकै सर्वाहरा वर्गाको अधिनायकत्व स्थापित हुन्छ? अहँ, हुन्न। यो वुर्जुवा शिक्षा लिएर के हुन्छ? छाडिदे हर्के छाडिदे।

पुसको एक बिहान थोत्रा लुगा भेला पारे। एउटा बुइँगलमा ध्वासो लागेर कालो भएको झोला थियो। त्यसभित्र खादेँ। प्रवेशिका परीक्षा आउनै लागेको थियो। त्यसलाई हापिदिएँ। गाउँमै आउने मेरा असली माक्र्सलाई भेटेँ। भुइँको दुइमुठी माटो उठाएर हत्केलामा फिँजाए, अनि जन्मभूमिको कसम खार्दै मुठ्ठी कसेर चिच्चाए–लालसलाम।

मैले देवकोटा हुने सपना देखे, भूपि हुने देखे अहिले लेनिन हुने देख्दै थिए। आखिर लेनिन न वास्तविक सर्वाहाराका प्रतिनीधि भए। माता! मैले पहिलै भनिसकेको छु, हामी नेपालीलाई जत्ति सपनाको परीक्षण गर्न संसारमा कसलाई आउँछ र? मैले पनि देवकोटा, भूपि हुने परीक्षण सके। ती परीक्षणको निश्कर्ष दुवै नहुनु नै राम्रो भन्ने निस्यो। अब अर्को परीक्षण गर्न लाग्दै थिए। जुन सपना साच्चै नै साकार हुनेछ भन्ने आत्मविश्वास थियो–माताजी।

देवकोटा बन्न सानैमा कलम समाएका मेरा हातले लेनिन बन्न ‘एके–४७’ समाइरहेका थिए। मुलुक बनाउने चार किल्ला हान्नलाई औलाहरू सदैव तत्पर थिए। कतिपल्ट हाने पनि किल्ला। कहिले रोल्पा पुगेर, कहिले सोलु पुगेर, कहिले अछाम पुगेर, कहिले दाङ झरेर। कति रातहरू जंगलमा बिताए। कति रातहरू भातपानी बिना बिताए। कति रातहरू जंगलमा अररीका काडाले दफारेर बिताए। कति दिनहरू ‘सामन्तका सफाया’ गरेर बिताए। माता! यहालाई अवश्य पत्तो होला, यसबेला म न्वारानमा पुरेतले राखिदिएको नामको थिइन। ‘बहादुर’बाट ‘विप्लव’ भइसकेको थिए।

बहादुरबाट विप्लव बनेर दशक बिताएपछि मेरा स्वदेशी लेनिनहरूले सम्झौता गरे। भन्न त उनीहरूले ‘गाउँबाट सहर घेर्ने’ भन्थे तर आखिरमा दिल्ली दरबारबाट सत्ता घेरे। बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्ने, हाम्रो देशमा चाहि बाह्र बुदाँले सत्ता फर्कियो। हाम्रा लेनिनहरूको दिन पनि सप्रियो। लेनिनहरूले नै अह्राए, हामी मेचीदेखि महाकालीसम्म भिन्न भिन्न ठाउँमा जंगलभित्र बस्यौ। लेनिनले रासन दिए, पानी दिए, भत्ता दिए, औषधोउपचार दिए। हामी मख्ख। विचरो म बहादुरबाट विप्लव बनेकोलाई के थाहा? तिनले रुपैयाँमा २५ पैसा दिएर ७५ पैसा लेनिनहरूका खातामा सिंगापुर पुर्याए भनेर?

जब, योग्य अयोग्यका कुरा चले। जब, प्रमाणिकरणका पत्रहरू प्राप्त भए। यो बहादुर विप्लव भइरहन सकेन। लेनिन बन्न बोकेको कलम छाडेको, मसीमा चोबेको निभ फालेको। तर, त्यही माओको सत्ता हत्याउने बन्दुकको नाल पनि खोसियो। त्यै पनि आशै गरेर बसे। जंगलमा भोकै बसेको सम्झेर एक पेट खान त पाएकै छु भनेर बसे। कहिले सीपमुलक तालिम र कहिले कार्यशाला भनेर कुदे। कुद्दाकुद्दै गोडाहरू थाके। पिडौलाहरू पिलो पाकेसरी दुखे। अब लेनिनहरूले चिन्न छाडे। अँझै ‘लेनिन सपना’? त्यै ‘बहादुरे’ मन फर्कियो र सोध्यो। मैले भने ‘अहँ, भो अब’। माता! यसरी गरे मैले तेस्रो सपनाको अत्येष्टी।

अब मेरा सामु थिए केबल ‘पशु तुल्य सपनाहरू’, अर्थात खाने, लाउने, बस्ने परिवार पाल्ने। यान्त्रिक सपना। जहा देवकोटा, भूपि र लेनिनहरूलाई आउन प्रतिबन्ध छ। अब ठूलो मान्छे होइन, जिउदो मान्छे बन्ने, भोका पेटहरूलाई ‘आज भौकै सुत न’ नभन्ने सपनाहरू। ठूला सपनाको भारी बोकेर हिड्दा हिड्दा सायद, बिर्सेछु, साना सपनालाई कसरी जतन गर्ने भनेर। जतन गरेर बोक्न जानीन साना सपनाहरू। मुलुकभित्रैबाट पुरा गरौला भन्ने थियो, ती साना सपनाहरू।

खै! दैवको लिला हो की? भाग्यको खेला?माता ! तिम्रो काख छाडेर हिड्नै पर्यो। तिम्रो छातीमा दौडदा दौडदा दिक्क मानेकी पक्कै होइनौ होला। ज्योतिषीहरूले भन्थे, भ्रामरी सुरु भएछ, भ्रमण गराउँछ। ग्रहकी पत्नी भ्रामरीले तिम्रो काख छोडाइन् कि माता! आफ्नै छोराछोरी र पत्नीको दुःखले? जे–जेले भएपनि अहिले म आफ्ना यात्रिक सपनाहरू पुरा गर्न गाउँको वरपिपल छाडेर आएको छु। जब वरपिपलको छहारी सम्झन्छु, छेउको ‘चिनार(एक वृक्षको कस्मिरी नाम)’को छाँयाँमा पुगेर भुल्न खोज्छु। जब तारे भिर सम्झन्छु, शंकराचार्य पर्वततिर फर्कन्छु।

माता! तिमीलाई थाहै होला, म अहिले युद्धले जर्जर भएको ‘धर्तीको स्वर्ग’मा छु। धर्तीको स्वर्गको उपमा पाएको कस्मीरको गल्लीमा भाडा मस्काउछु। ‘ग्रिल्ड चिकेन’ बनाउन सिङ्गो कुखुरा झिरमा उन्छु। कहिले कोइलामा गहुँको पिठो डढाएर रोटी बनाउछु। मेरा निम्ति यही ‘ग्रिल्ड चिकेन’ उन्ने झिर बन्दुकको नाल हो। कोइलाको भुङ्ग्रो रापिलो क्रान्तिको ज्वाला हो। ग्राहकले जुठो पारेका छाडेका भाडा टल्काउनु नै, मुलुकको सिंगो सत्तालाई पल्टाउनु हो।

माते! म यो श्रीनगरको ‘दललेक’(दल ताल) जस्तै स्थिर छु। किनकि मेरा सपनाका पहाडहरू भत्केका छन्। केही टाकुरा छन्, तिनीहरू सपना हुन् या हैनन्? थाहा छैन। धर्मका नाममा भएको युद्धले जर्जर यस भूमिमा हिजो ‘भूमिगत’ हुँदा जस्तै बस्नुपर्छ, हिँड्नुपर्छ, सतर्क हुनुपर्छ। आखिर हिजो अररीको काँडाँले पिडुला कोरेर जंगलमा दौडेथे, आज सुरक्षाका खातिर लगाएका आल्मुनियमका काँँडेतारले पिडुला कोतर्दै हिड्दैछु। खासै फरक लाग्दैन। तर, खै किन हो कुन्नि रातभर निद्रा लाग्दैन।

माता ! मलाई मेरो सपनाको समाधीले चिन्तित बनाएर निद्रा नलागेको होइन। काँडेतारले कोतरेर बेचैन छैन। तर, जब विद्युतीय खबर माध्यमका जालोले जेलिएको नवयुगमा तिनकै माध्यमबाट तिम्रो खबर पाउँछु मन भतभती पोल्छ। टाउको आधा भरिएको गाग्री जसरी छचलिकन्छ र मगज थिलथिलो हुन्छ। हिजो हाम्रै लेनिनहरूले रोपेका एैंझेरु हुर्केको देख्दा तिम्रो छाती पनि चरचरी फुटेको होला। धर्म, जात, भात, भेष, समुदायका नाममा तिम्रो छातीलाई टुक्रा–टुक्रा पार्न लागेको देख्दा मन चरक्क चिरिन्छ।

