मान्छे हुन्छ गरीब जो छ मनको आफ्नै दरिद्री सदा
खाएर पनि जो छ तृप्त नहुने सम्पन्न बन्दा तथा
हुँदा सम्पति नै पनि हरघडी सन्तुष्टि कैल्यै नभै
जो छन् जिन्दगीदेखि रुष्ट ति सबै हुन्छन् दरिद्री सधैं
छैनन् दुख यदि जुटाउन मिठो पिठो हवस् त्यो भलै
गर्नु छैन परिश्रम कहिं कतै छन् दुख भन्छन् अझै
ठुला खर्च गरेर हिंड्दछ कतै मान्छे ठुलो हुँ भनि
आत्मा नै रहँदा गरीब अनि को बन्ला र कैले धनि
बस्छन् जो झुपडि सजाईकन नै खुशि सधैं छन् तिनै
चारो टर्छ यदि परिश्रम गरे पायो भने दिन्दिनै
भोको बस्नु यदि परे पनि कतै सन्तुष्टीले तृप्त जो
धन्वान् तेहि कहिन्छ सम्झ मन हो बन्दैन पैसा ठुलो
धर्ति हो घरको टलक्क सुकिलो आकाश छानो रह्यो
रातोदिन् परिवार खातिर कठै आफैं पसिना भयो
टाढा छ सुख किन्तु खुशि मनले बढ्दैछ उसको गति
सन्तुष्टि रहने धनि नरहने सब्को हवस् यो मति
जस्तै सम्पति नै भएपनि त्यहाँ मन्को दरिद्रि नहोस्
मान्छेको बिचमा प्रफुल्ल रहँदै आत्मा सुखि भै रहोस्
बाँचोस् एक सपुत झैं वरिपरि शक्ति दिने साथ होस्
माया नै धन बन्न सक्षम हवस् शान्ति मनैमा हवस्
