Skip to content

गन्तव्यहीन यात्रीहरु


समुद्रका निला छालहरू
अनवरत नियालिरहेछु
मौन पीडाहरू
अव्यक्त हुदै
छालको फेरो समातेर
एकनासले दौडिरहेछन l
परिस्थितिको उपज
बाध्यताको बैसाखी टेकेर
गन्तव्यहीन यात्रीहरू
छालहरूले खोसेको,
तरङ्गहरूले मासेको,
नचाहेर पनि हेरिरहेछु l
मैले सुनेको छु,
समुद्रको तटीय शहरमा
यिनै मौन पीडाहरू
डलरमा किनिन्छ्न
अनि बेचिन्छन
अध्यारा कोठीहरूमा l
विवश्ताको भारी बोकेर
सामुद्रिक छालको फेरो समाउनेहरू
बाध्यताको शिकार बन्दै
शिकारीको पन्जाहरूमा
निमोठिन्छन,चिथोरिन्छ्न
अनि रक्ताम्मै भएर फर्किन्छन l
झिलिमिली यो प्यासी शहर
हरेक दिन बाध्यताहरू किन्छ
अनि घुङ्ग्रुको नेल लगाउछ
तनको टुप्पोमा आगो सल्काएर
खुल्ला आकासमा नचाउछ
लडाउछ,पछार्छ अनि घिसार्छ l
बाध्यताले दुखेका तनहरू
गगन चुम्ने मनहरू
अन्तत गिजोलिन्छन र
घाइते बनेर फर्किन्छन l
छालहरू,
एकनासले उर्लन्छन
अनि घिसार्दै लिलाम गर्छन तनहरू
समुद्र,
बोलाउछ अनि लोभ्याउछन मनहरू l
तर पनि,
म नियालिरहेछु
यिनै सामुद्रिक छालहरू
छालमा फ़िजाइएका जालहरू
परिस्थितिको दास बनेर l

Leave a Reply

Your email address will not be published. Required fields are marked *