ए क दिन मेरो एक जना अमेरकिी कवि मित्र वेन एम्सिसले मलाई भने, “मञ्जुल ! नागीगुम्बा जाउँ न !”
“मैले सोधेँ, “किन ?”
“एक जना लामालाई भेट्न ।”
म कम्युनिस्ट विचारधाराको मान्छे ! त्यतिबेला आध्यात्मिक चिन्तनप्रति मेरो त्यति साह्रो झुकाव थिएन ।
“म जाँदिनँ,” मैले भनेँ ।
मेरो जवाफबाट उनले राम्ररी नै थाहा पाइहाले, ममा लामाप्रति झुकाव छैन । उनको कुराप्रति पनि रुचि छैन ।
“जाउँ न ! कति राम्रो छ त्यो ठाउँ ! म लामासँग भेट्छु, तपाईंचाहिँ त्यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिनोस् । सँगै जाउँ, सँगै आउँ । मलाई एक्लै जान मन लागेन ।”
“कहाँ छ त्यो ठाउँ ?”
“बूढानीलकण्ठभन्दा माथि ।”
त्यसबेला उनी मेरा मिल्ने साथीमध्ये एक थिए । धेरै देशका सुन्दर कविका धेरै कविताहरू मैले उनीमार्फत पढ्ने मौका पाएको थिएँ । म कविता लेखेपिच्छे उनलाई सुनाउँथेँ, उनी पनि कविता लेखेपिच्छे मलाई सुनाउँथे । हाम्रो दोस्ती राम्रो थियो । कहिले म उनलाई आफ्नो मनपर्ने ठाउँमा लैजान्थेँ, कहिले उनी मलाई आफ्नो मनपर्ने ठाउँमा लैजान्थे । त्यसैले उनले मलाई त्यसरी अनुरोध गर्नु त्यसबेला सुहाउँदो नै थियो ।
उनले दोहोर्याएर अनुरोध गरेपछि मैले हुन्छ भनेँ ।
मेरो साथीले एउटा ट्याक्सी भाडामा लिएका थिए । अहिले सम्झँदा लाग्छ, ड्राइभरसँगैको सिटमा उनी थिए । पछाडिको सिटमा ठूलठूला तीन जना र एक जना नाबालक गरेर जम्मा चार जना थियौँ- म, मेरी श्रीमती सुस्मिता, मेरी साथीकी श्रीमती जुडी र मेरी साथीकी ११ वर्षकी छोरी ।
ट्याक्सी मजाले कुदिरहेको थियो । बाटोको प्राकृतिक छटा हेर्दै हामी पनि अगाडि बढिरहेका थियौँ । बूढानीलकण्ठतिर जानु भनेको आकाशको नजिक जानु हो । पहाडको नजिक जानु हो । हरयिालीको नजिक जानु हो । एकान्तको नजिक जानु हो । कविलाई, कविहरूलाई त्यहाँभन्दा बढी के चाहियो ?
बूढानीलकण्ठभन्दा माथितिर झनै रमाइलो रहेछ । त्यता त म कहिल्यै गएकै थिइनँ । खूब रमाइलो लाग्यो । सुन्दर सुन्दर दृश्यहरूमा फुत्तफुत्त खस्दै-खस्दै गएँ म । मलाई मात्र होइन, मेरी पत्नी सुस्मितालाई पनि त्यो ठाउँ रमाइलो लाग्यो ।
म हिन्दू धर्मावलम्बी परविारमा जन्मेको । यो ठाउँ थियो बौद्ध धर्मावलम्बीहरूको । कहाँ के गर्ने मलाई उस्तो ज्ञान थिएन । तर, नेपालमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूबीच राम्रै सम्बन्ध छ । त्यसैले म नयाँ ठाउँमा आइरहेछु भनेजस्तो खासै अनुभवचाहिँ भइरहेको थिएन ।
हामीलाई सरासर लामा टुकु उर्गेन रिम्पुचे बस्ने कोठामा लगियो । मेरा साथी र उनकी श्रीमतीले लामाको अगाडि गएर पहिले नमस्कार गरे अनि भुइँमा घुँडा टेके । त्यसपछि लम्पसार परेर त्यो अभिवादनलाई बनाउनुविधि विनम्र बनाए । यस्तो प्रणामको शैलीमा यसरी नै तीनपटकसम्म उठ्दै, घुँडा टेक्दै, लम्पसार परेपछि एउटा प्रणाम पूरा हुँदोरहेछ । मेरी श्रीमती र मलाई यसरी नमस्कार गर्न आउँदैनथ्यो, त्यसैले हामीले चाहिँ लामालाई झुकेर नमस्कार मात्र गर्यौैँ ।
हामीले फरक-फरक किसिमले नमस्कार गरे पनि लामाको हामीलाई हेर्ने दृष्टिचाहिँ एउटै थियो, करुणापूर्ण । एकदम करुणापूर्ण ।
मेरो साथीलाई लामासँग ध्यानका बारेमा केही प्रश्नहरू गर्नुपर्ने रहेछ ।
रमाइलो, साह्रै रमाइलो ! लामा तिब्बती बोल्ने । अलिअलि तिब्बती जान्ने नेवार आनीले नेपालीमा त्यसको अनुवाद गर्ने । अनि, अलिअलि नेपाली जान्ने साथीकी श्रीमतीले मेरो साथीलाई त्यो कुरा अङ्ग्रेजीमा भनिदिने । रमाइलो, साह्रै रमाइलो !
तिब्बती त म जान्दिनथेँ । तर, नेपालीबाट अङ्ग्रेजीमा पुग्दा भएको गडबडी म राम्ररी नै चाल पाउँथेँ । अर्को रमाइलो कुरा के पनि हो भने दर्शनको अनुवाद भाषा जानेर मात्र गर्न सकिने कुरा होइन, कुरा बुझ्न सक्ने क्षमता पनि हुनुपर्छ- अनुवाद गर्नेमा ।
लामाले भनेको कुरा मेरो साथीसम्म आइपुग्दा गडबड भइहाल्थ्यो । दुई-तीनपल्ट मैले सच्याउने कोसिस गरेँछु । मैले नै थाहा पाइनँ ।
लामाले त्यो सबै नियालिरहनुभएको रहेछ । उहाँले मलाई माया गरेर भन्नुभयो, “तपाईंले बुझ्ने नेपाली बोल्न मलाई आउँछ । म तपाईंलाई मेरो कुरा नेपालीमा भन्छु । मेरो कुरा तपाईं तपाईंको साथीलाई सोझै भनिदिनूस् । अनि, तपाईंको साथीले भनेको कुरा पनि मलाई सोझै भनिदिनोस् ।”
मैले नाइँ भनेँ । किनभने, मलाई बुद्धदर्शनबारे ज्ञान थिएन । बुद्धदर्शनका एकदमै साधारण कुरा मात्र जान्दथेँ म त्यसबेला । बुद्धदर्शन बुझ्न खोज्ने हिसाबले बुद्धदर्शनको यात्रामा मैले एक पाइलो पनि चालेको थिइनँ । मैले नाइँ मात्र भनिनँ, लामालाई आफ्नो अज्ञानताको बारेमा पनि बताएँ ।
