Skip to content


धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे। आजकालका ब्राह्मणहरुजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैनथे, तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्ने सुप्रयत्न गर्थे, देवताहरुको निम्ति यो असह्य हुन्थ्यो। त्यसो हुनाले देवताहरु सांसारिक मोह-मायालाई त्याग गरेर घोर जङ्गलमा तपस्या गर्न गएका ऋषिहरुको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे। तिनको सबभन्दा सफल उपाय थियो अप्सरालाई पठाई ऋषिहरुको तप्सयामा बाधा उपस्थित गराउनु। तिनैताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे। उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिंदैन। आमा-बाबुको स्नेहको बन्धन र प्रियाको प्रेमबन्धन, मित्रको सौहार्द, समाजका कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन्। निर्जन स्थानमा मनुष्यसमाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे। जङ्गलका कन्दमूल र कुटीनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे। समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे। मृगशावकहरु ऋषिसँग आफ्नो घनिष्टता प्रकट गर्न सिंह, बाघ, भालुका समुदाय ठेल्दै ऋषिसँग टाँसिन पुग्थे। तपोभूमिको शान्ति भङ्ग होला भन्ने आशंकाले बाघहरु आफ्नो टाउको तलसम्म निहुराएर बिस्तारै हिँड्थे; मृग र खरायोहरु मात्र निर्भय भएर बुर्लुक्क-बुर्लुक्क उफ्रन्थे। नदीको कलकल ध्वनि त्यहाँको शान्तिमा गम्भीरता थपिदिन्थे। चराचुरुङ्गीको कलरवमा संगीतको मधुरता हुन्थ्यो।

नदीको दाहिने किनारामा विशाल वृक्षहरुले घेरिएको एउटा सानो स्वच्छ स्थान थियो, त्यहीं ती ऋषिको कुटी थियो। ईश्वरसँग साक्षात् गर्न यदि कुनै स्थान उपयुक्त थियो भने त्यही स्थान थियो।

तिनको तपस्याको प्रथम कार्य थियो आफ्नो शरीरको आफूमाथिको शासनलाई निर्मूल पार्नु, त्यसपछि मनमाथि विजय पाउनु र अन्त्यमा आत्मालाई ईश्वरमा लीन पार्नु। शरीरमाथि विजय पाउन उनले आफूलाई नाना प्रकारका कष्ट दिए, वैशाखमा सप्ताग्नि बालेर बसे, माघमा नदीमा घाँटीसम्म पानीमा डुबेर बसे। भोजन घटाएर अनेक दिन निराहार बस्न सक्ने भए। भोक, तिर्खा, शीतोष्णको बन्धनबाट मुक्त भएर उनी समाधिमा बस्न थाले। बिस्तार-बिस्तार गर्दागर्दै तिनी महिनौं समाधिमा लीन हुन सक्ने भए।

एक चोटि तिनी समाधिमा आसीन भए। त्यो अवस्थामा बस्ताबस्तै महिनौं बित्यो। ऋतु परिवर्तन भयो। जङ्गलका पात झरेर वृक्षहरु नाङ्गा भए। फेरि पालुवा पलाउन थाल्यो, जङ्गल हरियो भयो, फूल फुलेर सुकेर तपोभूमिलाई ढाके। जङ्गलका फल लटरम्म फलेर हाँगाहरुले माटो छुन थाले। फल पाके। ऋषि समाधिस्य छन्। भित्र तिनको आत्मा अलौकिक ज्योतिले दीप्त हुँदै गएको थियो। जति-जति दिन बित्दै गए उति-उति भित्रको ज्योति बढ्दै गयो, शान्ति थपिंदै गयो।

तपोभूमिको दूबो बढेर ऋषिलाई छोप्न ताल्यो, धमिराले बिस्तारै उनको गोडातिर घर बनाउन थाले। ऋषि निश्चल भए, तपस्यामा थिए। बाहिरको प्रकृतिको परिवर्तनले तिनको भित्रको शान्ति भङ्ग गर्न सकेको थिएन।

तिनको भित्र एउटा अद्भुत अपार्थिव ज्योति बलिरहेको थियो। तिनको सारा शरीर, मन, आत्मा सबैले कहिले अन्त्य नहुने आनन्दको अनुभव गर्न थाले। तिनी सहस्र सूर्यको ज्योतिपुञ्ज आफूमा अनुभव गर्न थाले। के तपस्या सफल त भएको होइन? ऋषिका आँखा आफैं उघ्रेर आफ्नो चारैतिरको प्रकृतिको परिवर्तन, आफ्नो शरीरका छातीसम्म धमिराले लाएको माटोको गुँडको ध्यानै नराखी तिनको प्रथम दृष्टि पर्यो स्नान गरिरहेकी एउटी रमणीमाथि।

ऋषिको तपस्याले इन्द्रासन जब डगमगाउन थाल्यो तब इन्द्रले आफ्नो सभाकी सबभन्दा सिपालु र सबभन्दा राम्री अप्सरालाई त्यहाँ पठाए।

रमणी आफू एकली छु भनेर नि:शङ्क भएर शरीरबाट सारा वस्त्र झिकेर नुहानुभन्दा बढ्ता पानीसँग जिस्किरहेकी थिइन्। तिनको गोरो शरीरमा स्वास्थ्यको चिह्न सक्त-आभा उस्तै दीप्त भएको थियो जस्तै हिमालयका शिखरमा सूर्यको प्रथम किरण पर्दा हुन्छ।

घुँडासम्म नदीमा उभिएर अञ्जुलीमा पानी लिन भनेर निहुरँदा वस्त्र नभएको तिनको शरीर रजनीगन्धाले निर्मित भएको जस्तो शुभ्र देखिन्थ्यो। आहार पाएपछि चञ्चुप्रहार गर्न उद्यत भएका पक्षीद्वयजस्ता अधोमुखी स्तनयुग्म महान् सुन्दरताका केन्द्र थिए। यस्तो अवस्थामा त्यो युवतीमाथि उर्ध्वरेता ऋषिको दृष्टिपात भयो।

भित्रको शान्ति र आनन्द र बाहिरको निर्जन एकान्तमा नदीको धारामा उभिएकी, नदीको प्रवाहले आफूलाई दृढ पारेर उभ्याउन नसकेर बेतजस्तो काम्न थालेकी सुन्दरी युवतीमा ऋषिले केही भेदको अनुभव गरेनन्। समाधिको पराकाष्ठा वा ऋषिको मर्न नसकेको वासनाको प्रतिमूर्ति ती रमणी थिइन्।

ऋषि बिस्तारै उठे। तिनी बसेको ठाउँमा घाँस उम्रेको थिएन। उनी आफू समाधिमा भएको समयमा उत्पन्न भएको शान्तिको अझै अनुभव गर्दै सोझै ती स्नान गर्न थालेकी रमणीनेर गए।

तिनीहरुको त्यहीं स्वयंवर भयो। ऋषि जङ्गलमा बिहा गरेर घर फर्के।

तिनले जङगलमा गरेको तपस्याको यश चारैतिर फिँजिसकेको थियो। त्यो देशका राजा ठूलो समारोहसँग तिनको दर्शन जाने तरखर गर्न थाले।

तर तिनी त जङ्गलबाट कुनै किन्नरीसँग बिहा गरेर पो फर्के। ऋषिको त्यत्रो ठूलो पतन देखेरा सारा समाज विस्मयमा पर्यो। स्वागत गर्न तत्पर भएका मानिसहरुले एउटी युवतीलाई तिनको साथमा देखेर मुख फर्काए। जान्नेसुन्नेले यो ऋषिको तपस्यादेखि आत्तिएर इन्द्रले पठाएको कुनै अप्सरा हो भन्ने निश्चय गरे।

तिनी एउटा गाउँमा घर बनाएर त्यहाँको मानिसहरुले गर्ने व्यवसाय कृषि गरेर गृहस्थी गर्न थाले। कालगतिले तिनलाई सन्तान पनि भयो। गाउँलेहरुलाई सानोतिनो आफूबाट हुने सहायता दिन तिनी र तिनकी पत्नी सदैव तत्पर हुन्थे। गाउँमा कोही बिरामी भयो भने तिनकी पत्नी सेवामा पुग्थिन्। राजाका ढोकामा, श्माशनमा पहिलेका ऋषि तर अहिलेका दुई कुमारका पिता गाउँका मान्छेहरुका साथ दिन्थे। तिनको सानोतिनो दया र सहायताका पा्तर त्यस गाउँका सारा प्राणी थिए। कुनै गाउँलेहरुलाई कष्ट पर्दा तिनीकहाँ खुर्र गएर आफ्नो अधिकार नै छ जस्तो गरेर उनीहरू तिनका सहायताको दाबी गर्थे।

तर तिनको ऋषित्वको पतन गाउँलेले बिर्सन सकेनन्। तिनीहरु आफ्ना घरअघि खाँबो गाडी गाईको छाप्रो बनाउन भनी व्यस्त भएका ती ऋषिलाई शंकाका दृष्टिले हेर्थे। इनारमा घैला लिएर पानी भर्न जान थालेकी तिनकी पत्नीलाई देखेर तिनीहरु विचार गर्थे “कतै कुनै किच्कन्नीले त तिनलाई आफ्नो वशमा पारेकी त होइन?”

तर तिनी जङ्गलमा समाधिमा लीन हुँदाखेरि एक्कासि उत्पन्न भएको सुख र शान्तिको अझै अबाध अनुभव गरिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *