Skip to content

“ताउ……………ताउ ……….ताउ !” एउटा व्यक्ति कन्टिनेन्टल एयरलाइन्स्को गेट एजेन्टसंग बाझ्दै थियो | उसको भाषाको ध्वनीबाट लाग्दथ्यो, उ एसियाको कुनै एक देशको हो | हुनत, उसको अनुहारको बान्की मंगोलियन जस्तो थियो तर मेरो ठ्म्म्याइमा उ चाइनीज हुँदै होइन, चाईनिजको जस्तो तिच्छरो र शुष्क भाषिक लयमा उ बोलिरहेको थिएन | उ भियतनामी हुने सम्भावना अलि कम लाग्यो, किनकी, गेट एजेन्ट उसलाई ”महाशय ली !” को नामले सम्बोधन गरिरहेकी थिई | साधारणत, भीयतनामीहरुको थर भुन, नाग्युन,ग्युन यस्तै यस्तै हुने हुँदा, उ कोरियन हुन सक्ने सम्भावना प्रबल थियो |
उसले खुट्टा बजार्दै, टुटे फुटेको अंग्रेजीमा भन्यो,”मेरो कुरा यहाँ कसैले पनि बुझ्दैन !” फेरी सुरु गर्यो, ”ताउ ……..ताउ…………..ताउ !”
बिचरालाई मर्का चाँही परेकै थियो, तोकिएको समयभन्दा पांच मिनेट ढीलो आएको कारणले गर्दा प्लेन छुट्यो र उसको गन्तव्यमा जाने त्यस दिनको लागि अर्को फ्लाईट थिएन | अन्य
कारण जे होस्, त्यहाँ सबैभन्दा ठूलो समस्या भाषाको परेको थियो | उ आफूलाई राम्ररी प्रस्तूत गरेर आफ्नो समस्या बुझाउन सकिरहेको थिएन, अनि गेट एजेन्ट उसको समस्याको हलको प्रस्तुती उ समक्ष राम्ररी गर्न सकिरहेकी थिइन | बीचका मानिसहरुको लागी त्यो क्षण तमासा बनिरहेको थियो | केही शीप नलागेर गेट एजेन्टले उसलाई धम्क्याई ”महाशय ली, तिमी चुप लाग्छौ की, म सिक्युरिटी बोलाउँ ? ”सिक्युरिटीको नाम सुन्ने बित्तिकै उसको ”ताउ ..ताउ” बन्द भयो | उसको त्यो मजबूरी देखेर मेरो भने मन नै अमिलो भएर आयो, तर के गर्ने ? भाषा भन्ने कुरा यस्तो रहेछ कि, जसले ठूलो स्वरले बोल्न सक्छ, उसकै जित हुने रहेछ ! त्यसैले होला, बुढापाकाले उखान हालेका ”बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” ! त्यति मात्रै होइन, उनीहरुले ”झुठो कुरा पनि सयचोटी बोले पछी सत्य मानिन्छ” पनि भन्थे!
भाषाकै कुरा गर्दा, यसले कहीलेकाहीं ठुलै बिबाद पनि उत्पन्न गरिदिन्छ भने कहिलेकाहीं हदैसम्म लज्जित हुने गरि पछारी पनि दिन्छ | भर्खरै प्रख्यात सेलीब्रेटी रोजी ओ’डनेलसंग ”टक सो होस्ट” ओपराले लिएको अन्तर्वार्तामा, रोजी भन्दै थिइन् ”शब्दहरु हतियार हुन् !” वास्तविकता यही हो; त्यो हतियार सही ठाउँमा प्रयोग भयो भने त्यसले शत्रुको शीर गिंडछ होइन भने मित्रु गुमाउँछ | आखीर शब्दहरुले नै हामीले बोल्ने भाषाको नीर्माण गर्छ नी त!
मलाई कहिलेकाहीं लाग्छ, यदी बोल्नुको साटो शान गरेर आफ्नो कुरा प्रस्ट्याउनु पर्ने भएको भए, बकम्फुसे नेताहरुको भाषण पनि कम हुन्थ्यो होला ! किनकि, त्यसको लागि उनीहरुलाई परिश्रम पर्थ्यो, र परिश्रमका आदि सबै नेता हुँदैनथिए | अनि बिस्वमा बाक्युध्ध पनि कम हुन्थ्यो होला ! तर सबै कुरा सोचे जस्तो कहाँ हुन्छ र !
भाषाको समस्या यो पंक्तिकारले पनि धेरै पटक र राम्रो नराम्रो सबै तरहबाट भोगेको छ | यसै सन्दर्भमा, धेरै अगाडी चीन भ्रमण जाँदाको याद आयो | त्यती बेलासम्म, यसलाई शुध्ध्द नेपालीमा ”चर्पी” भनेर बुझाउने स्थानलाई डब्लु. सी. अर्थात ”वाटर क्लोजेट” भनिन्छ भन्ने थाहा थिएन | हामी सबै साथीहरुको समूह चर्पी खोज्दै थियौं, चिनियाहरू अंग्रेजी, नेपाली केही नबुझ्ने, हाम्रो समूह चाईनिज नबुझ्ने ! अब परेन के फसाद ! यो स्थान, बेजींग भन्दा पैंतालीस मिनेट परको दुरीमा थियो | हाम्रो समुहले ”बाथरुम” भन्यो,”रेस्टरूम” भन्यो, के के भन्यो , केही शीप लागेन | अनि एकजना साथीले सुरुवालको इँजार फुकालेर बसेको अभिनय गरेर देखाएपछी, एउटी चाइनिजले अलिकति मात्रै पर रहेको वाटर क्लोजेट देखाइदीइ | त्यति बेला त्यहाँ कुखुराको मासु मगाउदा पनि घुंडा मुनि बाट हात छिराएर कान समाउँदै कुखुराको अभिनय गर्नु परेको थियो |
नेताहरुले बोल्नुको साटो यसरी आफूलाई जनताको सामू प्रस्तूत गर्दै लग्नु पर्‍यो भने उनिहरुको भाषणको नाउँमा जथाभावी भट्ट्याउँदै हिंड्ने बानीमाथि लगाम लाग्थ्यो कि ? कल्पना नै गर्ने त हो नि, कसको बाबुको के जान्छ र ?
अनी अर्को रमाईलो प्रसँगको याद आयो, एउटा साथी भर्खरै जोर्डनबाट अमेरिका आएको थियो | पढ्न आएको मान्छे, कामको खोजीमा मोटा ब्यक्तीहरु, बिशेष गरी काला जातीका अमेरिकन पुरुशहरुले लगाउने लुगाको पसलमा काम गर्न गएछ | अङ्रेजी त राम्ररी आऊंदैन थियो,तर उसलाई उसको हाकिमले भनेछ,लुगा किन्न आउने ग्राहकहरुसँग धेरै नम्र हुनुपर्छ | त्यसैले उनिहरुले जे भने पनि ”यस, सर् !” अनी ”थ्यान्क यु” भन्न नभुल्नु |
पसलमा एकदमै मोटो ग्राहक आएछ, उसले भएसम्मको ठुलो साइजको लूगा ल्याएर देखायो, ठीक हुने लक्षणै भएन | उसले केही शीप नलागेर अरु केही गर्न नसक्ने जानकारी गरायो | आफूलाई ठीक हुने लुगा नपाएको झोकमा ग्राहकले ”के तैले म धेरै मोटो छु भन्न खोजेको ?” भनेर प्रश्न गरेछ | भर्खर अमेरिका आएको हुनाले उसलाई अरुलाई”मोटो” भन्नुहुन्न, त्यो भनेको अशभ्य हो भन्ने पनि ज्ञान नभएको अनी त्यसमाथि भाषाको पनि अल्पज्ञान भएको उसले, आफ्नो हाकिमले सिकाएको दूई शब्द ”यस, सर् !” भनेछ | त्यो बबूरोले झन्डै मोटेको गोदाई खाएको !

मलाई यो घटनाले नेपालका ती सोझा साझा जनता जो, कुनै राजनैतीक प्रतिबध्धता नै नबुझी आफ्ना देश खाएर शेस भैसकेका नेताहरुको पछीलाग्दै कार्यकर्ताको पगरी गुँथछन, उनिहरुको सम्झना दिलाउँछ |
कहिलेकाहि भाषाले आफ्नो मजबूरीको एहसास पनि गराउँछ, त्यस्तो स्थिती नेपालमा काम गर्दा धेरै पटक भोग्नुपरेको थियो | आफू परियो, आफ्नो जीवनकालमा जम्मा जम्मी तीन बर्ष स्कुल पढेको (त्यो पनि अँग्रेजी बिषयलाई नेपालीमा पढाईने स्कुलमा) बाँकी शिक्षा स्वआर्जनबाट पूरा गरेको; अनी कामको शीलशीलामा भिड्नु पर्ने ”कन्वेन्ट” शिक्षित ”सर” र ”म्याडम”हरुसँग ! आफ्नो देशमा हुँदा अँग्रेजीमा प्रगाढता नभएर हतोत्शाही हुनुपर्थ्यो भने अमेरिकामा अङ्रेजी बोलेकै भरमा कहिलेकाहि स्प्यानिश बोल्नेहरूको कोपभाजनको सिकार बन्नु पर्छ | यही सन्दर्भमा एकदिनको घटना याद आयो,एउटी ल्याटिनो उसको भाषामा बोल्न आई; नम्र हुँदै जवाफ दिएँ, ”मलाई स्प्यानिश आउदैन !” उ त एक्कै पटक ”सेम अन यु !” भन्छे बा ! मैले पनि आव देखे न ताव, जँगिदै भने ” ह्वाई , सेम अन मी ? सेम अन यु ! तँलाई मेरो भाषा बोल्न आउँछ ?” अनी म नेपालीमा कराउन थालें ! उ त अक्क न बक्क परेर बाटो लागि | मैले एउटा कुरा के महसुस गरेकी छु भने, जती सुकै अर्काको भाषा सिके पनि गाली गर्न र पैसा गन्न चाहिँ आफ्नै भाषामा सजिलो हुँदोरहेछ ! यसैले होला भन्छन , ”आफ्नो भाषा, आफ्नो भेष ! भन्ने कहावात बनेको !
फेरी पनि, भाषा सम्बन्धीनै एउटा रमाइलो घटना; यो साँच्चिकै घटेको हो, बनाएको होइन | केही बर्ष पहीले, एउटा परिवार डिभी परेर अमेरिका आएको थियो | त्यो परिवारको मूलीलाई भूत प्रेत माथि धेरै विश्वाशको साथसाथै डर पनि उत्तिकै लाग्दो रहेछ | अमेरिका आउने बेलामा कसैले भनिदिएछ,”त्यहा गएर अपार्ट्मेन्ट्मा कसरी बस्छौ ? त्यहाँ त कती मान्छे मरेका पनि होलान, अनी शान्ती स्वस्ति पनि गरेको हुँदैन; डर लाग्दैन ?” त्यो कुरोले घरमूलीको दिमाग साँच्चै चकराएछ, त्यसको लागि के उपाय गर्ने त भन्दा, एकजना धार्मिक प्रबित्तिकी व्यक्तिले सुझाइछन्,”बाबु, त्यस्तो बेलामा गायत्री मन्त्र पाठ गरे भूत प्रेत भागछन् !” तर आफूलाई धेरै चतुर ठान्ने घरमूलीले उल्टै प्रश्न गरेछन् ” गायत्री मन्त्र त संस्कृतमा हुन्छ, अमेरिकाको भूतले कसरी बुझ्छ त ?” अनी तुरुन्तै गायत्री मन्त्र अङ्रेजीमा अनुवाद गर्ने नीधो भएछ र ती परिवार अङ्रेजीमा अनुवाद गरिएको गायत्री मन्त्र लिएर अमेरिकाको भूत भगाउन आएका थिए | तर के गर्नु र, अमेरिकन भूतलाई पनि अंग्रेजीमा अनुवाद गरिएको गायत्री मन्त्र कोरियनले ”ताउ……ताउ” गरे जस्तै त हुने होलानी ! जसरी राम्रा राम्रा शब्द चयनका साथ हाम्रा नेताहरुले गरेको भाषणको ”हाउ …हाउ” (भन्न खोजेको चाहिं ”हौवा”) सीधा साधा जनतालाई हुन्छ; होइन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *