दुखेको देशमा थोरै मल्हम् पट्टी लगाउनु
दुखेका मनका पिडा यहिंबाटै भगाउनु
आमाको ममता पाई नभुल्नु सपना हरु
कोशेली आँशुका थोपा पुर्याउ लानु के अरु
सम्झनु खाडिको घाम काम केहि मिल्यो भने
दुखेका श्रमका हात खाडिले नै निल्यो भने ?
जिन्दगी खिईदै जान्छ रेगिस्तान खडेरीमा
भविश्य खुम्चदै गा’छ कालरात्री अँधेरीमा
देश बोक्ने युवा पंत्ति बनेका दास छन् यता
काँधमा काँध मिल्दैन शुन्य छन् बस्ति झन् उता
म¥यो कोहि भने गाउँ रुँदैन छैन क्वै जन
वृद्ध बच्चा असहाय दुख भोग्दै दिनै दिन
बाध्यताले विदेशिन्छ गाउँको जोशिलो युवा
कुँडिन्छ मनमा आफैं सपना सपना हुँदा
रोक है देशको शक्ति देशमै फुल्नुपर्छ त्यो
अँध्यारो ठाउँमा दियो बोकेर डुल्नुपर्छ त्यो
लाग्दैमा देशको माया देशभक्ति कहिन्न त्यो
गाएर राष्ट्रका गीत भुमि पुत्र कहिन्न त्यो
दिएर देशका लागी जिन्दगीका कुनै पल
जिएर हेर है आफैं नमागी क्वै प्रतिफल
देशलाई सके केहि दिनु पर्दछ सम्झनु
हाँसोस् मुहार आमाको देशमै दिल सुम्पनु
देशमा फर्कनु भन्ने प्रेरणा तिमि बन्नु है
देशमै मर्नु छ राम्रो हे युवा तिमि भन्नु है
भोलिका सन्तति आफैं बनुन् सक्षम काममा
नपरोस् बन्नु टाढाको गुलामी दास दाममा
घरैमा काम होस् आफ्नै गर्दा गर्दै नभ्याउने
संसारले चिनोस् त्यस्तो प्रेरणामा सजाउने ।।

वा ! कति राम्रो भावना ; यो
वा ! कति राम्रो भावना ; यो कविताले मेरो मन छोयो l धन्यवाद छ कविलाई , एस्तै भावनाहरूले भरिएका कविता यो मझेरीमा पढ्न पाई रहुँ l
लाग्दैमा देशको माया, देशभक्ति कहिन्न त्यो
गाएर राष्ट्रको गीत , भुमि पुत्र कहिन्न त्यो
दिएर देशका लागि ,जिन्दगीका कुनै पल
जिएर हेर है आफैं , नमागी क्वै प्रतिफल
मैले एस्तै कविता पढेको थिएँ कवि कालीप्रसाद रिजालको
देशप्रेम कहाँ हुन्छ , टोपी दौरा सुरालमा
देशप्रेम त्यहाँ हुन्छ , मुटुको अन्तरालमा l
इन्द्रमणि नेपाल ज्यू, आउने २०७१ सालको बडादशैंको शुभकामना सहित मेरो धन्यवाद छ l
धन्यवाद
धन्यवाद टिका सर मिठो प्रतिक्रियाको लागि…. हजुरलाई पनि बडादसैंको मंगलमय शुभकामना……