हुनत विप्लव बनेर हिडेको यो हर्के यहाँ बहादुर बन्न आएको छ। माता ! तिमीलाई थाहै छ, यहाँ म जस्ता हज्जारौ तिम्रा सपुतहरूले दुई गालाबाट तप्प–तप्प नूनिलो पानी(पसिना) चुहाइरहेका छौ। दश औंलाले ‘नवाव’हरूका पाउ मोलिरहेका छौ। हाम्रा लागि तिन्को उपमा छ–बहादुर। यहा रामहरू आएपनि, प्रसादहरू आएपनि, कुमारहरू आएपनि, मणिहरू आएपनि, बाबुहरू आएपनि जब ‘नेपाल’को नाम लिन्छन्, तब तिनीहरू ‘बहादुर’ बन्छन्।

म पनि त्यस्तै एउटा बहादुर, धेरै त थाहा छैन, हाम्रा लेनिनहरूले तिम्रो छातीमा अँझै कति खेल्छन्। तिम्रो छाती कसरी चिर्छन्। तर, धर्मका नाममा धर्तीमाता माथि खेल्दा के हुन्छ भन्ने मैले यहा नजिकैबाट देखिरहेछु। धर्मका नाममा राजनीतिको खेलोफड्को गर्नेहरूको पञ्जामा परेपछि धर्तीमाता कसरी रुन्छिन्, बुझ्दैछु। मैले पनि जानेर नजानेर धर्म र जातीका नाममा तिम्रा विरुद्ध बोलेको छु। हाम्रा लेनिनहरको आदेश मानेर गाउँगाउँमा वेदका पाना च्यातेको छु। माता! तिम्रो छाती ठूलो छ, मलाई पक्कै माफ गर्ने छौ। तर, मलाई डर छ, हाम्रा लेनिनहरूले रोपेका एैंझेरुका बोटहरू हुर्कन थालेका छन्। तिनले मलजल पाइरहेका छन्। अब, कुन भगवानले आएर ती एैंझेरुलाई ढाल्लान्? के पशुपतिनाथले रक्षा गर्लान्?

जब म यहाका मन्दिर र मस्जिदको छेउमा पुग्छु, अनि ब्रम्हज्ञान पाउँछु–धर्मका नाममा धर्तीमाको छाती चिर्नेहरूलाई भगवानले पनि रोक्न सक्नेरहेनछन्। सायद! एैंझेरुहरू सत्ययुगका राक्षमभन्दा नि बलिया हुनेरहेछन्। त्यसैले होला यहा मस्जिदमा बस्ने, मन्दिरमा बस्ने, गुरुद्धारमा बस्ने, गुम्बामा बस्ने, चर्चमा बस्ने सबै भगवानलाई त्यस्ता एैंझेरुले घेरेका छन्। तिनै एैंझेरुबाट बचाउनका लागि भगवानहरूलाई मान्छेले काँडे तार र चौबिस घण्टे पहरा दिएका छन्। मलाई डर छ, प्यारी नेपाल आमा! कतै यहाकै जस्ता एैंझेरुहरूले घेरे भने तिम्रो छातीमा उभिएर सबैको रक्षा गर्ने पशुपतिनाथ र शान्ति सन्देश फैलाउने लुम्बिनीलाई कुनै दिन यसैगरी काँडेतारले बार्नुपर्ने त होइन? हतियारधारी जत्थाले दिनरात पहरा दिनुपर्ने त होइन?

माता! ती लेनिनहरूलाई मेरो यो सन्देश पुर्याइदिनु। तिनलाई भोकोपेटमा पनि तिमीले दूध पघारेर हुर्काएको हेक्का दिलाइदिनु। अब धेरै कत्ति लेख्नु मेरी अभागी आमा! मेरो चिन्ता नलिनु तर लेनिनहरूलाई सजिलै छाती चिर्न नदिनु। तिनलाई म जस्ता ‘बहादुर’बाट ‘विप्लव’ र ‘विप्लव’बाट ‘बहादुर’ बनेकाहरूको कथा सुनाइदिनू।

उही तिम्रो छोरो
उहिलेको हर्कबहादुर
अहिलेको नर्कबहादुर
प्रकाशित मिति: शनिबार, भाद्र १४, २०७१ ११:०१:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *