मनमा उब्जिरहने एकाग्रतालाई भङ्ग गर्न खोज्दा पनि नसकिदो रहेछ । जिन्दगीका हिडाईहरूमा गरिएका अनेकन गल्तीहरू थेग्रिएर मनको कुनै कुनामा गाठो परेर सदाका लागि बसेपछिपश्चातापले एकाग्रता निम्ताउदो रहेछ । जीवनका बाँकी समयहरू बिगत बिर्सेर सजिलै बिताउभन्दा पनि दोहोरीएर मनमा बसेको त्यही गाठोलाई निरन्तर घोचिरहदा रहेछन । एकाङ्गीपना हुदा अँझ बढी बिगत बल्झिदो रहेछ । सायद त्यसैले होला आफू नाजिकैबाट कोही आउदा जादासम्म पनि आजकल आफूलाई कुनै पत्तो हुदैन । कानै छेउमा आएर सरलाले फुस्फुसाइन-
“ऊ हेर्नुस त को आएको छ । मलाई लाग्छ उहा हाम्रो नया पाहुना हुनुहुन्छ सायद तपाईं चिन्नुहुन्छ कि !”
कता-कता देखेजस्तो अलि-अलि चिने जस्तो सर्लक्कको पातलो शरीर मेरै अगाडिबाट घरको पिढीसम्म आइ पुग्दासम्म पनि मैले थाहा पाएनछु । अन्तरमनमा बिचारहरूको मन्थन हुदाँ सायद यस्तै हुन्छ होला । खै विगतका ती अत्यासलाग्दा अनि कहाली लाग्दा युद्धहरूमा मैले यस्तो अनुभूति कहिल्लै गर्न सकिन । मेरै अगाडि आएर कमरेड भन्दै बोझिला हातहरू अगाडि बढाउदा मात्र मेरा आँखाले भ्याउ पाउन सके । उनी त कमरेड आँचल पो रहिछन् । केही क्षणको भलाकुसारी पछि मेरी जहान सरलासँग मस्किदै घरको भित्रसम्म पुग्दा मैले पछाडिबाट धेरै समय पछि उनको शारीरिक बनोटलाई पुन जोड घटाउ गर्ने मौका पाए । यति लामो समय पछि देख्दा पनि आँचललाई उस्तै देखे जस्तो बिगतमा थिइन् । बिहानको पनि नौ बजेछ क्यार ! नजिकै रहेको रेडियोले समाचारको धुन बजाउदै थियो । घर वरिपरिका बच्चाबच्चीहरू स्कुल जाने ध्याउन्नमा थिए । घरका बार्दलीमा परेवा र भंगेराहरू आफ्नै तालमा खेल्दै एक आपसमा साउती गरिरहेका थिए ।
कामरेड आँचल यिनको वास्तविक नाम भने नम्रता । गाउँमा रहदा नामलेभन्दा पनि उनलाई गाउलेले राखी दिएको ‘नानी’ उपनामले चिन्ने गरिन्थ्यो । मसँगको पहिलो भेटमा परिचय हुदा यिनले यसरी नै आफ्नो परिचय बताएकी थिइन् । जीवनका आरोह अबरोहका घुम्तिहरूलाई छिचोल्ने क्रममा उनी नम्रताबाट नानी हुदै आँचलको बिन्दुसम्म आई पुगेकी थिइन् । बिगत उनको अत्यासलाग्दो थियो,बर्तमान आशाहरूको त्यान्द्रोमा चलायमान थियो भने भबिष्य गर्भमा गर्भित थियो ।
अलिकत निहुरेर सम्मान प्रकट गर्दै चियाको गिलास हातमा थमाउदै मेरी जहान सरला घर भित्र पस्दै भनिन-
“हामी केही छिन भलाकुसारीमा व्यस्त छौ चिया लिदै गर्नुहोला है ।”
मेरी जहान सरला र भर्खर घर भित्र पसेकी कमरेड आँचलबीचको शारीरिक बनावटलाई मनमनै दाजेर हेरे । दुवैका मनहरू आफ्नो मनको तराजुमा राखेर तौलिने प्रयत्नहरू गरे । यसो गरिरहदा मेरा बिगतका तिता यथार्थहरू क्रमस पोखिदै थिए । आफू बसेको आँगन नजिकैको बाटो हुँदै एक हुल पुलिसहरू बुट बजार्दै आफ्नो गन्तव्यमा लागिरहेका थिए । स्कुले नानीहरू चर्को-चर्को स्वरमा आ-आफ्ना बखान गर्दै स्कुलतर्फ जादै थिए । मेरो मस्तिष्क भने क.आँचल र म बिचको बिगतको सम्बन्ध बर्तमान बनेर एकनासले घुमिरहेको थियो ।
क.आंचल,म र भर्खर बाटो लागेका पुलिस अनि विद्यार्थी बिचको सम्बन्ध पनि अचम्मलाग्दो थियो। बिगतमा पुलिसहरू लुक्दा हामी शेर बन्थ्यौ ।,हामी लुक्दा उनीहरू शेर बन्थे । एक आपसमा भेट भयोकी भिडन्त भैहाल्थ्यो । विद्यार्थीहरू हाम्रा भूमिगत सभाहरूमा सोभा बढाइदिने अनिवार्य दर्शक हुने गर्थे । हाल आएर भने हामी र पुलिस बिचको सम्बन्ध मामा -भान्जाको जस्तो हुन् पुगेको छ । तर सरला र म बिचको सम्बन्ध भने केवल सम्झनाको तरेलीमा सजाइरहने अतित बन्दै अमिट छाप बनेर बसेको छ ।
असार मासको कालो रात आकाशको गढगढाहटमा निस्कने बिजुलीको चमकसँगै बर्सिरहने वर्षाले पुरै शरीर लुथ्रुक्कै भिजेको अवस्थामा यिनै नम्रतालाई मैले हाम्रो क्याम्पमा भित्राएको थिए । जुनबेला उनको उमेर त्यस्तै २२/२३ को थियो तर बिधवाको अवस्थामा थिइन् । देखाई र हेराइ बिचको फरक दृष्टिकोण अचम्म लाग्दो हुदो रहेछ । तात्कालीन सरकारले हेर्ने र देख्ने दृष्टिकोणसँग हाम्रो दृष्टिकोण ठ्याक्कै बिपरित हुने गर्थ्यो । फलस्वरूप हाम्रो पार्टीले सरकारी दृष्टिकोणका राम्रा मान्छेहरूलाई छानीछानी भौतिक कारबाहीको दायरामा राख्ने गर्थ्यो । त्यस्तैमा परेका थिए गाउँका वडा अधक्ष्य मेख बहादुर । मेख बहादुरलाई भौतिक कारबाही गर्नु पर्ने भएकोले उनको खोजीमा गाउँ पसेको बेला मेरो भेट यिनै ‘नानी’सँग भएको थियो जुन भेटमा उनले हाम्रो कम्पनी कमान्डरको नाममा लेखिएको पत्र सुरक्षित पुर्याइदिन आग्रह गरेकी थिइन् । पत्रमा उनको पार्टी प्रबेशको उत्कण्ठ चाहनालाई उजगार गरिएको थियो । त्यसको केही महिनापछि कम्पनी कमाण्डरबाट नम्रतालाई जनसेनामा प्रबेशको लागि सुरक्षित साथ घरबाट लिएर आउने आदेश अनुसार मैले नै हाम्रो क्याम्पमा यिनलाई भित्राउने मौका पाएको थिए ।
क. अंचलको भनाइ अनुसार उनको बिगत ज्यादै कहालीलाग्दो थियो । एस.एल.सी.पास भएर क्याम्पस पढ्ने रहर प्रहरीको अ.स.ई. उनको हात माग्न आउनाले बिथोलिएको थियो । युद्धको चरम उत्कर्षको बेला उनको श्रीमान सिन्धुलीको संघर्षमा मारिएको थियो । तत्पश्चात सरकारबाट पाउने रकम एकलौटी कब्जा गर्ने उद्देश्यले उनलाई सासू-ससुराबाट विभिन्न लाल्छना लगाउदै घरबाट निकाली दिएका थिए । माइतीघरको बसाई पनि त्यति सहज हुन सकेन । भाइ-बुहारीको बक्र दृष्टिकोण र भाउजूको हेपाहा प्रवृतिले नजानिँदो पारामा उनीमाथि बिद्रोहको बिउ विजारोपण हुन पुग्यो । २-४ महिनासम्म पतिसंगको उठबसलाई उनले सपना जस्तै ठानेकी थिइन् । अनायसै एकदिन उनले आफूसँगै प्रश्न गरिन-
‘ समाजका यी याबत फरक दृष्टिकोणलाई के साच्चिकै चिर्न सकिएला ? नारी पुरुष बिचको भेद,एक महिलाले अर्को महिलालाई हेर्ने दृष्टिकोलाई के साच्ची बदल्न सकिएला ? सम्पत्तिमाथिको समान अधिकारलाई के साच्चै पुरा गर्न सकिएला । ‘ माओवादीहरूका लामालामा भाषणमा उनले सुनेकी थिइन्-‘ बर्तमान राज्य सत्तालाई ध्वंस गरेर नया जनवादी सत्ता आएपछि यी सबै समस्याको हल हुनेछ । ‘ प्रश्न गम्भिर थियो उत्तर भने केवल माओवादीहरूसँग थियो । त्यसैले सबै बिर्सेर बिद्रोही पार्टीमा प्रवेश गर्ने कठोर निर्णय गरेकी थिइन् ।
पहिलो भेट सँगैको यात्रामा लुथ्रुक्कै भिजेको उनको शरीरबाट देखिने नारी अंगहरूले म प्रतिको पुरुष कमजोरीलाई प्रदर्शन गर्न नखोजेको होइन । तर पनि सुरक्षित क्याम्पसम्म पुरयाउने मेरो अभिभारालाई मैले स-सम्मान पुरा गरेको थिए । त्यसपछिका दिनहरू हामीसँगै तालिम युद्ध र जनवादी शिक्षा हुदै बिते । पार्टी संगठनबाट दिइने कठोर यातनाको डरले एक-आपसमा सहमति हुदाँ पनि हाम्रा चाहनालाई हामी बिचमै लुकाउन बाध्य हुनु परेको थियो । कठोरतम नियमका बाबजुद पनि समय-समयमा हामी बिच उत्ताउला गफगाफ,क्षणखानी नहुने गरेका होइनन तर पनि हामी दुई बिचको आवश्यकताको लगाम भने बलियो किलामा नफुक्ने गरी बाधिएको थियो ।
पौष महिनाको अन्त्यतिरको कठ्यांग्रिदो जाडोको बेला प्रहरी प्रशासनका कमि-कमजोरीहरूलाई आंकलन गर्दै हाम्रो कम्पनीले ईलाका प्रहरी कार्यालय ध्वस्त बनाई प्रशासनको अधिपत्यलाई सागुरो बनाउने निर्णय गर्न पुग्यो । कम्पनी कमान्डर क.क्षितिजको नेतृत्वमा सयौको संख्याले ईलाका प्रहरी कार्यालयलाई घेराबन्दीमा पारी युद्धको शंखघोष गर्न पुग्यो तर केही क्षणको लडाइबाट हामीतर्फ बढी क्षति हुन पुग्यो । भागदौडको क्रममा क.आंचल र म खेतमा थुपारि राखेको परालको कुन्यूमा लुकेर रात बितउन बाध्य भयौ । फलस्वरूप लामो समयसम्मको हाम्रो बन्दी प्यास त्यही समयको मौकामा परिपूर्ति हुन पुगेको थियो । युद्धबाट प्राप्त गर्ने सबै न्याय,समानताका हकहरू केही मिनेटमै स्खलन हुन पुगेक थिए । परालको कुन्यूबाट निस्कदा आकाशमा देखिने घामको पहिलो किरणले हाम्रो खबरदारी गरिरहेको थियो । गाउँ टोलभरि एकनासले भुकिरहने कुकुरहरूले हामी बिचको सम्बन्धको साक्षी बकिरहेका थिए । युद्धबाट घाइते भएको आफ्नै शरीरले आफैलाई खुच्चिङ् खुवाइरहेको थियो । हामी बिचको नयनको हेराइलेपश्चातापको पाठ सिकाइरहेको थियो तर समय भने घर्किसकेको थियो ………………..।
डर त्रास रपश्चातापले भरिएर इमान्दारितासँग डराइरहेको हाम्रो थकित शरीरलाई बिश्राम दिन हामी दुवै जना लुक्दै र भाग्दै क्याम्प पुगेका थियौ । युद्धमा बचेका र लामो समयसम्म केवल हामी दुई मात्र रातभरि हराउनुको कारण देखाउदै कम्पनी कमान्डरबाट एकतर्फी रुपले लामो फेहरस्ती तैयार पारिसकेका थिए । कम्पनी कमान्डरबाट छानबिन टोली गठन गरियो । टोलीले हामी दुई बिचको सम्बन्धलाई अनैतिक ठहर गर्दै १ वर्षे श्रम कैदको फैसला गर्यो । १ वर्षे श्रम कैदको फैसलालाई उल्टाउदै कम्पनी कमाण्डरले मलाई डेढ वर्ष र क. आंचललाई केवल ६ महिना क्याम्पमै श्रम गर्ने गरी अन्तिम फैसला गरे । त्यसपश्चात हामी दुई एक आपसमा कहिल्लै भेट नहुने गरी छुट्टिएका थियौ । उनको र मेरो बिचको सम्बन्ध त्यो कहालीलाग्दो युद्धको रातमा परालको कुन्यूमा बितेको क्षणभरको आनन्दमा हराएर गएको थियो । डेढ वर्षको श्रम कैद पछि म कहिल्लै नफर्किने गरी आफ्नो बिगतलाई निरन्तरता दिनको लागि आफ्नै गाउँ फर्किएको थिए । युद्ध र संघर्षबाट प्राप्त हुने सुनौला सपनाहरूलाई सपनाकै महलमा खात लगाई गाउँकै बिधवा एकल महिला सरलालाई जीवन साथी बनाएर दिनहरू बिताइरहेको थिए । युद्धको समाप्तिपछि क.आँचलले एउटा हस्त लिखित पत्र लेखेकी थिइन् जसमा लेखिएको थियो –
“क.तपाईको बहिर्गमनसँगै मलाई कम्पनी कमाण्डरबाट दिइएको कैद मिन्हा गरियो । त्यो बापत कमाण्डरका सबै आवश्यकताहरू मैले एक-एक गर्दै पूर्ति गर्दै जानु पर्यो । पार्टी प्रबेस गर्दा मैले जे सुनेर टाउकोमा सेतो कफन बाधेर प्रवेश गरेको थिए ती त केवल सिद्दान्तका ठेलिबाट लिएका उधारा अस्त्र मात्र रहिछन । तिनै ठेलीहरूको सिरानी लगाएर गरिने नारी अस्मिताको ब्यापार त यहा बाहिरभन्दा पनि बढी मौलाउदो रहेछ । यहाँ हुने अस्मिताको व्यापारलाई सिद्दान्तको रातो कबरले ढपक्क ढाकीदो मात्र रहिछ । असहमति र बिरोध भन्ने शब्दलाई अनुशासनको डण्डा लगाएर तह लगाइदो रहेछ । यी सबै मानसिक पीडा र शारीरिक अत्याचारहरूलाई बाध्यतामा मैले नसहेर धरै पाइन् । किनकि विकल्प मृत्यु बाहेक केही थिएन । युद्धको अन्त्यसँगै क.क्षितिज सरकारी सुविधाहरूमा लम्पसार परेर आरामको जिन्दगी बिताइरहनु भएको छ भने म अहिले न घरबार न युद्धको मैदान भएर भबिष्यका बाँकी जीवन कुरेर बसेकी छु । मौका पाउन साथ तपाईंसँग पुरुषबाट हुने अत्याचारको पोको फुकाउन आउने नै छु । ”
र अन्त्यमा लेखेकी थिइन्-”
“यति हुदा-हुदै पनि कमरेड के तपाईंले म प्रतिको अन्यायलाई सफाई दिदै मेरो हात थाम्न सक्नुहोला त ! ”
म झसङ्ग हुदै आफ्नो एककोहोरोपनालाई नियन्त्रण गर्न चिया पिउन खोजे । चिया चिसिएर पनि दुधको तरले ढाकिएर अचल भैसकेको थियो । आफैलाई आफूले छामछुम गरे अनि चिमोटेर हेरे । शरीर तातै थियो तर मानसपटल भने स्तब्ध भएको थियो । अतितका हाम्रा सम्बन्धहरूलाई पश्चिम हावाका झोक्काहरूले एक-एक गरी उडाउदै मेरो बर्तमानको जिन्दगीमा भुमरी बनी वारपारको दोसाधमा उभ्याउदै थियो । अगाढी मेरी जीवन साथी सरला र क.आंचल ठिङ्ग उभिएर मलाइनै एककोहोरो हेरिरहेका थिए । बिगत देखिका सबै दुख र पीडा अनि अत्याचारका गाथा सुनाएर मसँग न्यायको भिख माग्न आएकी क.आँचलले मलाईभन्दा पहिला नै मेरी पत्नी सरलालाई आफ्ना अतित पस्केर रित्तो भैसकेकिरहिछन । दुवैका आँखा भर्खर पड्किएको बन्दुकको नाल जस्तै तातो र रातो भएका थिए । दुनिया बदलेर न्याय र समानताको वकालत गर्दै हिडेका मेरा आँखाहरू भनेपश्चातापले आफैलाई हेर्न पनि लाज मानिरहेका थिए । नाजवाफ मेरा नूर खसेका आँखाहरूले उनीहरूको अनुहार हेर्ने दुस्साहस समेत गर्न सकेन । म अगाडि उभिएका दुई नारीहरूले व्यक्त गर्न खोजेका अभिव्यक्तिहरू मेरा अन्तर मनमा स्वस्फुर्त रुपमा संकलित हुदै गइरहेका थिए । देश र जनताको नाममा कसम खाएर बिद्रोहमा लागेको एउटा भगौडा सिपाहीले न त उनीहरूको प्रश्नहरूको खुलेर जवाफ दिन सक्थ्यो नत उनीहरूको भावनामा समेटिएर समस्याको हलनै गर्न सक्थ्यो । अन्तर्द्वन्द मन लिएर म एकनासले टोलाइरहे ।
बिना कुनै बाद- विवाद न कुनै प्रश्न न त कुनै प्रतिक्रिया शुन्य आकासको ठिक तलको जमिनमुनि दुई नारी पछाडि पनि नफर्किएर एक आपसमा हात समाउदै घर अगाडिको बाटो हुदै लागे आफ्नो गन्तव्यमा । अलि पर घर माथिको ढिस्कोमा उभिएर एकनासले हेरिरहे उनीहरूको अन्त्यहीन यात्रा । जुन यात्रा म जस्तै बेइमानिहरूले खनेको बाटोमा हिड्दा ती दुवैले निरन्तर भोगिरहेका थिए । फर्किएर उही पुरानो ठाउमा आएर बसे अनि सम्झिए मेरी पत्नी सरलालाई । जसलाई मैले बिधवा एकल भनेर यो घरमा भित्राएको थिए तिनी पनि त यही देशले बनाएको कुनै शहीदकी पत्नी थिइन् । मुक्तिको लागि हिडिरहेका दुई नारीहरूको अन्तत्वगत्वा एक आपसमा मिलन भएर आफ्ना गन्तव्यका पाइलाहरू नापिरहेका थिए यता म भने आफ्नो बिगतका गल्ती कमजोरीहरूले बनाएको घाउहरू कोट्याउदै थिए । केवल अन्तर मनबाट जो सदा मेरो मनमापश्चातापको गाठो बनेर निरन्तर बसिरहेको छ ।
