Skip to content

पढ्नै पर्ने बहुआयामिक कृति ‘बौलाही आमा र सुनौला मुस्कानहरू’

JagatBasnet


नेपाली कथा साहित्यमा पछिल्लो समयमा कृष्णश्री राईले कथा सङ्ग्रहका रूपमा ‘बौलाही आमा र सुनौला मुस्कानहरू’ बजारमा ल्याएका छन् । दुर्गम पहाडी जिल्ला खोटाङ अनि शिक्षण कार्यसँग सम्बद्ध रहेर कृष्णश्रीले समाजको वास्तविकतालाई खोतल्ने प्रयास यस कथा सङ्ग्रहमार्फत् गरेको देखिन्छ । ‘बौलाही आमा र सुनौला मुस्कानहरू’ कथा सङ्ग्रह वर्तमानको सम्बोधन हो, भूतलाई चिहाएर युगलाई बदल्ने मोफसलको गतिलो झापड ।

‘बौलाही आमा र सुनौला मुस्कानहरू’ भित्रका उन्नाइसवटा कथाहरू अत्यन्त सबल देखिन्छन् । विविध विषयवस्तुमाथि कथा लेख्न सफल कष्णश्री यो कथासङ्ग्रहमा इतिहास, सँस्कृति, साइवर सँस्कृति, राष्ट्रवाद, पर्यावरण, मनोविज्ञान, विज्ञान, द्वन्द्व, जासुस, रोमान्स जस्ता कथामा प्रयोगधर्मी बनेर फरक शैलीमा प्रस्तुत भएका छन् । ऐतिहसिक विषयवस्तुमा अधारित पहिलो कथा ‘एक टुक्रा इतिहास’ले राणाशासन ताकाको यथार्थ ऐतिहासिक झलकलाई समुद्घाटन गरेको छ । राणाकालीन समाजमा नेपाली जनताले शासक वर्गबाट झेल्नु परेको तितो यथार्थलाई जस्ताको तस्तै पस्कने काम कथाकारबाट भएको छ । पहिलो कथाबाट नै सन्तुष्टि मिल्छ जो कोही पाठकलाई । कथाकारले प्रायजसो कथाहरूलाई औपन्यासिकताको कडिमा दर्शनयुक्त साहित्यको फ्युजन दिन खोजेकोले कथानक थोरै तन्किएको हो कि भन्ने अनुभव हुन सक्छ । ‘कथा एउटा रचना हो, जसमा जीवनको एक अङ्गबाट एउटा मनोभावनाको प्रदर्शन हुन्छ । कथा एउटा रमणिय उद्यान होइन जहाँ थरी–थरीका फूल र बुटा–बुटी हुन्छन् । यो त एउटा फुलले सजिएको गमला हो’ भनेर प्रेमचन्दले भनेझैं विविध विषयवस्तु फरक–फरक पृष्ठभूमिका पात्रको प्रयोग गरेर एउटै परिवेशमा मिश्रण गर्ने खुबी कथाकार कृष्णश्रीमा दखिन्छ ।

कृतिः बौलाही आमा र सुनौला मुस्कानहरू
लेखकः कृष्णश्री राई
प्रकाशकः वाणी प्रकाशन, विराटनगर
मूल्यः ३५०/–
पृष्ठः ३८०

‘बौलाही आमा र सुनौला मुस्कानहरू’ कथा सङ्ग्रहले नेपाली समाजभित्रको वास्तविकतालाई चिर्दै समाजमा देखिएका साँस्कृतिक विचलन, जातीय द्वन्द्व, पारिवारिक समस्या, व्यक्तिगत टकराव तथा पर्यावरण सङ्कटजस्ता विषयलाई उजागर गर्दै समाजमा सामाजिक सद्भाव कायम गरी सुन्दर समाजको निर्माण गर्नु पर्ने विशेष सन्देश दिन खोजेको छ ।

व्यक्तिगत स्वार्थमा लागेर नेपाल आमाको अस्मिता लुट्ने राजनीतिज्ञहरूप्रति व्यङ्ग्य प्रस्तुत गरिएको प्रयोगशील कथा ‘मैले हेरेको अन्तिम नाटक’ कथा र यस कथा सङ्ग्रहभित्रको अन्तिम विज्ञानपरक कथा ‘डा. आत्रेयको अन्तिम डायरीबाट’ पाठकले पढ्नै पर्ने कथा हुन् । कथा ‘डा. आत्रेयको अन्तिम डायरीबाट’मा एउटा नयाँ दृश्य पढ्न पाइन्छ, मनोरोगीको प्राकृतिक सम्मोहन उपचार दृश्य । पात्र डा. आत्रेय साँझ कौसिक जलासयको किनारमा बसेको समयमा अचानक हिप्नोटिज्ड भएको फिक्सनल दृश्य भयानक र अति रोचक छ ।

