नेपाल मण्डलका आदिवासी जाति नेवारहरूको मातृभाषा रहिआएको नेपालभाषा नेपालको आफ्नै लिपि तथा लामो साहित्यिक इतिहास बोकेको भाषा हो । तिब्बती बर्मी भाषा परिवारमा पर्ने यस भाषा लिच्छवि कालदेखि जनभाषाको रूपमा रहिआएको छ भने यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ने.ई.सं. १११५ को ललितपुर रुद्रवर्ण्ामहाविहारस्थित ताड पत्रलाई लिइएको छ । मल्लकालको उदयसँगै राजकीय मान्यता पाएपछि यस भाषाले राम्ररी फल्ने फुल्ने मौका पायो । यहीअनुरूप १४औँ शताब्दीमा आएर हरमेखला, नारदसंहिता, अमरकोश, गोपालराज वंशावली आदिजस्ता महत्त्वपूर्ण ग्रन्थहरू रचिए भने तत्कालीन आवश्यकता र शासकहरूको रुचिअनुसार विविध विषयको प्रशस्त वाङ्मय ग्रन्थहरूको रचना भए । फलतः नेपालमा संस्कृतपछि प्राचीन वाङ्मय ग्रन्थको बढी रचना नेपालभाषाबाटै भयो । ई.सं १५०५ को भागवत् पुराण ग्रन्थदेखि यस भाषाको साहित्यिक इतिहास सुरु हुन्छ ।
१) प्राचीन काल (ई.सं १५०५-१८४७)
२) माध्यमिक काल (ई.सं १८४७-१९४१)
३)आधुनिक काल (ई.सं १९४१ देखि हालसम्म)
१) प्राचीन काल (ई.सं १५०५-१८४७)
नेपालभाषाको साहित्यिक इतिहासमा मल्ल काललाई स्वर्ण युग मानिन्छ । तत्कालीन शासकहरू स्वयंले यस भाषाबाट गीत, नाटक नाटिका आदि रचेर नेपालभाषा साहित्य उत्थानको निमित्त महत्त्वपूर्ण्ा योगदान पुर्याएका थिए । यस समयमा विकास भएका प्रमुख साहित्यिक विधा-कथा, गीत तथा नाटक हुन् ।
कथा ः प्राचीन कथाहरू विशेषतः स्वतन्त्र लेखन नभई अरू भाषाको अनुवादको रूपमा रहे पनि रचनाकारहरूले तत्कालीन धर्म संस्कृतिलाई प्रतिबिम्बित गरेर आफ्ना सिर्जनशीलता देखाएका छन् । यस्ता प्राचीन कथाहरूमा पुराण, अवदान, जात, तीर्थव्रत महात्म्य आदि जस्ता धार्मिक कथाहरू, पुराण, जातक, तीर्थव्रत माहात्म्य आदिजस्ता धार्मिक कथाहरू, हितोपदेश (ई.स्ंां १५७१) तन्त्राख्यान (ई.स. १५१८)जस्ता औपदेशिक कथाहरू, बेताल पंचविंशति (ई.सं.१६२०) शुकबहत्तरीजस्ता लौकिक मनोरञ्जनात्मक कथा तथा महाभारत रामायणस्ाम्बन्धी भित्ते चित्र कथाहरू प्रमुख छन् ।
गीति काव्य ः प्राचीन साहित्यमा सङ्ख्यात्मकरूपले मात्र नभई सबभन्दा बढी सिर्जनात्मक सशक्तता प्रतिबिम्बित भएको विधा गीति काव्य हो । हालसम्मको प्रमाणित तथ्यअनुसार ई.सं. १५६९ को व्ाीर रस प्रधान प्रणमति जुगपति नामक गीतलाईर् नेपालभाषाको सबभन्दा पहिलो काव्य तथा राजा महिन्द्र मल्ललाई (ई.सं. १५६०-१५७४)आदिकविको रूपमा लिइएको छ । अरू प्रमुख कविहरूमा-राजा जगत्प्रकाश मल्ल, सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, प्रताप मल्ल, रानी ऋद्धी लक्ष्मी, रणजीत मल्ल, वृद्धिलक्ष्मी जयप्रकाश मल्ल तथा जनसाधारणमा, केशव उदास, जगत्केशरी आदि प्रमुख छन् । त्यस्तै काव्यको विषयको रूपमा भक्ति तथा, श्रृगार नै मुख्य छन् ।
नाटक ः नाटक लेखनमा पहिले नेपालभाषालाई निर्देशनको माध्यमको रूपमा मात्र प्रयोग गरिएको थियो भने ई.सं. १६०८ मा आएर सिद्धिनरसिंह मल्लका एकादशी व्रतजस्ता एकाङ्की तथा ई.सं. १६६५ मा जगतप्रकाश मल्लको मूलदेव शशीदेवपाख्यानजस्ता पूर्णाङ्की पनि यस भाषामा देखा पर्न थाले । तत्कालीन शासकहरूले आफैले नाटकहरूको रचना गर्ने मात्र नभई विवाह व्रतवन्धजस्ता महत्त्वपूर्ण पर्वहरूमा प्रदर्शन गरेर नाटक साहित्यको विकासलाई महत्त्वपूर्ण टेवा पुर्याएका थिए । राजा सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, जगत्प्रकाश मल्ल, भूपतिन्द्र मल्ल, रणजित मल्ल, जयप्रकाश मल्ल आदि त्यस बेलाका प्रमुख नाटकारहरू हुन् भने सङ्गीत नृत्य आदि तत्कालीन नाटकका अभिन्न अङ्ग हुन् ।
यसरी मल्लकालमा असाध्यै मौलाएको नेपालभाषा साहित्य मल्ल शासनको अन्त्यसँगै यसको विकासमा गतिरोध आयो तर पहिले जस्तैै साहित्य लेखनमा राजारानीहरू सरिक नभए पनि केही भाइ भारदार तथा अज्ञात कविहरूले मन्द गतिमा भए पनि यसको क्रमलाई टुट्न दिएनन् । उक्त कविहरूले भजन, मुक्तक तथा गीति कथाका रूपमा तत्कालीन जनताले भोग्नु परेका घात-प्रतिघातलाई निर्भीक निडरतापूर्वक अभिव्यक्त गरेका छन् । शिलुतिर्थ, शितलामाजु गीति कथा यसका ज्वलन्त उदाहरण हुन् ।
२) माध्यमिक काल -(ई स १८४७-१९४१)
माध्यमिक कालको पहिलो चरणलाई अन्धकार युग पनि भनिन्छ । नेपालभाषालाई प्रत्यक्षरूपले दमन गर्ने कार्य यही समयदेखि भयो । ई.सं. १८४७ मा भएको भयानक कोत पर्वले भाइ-भारदारहरूमा डर-त्रास उब्जायो भने तत्कालीन सन्त महन्तको अर्ति उपदेशले पनि उनीहरूमा गहिरो प्रभाव पारेको थियो । फलतः स्वामी अभयानन्द, हरिभक्त माथेमा, मानलाल मास्के आदिजस्ता भाइ-भारदारहरूबाट उपदेशात्मक प्रवृत्तिको भक्ति काव्य सिर्जना भयो । उता तात्कालीन शासकहरूको भाषिक दमनले साहित्यिक प्रवाहमा गतिरोध ल्याए पनि त्यसको प्रतिरोध गर्ने युग पुरूषहरू पनि समयले ज्ान्माएका थिए । साथै छिमेकी देश भारतमा भएको तत्कालीन भाषिक, सांस्कृतिक जागरणले पनि यहाँका युवाहरूमा गहिरो प्रभाव पारेको थियो । फलस्वरूप यी युग पुरुषहरूबाटैे नेपालभाषा साहित्यको पुनर्जागरणकोे थालनी भयो । पण्डित निष्ठानन्द बज्राचार्यले हस्तलिखित परम्परालाई तोडी मुद्रण परम्पराको थालनी गरे भने ललितविस्तरजस्ता ग्रन्थहरू रचेर धार्मिक तथा भाषिक जागरण ल्याए । महाकवि सिद्धिदासले सिद्धिरामायण, सत्यसती, सज्जन हृदयाभरणजस्ता काव्य रचेर नेपालभाषालाई विविध विधा, विविध विषयबाट स्ाम्पन्न गराए, नैतिकमूलक उपदेशात्मक प्रवृत्तिको काव्यको थालनी गरे । कवि योगवीर सिंहले काव्यमार्फत भाषिक तथा सांस्कृतिक जागरणका स्वरहरू घन्काए । मास्टर जगतसुन्दर मल्लले मातृभाषामा शिक्षा दिने पाठ सिकाए । सहिद शुक्रराज शास्त्रीले नेपालभाषा व्याकरणज्ास्ता पुस्तक लेखी स्तरीय भाषा बनाउनमा सहयोग पुर्याए । धर्मादित्य धर्माचार्यले बुद्धधर्म र नेपालभाषा नामक पत्रिका प्रकाशन गरेर पत्रिकाको परम्परा बसाले । त्यस्तै सिद्धिदासको शिवविलास, निष्ठानन्दको ललितविस्तर, धर्मादित्य धर्माचार्यको नेपालभाषा व थ्वया साहित्यजस्ता गद्य लेखनले तत्कालीन ग्ाद्य विधालाई नै स्तरीय बनाए ।
३. आधुनिक काल- (ई.सं.१९४१ देखि हालसम्म)
नेपालभाषा साहित्यले आधुनिक मोड लिनुमा तत्कालीन भाषिक साहित्यिक गतिविधिहरूको पनि ठूलो भूमिका रहेको छ । १९९७ सालको काण्डमा जेलमा परेका कवि लेखकहरू तथा देश निकाला गरिएका तत्कालीन भिक्षुहरूको साहित्यिक योगदान, धर्मदूत, धर्मोदय, नेपाल आदि पत्र पत्रिकाको प्रकाशन, च्वसापासा, नेपालभाषा परिषद् आदिजस्ता सङ्घ, संस्थाको स्थापना, तत्कालीन प्रजातन्त्रको खुला वातावरण आदिले नयाँ-नयाँ साहित्यिक विधाहरू नेपालभाषा साहित्यमा पनि भित्रिए भने पहिले भएका विधाहरूले पनि आधुनिक रूप लिए । फलतः नेपालभाषा साहित्यले आधुनिक युगमा प्रवेश गर्यो । त्यस्तै पञ्चायती व्यवस्थाको भाषिक दमनको विरुद्ध भएको साहित्यिक क्रियाकलाप, २०४६ तथा २०६२/६३ को जनआन्दोलन, विश्वमा देखापरेको उत्तर आधुनिकवादको लहर, साइबर संस्कृतिको विकास आदिले यस आधुनिक क्रमलाई अझ अगाडि बढाए ।
काव्यः नेपालभाषामा स्वच्छन्दतावादी धाराको प्रयोग ई.सं. १९२८ नै कवि बैकुण्ठप्रसाद लाकौलले गरिसकेका भए पनि यसलाई अधि बढाउने काम आधुनिक कालको प्रारम्भसँगै भयो । यसको अग्रणी भूमिका सिद्धिचरणले निर्वाह गरे भने दुर्गालाल, नारायणदेवीजस्ता थुप्रै कवि कवयित्रीहरूले यसलाई साथ दिए । त्यस्तै ई.सं. १९६० को दशकमा गाजलं दाःगु चा, सरासुजस्ता काव्य सङ्ग्रहको प्रकाशनले नेपालभाषामा पनि आधुनिक कविताको सूत्रपात गरे । पूर्णबहादुर वैद्य, श्यामसुन्दर सैजु, बुद्ध सायमि, योगेन्द्र प्रधान, आनन्द जोशी यस प्रवृत्तिका अगुवा सर्जकहरू हुन् भने अरू थुप्रै नयाँ पुस्ताका कविहरूमा त्रिरत्न शाक्य, भगतदास श्रेष्ठ, सुदन खुसः, नर्मदेश्वर प्रधान, प्ा्रतिसरा सायमि, केशवमान शाक्य, नवीन चित्रकार, राजभाइ जकःमि, सुरेश किरण, ईश्वरी मैया आदि छन् । त्यस्तै प्रबन्ध काव्यतर्फ चित्तधर हृदयको सुगत सौरभ महाकाव्यलाई यस आधुनिक कालको एक प्रमुख उपलब्धि मान्नु पर्दछ ।
कथाः नेपालभाषामा आधुनिक कथाको सुरुवात चित्तधर हृदयको खुपु बाखंचादेखि (ई.सं.१९४७) आरम्भ भएको मानिन्छ । प्रारम्भमा बढी कथाहरू सामाजिक सुधार तथा नेवारी सांस्कृतिक परिवेशमा केन्द्रित छन् भने नयाँ पुस्ताका कथाकारहरू सूक्ष्म, साङ्केतिक तर बृहत् समाजलाई सङ्गाल्ोर कथा लेख्नमा प्रयत्नशील छन् । चित्तधर ‘हृदय’, मोतिलक्ष्मी, पूर्णदास श्रेष्ठ, माधवलाल कर्माचार्य, पूर्ण पथिक, हितकरव्ाीर सिंह त्यस्तै नयाँ पुस्तामा मथुराकृष्ण सायमि, राजा शाक्य, लक्ष्मण राजवंशी, सुवर्ण केशरी, शशिकला, नारद, केदार सितु आदि यस विधाका प्रमुख सर्जकहरू हुन् ।
निबन्ध ः नेपालभाषामा वास्तविक निबन्धको थालनी रत्नध्वज जोशीको तत्कालीन हस्तलिखित नेपाल (ई.सं. १९४५) पत्रिकामा प्रकाशित च्वय्गु छाय्बाट भएको छ भने वस्तुपरक निबन्धको विकासमा पनि रत्नध्वज जोशीको योगदान उल्लेखनीय छ । त्यस्तै निजात्मक निबन्धको थालनी प्रेमबहादुरको न्हूपुखूदेखि भयो भने यस प्रवृत्तिको निबन्धलाई अझ फराकिलो र विस्तार गर्ने काम पद्मरत्न तुलाधर, मङ्गलप्रसाद, पूर्णबहादुर वैद्य आदिबाट भयो तर नेपालभाषामा देखापरेका निबन्धहरू विषयगत हिसाबले संस्कृतिसम्बन्धी नै बढी छन् । यस विधामा देखा परेका अरू सर्जकहरू हुन्-मोतिलक्ष्मी, ठाकुरलाल मानन्धर, फणिन्द्ररत्न बज्राचार्य, युवा पुस्तामा विजयश्वर वैद्य, रमेशकाजी स्थापित, सौरभ शाक्य आदि ।
नाटकः आधुनिक नाटकको प्रारम्भ पनि यही आधुनिक कालमा आएर मात्र भयो । राणाकालीन समयमा इन्द्रजात्रा तथा अरू पर्वमा नेपालभाषाबाट डबली नाच देखाउने यथेष्ट परम्परा भए पनि त्यसलाई लिखितरूपमा राख्ने चलन भएन । फलतः प्रकाशनको हिसाबले एकाङ्कीमा ई.सं. १९४७ को चित्तधर हृदयको श्ााक्यानी तथा पूर्णाङ्कीमा ई.सं. १९५४ को सुदर्शन श्रामणेरको अम्वपालीलाई मान्नुपर्दछ । सुदर्शन श्रामणेर, हेमलाल जोशी तथा सत्यमोहन जोशीले विशेष गरेर ऐतिहासिक तथा पात्र प्रधान नाटकको विस्तार गरेका छन् भने ईश्वरान्ान्द श्रेष्ठाचार्यले फसंपू लप्ते, थाःगु छेँजस्ता नाटक लेखेर सामस्यामूलक नाटकको अभावपूर्ति मात्र गरेको नभई यस्ाको विकासको निमित्त पनि महत्त्वपूर्ण सधाउ पुर्याएको छ । अरू नाटककारहरूमा वाशु शशि, गिरिजाप्रसाद जोशी, दुर्गालाल श्रेष्ठ, राम शेखर, पद्मरत्ज तुलाधर, विजयबहादुर मल्ल, दिनेश भुजु, राजभाइ जकःमि आदि उल्लेखनीय छन् ।
उपन्यास ः ई.सं. १९५४ मा प्रकाशित धुस्वांको मिसादेखि नेपालभाषामा उपन्यासको आरम्भ भयोे । विश्व साहित्यमा उपन्यास विधा धेरै विकसित भइसकेपछि मात्र नेपालभाषामा यस विधाले प्रवेश गरेको हुनाले आफ्नो आगमनको साथै यसले उन्नत रूप देखाएको थियो । धुस्वां प्रथम उपन्यासकार मात्र नभई नेपालभाषाको उपन्यासको अर्को नाम भने पनि हुन्छ । त्यस्तै अरू उल्ल्ोखनीय उपन्यासकारहरूमा ईश्वरानन्द श्रेष्ठाचार्य, धर्मरत्न यमि, चिनियालाल बज्राचार्य, रत्नबहादुर सायमि, जगदीश चित्रकार, मथुराकृष्ण सायमि, शशीकला मानन्धर आदि छन् ।
समालोचना ः नेपालभाषामा पहिलो सिर्जनात्मक कृतिको समालोचना ई.सं.१९७९ मा प्रकाशित रत्वध्वज जोशीको धर्मोदया कहानित हो भने समालोचना साहित्यको राम्ररी विकास नेपालभाषा विषयको पठनपाठन कलेजमा भइसकेपछि (ई.सं. १९६२)मात्र भएको देखिन्छ । यस विधामा कलम चलाउने धेरै जसो प्राध्यापन पेसामा संलग्न शिक्षकहरू नै छन् तथा समालोचनाका विषयहरू पनि बढी पाठ्यपुस्तकसम्बन्धी नै छन् । रत्नध्वज जोशी, माधवलाल कर्माचार्य, कृष्णचन्द्रसिंह प्रधान, माणिकलाल श्रेष्ठ, कमलप्रकाश मल्ल, डा. जनकलाल वैद्य, नर्मदेश्वर प्रधान, इन्द्र माली आदि यस विधाका उल्लेखनीय हस्तीहरू हुन् ।
मधुपर्क पुष, २०६५