लामाले मुसुक्क हाँस्दै भन्नुभयो, “गर्नूस् । तपाईंले यो काम गर्न सक्नुहुन्छ । तपाईंले प्रस्ट पार्न खोजेका एक-दुई कुराबाट मैले यो कुरा थाहा पाएँ ।”
मेरो साथी र उनकी श्रीमतीले पनि मसँग मद्दतको याचना गरे ।
मैले डराइडराई भनेँ, “कोसिस गर्छु ।”
लामाले गम्भीरतापूर्वक भन्नुभयो, “बाबु ! शून्यता । शून्य भनेको खाली । ता भनेको होस् । यो संसार शून्य हो भन्ने कुराको होसलाई, यो संसार शून्य हो भन्ने कुराको ज्ञानलाई शून्यता भनिन्छ ।”
मलाई लाग्यो, लामा होइन, मेरो हजुरबा बोलिरहनुभएको छ । लामाले जसरी, जस्तो हाउभाउमा, जस्ता सरल शब्दहरू राखेर यो कुरा भन्नुभएको थियो, मैले त्यसरी नै करबि-करबि त्यस्तै-त्यस्तै हाउभाउमा, त्यस्तै-त्यस्तै सरल शब्दहरू राखेर यो कुरा मेरो साथीलाई भनिदिएँ ।
अब लामा र मेरो साथीबीच राम्ररी कुरा हुन थाल्यो । करबि आधा घन्टाजति कुरा भयो होला उहाँहरूबीच, सवालजवाफको रूपमा । मैले सिरपिm अनुवाद मात्र गरेँ, सिरपिm अनुवाद ।
बुझ्नुभयो ? अनुवाद गर्दै-गर्दै, ज्ञानलाई छुँदै-छुँदै मैले पनि ज्ञानको प्रबल ज्योतिको नजिकै पुग्ने मौका पाएँछु । धपक्क बलेको ज्ञानको ज्योतिमा मेरा सारा दुःखहरू डढेर खरानी-खरानी भएछन् । जीवनमा मैले यस्तो सुन्दर कुराको उपहार पाएछु- माग्दै नमागीकन जसलाई शब्दमा वर्णन गर्न त्यति सजिलो छैन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘म शून्यमा शून्यसर िबिलाएँ’ले प्रभाव पारेर हो वा मेरो आफ्नै जनम-जनमको संस्कारले हो, मलाई कता-कता आभास भइरहन्थ्यो- म एउटा शून्यबाट आएँ र पछि म फेर िशून्यमा जान्छु । लामाबाट सुनेका कुराहरूले गर्दा मैले यसलाई अझै निकै राम्रोसँग बुझेँ भन्ने मलाई लाग्यो ।
यो शून्यको कुरा गर्दा शून्य भनेको खाली हो, खाली भनेको केही पनि होइन भन्न मेरो मनले मान्दैनथ्यो । जगत मिथ्या हो- यो कुरा मलाई एकदम बिझाउँथ्यो । पहिलो कुरा त म मान्छे- यो संसारलाई माया गर्ने प्राणी । दोस्रो कुरा म कवि- हजारौँ-लाखौँ अनुभूतिहरूले यो संसारलाई अनुभूत गर्ने प्राणी । तेस्रो कुरा म क्रान्तिकारी, परविर्तनप्रेमी संसारलाई बदल्न, राम्रो बनाउन चाहने प्राणी ।
तर, लामाका कुराहरूबाट, उहाँका सुन्दर-सुन्दर उदाहरणहरूबाट म राम्ररी बुझिरहेको थिएँ- शून्य भनेको खाली हो तर खाली भनेको केही पनि होइन, होइन । त्यो केही हो- जहाँबाट म मात्र होइन, सबै-सबै मानिस र सबै कुराहरू आउँछन् अनि जान्छन् पनि ।
आधा घन्टामा धेरै कुराहरू भए ।
मेरो साथी हुनसम्म खुसी भए । उनले आफ्ना प्रश्नका सबैसबै जवाफहरू पाए- चित्तबुझ्दो रूपमा । उनले लामालाई धन्यवाद दिए । उनले मलाई पनि धन्यवाद दिए ।
-केही वर्षहरूको अन्तरालपछि ती साथी आज ध्यान सिकाउने गुरु भएका छन्, कस्तो रमाइलो कुरा !)
-यो आधा घन्टा मेरो जीवनको आधा उमेरजस्तै हो । सबै कुरा यो सानो संस्मरणमा लेख्न सम्भव छ जस्तो मलाई लाग्दैन ।)
म आल्हादित थिएँ । एकदम खुसी थिएँ । सधँै रहिरहन नसक्ने सुखजस्तै मलाई पिरोल्ने, धरधरी रुवाउने कुनै पनि दुःख यस्तो थिएन, जो एकदिन सकिएर नजाओस्, रिित्तएर नजाओस् ।
म यस्तो शक्ति आर्जन गर्न सक्थेँ, जसलाई प्राप्त गरेँ भने दुःखदुःख नै रहन सक्दैनथ्यो । त्यसले मलाई दुखाउनै सक्दैनथ्यो ।
आफ्नो दुःख मेटाउन मात्र होइन, अरूहरूको दुःख मेटाउन पनि म त्यत्तिकै सहयोगी हुन सक्थेँ ।
एक्लै गुफामा बसेर तपस्या गर्ने योगीको आफ्नै महत्त्व र गरमिा हुन्छ । म त्यो कुरालाई एकदमै आदर गर्छु । तर, मचाहिँ मानिसहरूको बीचमा बसेर, उनीहरूका दुःखहरू हटाउन सङ्घर्ष गर्दै, उनीहरूलाई सुखी बनाउँदै, उनीहरूसँगै रम्न चाहन्थेँ । लामासँग भेटेपछि मैले थाहा पाएँ- यो बाटो बोधिसत्वको बाटो रहेछ ।
ओहो ! म एकदम आल्हादित थिएँ । एकदम खुसी थिएँ ।
“तपाईं बौद्ध धर्मावलम्बी हो ?” ध्यानका बारेमा कुरा टुङ्गिएपछि लामाले मलाई सोध्नुभयो ।
“होइन,” मैले भनेँ ।
“तपाईंलाई बुद्धिस्ट टर्मिनोलोजी थाहा छ ?”
“थाहा छैन ।”
“अनि, कसरी यति राम्रोसँग अनुवाद गर्न सक्नुभयो त ?”
“घरमा यस्ता कुराहरू हुन्थे । बाआमाले यस्ता कुराहरू गर्नुहुन्थ्यो ।”
“तपाईं बाहुन हो ?”
“हो,” मैले विनम्र हुँदै भनेँ ।
मेरो साथीकी श्रीमतीसँग पनि लामाले मेराबारेमा केही कुरा सोधपुछ गर्नुभयो । मेरो साथीकी श्रीमतीले उल्लेख गरेका केही नामहरूको अज्ञानताका कारण उनले मेरो परचिय कसरी गराइन्, मलाई राम्ररी थाहा भएन, त्यतिबेला ।
मेरो साथीकी श्रीमतीबाट उत्तर पाएपछि लामाले मलाई आफू बसेको ठाउँनजिकै बोलाउनुभयो । मेरो टाउकोमा उहाँको टाउको जोडेर ढोग्नुभयो । यसको महत्त्व मैले त्यतिबेला बुझिनँ ।
पछि मैले उहाँको जीवनी पढेँ । उहाँ कस्तो मान्छे हुनुहुँदो रहेछ, त्यो थाहा पाएपछि उहाँलाई सम्झेर एकान्तमा एक्लै धेरै रोएँ । कस्तो मान्छेले मलाई कस्तो व्यवहार गर्नुभएको रहेछ, त्यो पनि धेरै बुझेँ त्यतिबेला । अहिले म जबजब उहाँको मायालाई सम्झन्छु, एउटै कुरा मेरो दिमागमा आउँछ, मेरो मुखले नराम्रो बोली नबोलोस्, मेरो हातले नराम्रो काम नगरोस्, मेरो मनले मेरा शत्रुहरूको पनि नराम्रो नसोचोस् ।
तर, यसका लागि मैले अझै धेरै पढ्नु छ, अझै धेरै बुझ्नु छ, अझै धेरैधेरै खारनिु छ । म अझै प्रारम्भमै छु ।
म घर फर्किरहेको थिएँ । यो संसार, यो संसारको प्रकृति, यहाँका मानिसहरू, यहाँका प्राणीहरू मलाई पि्रय मात्र होइन, सुन्दर-सुन्दर लागिरहेका थिए । बदलाको अनुहार कति कुरूप हुन्छ, कति बीभत्स । करुणाको अनुहार कति सुन्दर हुन्छ, कति परोपकारी, कति सौम्य । यो सबै चाल पाइरहेको थिएँ । देखिने सत्य के हो, वास्तविक सत्य के हो, यो बुझिरहेको थिएँ । सत्य कति शक्तिशाली हुन्छ, त्यसलाई पनि बोध गररिहेको थिएँ ।
त्यस दिन, त्यसबेला म घर फर्किरहँदा पनि लामासँगै थिएँ, आज मात्र होइन ।
