नाची नाच अनेक जङ्गल भरी आई नदी वेगले।
जान्छे आज कहाँ भनेर यकलै हेर्दै छ की लेकले।।
जो छन् ती वनका लता र लहरा पन्छाउँदै बग्दछे।
मीठो गुञ्जनले पहाड पहरा घन्काउँदै बग्दछे।।
सारा खेत भरी किसान जनको प्यारी भएकी नदी।
ठूला फाँट हराभरा छ धरती तिम्रै गरौँ आरती।।
घुम्ती पार गरी पहाड गिरिको मैदानमा झर्दछे।
हाम्फालेर तराइ फाँटहरुमा पानी कती भर्दछे।।
यात्रा गन्तव्यमा पुर्याउनु पर्यो जाऔँ भनी ए सखी।
आफै सङ्ग मिसाउँदै ति झरना खोल्सा र खोली पनी।।
काहाँ भेट हुने बगेर यसरी काँ मिल्नु खै जिन्दगी।
वा भेट हुन्छ भनेर सागर कतै पर्खी बसेको छ की।।
गाऊने कसरी अपार महिमा गाई नसक्ने छ यो।
तिम्रो नाम यसै पवित्र किन हो यै खुल्दुली झन् भयो।।
यस्तो लाग्छ नदी किनार म बसी पूजा गरौ अर्चना।
तिम्रै छेउ गएर यो हृदयको पोखौ कती भावना।।
कोसेली म दिने भए रहरमा लिन्छौ कि लिन्नौ भन।
तिम्रो त्यो दहमा डुबौँ अनुमती दिन्छौ कि दिन्नौ भन ।।
तिम्रा वेग र भेलमा मनहरू हाँसुन् ति जैले पनी।
कुण्ठा पीर नदी किनार तिरमा बिर्सुन् ति जैले पनी ।।