प्रेमको शास्वत पक्ष उतारिएको कथा ‘स्याङ्डोल्मा, बारबेटम र कट्वाल सर’ले साँस्कृतिक सहिष्णुतालाई समेत झल्काएको छ । जातीय तथा धार्मिक सद्भाव दर्शाउने अन्तरजातीय अमर प्रेम–प्रसङ्गको अर्को सबल कथा हो ‘कैदी प्रेम– अमर प्रेम’ । पति परित्याग गरी फेरि दोस्रो विवाह गर्ने एउटी स्वतन्त्र मङ्गोल बुहारीको कथा हो ‘हेनपेक्ट– एक तिक्त अनुभूति’ । एक गर्भवती युवतीसँग भएको अप्रत्यासित यौन सम्बन्ध प्रस्तुत गरिएको अति सफल कथा हो ‘डल्फिन छलाङ्’ । डलरमोहका कारण पारिवारिक विचलनलाई प्रष्ट पार्ने सहरी वातावरणको कथा हो ‘आस्थाको भगवान’ । यस कथामा कथालाई पाठक स्वयंले अरू तन्काएर आ–आफ्नै ढंगबाट अन्त्य गर्नु पर्ने शैलीको छ । विकृत मनस्थितिको मनोवैज्ञानिक उपचार ‘उत्तम सर र कञ्चन मिसको चिठी’ कथा, नेपालमा पछिल्लो समयमा भएका द्वन्द्व र तिनले पारेको असर बुझ्न शिर्ष कथा ‘बौलाही आमा र सुनौला मुस्कानहरू’, ‘निःस्वप्न आँखाहरू’ पढ्न जरुरी छ ।

‘हृदयभित्रका आवाजहरू– अनि बुलन्द आवाज’मा द्वन्द्व र तिनले पारेको असरको कुरा मात्र छैन, यसमा त दिल्लीको आम आद्मी जस्तै देश र भूगोल सुहाउँदो यौटा जनताको फार मोर र्याडिकल पार्टीको जन्म हुने अपेक्षा पनि गरिएको छ । एउटी निर्भिक, साहसी र वीराङ्गना नेपाली आमाको संरक्षण र सङ्कल्पमा त्यो चमत्कारी पार्टी अगाडि बढ्ने आशा व्यक्त गरिएको छ । मायाभित्र साइनो सम्बन्ध या साइनोसम्बन्धभित्र मायाको लक्ष्मणरेखा निक्र्योल पाठक स्वयंले गर्नु पर्नेछ ‘अस्पष्ट लक्ष्मण रेखाहरू’ कथामा । ‘अपरिणीता नीलिमा’ र ‘जीवनका रङहरू’ कथा परिवेश र विषयका दृष्टिले नपढि नहुने पृथक अत्याधुनिक कथाहरू हुन् । समग्रमा सबै कथाले पाठकलाई गतिलो खुराक पस्कन सक्षम भएको पाइन्छ ।

कृष्णश्रीका प्रायः कथाहरूमा कहीँ, कतै न कतै थौरै मात्रामा भएपनि यौनमनोविज्ञानको छाप भेटिन्छ । ज्ञान–विज्ञान, ऐतिहासिक समाज, मिथक समाज, साइवर समाज, आधुनिक समाज, उत्तर आधुनिक सहरिया समाज….आदि क्षेत्रभित्रका जीवनका विविध घट्नाक्रमलाई आख्यान बनाई प्रस्तुत गर्ने खुवी कथाकारमा प्रसस्त देखिन्छ । रचना विधानका दृष्टिले कथा सबल देखिए तापनि जातीय, साँस्कृतिक तथा अङ्ग्रेजी शब्दांशका प्रयोगले साधारण पाठकलाई कथा बुझ्न कठिन तुल्याउँछ । पाठकले कृतिमा राखिएको शब्दार्थ कोलम पल्टाउनु पर्ने हुन्छ । तर अभिव्यक्तिलाई प्रभावकारी बनाउन यस्ता शब्दांशको प्रयोग स्वभाविक नै लाग्दछन् । कथा औपन्यासिक र निबन्धात्मक भएकाले पाठकले समय खर्च गर्नै पर्दछ । १९ कथा पढीसक्दा पाठकले १९ वटै उपन्यास पढेको महसुस हुनेछ । आन्तरिक दृष्टिविन्दु प्रयोगका कारण कथाकारको बौद्धिकता बढी झल्किएको भान पर्न सक्छ । कथा पढ्दा दर्शन पढेजस्तो अनुभव जोसुकैलाई हुन सक्छ ।

धेरैजसो पुस्तकाकृति झट्ट हेर्दा आकर्षक देखिए पनि भित्रपट्टी केही गुदि नपाइने, अर्थात् यसको विपरित झट्ट हेर्दा अनाकर्षक देखिए पनि भित्रपट्टी धेरै गुदि पाइनेभन्दा फरक छ यो कृति । यो कथाकृतिको आवरणचित्र समय खर्चिएर सोचबुझका साथ तयार परिएको झैं लाग्छ । यो अर्धमूर्त छ, तर कथाहरूसँग अर्थपूर्ण र हेर्दा आकर्षक दखिन्छ ।

यी सबै कारणले गर्दा, प्रस्तुत कृति समकालीन नेपाली कथा साहित्यले पाएको एक फरक दीप हो, जसको ज्योत्सना धेरै पर–परसम्म फैलिने कुरा निश्चित छ ।

जगत वस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *