हिजो ढले आज ढल्छु, भोलि पनि ढल्नु छ
ताली बजाए सक्दासम्म, कति गोडा मल्नु र !
मान्नु पनि हद हुन्छ, कति हुन्छ मात्रै भनु
अस्थिपन्जर थाकिसके, बाँकी अब गल्नु छ
सुकिसके नशा नदी, चाउरिसके त्वाचाहरू,
मर्नु जिउदै मरिसके, बाँकी अब जल्नु छ
प्रीत दियौ साथ दियौ, जिउदो हुदासम्म
लाश बनाई आगो दियौ, बाँकी अब बल्नु छ
दाग लाग्ला खरानीको, अलि टाढा बस्नु है
भेट्ने बाचा स्वर्ग रोज्दै, नर्क बाटो छल्नु छ
