Skip to content

विदेशमा बस्नेहरुले देखाएको देशभक्तिप्रति किन रिस ?

”मेरो राष्ट्र मेरो मुटु एशियाको धरोहर !
मासिन्छ कि, कतै भन्दै लाग्छ चिन्ता बरोबर !!”

कवि गोपाल रेग्मीको कविताबाट उध्रित गरिएका हुन । त्यो पीडा कवि गोपाल रेग्मीको मात्रै होइन, देशलाई हृदयदेखि नै माया र सम्मान गर्ने हरेक नेपालीको मनको पीडा हो ।

हाम्रो देशको बारेमा हामिले ईतिहासमा पनि कहिल्यै अरुको अधिनमा रहेको थियो भनेर पढ्नु परेन । जब, अठारौँ शताब्दीतिर जव दक्षिणपूर्वी एसियाका धेरैजसो राष्ट्रहरु, बिशेषत: भारतिय उपमहाद्वीपका भागहरु युरोपियनहरुको अधिननमा भैसक्दा पनि नेपाल सदा सार्वभौमसत्ता सम्पन्न राज्य भएर गर्वका साथ उभियो । त्यो समयमा साम्राज्यवादको इतीहास रच्न माहीर राष्ट्रहरु पोर्चुगल, अमेरिका, ग्रेट ब्रिटेन, नेदर्ल्यान्ड्स, स्पेन र फ्रान्सजस्ता कुनै पनि राष्ट्रहरुको अगाडी घुँडा टेक्नु परेन । त्यति बेला न त संयुक्त राष्ट्रसंघ जस्ता अरु राष्ट्रका लागि चासो लिइदिने वा बोलिदिने सँस्थाहरु थिए न त अहिलेको जस्तो शिक्षा र सँचारको उपभोग गरेर आफूलाई हरघडी सूसुचित राख्न सक्ने जमात थियो; तर पनि नेपाल एउटा गरिमामय राष्ट्र भएर आफ्नै बलमा उभिरह्यो; कतै डगेन, डगमगाएन ।

त्यतिबेला अहिलेको अभिभावक बन्न खोज्ने छिमेकी राष्ट्र आफैँ ब्रिटिश साम्राज्यवादको अधिनमा रहेको थियो भने अर्कोतिरको तत्कालीन चीनको केही भूभागहरु कोचिन चाईना, अन्नाम, टोङ्किङ्ग, लाओस फ्रान्सको कब्जामा थिए । तर पनि नेपाल बाँचेकै थियो; नेपाली बाँचेकै थिए । त्यो पनि समर्थवान र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नै बनेर । त्यति बेलाको सरकार चलाउनेहरुलाई बिहान के गर्ने र बेलुकी कसरी बिताउने भन्ने जस्ता सल्लाह लिन भारत दौडनु परेको थिएन ।

त्यो समयमा घर भित्रको झगडा छिन्न छिमेकी गुहार्नु पारेको पनि थिएन । न त अमेरिका र बेलायत जस्ता राष्ट्रहरुलाई हाम्रा नेताहरुलाई आफ्नो काममा ध्यान नदीइ बिदेशमा भौँतारिने अनुमती नदेउ भनेर गुहार्दै हिँड्नु परेको थियो । यी आरोपहरु पँक्तिकारले अतिरन्जित गर्दै लगाएको होईन; यो त ’परिवर्तनको लागि हामी नेपाली एक’ समूहले बिदेशी दुतावासहरुलाई लेखेको अनुरोध पत्र पढेरै जानकारी लिएको हो ।

”हामी सम्बन्धित संस्थाहरुसँग संविधान सभाका कुनै पनि सदस्यहरु तथा राजनीतिक दलहरुका कुनै पनि वरिष्ठ नेताहरुको अन्तर्राष्ट्रिय भ्रमणहरुलाई नयाँ संविधान जारी नभईञ्जेलसम्म प्रायोजन नगरिदिनुहुन अनुरोध गर्दछौं । हामी सम्बन्धित संस्थाहरुले हाम्रा सभासद् तथा नेतृत्व तहको भदौसम्ममा संविधान मस्यौदा गर्ने तथा शान्ति प्रक्रिया सम्पन्न गर्नेमा उहाँहरुको समयको कति महत्व छ भन्ने बुझ्नुभएको छ र त्यसलाई सम्मान गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं ।” यी हरफहरु सोही पत्रबाट साभार गरिएका हुन । यसले पनि प्रमाणित गर्दछ कि, आम नेपालीहरु देशको हक र हितको लागि कति चीन्तिन छन भनेर । त्यसैले फेरि पनि दोहोर्‍याउन मन लाग्छ कविका उक्त पँक्तीहरु,
मेरो राष्ट्र मेरो मुटु एशियाको धरोहर !
मासिन्छ कि कतै, भन्दै लाग्छ चीन्ता बरोबर !!”
तर देशमा बस्नेहरु आफूहरुलाई मात्रै देशको माया भएको जस्तो व्यबहार प्रदर्शन गर्दछन । बरु छिमेकीलाई गुहार्छन तर बिदेशमा बस्ने नेपालीहरुले देशप्रति माया र भक्तिभाव मात्र देखायो भने पनि भागै खोसेर खान आएको जस्तो गर्दछन । कतिपय नेपालीलाई बिदेशमा बस्नेहरुले देखाएको देशभक्ति पनि चित्त बुझदैन ।

देशप्रतिको भावनात्मक सम्बन्धलाई प्रकट गर्दा पनि ब्यँग्य बाण हान्छन, अनी चहर्‍याउने गरी नूनचुक छर्न तत्परता देखाउँछन ।
देशवाशीहरुले बिदेशीलाई गुहारेको सन्दर्भमा नै समर्थन जनाउँदै पत्रकार गिरीश पोखरेलले लेख्नुभयो,”संविधान बनाउन छाडेर विदेश घुम्न जानेहरुका विरुद्द गरिएको विरोधको समर्थन ।” तर उँहालाई मात्रै होईन, उँहाको समर्थनलाई समर्थन जनाउनेहरुलाई तुरुन्तै ब्यँग्य कस्दै जवाफ आयो,”देश नै छाडेर बिदेशमा बस्नेहरुको…….!!!!! नो कमेन्ट ।” कस्तो अचम्म ! जव, नेपालका लागि अमेरिकी राजदूत स्कट एच डिलेसीलाई फेसबुकको भित्तोमै अनुरोध जान्छ,”बिदेश जान खोज्ने सभासदहरुलाई भिसा नदिनुहोला !” भनेर; त्यो ”राष्ट्रवादी” हौँ भन्नेहरुलाई पच्छ; बिदेशी दुतावासहरुमा सभासदहरुको बिरोध गर्दै सन्देश जान्छ, त्यो पच्छ !
कस्तो अचम्म ! यो व्यबहार देख्दा घरबाट निस्केको छोराले (छोरीलाई अंश दिने कानून त कितावमा मात्रै छ, त्यसैले छोराको उदाहरण दिन वाध्य भएको!)”मेरो अंश देउ” भनेर निहुँ खोज्दा ”तँ घर छाडेर गैसकेकोलाई के को अँश दिने ?” भनेर प्रतिउत्तर दिएजस्तो । आखिर अँशै मागेको त होईन नी !
केवल, ”मेरो राष्ट्र मेरो मुटु एशियाको धरोहर !
मासिन्छ कि, कतै भन्दै लाग्छ चिन्ता बरोबर !!” भन्ने चिन्तन मात्र बोकेको हो । घर बाहिर बसेको सन्तानले बाबु-आमालाई माया र स्नेह ब्यक्त गर्ने हक प्राप्त गर्दैन र ?

किन उनीहरुको स्नेह र सम्मानलाई सौतेनी भाव दर्शाइन्छ ? साँच्चै भन्ने हो भने सभ्य समाजमा बसेको ब्यक्तिले त ”सौतेनी भाव” भन्ने शब्दलाई पनि लाज-गालले नै सही, त्याग्न थालिसके । तर आफ्नै नेपाली दाजु-भाई, दिदी-बहीनीलाई बिदेशमा बसेकै कारण खेद्न अलिकति अप्ठ्यारोसम्म लाग्दैन । यो कुरा त्यतिखेर हजम हुन्थ्यो, जब कसैले कुनै कार्यक्रममा भाग लिन या कुनै कारणले पनि बिदेश जाने मौका आएकोमा नकारेको होस । खै, आजसम्म त्यस्तो त कहिल्यै सुन्न पाइएको छैन । बरु भिसा पाइएन भनेर बिलौना गर्दै हिँडेको धेरै पटक सुनिएको छ । तर पनि, देशप्रति श्रद्धा भाव देखाउँदा पनि छटपटी नै हुन्छ; किन होला ? यो पंक्तिकारको चित्त बुझाइदिने कोही हुनुहुन्छ कि ?

तर जोसुकैले जेसुकै भन, जतिसुकै ब्यँग्य कस तर यो मनले फेरि पनि गोपाल रेग्मीको कविताका हरफहरु दोहोर्‍याउन छाड्दैन,

”मेरो राष्ट्र मेरो मुटु एशियाको धरोहर ।
मासिन्छ कि कतै, भन्दै लाग्छ चिन्ता बरोबर !!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *