तिमी वारम्वार ‘समर्पण’ शब्दको प्रयोगले ‘कविता’ सुन्दर बनाउने प्रयत्न गर्छौ,
म त्यही शब्दको आडमा ‘प्रेम’ सफल पार्ने धोको राख्छु!
तिमी कागजमा मसि पोतेर रोमन्चित बन्न चाहन्छौ,
म जीवनलाई रोमान्चक बनाउन चाहन्छु!
तिमी मान या नमान
फरक यत्ती मात्रै छ तिमी र म मा!
तिम्रो एक झल्को पाउन लालायित मेरा आँखाहरू
अनदेखा गर्न सक्ने तिम्रा व्यवहार
तिम्रो सुमधुर आवाज सुन्न तड्पिँदै पर्खिरहेका श्रवणेन्द्रियहरू
मौन साधेर समय कटाउन सक्ने तिम्रा आचरण
तिमी मान या नमान
फरक यत्ती मात्रै छ तिमी र म मा!
तिम्रा ती चम्कीला नयनका भाखाहरू समेट्न तत्पर यी घडी पला
आफ्नै दुनियाँमा मस्त तिम्रो दैनिकी
जीवनका हरेक क्षणलाई ‘नीयति’ को पगरी गुँथाउँदै सरल बनाउन खोज्ने तिम्रा ती स्वभाव
नीयतिसँग विद्रोह गर्दै आफ्नो जीवनको गन्तव्य रेखा माथि जटिलता थप्न खोज्ने मेरा विचार
तिमी मान या नमान
फरक यत्ती मात्रै छ तिमी र म मा!
तिमी नशामा रमाउँदै, सपना देख्ने तरखरमा होलाउ,
यता म भने आँखा च्यातेरै दिवास्वप्न देख्तैछु, कल्पनामा तिमीलाई भेट्तैछु!
तिमी मान या नमान
फरक यत्ती मात्रै छ तिमी र म मा!
मेरो लागि ‘समर्पण’ नयनले बोल्छ, श्रवणेन्द्रियले सुन्छ, विचारले बोल्छ
तिम्रो लागि ‘समर्पण’ निर्जीव कागजको खेश्रामा सीमित भएर रहन्छ
तिमी मान या नमान
फरक यत्ति मात्रै छ तिमी र म मा!
मझेरीमा पहिलो पटक प्रकाशित – 2014-11-18 08:47:11 +0545
