Skip to content

राम शाहको सालिक र नेपाल


तिमीले पढ्ने इतिहासको किताबमा
लिग लिग कोटको पनि इतिहास छ होला
थाहा भो होला तिमीलाई
त्यो लिगलिग जितेर शाह भएको कथा
राम शाहको कथा पनि पढ्यौ होला
त्यहा लेखिएको होला न्याय नपाए गोर्खा जानु
ती राजा नामी भए न्यायका खानी भए
सुन्यौ नानी हो, पढयौ नानी हो
थाहा पनि पायौ होला
राम शाहको कथा पनि
त्यही गोर्खाको डाँडामा ती राम शाह सालिक भए
त्यो पछि लगातार अन्यायीहरू यो देशको मालिक भए

कैले राणा मालिक भए कहिले शाह मालिक भए
फेर समाउने मालिक भए तुना तान्ने मालिक भए !
सोझा जनता चुसेर पालै पालो राज गरे
हुक्के लाउके मालिक भए
भदौरे चैते मालिक भए
जब रामशाह गोरखामा सालिक भए
प्रत्येक अन्यायीहरू यो देशको मालिक भए

खाम चढाउने मालिक भए दाम चढाउने मालिक भए
टाउको काट्ने मालिक भए काट्न लाउने मालिक भए
हे नानी हो
जब राम शाह गोर्खाको डाँडामा सालिक भए
त्यो पछि अन्यायीहरू यो देशको पालै पालो मालिक भए
भुक्के पनि मालिक भए
टुल्के पनि मालिक भए
जनता सधैं दास भए
जब राम शाह गोर्खाको एउटा डाँडामा सालिक भए
त्यसपछि अन्याय गर्नेहरू यो देशको मालिक भए
जब राम शाह गोर्खाको एउटा डाँडामा सालिक भए
यो देशमा पापीहरू पालै पालो मालिक भए ।

=============================
(जब राम शाह गोर्खाको एउटा डाँडामा सालिक भए
त्यसपछि अन्याय गर्नेहरू यो देशको मालिक भए)- यो दुई लाइन सापटी सेतो पाटी-तर्कबाट यादव देवकोटाजीको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *