Skip to content


“यो त चिहानडाँडा हो दिदी” भाइले विद्यालय जाँदा जहिले पनि सम्झाउँथ्यो । हाम्रो घर वल्लो डाँडामा थियो । बेसीमा विद्यालय, विद्यालय नपुग्दै बीचमा यो घलेहरूको चिहानडाँडा ।

“मलाई थाहा छँदैछ त तैंले जहिले पनि सम्झाउनुपर्छ” मैले रोष प्रकट गर्थें आफूभित्र जन्मेको त्रासलाई रोक्ने प्रयत्न गर्दै । मलाई मान्छे मरेको सुन्दा, लाश देख्दा र विशेष यो चिहानडाँडा पुग्दा एक किसिमको भयले छाती ढक्क फुल्थ्यो । कहिलेकाहीँ त रिस पनि उठ्थ्यो यो चिहानडाँडा काटेर पढ्न विद्यालय पुग्नुपर्दा ।

अन्तिम पिरियड सकिएपछि फेरि घर र्फकंदा त्यही बाटो हिँड्नुपर्ने चिन्ता हुन्थ्यो । प्रायः घर फर्किदा गाउँकै दिदीदाइहरूको पछिपछि लाग्थें । आफूसँग पढ्ने कक्षाका साथीहरू भने हाम्रो डाँडाका कोही पनि थिएनन् ।

“किन होला घलेहरूको त मान्छे मर्दा गाड्ने चलन हाम्रो त नदीमा लगेर पोल्छन् है” चिहानडाँडा पुगेपछि सँगै भएका दाइदिदीहरू यो प्रसङ्ग उठाइहाल्थे । म चुपचाप पर्खालले घेरिएको त्यो ठाउँतिर हेर्दै नहेरी बाटो काट्थें । कहिलेकाहीँ भाइ बिरामी भएर जान सकेन भने म यस्तरी कुद्थें मानौं म म्याराथुन दौडको एक प्रतिस्पर्धी धावक हुँ ।

“दिदी त्यहाँभित्र खनेर हेर्‍यो भने कुहेको लाश देखिन्छ होला है ।” भाइले पटकपटक मैले सुन्न नचाहेको कुरा उप्काइहाल्थ्यो ।

पुरानो ढुङ्गे पर्खालले घेरिएको डाँडो, छातीभरि लाशहरू दफन गराएर सधैँ सुकेका झारहरूमा उराठलाग्दो देखिन्थ्यो । वरपर घरहरू थिएनन् । त्यतिखेर मलाई यो डाँडो देख्नै नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । भाइले सुत्ने बेलामा समेत आमासँग कहिलेकाहीँ त्यही डाँडाको कुरा उठाउथ्यो । विद्यालय जाँदा आउँदा कहिले त डमडम बजाउँदै लाश पर्खालभित्र हुल्दै गरेको, खाडल खन्दै गरेको पनि देखिन्थ्यो ।

बुबाले सदरमुकाममा घर बनाउन सुरु गर्नुभयो । घर बनिसकेपछि भाइ र मलाई सदरमुकामकै विद्यालयमा पढाउने कुरा पनि घरमा चल्यो । खेतीपाती हेर्नुपर्ने हुँदा आमा, हजुरबुवा, हजुरआमा गाउँमै बस्ने सल्लाह भयो । बुबाले भने सहरमा पहिलादेखि नै किराना पसल थाप्नुभएको थियो ।

हामी तीन-तीन जना दुईतिर छुट्टएिर बस्ने भयौँ तर मलाई छुट्टएिर बस्नुपरे पनि विद्यालय जाँदा चिहानडाँडाको बाटो हिँड्न नपर्ने कुराले खुसी बनाएको थियो । भाइ र म सदरमुकाममै पढ्न थाल्यौँ । तैपनि आˆनो गाउँको सम्झनाले सताउँथ्यो, त्यो चिहानडाँडाबाहेक अरू सबै कुरा कति प्यारा थिए ।

हामी गाउँमा बस्दा घरभन्दा पल्लोपट्टकिो पैयुँ वनमा शनिबार अथवा बिदाको दिन हजुरबुबासँग प्रायः गाई बाख्रा चराउन पछि लाग्थ्यौँ । त्यहाँ गाई बाख्रा छोडिदिएपछि हजुरबुबाले भाइ र मलाई कहिले एैंसेलु, कहिले काफल टिपिदिनुहुन्थ्यो । भाइ र म पातमा भाग लगाएर कुनै खोल्साको ढुङ्गामा मच्चिइ मच्चिइ ‘जंगी निशान हाम्रो, गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ जस्ता राष्ट्रिय गीत गाउँदै खान्थ्यौँ । हजुरबुबालाई राष्ट्रिय गीत साह्रै मन पथ्र्यो घरमा पनि केही मीठा कुरा दिनुपर्दा पहिला यो गाउ अनि मात्र दिन्छु भनेर लोभ्याउनुहुन्थ्यो ।

सदरमुकामबाट एकपटक गाउँमा जाँदा हजुरबुबाले गाउँमा मसँगै पढ््ने विद्यालयका साथीभाइ, दाइदिदीहरू धेरै जसो जङ्गल पसेको कुरा बुबालाई सुनाउँदै हुनुहुन्थ्यो । सायद उहाँले माओवादी जनयुद्धमा गएको कुरा भन्नुभएको थियो क्यार । गाउँमै पढेको भए मैले चिहानडाँडाको बाटो एक्लै हिँड्नुपथ्र्यो होला अथवा म पनि दाइदिदीहरूसँगै जङ्गल पो पस्थें कि त्यतिखेर मैले यस्तै सोच्थें ।

गाउँमा आफूसँगै पढ्ने साथीका आमाहरू भेट हुँदा यी नानी बरु सदरमुकाममा गएर पढेकी छन्, हाम्रा छोराछोरीहरू कहाँ कहाँ छन् अत्तोपत्तो छैन भन्नु हुन्थ्यो ।

पछि बुबाले हामीलाई धेरै गाउँ जान पनि दिन छोड्नुभयो । भाइले जिद्दी गथ्र्यो, मैले पनि त्यो रमणीय कुनै खोल्सा, धुले मैदान, पैयुँवन कहाँ बिर्सन सक्थें र । चाडबाडमा उतैबाट हजुरबुबा हजुरआमा, आमा पालैपालो नयाँघरमा आउनुहुन्थ्यो तर गाउँको जस्तो रमाइलो चाड कहिल्यै मनाइएन । पछिपछि त बुबा पनि गाउँ जानै छोड्नुभयो । आमालाई पनि हजुरबुबाले हामीसँगै पठाएर आफू र हजुरआमा मात्रै गाउँमा बस्न थाल्नुभयो ।

एकपटक गाउँमा बीभत्स घटना भयो । धुले मैदानमा खेलेका गाउँका साना दुई भाइ विस्फोटमा परे । त्यसको लगत्तै पैयुँ वनमा वस्तु चराउन जानुभएका मेरा हजुरबुबालाई गोली लाग्यो । गाउँकै दुईवटी काकी पनि गोलीले ठहरै हुनुभयो । तैपनि हजुरबुबालाई खुट्टामा गोली लागेकोले बचाउन भने सकियो । यो घटनापछि त हजुरबुबा र हजुरआमा पनि वस्तुभाउ र घर तुले काकालाई जिम्मा लगाएर सदरमुकाम नै झर्नु भयो । गाउँमा धेरै मान्छे पटकपटक विभिन्न घटनाले मरेको खबर सुनिन्थ्यो । गाउँ शून्य भएको थियो । युवा पुस्ता थिएन । आर्थिक स्थिति दह्रो हुनेहरू सदरमुकाम झरेका थिए । कहीं कतै उपाय नलाग्ने तुले काका जस्ताले गाउँ कुरिरहेका थिए ।

भयानक दुर्घटनाको आँधी बेहोरेर घलेको चिहानडाँडा जस्तै उजाड भएको थियो मेरो रमणीय गाउँ ।

समय केही सुल्टियो, आँधी विस्तारै थामिदै गयो । शून्य गाउँमा फाट्टफुट्ट मान्छेहरू फर्केको सुनियो । मसँगैका साथीहरू, दाइदिदीहरू जो भयानक आँधीसँगको सङ्घर्षमा बचेका थिए ती पनि फर्केको थाहा पाइयो ।

धेरै वर्षपछि हाम्रो परिवारलाई पनि पुख्र्यौली थलोमा पुग्न मन लाग्यो । हामी पाँच घण्टाको बाटो हिँडेर बल्ल गाउँ पुग्यौँ । बूढा हजुरबुबा, हजुरआमा पनि थकानलाई वास्तै नगरी युवा जोशमा जस्तै हिँड्नु भएको थियो । तगारोबाट छिरेपछि गोठ हुँदै घर पुगिन्थ्यो । हजुरबुबा खुट्टा खोच्याउँदै गोठभित्र पस्नुभयो । बूढो भैंसीले ‘आहा’ गर्‍यो । सायद बल्ल फक्र्यौ भनेको पो हो कि । आँगन भरि झारैझार । घरका भित्ताहरू अलिअलि चिरिएका र फुंग उडेका थिए । पिंढीमा हरियो लेउ लागेको थियो । बार्दली भरी कसरैकसर थुपि्रएको । तुले काका एक जनाले कहाँ कहाँ भ्याउनुहुन्थ्यो र । हजुरबुबाले घरलाई चारैतिरबाट नियाल्नुभयो ती एक जोडी वृद्ध आँखा डबडबाएका थिए ।

म र भाइ गाउँतिर लाग्यौं सबैका घरको हालत त्यस्तै । आफूसँग पढेका साथी, दाइदिदी जति बाँचेका र फर्केका थिए ती सबैलाई भेट्दै हिँड्यौं । बेलुका घर फर्किंदा रात परिसकेको थियो भोक र थकानले लखतरान बनाएको थियो, खाएर भुसुक्क निदाइहाल्यौं ।

बिहान आँखा खुल्दा झलमल्ल भएको थियो । आँखा मिच्दै बार्दलीमा निस्किएँ । सफा थियो बार्दली, तल आँगनमा झर्दा त पहिलेको आˆनो घर बल्ल पो आए जस्तो लाग्यो । बुबाले झार उखेलेर आँगन सर्लक्क बनाइ सक्नुभएछ, आमाले चिरिएका भित्ताहरू सबै टालटुल गरेर पोतिसक्नु भएछ ।

मैले झलक्क चिहानडाँडा सम्झे किन किन एक पटक त्यहाँ पुगौं जस्तो लाग्यो । सुतिरहेको भाइलाई उठाएँ ।” बाबु चिहानडाँडा हेर्न जाउँ न ।”

“एकाबिहानै के चिहानडाँडा हेर्न जानु, फेरि त्यस्तो डराउने मान्छे आज किन जान मन लाग्यो ।”

मैले जिद्दी गरेर भाइलाई तानें । ऊ र म चिहानडाँडाको पर्खालछेउ पुग्यौं ।

“ओ हो यो त अर्कै ठाउँ हो कि क्या हो चारैतिर ढकमक्क फूलहरू फूलेका छन्, बीचमा बौद्ध गुम्बा पनि बनेछ सेता परेवाहरू भुर्रभुर्र उडिरहेका ।” मैले आफैंलाई चिमोटें तर यो सपना थिएन ।

“सधैँ यसरी फूलहरू फूल्न दिए त यो डाँडो पनि कति रमणीय बन्दोरहेछ है दिदी” भाइ पर्खालभित्र हेरेर बोल्दै थियो ।

– -स्याङ्जा

मधुपर्क पुष, २०६५

2 thoughts on “चिहान माथिका फूल”

  1. Kasle Ropechha tyasto Urath
    Kasle Ropechha tyasto Urath Lagdo Chihan dandama tyasta sukomal Phul .Je hos Padnathale pachhi Bichama Chodnaman nalagne Nai rahechha Katha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *