That’s Jupiter. The bigger one is Jupiter and others are its moons. ऊ धाराप्रवाह रुपमा व्याख्या गर्दै थियो । उसका कुनै कुरा मैले बुझेँ, कुनै बुझिन । कारण थियो उसको खगोलशास्त्रीय शब्दहरूको प्रयोग । बिचबिचमा yes भन्दै र टाउको हल्लाउँदै १/२ मिनेट जुपिटर अर्थात वृहष्पति ग्रह र त्यसका देखिएका चारवटा चन्द्रमा नियालिरहेँ । ऊ भन्दै थियो, “Jupiter has 11 moons …………… blah blah…….”। म अब टेलिष्कोपबाट आफ्ना आँखा मोडेर आकाशमा दृष्टि लगाउँदै थिएँ । ऊ प्रत्येक चम्किला पिण्डहरूलाई ग्रह, उपग्रह र ताराहरूमा विभाजन गर्दै मलाई बताइरहेथ्यो । म बुझे झैँ टाउको हल्लाउँदै उसका औँलाका इसारामा आँखाहरू दौडाउँदै थिएँ ।
म खगोलशास्त्रमा दिलचस्पी भएको मान्छे । भेट्टाएसम्म यस सम्बन्धि किताबहरू र इन्टरनेटमा पनि अध्ययन गर्ने मान्छे तर त्यो दिन म धेरै रनभुल्लमा परेको थिएँ । आकाशमा चम्किने ती तारा र ग्रहहरूले त्यो दिन मलाई तानेनन् । भित्रभित्रै मन अमिलो भइरहेको थियो त्यसको एउटै कारण थियो मेरो विद्यार्थी । हो, उसैको लगातारको अनुरोधले २०६८ कार्तिक २६, विहिबार गोवर्धन पूजाको दिन बेलुका ७ बजे भैसेपाटीको उसको निवासमा गएको थिएँ ।
विद्यार्थीको कारण मन अमिलो ? सुन्दै अचम्म लाग्नु स्वभाभिक हो तर यो यथार्थ थियो कि मलाई उसकै कारणले गर्दा मन एक तमासको भएको थियो । आकाशमा आँखा दौडाउने क्रममा मलाई वुहष्पति देखाउने अमेरिकन हजुरबा भन्दा ऊ नै बढि आकाशको वर्णन गर्दै थियो । अमेरिकन हजुरबा (मेरो विद्यार्थी उसलाई हजुरबा भन्छ) अमेरिकाको खै कुन विश्वविद्यालयको रिटार्यड प्रोफेसर हो रे, त्यो पनि मेरो विद्यार्थीले नै मलाई भनेको मैले उसँग परिचय पनि गरिन र गर्ने आवश्यक पनि ठानिन, मेरै विद्यार्थीले नै उहाँ मेरो शिक्षक भनेर मेरो छोटो परिचय दिँदा उसले साइन्स टिचर हो भनेर सोधेको थियो । मैले हैन भन्दा उसले कुनै प्रतिक्रिया दिएन । विद्यार्थी आकाशमा हेर्दै मलाई त्यो ताराको नाम यो हो, त्यसको त्यो हो भन्दै मलाई आफ्नै घरका कोठाहरू र परिवारका सदस्यहरू चिनाए झैँ तारा र ग्रहहरू चिनाइरह्यो , म उसको कुरामा भन्दा पनि अर्कै कुनै सोचाइमा डुबेँ ।
सायद उसकै उमेरको हुँदो हुँ राती अबेरसम्म आकाशमा हेरेर पुर्वको विकट पहाडी जिल्ला पाँचथरको थामथुम गाउँमा म पुलकित हुन्थेँ । तारा र ग्रहको बारेमा ममा कुनै ज्ञान थिएन तर म आकाशमा हेर्दै खसेका तारा, वेलावेलामा देखापर्ने चम्किला तारा, पुछ्रेतारा आदि हेर्दै मख्ख पर्थेँ । मलाई नत कुनै ताराको नाम थाहा थियो नत कुनै ग्रहको । मलाई त लाग्दथ्यो अकाश घरको छत र ताराहरू सजावटको लागि टाँसिएका चम्किने पदार्थहरु हुन् ।
“सर, यहाँबाट नजिकै पर्ने एन्ड्रोमेडा ग्यालेक्सी पनि देखिन्छ नी ! ” उसको आवाजले म झसङ्ग भएँ । ए हो र! भन्दै चासो देखाए झैँ गरेँ । तर काठमाडौको आकाश सफा नभएकोले देख्न नसकिने कुरा गर्यो । मलाई लाग्यो ठीकै छ । म त मैले नबुझेका र बुझ्न नसकेका कुराहरू उसबाट बुझ्दै थिएँ । मैले पढाउने विद्यालयमा पढेर उसले त्यो ज्ञान पाएको अवश्य हैन । उसका शिक्षक शिक्षिकामा पनि सायद उक्त ज्ञान नहोला ! मैले १२– १३ वर्षको उमेरमा टेलिष्कोपबाट आकाशलाई नियाल्ने मौका पाएको भए ! मलाई पनि त्यही उमेरमा त्यो मंगल, त्यो वृहष्पति भन्दै मेरा गुरुले आकाशमा देखाएर बुझाएको भए ! जस्ता कुराहरू मनमा खेलाउँदै समय बित्यो । भारी भन लिएर घर फर्किएँ । रात छिप्पिसकेको थियो, बिस्तारै बासस्थान कुसुन्ती आइपुगेँ तर त्यो घटनाले मनमा जरा गाडेर बस्यो । नेपालको शैक्षिक अवस्थालाई दोष दिँदै र धेरै विद्यार्थीहरूको भविष्यलाई तहसनहस पार्ने शैक्षिक संस्थाहरू सम्झदै निदाएँ ।
म त निदाएँ तर मेरो मनमा त्यो वास्वविकता निदाएन, झन व्युँतियो । किताबी ज्ञानमा भरपर्ने हाम्रो शैक्षिक उद्योग, वृहष्पति सबैभन्दा ठूलो ग्रह हो भन्दै कालोपाटीमा २ फिट व्यासको गोलो घेरा बनाउने शिक्षक र शिक्षालाई व्यापार ठानेर विद्यार्थीको जीवनमाथि खेलवाड गर्ने शैक्षिक व्यवस्थापन आदि ले यसलाई जगाएको हो । विद्यार्थी केन्द्रित शिक्षाको नाममा पौडि खेलाएर पैसा असुल्नुको साटो व्यवहारिक ज्ञानको लागि वैज्ञानिक उपकरणहरू खरिद गरे सायद रामै होला । अँ, राम्रै होला सायद ……
www.lilwalee.wordpress.com
