कालो चिटिक्क परेको सुट लगाएको एउटा ठिटो केहि किताबहरु हातमा लिएर मुस्कुराउँदै उसँग भएका किताब किनिदिन अनुरोध गर्दैछ । म बढाइ चढाइ गर्दै बनावटि मुस्कानमा आफ्ना सामानहरु भिडाउने व्यक्ति देखि टाढै रहन मन पराउँछु । आकाश पाताल जोडेर आफ्ना सामानका गुणहरु बखान गर्दै जबरजस्ती सामान लाद्ने व्यक्ति मलाइ त्यति मन पर्दैनन् । उनीहरुलाई मेरो खल्तीमा पैसा छ कि छैन, मलाई उक्त सामान चाहिएको छ कि छैन भन्ने कुरामा पटक्कै ध्यान छैन ।
फेरि एउटा ठिटो वेव्स्टर डिक्सनरी लिएर आयो ।
सर नमस्कार ! , हल्का मुस्कान छर्दै उसले नमस्कार गर्यो ।
नमस्कार, मन नलागी नलागी नमस्कार फर्काएँ ।
सर एउटा सहयोग गर्नु पर्यो , विनम्रताका साथ ऊ बोल्यो ।
भन्नुस् , मैले चासो नदेखाइ भनेँ ।
सर् , म मार्केटिङ्को विद्यार्थी हुँ । यसरी किताब बेचे बापत मैले मार्क पाउँछु । विश्वविद्यालयले दिएको समय पनि सकिन लाग्यो । मैले धेरै किताब बेचेकै छैन । म त फेल हुन्छु होला । सर….. तपाईँले यो डिक्सनरी किनिदिनु भयो भने म तपाईलाई ५० प्रतिशत डिस्काउन्ट दिन्छु र त्यसमा पनि २५ प्रतिशत म मेरै पैसा हाल्छु । तर सरलाई बिल ५० प्रतिशत कै बनाइदिन्छु ।, उसले एकै सासमा यो भन्न भ्यायो ।
भाइ, तपाईँ किन आफ्नै पैसा लगाउने ?, मैले जिज्ञासा राखेँ । यो मान्छे मलाई गजबको लाग्यो । उसले यो प्रस्ताव कतिलाई राख्यो कुन्नी मलाई थाहा छैन तर मलाई उसको यो प्रस्ताव भित्रको कथा जान्न मन लाग्यो ।
म गरिव पविारको विद्यार्थी हूँ । छात्रवृत्तिमा पढेको तर कलेजको जाँचमा प्राक्टिकलको लागि केहि बेच्नु पर्ने हुन्छ । मैले त्यति बेच्न सकिन । म फेल भएँ भने मेरो छात्रवुत्ति पनि रोकिन्छ म पढ्नै पाउँदिन । पढेर परिवारलाई सहयोग गर्ने, एक छाक मिठो खुवाउने सपना त्यत्तिकै खेर जान्छ ।
मैले केहि पनि नसोधि त्यो किताब किनेँ । उसलाई पैसा थप्न दिइन । विचरा…. म सोचिरहेँ ।
यस्तै एक दिन चिनजानकै भाइ केहि सामान लिएर घरमै आयो । केहि समय अगाडि एउटै कार्यलयमा काम गर्ने भाइ चौकिदारीको काम छाडेर अर्कैतिर काम गर्न थालेको थियो ऊ पनि मार्केटिङ् मै लागेछ । उसले आएर त्यहि शैलि अपनायो । सबै कुरा नढाँटि राख्यो । ऊ बोल्नमा सिपालु भएकोले उसले धेरै सामान बेचेछ तर उसलाई प्रमोशनको लागि अझै धेरै सामान बेच्नु रहेछ । उसको सपना त्यो कार्यलयको व्यवस्थापक बन्नु रहेछ ।
यति सुन्ने बित्तिकै केहि सामान किनेर उसलाई पनि मैले विदा गरेँ ।
यी दुई घटनाले मेरो मार्केटिङ् गर्दै हिँड्ने यस्ता भाइ बैनी प्रतिको दृष्टिकोणमा परिवर्तन ल्याएको छ । उनीहरु जति धाराप्रवाह रुपमा कुनै सामानको व्याख्या गर्छन् त्यसको पछाडि त्यो सामानको गुणको बखान भन्दा पनि उनीहरुको सपना लुकेको छ । त्यो सामान उनीहरुको होइन त्यो धेरै बेचेर उनीहरुलाई धेरै फाइदा पनि छैन तर उनीहरु आफ्नो सपनाको खातिर दिनभर सुट लगाएर, लुखुरलुखर एउटा अफिस देखि अर्को अफिस चाहर्छन् बनावटि मुस्कान देखाउँछन् । उनीहरुका पैताला जलेका हुन्छन्, ज्यान गलेको हुन्छ । पानी सम्म राम्ररी पिउन पाएका हुँदैनन् । केबल यो एउटा सपनाको लागि …….
हुनत मार्केटिङ्मा लाग्नेको मात्र सपना हुन्छ भन्ने होइन हामी सबै सपनाकै लागि लागेका छौँ । आफ्नो सपना पूरा गर्ने धुनमा नै हामी छौँ । तर कसैले पनि आºनौ सपना बताउने हिम्मत गर्दैनन् । बनावटि मुस्कानका साथ आºनो सपनालाई कुनै सामानसँग वा जागिर सँग साटफेर गरिरहेका हुन्छौँ ।
सपना देख्नेहरुलाई सलाम……………….
