यहाँ के छैन हे मित्र यहाँ जे पनि मिल्दछ
छैन भन्नेहरु देखी म ता आश्चर्य लाग्दछ ।।
हाम्रै पर्णकुटीभित्र परमेश्वर बस्तछन्
आत्माका रुपमा हाम्रा गौरीशङ्कर मस्त छन् ।।
देवको खोजीमा हाम्रा मान्छे डुल्छन् कहाँ कहाँ ?
मान्छेकै रुपमा हाम्रा परमेश्वर छन् यहाँ ।।
माटोमा पानीमा यद्वा हावामा हुन्छ दर्शन
रातमा दिनमा डुल्छन् यहाँ ईश्वरका गण ।।
ठुला नक्षत्रका गोला अनन्ताकाश ढाक्तछन्
देख्छौं हामी यहाँबाट झिल्काको रुपमा तर ।।
यस्तै नक्षत्रले गर्छन् मेरै देश सुरक्षित
मेरै नेपालमा बस्तै बारै काल अहर्निष ।।
पृथ्वीका तलको पूर्ण चमत्कार छ स्वर्गीय
दोहो¥याई अझै भन्छु के छैन यस देशमा ?
मैदानी देशमा हुन्न यहाँ झैं शान्ति शितल
हावा तातो त्यहाँ बग्छ हुन्छन् नाना कचिङ्गल ।।
मैदानी देशमा हुन्छ तातो हावा जताततै
कहाँ शितलता हुन्थ्यो यहाँ झैं त्यस ठाउँमा ?
सुनौला चित्रका रंग मनोहारी कलाकृति
झल्झलाकारका दाना प्रकृति माझका कृति
हाम्रो पर्वतको उच्च शिखा यो मुस्कुराउँछ
कहाँ मैदानमा हुन्थ्यो त्यहाँ हुन्छ बनावट ।।
मिर्मिरे निलिमाभित्र लुकेको हुन्छ मोहनी
शैलको छविमा छाया पर्दा टल्कन्छ जीवनी ।।
पहाडी नदीको चाल प्रकृति सप्त रङ्गिमा
चुलिंदै चुलिंदै स्वर्ग छोएझैं हुन्छ भङ्गिमा ।।
चिडियाहरुको गाना मधुरो मनमोहनी
सुनौला चित्र झैं लाग्छन् नवभावप्रदर्शनी ।।
कलाको स्वर्ग हो मेरो देश नेपाल चम्किदै
अघि लागि रहेको छ उन्नति गर्न लम्किदै ।।
बोधो बोधो हुने गर्छ मैदानी आत्मजीवन
त्यसमा तुलना गर्दा यहाँको चुस्त जीवन ।।
साँचो वस्तु हटाएर नक्कली वस्तु चित्रित
गरेछन् कि भने जस्तो लाग्छ त्यो चित्रकारले ।।
पहाडी देशको दृश्यभित्र हुन्छन् विभिन्नता
यहाँ कृत्रिमता हुन्न यहाँ हुन्छ सजीवता ।।
रातो दारिमका दाना जस्ता स्वस्छ सुभाल छन्
आत्माको गीत गाएका कलिला स्वच्छ बाल छन् ।।
गीत संगीतले हुन्छ यहाँको काव्य झङ्कृत
साँघुरो जिन्दगी हुन्न हुन्छ जीवन विस्तृत ।।
पहाडी टाकुरा हिंड्दा ओर्लने उक्लने मजा
यहाँको झैं कहाँ होला फुर्कन्छु म त सम्झदा ।।
सुनका टल्कने दाना झुल्दछन् खेतबारीमा
प्रीतिको पुष्पका हार फुल्दछन् पूmलबारीमा ।।
एक छाक लियो खायो रुखासुख्खा भए पनि
छैन सञ्चितिको रोग पेट रित्तै भए पनि ।।
डुलाई दृष्टिको कोण एकै ठाउँ बसी बसी
हेर्न सक्ता यहाँ मिल्छन् लाखौं सौन्दर्यका कसी ।।
First published -2014-12-01 09:30:14 +0545
