सम्झिएकी छैनौ तिमीले त्यो पोहोरको होलीदेखि
भैगो आज सम्झिहालेँ म नि बिर्सिदिन्छु भोलिदेखि
बाहना गरी डर देखायौ हाम्रा बाउ यस्ता भनी
म पनि मर्दकै छोरो थिएँ डराउन्नथेँ गोलीदेखि
कोशिस गरेँ धेरै चोटि भेट्न आउन तिमीलाई
खबर गर्यौ नआऊ भन्दै त्यो परको खोलीदेखि
सुनका चुरा ती हातमा लगाइदिने मन् थ्यो मेरो
दिन पनि केही सकिन त्यही ढाकाको चोलीदेखि
भेट हुँदा दोबाटोमा बिन्ती मुन्टो चाहिँ नबटार्नु
चाहिँदैन केही मलाई त्यो तिम्रो मीठो बोलीदेखि
सम्झिएकी छैनौ तिमीले त्यो पोहोरको होलीदेखि
भैगो आज सम्झिहालेँ म नि बिर्सिदिन्छु भोलिदेखि
पुस्कल पौडेल (—प्रतिक)