नरोई बसे हे मेरी प्रिये म फर्की आउँला
दु:खको भारी सीमानापारि म छाडी आउँला
यी लाला बाला कलिला मुना छाडेर जाँदैछु
तस्विर तिम्रो यो छातीभरि साँचेर लाँदैछु
डाँडाकी जून यी बुढी आमा सुसारी राखे है
अप्ठेरो परे दु:खले घेरे नआत्ती बसे है ।
दुई थुङ्गा फुल देउरालीमाथि देवीलाई राख्दिनु
नलागुन् दैव परदेशी माटो कूल्पुजा भाक्दिनु
उनै हुन् दाता भाग्य विधाता ईश्वर राखे है
अप्ठेरो परे दु:खले घेरे उनैलाई डाके है ।
नगरी कर्म धिक्कारे भाग्य के होला उन्नती
हामीले दु:ख नगरे प्रिये काँ पुग्ला सन्तति
शरीर तिम्रो यो रहेसम्म कर्म नछाडे है
सुखको भारी म बोकी आउँला पर्खेर बसे है ।
