Skip to content


औंला जोडी मुसुमुसु गरी हेर नेता उदायो
आमा बाबा सकल जनमा नाम नाता जुरायो
बत्ती बाल्यो तिमिर मनमा थोर आशा जगायो
मुर्दा खोजी सब जगतका फेरि ज्यूँदा बनायो ॥

अड्डी अड्डी रुख-सँयलमा रुद्र कण्ठी बजायो
आँशू धारा धरधर हरे! देश-पीडा बगायो
हल्ली हल्ली झन झन झनै चर्किचर्की करायो
सारा धर्तीभरि सगरका जून तारा खसायो ॥

आसेपासे सब परिग्रही लाम लर्को हिँडायो
झोस्यो आगो झन धरममा जात जम्मै भिडायो ।
पाखो बारी छकछक अहा! रेलगाडी कुदायो
साना ठूला जन अधरमा नाम उस्कै रटायो ॥

मैला थैला, पथ र घटमा शब्द मीठा खसायो
छामी झुत्रा मन मनुजका भित्र बैभव् पसायो
छोई खुट्टा युगल करले शुष्क आत्मा सिँचायो
उभ्भी हाँस्तै कमल करले फेर दौरा फिँजायो ॥

आहा जन्ता कमल मनका! फुत्त गाँठो फुकी गो
पासा पल्ट्यो जय जय भयो माथि आफू पुगी गो
टेकी कंकाल झटपट ती हात लामा फिँजायो
कुल्कुल् कुल्कुल् कर उदर झन् लोभलाग्दो बनायो॥

आभाजस्तो अब बदन भो डोर धाँजा हराए
लाटा सोझा मनुज विचरा अन्धकारमै बिलाए
आस्था जम्मै विनिमय भयो टन्न थैलो बनायो
हेर्दा हेर्दै घर शिखरझैं उच्च अग्लो ठड्यायो ॥

बित्दै जाँदा पलपल घडी जेब पात्रो धुजा भो
आयो अर्को समय जब त्यो फेरि उस्तै खडा भो
औला जोडी सकल निहुरी माथ पूरै झुकायो
चारो फाल्दै घर शहरमा फेरि नेता उदायो ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *