Skip to content

के नेपाल सानो छ पद्यानुवाद – ०२


निलेका त्यसले लाखौं कृतिभन्दा कता कता
माथि धेरै गुणा लाग्छ हाम्रो आफ्नै शकुन्तला ।

अङ्ग्रेजीवाजले भन्छन् चस्मा ढल्काई व्यङ्ग्यले
नेपाली पढी के हुन्छ ? अङ्ग्रेजी पढ्नुपर्दछ ।

दया लाग्छ सुनी यस्ता सोझा पाखण्डीका कुरा
अवकास यहाँ छैन रुनाको तर त्यो सुनी ।

अङ्ग्रेजी वाणीले विश्व ढाकेको छ म जान्दछु
तथापि मातृभाषामै किन हो जादू पाउँछु ।

आफ्नै भाषा ठूलो हुन्छ आफ्नै हुन्छ पवित्रता
अर्काको मातृभाषामा कहाँ पाइनु स्वच्छता ?

भत्भती ग्रीष्मको गर्मी सहेर घर फर्कंने
यात्रीले रुखको छाया पाएझैं हुन्छ शीतल ।

को हो को हो भनेजस्तो क्वैलीले स्वर गाउँछ
नेपाली मातृभाषामा नयाँ सौन्दर्य आउँछ ।

पश्चिमी पनमा मेरा आस्था छैन कतै पनि
मेरै नेपालमा रम्छु सानो सानै भए पनि ।

नाट्य संसारका राजा गेटे मिल्टन आदिका
रचनाहरूमा मैले पाएको छु विभिन्नता ।

तिनका रचनाभित्र छैन आत्मीयता कतै
हाम्रो पर्वतको जस्तो स्वच्छ भाव निनादिनी ।

उनका रचनाभन्दा च्याङ्बाको गीत उच्च छ
यहाँ छन् भावना लाखौं त्यहाँको भाव तुच्छ छ ।

आफ्ना भावहरू तोडी अर्काको भई नक्कली
त्यस्तो बन्न म चाहन्न त्यस्ता हुन् डेढ अक्कली ।

‘बाल्ज’ सुन्न म चाहन्न चाहन्न धुन पश्चिमी
लोकगीतहरू मेरै आनन्दी मनमोहनी ।

आन्द्रा झर्लान् भनेजस्तो गरेर गीत गाउने
झ्याम्लेका गीत चाहन्न आत्मालाई रुवाउने ।

तोडफोड गरी काव्य अथवा गरी नक्कल,
लेघ्रो तान्नेहरू देख्ता मानौं रुन्छ नभस्थल ।

अङ्ग्रेजी धुनले मेरो कान पोल्दछ भत्भती
अङ्ग्रेजी धूनमै मस्त बन्छन् देख्छु कठैबरी !

झूटो रवाफले गर्दा सक्कलीपन ह्रास भो
घरको घाटको जस्तो भई हाम्रो विनास भो ।

मिठा लवजले हाम्रो भाषाको आँत शून्य भो,
अर्कोकै भाव बोक्नाले सक्कलीपन नास भो ।

हाम्रा लवजमा हाम्रै झर्नाका कण झर्दछन्
आलाकाँचाहरू व्यर्थै अर्काको बोली भर्दछन् ।

रवाफीपन खोज्दैमा आफ्नो भाव हराउँछ
अरुको बोली बोल्नाले आफ्नो भाषा बिलाउँछ ।

बङ्गाली हिन्दी वा अर्कै भाषाका शब्द भर्दछन्
आफ्नो भाषा बिगारेर अर्काकै पछि पर्दछन् ।

रवाफीपनमा मस्त हुनाले आत्म गुम्दछ,
छोटा बोक्रेहरूलाई त्यसैमा विश्व घुम्दछ ।

हााम्रै प्रकृतिको हावा हाम्रै संस्कारको बल
भिजेको वाणी हो हाम्रो हाम्रै वाणी छ निर्मल ।
भाषा हो सभ्यता हाम्रो पछौटे नै भए पनि
त्यसैमा सभ्यता हुन्छ फैलेकै नभए पनि ।

यहाँ इन्द्रेणीका जस्ता सप्तरङ्गी तरङ्ग छन्
पहाडी उच्च झर्ना झैं स्वच्छ छन् परिपूर्ण छन् ।

नेपाली पनि के पढ्नु भनेर ठुस्किनेसँग
के बुझेर त्यसो भन्छन् ? सोध्ने हो अब कोसँग ?

गर्विलो बन्न चाहन्छन् आफूले अफूमै छली
तोडेर मातृभाषाका शब्द वाक्य पदावली ।

कोही बोक्रेहरू आफ्नो आत्माको भाव भुल्दछन्
अर्काको आड पाएर अर्काकै बोली बोल्दछन् ।

सानो शान्त तथा रम्य सुगन्धी स्वस्थ सुन्दर
मेरै नेपालमा हुन्छ प्रीतिको भाव निर्मल ।

उन्नति छैन यो मान्छु हाम्रा गाउँ र बस्तीको
तथापि यसमा केही छैन भन्ने म मान्दिनँ ।

गाउँमा ठाउँमा खोज्दा जे खोज्यो त्यहीं मिल्दछ
के छैन यसमा खोज्दा खोज्न पो सक्नुपर्दछ ।

कोदालो खन्नमा मस्त होलान् वाग्नर गाउँमा
अङ्ग्रेजी नाट्यका राजा हलो जोत्तै कतै हुनन् ।

सुकरात गुफाभित्र अथवा गाउँबस्तीमा
भेटिन्छन् खेत पाखामा आफ्नै मोज र मस्तीमा ।

खाजा खाई रमाएका होलान् होमर गाउमा
उता टर्नरले हाम्रै भेडी गोठ चराउनन् ।

असारे गीतमा मस्त कालिंदास यतै हुनन्
धाराप्रवाहमा गाना गाउँदै मस्तीमा हुनन् ।
लेखको नागीमा हुन् कि बेंसीका फाँट फाँटमा
भेडि गोठ चराएका कालिंदास यतै हुनन् ।

तिप्लिङ्गीहरूका साथ जिस्कन्छन् वाल्मीकि बूढा ।
लेखको बारीमा आलु खेती गर्छिन् शकुन्तला ।

टिसियन् अथवा अर्का नामी टर्नर पश्चिमी
भेडीगोठ चराएर बस्ता हुन् नागीनागीमा ।

सान्ड्रोला भारी बोकेर मानौं हिंड्छन् यतैतिर
गाउलान् लोकका भाका यहीं केलरले गीत ।

यहाँ सावित्री छन् धेरै विश्वले यिनका कथा
बुझेकै छैन के बुझ्थ्यो विश्वले यिनको कथा ?

यहाँ साहित्यका खानी पाइन्छन् कति हो कति
लेखिएको छँदै छैन नलेखेकै भए पनि ।

नाला खोल्साहरू भित्र वेदका वाणी गुँज्दछन्
त्यसको सार बिर्सेर तिलस्मीसँग भुल्दछन् ।

यो कान्तिपुरीको दृश्य यो सूर्योदयको नभ
सुनौलो दृश्यको आभा कसले बुझ्न सक्तछ ?

हृदयाकाशका साना चराको ध्वनि मर्मर
बेलीकुञ्जहरूबाट बोलिँदैन र उन्नत ?

व्यासजी घाँस काट्ता हुन् हाम्रै खेत र बारीमा
पश्चिमी नाट्यका राजा खेत जोत्लान् कतैतिर ।

बिहानै फूलका माझ टल्कने शितबिन्दुमा
देखिन्छन् मोतीका दाना हेरेमा श्वेत सिन्धुमा ।

सच्चा छन् आर्यका भाव लृुकेका यस धर्तीमा
चोखो मानवतावाद फुल्दछन् यही धर्तीमा ।।

मुटुमा देव संस्कार उम्रन्छन् यही धर्तीमा
नयाँ जागृतिका राग गाइन्छन् यही धर्तीमा ।।

यहीं निर्मल गङ्गाको छालमा चन्द्र खेल्दछन्
त्यसैका ध्वनिमा मानौ देवका स्वर गुँज्दछन् ।।

First published: 2014-11-29 06:36:05 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *