Skip to content


नेपालका “महिलावादी”हरू मध्धेकी एक शशक्त “महिलावादी” नेत्री डाक्टर रेनु भण्डारीको एउटा भनाईले सरक्कै ध्यान तान्यो । उहाँलाई कुनै मन्त्रीले आफूलाई “महिलावादी” होइन “महिला अधिकारवादी” भनेर परिचय बनाउन सल्लाह दिएछन; यसको जवाफमा उहाँको भनाइरहेछ, “म एक महिलावादी हुँ र म त्यसै भनिनमा गर्वको अनूभूति गर्दछु ।”

विषयको उठान यही हो,”महिलावादी”भन्दा नराम्रो सुनिने तर “महिला अधिकारवादी” कर्णप्रिय हुने ! आखिर के तात्विक फरक छ त यी दुई शब्दहरूमा ?? यसको बारेमा पश्चिमा धर्म गुरुहरूको केही सोचहरू उदृत गर्न मन लाग्यो, उनीहरूको मन र मष्तिष्कमा पनि “महिलावादी” भन्ने बित्तिकै एकदमै कर्कशा देखिने, माया र ममता बिहीन अनुहार भएका, लुगाहरू पनि केटाकै जस्तो मात्र लगाएका आदि आदिको छवीको आकृति कुँदिने रहेछ भने अर्को तर्फ घरेलु महिला भन्ने बित्तिकै मायालु, आफ्नो पतिको सेवामा खट्न हरबखत तत्पर रहने, कोरीबाटी चिट्टिक्क परेकी, सुन्दर देखिने खालको पोशाक मात्रै पहीरिने, भारी भरकम उचाल्ने या त्यस्तो (सदीयौँदेखि लोग्ने मानिसले गर्ने भनेर तोकिएको) काम गर्न दु:स्साहश नगर्ने व्यक्तिलाई जनाइने रहेछ । यी बिचारहरू पढेपछि लाग्यो, यहाँनेर पश्चिमा समाजको सोच र पूर्वीया समाजको सोचमा त्यति धे…..रै अन्तर रहेनछ ! यसको प्रमाणको लागि बाईबलको एउटा लाइन यहाँ उधृत गर्न चाहन्छु, जसमा भनिएको छ,” Whose end is destruction, whose God is their belly, and whose glory is in their shame, who mind earthly things.” -Philippians ३:१९” यसको व्याख्या सम्बन्धित व्यक्तिहरूले यसरी गरेका रहेछन,”एउटा घरेलु नारी उसको पतिको लागि बरदान हो । कुनै पनि पुरुष “Mack Truck”(धेरै बलियो देखिने या थोत्रो देखिने भन्न खोजेको हो कि ?)सँग विवाह गर्न चाहँदैनन । यहाँनेर म एउटा कुरा जोड्न चाहन्छु, घरेलु नारी हुन पातली नै हुनुपर्छ भन्ने छैन । धेरै ठूला हड्डी भएका महिलाहरू पनि घरेलु महिला भएका छन । नारित्व या यसको अस्तित्व भनेको मानसिक स्थितिको एहशास हो । त्यस्ता नारीहरू, उनीहरूलाई पुरुषले ढोका खोलिदिएर उनीहरू भित्र नपसुन्जेल ढोका समाएर बसेकोमा (जुन पश्चिमा संस्कृतिमा एउटा सभ्य व्यबहार मानिन्छ) नराम्रो मान्दैनन; बरु त्यसलाई स्वागत नै गर्छन । त्यस्ता नारीहरू कुनै पनि भारि-भरकम बस्तुहरू उठाउँदैनन, त्यसको लागि उनीहरू बलियो पुरुषको मद्दत माग्दछन । त्यस्ता नारीहरूले नै पुरुषहरूलाई साँचो रुपमा पुरुष हुनाको अर्थ दिलाउँछन; किनकि, उनीहरूलाई ती पुरुषहरूको पौरुषत्व, बल र साहशको खाँचो हुन्छ । ती नारीहरूलाई पुरुषबाट त्योभन्दा बढी अरु कुनै कुराको आवश्यकता पर्दैन; उनीहरूको मानशिकताले पुरुषहरू प्रतिको धारणा त्यसरी नै बनाइसकेको हुन्छ । ती महिलाहरू मानसिक रुपले कम समलैँगिक हुन्छन । अर्कोतर्फ महिलावादीहरू पुरुषले जस्तो सोच्दछन । उनीहरू पुरुषकै जस्तो लुगा लगाउँदछन(मतलव, प्यान्ट र शर्ट)|” आदि आदि । यी हरफहरू पँक्तिकारले रचेको होइन, उपरोक्त हरफहरूलाई “फेमिनिज्म भर्सेज फेमिनिटी” साईट्बाट उधृत गरिएको हो । यी पंक्तिहरू पढ्दा लाग्छ, पूर्वीया समाजले कानून निर्माणको आधारशीला मानेको “मनुस्मृति” जस्ता ग्रन्थहरू र राजनीतिको आदर्श मानेको “चाणक्य नीति”का हरफहरूभन्दा पश्चिमेली धर्मशास्त्रहरू पनि कुनै पनि हालतमा काम छैनन; जसबाट उनीहरूको धर्म, संस्कृति, समाजका काइदा र नियम तय हुन्छन् । तर फरक यति हो कि, पश्चिमाका कानून लेखकहरूले महिलालाई शिक्षा प्रदान गर्ने कुरामा कानूनरुपी लठ्ठीको निर्माण गरेर भएपनि कुनै कन्जुस्याँई गर्न दिएनन त्यसै कारण पश्चिमा समाज अलिकति भएपनि अगाडि बाध्न सकेको हो; होइन भने “महिलावादी” र “महिला अधिकारवादी” माथिको तर्क र बिचार सम्प्रेषण गर्ने सन्दर्भमा दुवै समाजका वासिन्दाहरू झन्डै झन्डै उस्तै छन; मात्रामा धेर थोर मात्रै हो, निमिट्यान्न भने छैन । यसै बारेमा, महिलाको उत्पत्ती कसरी भयोभन्दा उनीहरूको बाइबलले पनि “महिलाको उत्पत्ति, पुरुषको करँगको हाडबाट” भएको भन्दछ ।

बहसको विषय फेरि पनि उही,”महिलावादी” शब्द किन कर्कश सुनिने,”महिला अधिकारकर्मी” चाहिं पाच्य हुने किन ? आखीर महिलावादी र महिला अधिकारकर्मीले उठाउने कुराहरू उस्तै हुन; उनीहरू कुनै अर्को ग्रहबाट आएका प्राणी पनि होइनन; उनीहरूले कुनै सीँग र जुरो उमार्न खोजेका पनि छैनन । उनीहरू त केबल थाँक्रोमा बेरिएर बाँच्नुपर्ने बाध्यताबाट एउटा महिला व्यक्तित्वलाई मुक्त गर्न चाहन्छन । त्योभन्दा बढी अरु केही होइन । एउटी महिलालाई “थाँक्रो” भएर होइन, एउटा “व्यक्ति” को रुपमा बाँच्न उत्प्रेरित गर्छन; त्योभन्दा बढी उनीहरूले केही चाहेका छैनन र यो उत्प्रेरणा भित्र उनीहरूको कुनै व्यक्तिगत स्वार्थ्य पनि लुकेको छैन । बरु महिला अगाडि बढे भने आफूहरूको अस्तित्व नै लोप होला भन्ने डरले भरिएको जस्तो गरेर बिरोध गर्नेहरूको आवाज उठ्ने गर्दछ ।

आखीर ‘महिलावादी’ या ‘महिलावाद’ र ‘महिला अधिकारवादी’ या ‘महिला अधिकारवाद’मा के फरक छ त ?

महिला अधिकारका समर्थक शरद सी न्यौपानेको बिचारमा,”महिलावाद भनेको महिलाहरूको राजनैतिक, आर्थिक, सामाजिक अधिकार तथा समान अवसरहरूलाई लक्ष्य बनाएर त्यसको व्याख्या र स्थापनाको लागि गरिने सामुहिक आन्दोलन हो । महिलावादको धारणा महिला अधिकारमै नीहित हुन्छ । महिलावाद विशेषत: महिलाकै विषयमा केन्द्रित हुन्छ, तर महिलावादले लैगिंक समानता खोज्ने हुँदा, केही महिलावादीहरू पुरुषहरूको स्वतन्त्रतालाई पनि महिलावादको आवश्यक भाग मान्दछन र पुरुषहरू पनि यौन विभेद र लैगिंक विभेदको शिकार हुनसक्छन भन्ने मान्दछन । त्यसैले महिलावादी भनेको जुनसुकै लीँगको व्यक्ति हुन सक्छ; जसले महिलावादमा भाग लिएको हुन्छ ।” त्यसैले उहाँ गर्वका साथ आफूलाई,”म पनि एउटा पुरुष महिलावादी हुँ ।” भन्न हिचकिचाउनुहुन्न ।

फेरि पनि उही प्रश्न, ‘महिलावाद’ या ‘महिलावादी’प्रति किन त्यति सारो नकारात्मक धारणा राखिन्छ त ?

सन १९६०मा अमेरिकी महिला क्यारोल हेनिश्चले लेखेको नारीवादीसम्बन्धी एउटा निबन्धले ल्याएको धारणा ‘द पर्सनल इज पोलिटिकल’ देखि लिएर आजका दिनमा उठ्ने महिलाका हक हितका व्याख्याहरूसम्म(विशेष: गरी आफ्नै देशमा)मा कम र बेशीको कुरा मात्र हो तात्विक अन्तर खोज्ने हो भने खासै फरक देखिंदैन । यसै बारेमा बिक्रम सम्वत २०५४ साल बैशाखमा घटेको दुईवटा घटनाहरू प्रस्तुत गर्न मन लाग्यो । त्यति बेला तत्कालीन श्री५ को सरकारले दुईवटा गैँडा बेलायत सरकारलाई उपहार स्वरुप प्रदान गर्‍यो, त्यो कुराको बिरोधमा वातावरण सम्बन्धी समाचार लेख्ने पत्रकारहरू खुबै तातिए । उनीहरूले बिरोध प्रदर्शन गरे, कन्वेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिस अफ वाइल्ड फौना एन्ड फ्लोरा(साईटिस) को कुरो उठाए । सो कार्यमा सँलग्न धेरै व्यक्तिहरू पत्रकार भएको नाताले उनीहरूको पहुँच श्रब्य दृष्य तथा अन्य समाचार माध्यममा समाचारले खुबै स्थान पायो । त्यसको केही दिनपछि, राजधानीको मुटु मैतिदेवीमै एक महिलालाई बोक्सी झार्ने निहुँमा यातना दिइयो उनको मृत्यु भयो ।

ती महिलाको मृत्‍युलाई नजीकैबाट देख्ने र बचावको कोसिस गर्नेहरूले त्यसलाई समाचार माध्यममा ल्याउन कोसिस गर्दा(त्यतिबेला महिलासम्बन्धी समाचार छाप्न या पत्रपत्रिकामा छपाउनजी हजुरी नै गर्नुपर्दथ्यो; र त्यो समाचार प्रकाशमा आओस भनेर यस अर्थमा पनि चाहिएको थियो कि, राजधानीको मुटुमै पनि महिलामाथि हुने हिंसाले कति गहिरो जरो गाडेको छ भन्ने जानकारी सर्वसाधारणलाई होस)महिला पत्रकारहरूलाई “महिलावादी” भएको कारणले मात्रै त्यो समाचारमा चासो लिएको भन्ने आशयका आरोपहरू लगाईयो । तर त्यति ठूलो महिला हिंसाको समाचारलाई ठूलै मुद्दा या “बिषय” को रुपमा कसैले लिएन । यो त समाजमा आधिपत्य जमाएर बस्नेहरूले महिला विषयक समाचारहरूलाई कसरी “महिलावादी” या “महिलावाद” को बिल्ला लगाइदिएर नकारात्मक बनाइदिन्छन भन्ने एउटा सानो उदाहरण मात्रै हो । त्यस्ता धारणाहरूमा आज पनि खासै फरक परेको जस्तो लाग्दैन; त्यसैले होला डा रेणु राजभण्डारीले हालै मात्र यस्तो अभिव्यक्ति प्रकट गर्नुभएको,” मानिसहरूलाई महिलावादको धारणा बुझाउनु एउटा ठूलै चुनौतीरहेछ भन्ने कुरा अहिले बुझेँ ।”

हुनत, पढेलेखेको जमातले यो कुरा नबुझेको पनि होइन । कुनै बेला वेष्ट बेँगाल अफ इनडियाको कुनै एक ग्रामीण क्षेत्रमा महिलाहरूको आर्थिक स्थितिबारे सर्वेक्षणमा समेत काम गरिसक्नुभएका एक बुद्धिजीवीका अनुसार,”मेरो बिचारमा महिलावाद भनेको विशेषत: सोच हो । यो सोचले महिलामाथि सदियौंदेखि हुँदै आएका लैँगिक भेदभावलाई नियालेर मान्यता र संस्कृतिको नाममा हुँदै आएका त्यसता कुराहरूलाइृ प्रश्न गर्दै हटाउने कोशिस गर्छ । उक्त सोचले त्यस्ता कुराहरूलाई ठिक बनाउनुभन्दा अगाडि ‘के चाहिं गलत थियो त ?’ भनेर बिश्लेषण गर्दछ । त्यसैले पनि केही बिचारकहरूको दृष्टिकोणमा महिलावाद अमान्य हुन्छन् । अर्कोतर्फ, महिला अधिकारले मुख्यत कुनै पनि कुरालाई महिलाको पक्षमा ठिक बनाउने कार्य गर्दछ । समष्टिमा भन्नुपर्दा, महिला अधिकारकर्मीहरूले ती पुरामा भेद्भावपूर्ण कुराहरू कसरी व्यवहारमा आए वा रहे भन्ने कुरामा जोड नदीइ, केवल त्यस्ता भेदभावपूर्ण कुराहरूलाई कसरी असरदार रुपमा हटाउन सकिन्छ भन्नेमा मात्र जोड दिन्छन ।” वास्तवमै भन्नुपर्दा उहाँको कुरा तर्कपूर्ण छ । हुनत, हातले सिधै नाकको टूप्पो समाए पनि या घुमाएर समाए पनि समाउन खोजेको त नाकको टूप्पो नै हो ! तर आफू नकारात्मक भूमिकामा देखिन नचाहने शास्वत मानव स्वभावको कारणले गर्दा नै एउटै कुरा पनि भिन्दा भिन्दै अर्थ र भिन्दा भिन्दै दृष्टिकोणले लिइने होलान् !

जेसुकै होस, या जसले जस्तोसुकै सोचुन, हाम्रो उद्देश्यलाई महिलावादी रविन मोर्ज्ञान र उहाँका साथीहरूले यसरी बर्णन गर्नुभएको छ,”हामी ती महिला हौँ जसलाई थाहा छ, सबै मुद्दाहरू हाम्रा हुन, हामी हाम्रो बुद्धिमतालाई दाद दिन्छौँ, हामी भोलिको सुरुआत आफैं गर्दछौँ, प्रश्न गर्छौँ, हरेक कुरालाई आफ्नै हिसावले व्याख्या गर्दछौँ, यतिसम्म कि, शक्ति समेत !” चाहे यसको लागि ‘महिलावादी’ हुनुपरोस या ‘महिला अधिकारकर्मी’ को खोल ओढ्नु परोस !

यहाँनिर फेरि एउटा कुरा प्रष्ट पार्न मन लाग्यो, हाम्रा पनि अगाडि पछाडि नाता-गोताका थूप्रै पुरुषहरूको सान्निध्य छ, हामीलाई जन्मदिने बावु पनि “पुरुष” नै हुन(विशेषत:नेपालको परिप्रेक्षमा) हामी कुनै टेस्टट्युबबाट जन्मिएका बच्चाहरू होइनौँ । हामीलाई पनि हाम्रो हक र मर्यादाको सीमा थाहा छ, त्यसको लागि “मनुष्म्रीति” र समाजका ठेकेदारका “उपदेश” काखी च्यापेर हिँड्नु पर्दैन ।

हामीलाई कसैले पनि अजूवाको रुपमा हेर्नु र व्याख्या गर्नु पर्दैन, एक साधारण मनुष्यमा हुने नवरस करुणा, शृंगार, बिभत्स, रौद्र, हास्य, शान्ति आदि सम्पूर्ण रसको सम्मिश्रण छ । हामी कुन अर्थमा “मानव” को कोटीमा व्यबहार गरिन योग्य छैनौँ ?

यसलाई अँझै प्रष्ट पार्न फेरि शरद सी नेउपनेकै भनाई सापट लिऔँ,”महिलावादले कुनै लडाँइ लडेको छैन । यसले कोही बिरोधीलाई मारेको छैन । यसले कुनै कन्सन्ट्रेसन क्याम्पको स्थापना गरेको छैन । कुनै शत्रुलाई भोकै राखेको छैन, कुनै क्रुर व्यबहार गरेको छैन । महिलावाद शिक्षाको लागि, मत खसाल्न पाउने अधिकारको लागि, काम गर्ने वातावरण राम्रो होस भन्नको खातिर लडिरहेछ । सडकको सुरक्षाको लागि, बच्चाहरूको रेखदेखको लागि, सामाजिक कल्याणको निमित्त, बलात्कृत भएकाहरूलाई स्वास्थ्य उपचार दिने क्लिनिक खोल्न, महिला शरणार्थीहरूको लागि काम गर्न अनि कानूनहरूको सुधार गर्न खटीइरहेछ । यस्तोमा पनि यदि कसैले “ओहो, म त महिलावादी होइन भन्छ भने म त्यस्ता व्यक्तिहरूलाई प्रश्न गर्न चाहन्छु, किन महिलावादी होइन ? तपाँईको समस्या के हो ?”

अन्त्यमा, यो पँक्तिकार पनि शरद सी न्यौपानेले गरे जस्तै प्रश्न तेर्स्याउन चाहन्छु, यदि कुनै पनि पक्ष भएर समाजलाई उन्नती र प्रगतिको बाटोतर्फ डोर्‍याउनु गलत हो भने कुनै पनि शासक वा सरकारको रुपमा रहेर राज्य चलाउनु पनि त गलत हो; किनकि, सरकार चलाउनेलेभन्दा महिलावादीहरूले श्रोत र साधनको अभावमा पनि त्यस्तै प्रकृतिको काम गर्न कम खटेका छैनन ।

त्यसैले उनीहरूलाई सन्मान दिने आँट कसैको छैन भने कम्तीमा पनि उनीहरूप्रति नकारात्मक धारणा नबनाउँ ।

मझेरीमा प्रकाशित मिति – 2014-11-18 09:23:22 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *