भाषा भनेको मानिसको अन्तर्मनको भाव वा अर्थ खुलस्त गरी अन्य वक्ताका माझमा संप्रेषण गर्ने सधान हो । मान्छेका मनभित्रका विचार र भावहरूलाई ध्वनि, लेखन वा हाउभाउ आदि चिन्ह वा संकेतहरूका माध्यमबाट बोकेर बाहिर अर्को त्यस्तै प्रयोगकर्ताका साथ हुत्याइदिने काम भाषाको हो । धेरै वा थोरै कुरा किन नहुन् ती कुराहरूलाई स्पष्ट बुझिने गरी अभिव्यक्त गर्न भाषिक कोटीको वाक्यको खाँचो पर्छ । अन्य वक्ताका साथ भावपूर्ण रूपमा प्रकाश गर्ने काम वाक्यबाट हुन्छ । वाक्य भन्नु अनेकौं सार्थक पदहरूको नियमपूर्वकको श्रृङ्खलाबद्ध एकात्मक संरचना हो । कुनै एउटा पूर्ण वाक्यभित्र घटीमा दुई ओटा शब्द हुनै पर्ने नियम छ । त्यसमा पनि एउटा क्रिया पद हुनै पर्छ अन्यथा अर्थमाथि आघात पर्न सक्छ, अर्थ पूर्ण हुन सक्तैन । वाक्यभित्र रहेका अलग पदहरूको अलगै र स्वतन्त्र अर्थ हुन्छ तर वाक्यभित्र पसेपछि तिनले एकात्मक अर्थ दिने कार्य गर्न थाल्छन् । वाक्यभित्र रहेका अलग पदहरूका अलग अर्थ हुँदाहुँदै पनि ती हरेकले अलग रूपमा रहेका अवस्थामा वक्ताका आन्तरिक अभिप्रायको सोलोडोलो अर्थ प्रकट गर्न सक्तैनन् । अत: वाक्यभित्र अनेक पदहरू आपसमा स्थानगत मेल भएर समष्टि रूपको अर्थ प्रकाश गर्ने काम गर्दछन् । पदमेल नै वाक्य हो, त्यसै हुँदा वाक्यमा रहेका सबै पदहरू कार्यात्मक रूपमा भिन्न भए पनि एकात्मक रूपमा मिलेर अर्थलाई पूर्ण गर्दछन् । यसरी एक भन्दा बढी पदहरूको योगबाट एक निश्चित अर्थ दिन सक्ने भाषाको एकाइलाई नै वाक्य भन्नु पर्ने स्थिति देखिन्छ । तलका जस्ता वाक्यको अध्ययन गरेपछि अहिलेसम्मको कथनको सन्दर्भमा तर्क गर्न सकिन्छ । तलको वाक्यबाट यस भनाइलाई पुष्टि गरिहेरौं—
१. राम काँचो आँप खान्छ ।
यो वाक्यका चार ओटा पदहरू छन् । तिनलाई अलग राखिएको अवस्थामा यस वाक्यबाट उपलब्ध हुने मूल अर्थ छिन्नभिन्न हुन्छ । पदहरूका रूपमा मात्र ती देखिन सक्छन् । यस वाक्यका पदहरूलाई अलग्याइ हेरौं—
आँप
काँचो
खान्छ
राम
यसरी अलग अलग पदहरूले वाक्यबाट आउने अर्थ दिंदा हुन् त माथिका सबै पदले बेग्लै रहँदा समेत उही अर्थ दिनुपथ्र्यो वा अलग अलग अर्थ दिनु पथ्र्यो, बेग्लाबेग्लै वाक्य हुनुपथ्र्यो । यदि हरेक शब्दले वाक्यको अर्थ दिंदा हुन् त माथिका पदहरू सबै वाक्य हुने थिए तर त्यस्तो हुँदैन । यदि त्यसो हुँदो हो त ‘शब्दकोष’ हरू ‘वाक्यकोष’ हुने थिए । त्यसो हुन सक्तैन ।
क. क्रिया= खान्छ
ख. विशेषण=काँचो
ग. नाम=राम
घ. नाम=आँप
माथि ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ मा दिएका शब्दहरू वाक्यमा नपर्दासम्मका लागि शब्द र वाक्यमा पसेपछि पदहरूमा मात्र परिणत भएका छन् । पदवर्गीकरण अनुसार तिनको वाक्य हुन ता उदाहरणमा उभिएका क देखि घ सम्मका जस्ता पदहरूको श्रृङ्खलाबद्ध मिलान हुनु नै पर्छ । माथिका पदलाई वाक्य बनाउनु हो भने ग+घ+ख+क को क्रमले क्रमश: शब्दहरूलाई जोड्नुपर्छ । अर्थात् ‘कान्छो काँचो आँप खान्छ’ यस रूपमा यसलाई सजाउनुपर्छ । अत: वाक्य हुन निश्चिय नै अनेक पदको सङ्गतिबद्ध संयोग हुनु पर्ने कुरा प्रमाणित हुन्छ । तर कतै कतै एक पदले समेत मात्रै पनि वाक्यबाट प्राप्त हुने अर्थ सम्बन्धी अभिष्टता कायम गरेको छ । तर यो अपवाद मात्र हो । यहाँ यही अपवादको रूपमा देखिने पदात्मक वाक्यहरूको खोज अनुसान्धान गर्ने काम गरिएको छ ।
२. तलको सम्वादलाई राम्रो गरी विचार गरौं—
ङ. दाजु= राम कता गयो ?
च. भाइ= घर ।
छ. दाजु= कतिबेला आउँछ ?
ज. भाइ= बेलुका ।
यी सम्वादमय उक्तिका रूपमा कुनै सन्दर्भमा आएका वाक्यहरू हुन् । सम्वादात्मक उक्तिमा प्रश्नोत्तरका रूपमा आएका माथिका ‘च’ र ‘ज’ को ‘घर’ र ‘बेलुका’ पदले वास्तवमा ‘ङ’ र ‘छ’ का लागि वाक्यार्थकै कार्य गरेका छन् । यस्ता पदहरूले सम्वादमय कथनमा वाक्यार्थकै कार्य गर्ने क्षमता राख्छन् । तर ती स्वतन्त्र रूपमा वाक्य भने हुन सक्तैनन् । ‘च’ र ‘ज’ मा आएका जस्ता पदहरू सुनेर ‘ङ’ र ‘छ’ जस्ता वाक्यमा रहेका प्रश्नकर्ताले वाक्यार्थकै बोध गर्छन् तापनि त्यस्ता एकपदात्मक वाक्यहरूको अर्थ अन्य वाक्यका अर्थसँग अन्वय नगरी पूूर्ण हुन सक्तैन । त्यस्ता ठाउँमा स्रोताले एक पद सुनेर वाक्यार्थको अन्वय हुन लायकका अन्य पदहरूको कल्पनात्मक अध्याहार गर्छ अनि उसलार्ई अर्थ प्रतीति हुन्छ । जहाँ स्रोता वा वक्तालाई अर्थ प्रतीतिका लागि अरु अरु पदको कल्पना गर्ने ठाउँ पर्दैन, त्यस्ता ठाउँहरूमा वाक्यार्थको बोध अध्याहार गरेर पनि सम्भव हुँदैन । माथिको ‘च’ वाक्यमा यदि ‘घर’ पदको साटो माटो, वा ढुङ्गो, जस्ता पदहरू हाल्नु हो भने अर्थको समीचिन प्रतीति हुन सक्तैन र पहिलो प्रश्नकर्ताले त्यसको बोध गर्न सक्तैन । अत: एकै पदबाट मात्रै कतै कतै वाक्यको पूर्ण अर्थ बोध भएको देखियो भने पनि त्यससँग अन्य पदहरूको परोक्ष उपस्थिति हुन्छ नै ।
उदाहरणका रूपमा उदाहरण २ का संख्या ‘ङ’ र ‘च’, तथा ‘छ’ ‘ज’ लाई यहाँ लिन सकिन्छ । ‘च’ को ‘घर’ एक शब्द मात्रै हो । तर पूर्ववाक्य ‘क’ को सम्बन्धका कारणले त्यस ठाउँमा त्यसले वाक्यार्थ नै बोकेको छ । त्यस्तै वाक्यार्थको सम्बन्धकै कारणले ‘ज’ को ‘बेलुका’ पदले पनि वाक्यकै कार्य गरेको छ । यस्ता पदहरूलाई अलग राख्नासाथ तिनको आफ्नो शब्दार्थ भन्दा बढी कुनै अर्थ दिन सक्तैनन् । उदाहरणमा परेका जस्ता पदहरूले सबैतिर वाक्यार्थकै बोध गर्दा हुन् त वाक्य व्याकरण निकै नै सजिलो हुँदो हो, तर त्यस्ता एकपदात्मक वाक्यहरूको पूर्वापरसम्बन्ध र प्रसङ्गबेगर वाक्यात्मक अर्थ र संरचना निश्चय नै हुँुदैन । प्रकटका रूपमा एक पदात्मक अपवादका रूपमा आएका यस्ता एकपदात्मक वाक्यहरूको पनि आन्तरिक संरचना बहुपदात्मक नै हुन्छ । ‘राम कता गयो ?’ यस प्रश्नात्मक वाक्यको उत्तरका रूपमा आएको ‘घर’ भन्ने पदात्मक वाक्यको आन्तरिक संरचना (राम) घर (गयो) नै हो । भाषिक मितव्ययिताको सिद्धान्त अनुसार यसको संरचनात्मक संक्षिप्तता मात्र भएको हो । त्यसैगरी ‘कतिबेला आउँछ ?’ वाक्यको उत्तरमा आएको ‘बेलुका’ भन्ने एकपदात्मक वाक्यको आन्तरिक संरचना (राम) बेलुका (आउँछ) नै हो । अत: कथनको विविध स्थान र सन्दर्भमा आएका एकपदात्मक वाक्यहरू पनि आन्तरिक रूपले बहुपदात्मक रूपमा नै संरचित भएका हुन्छन् । अझै के पनि सिद्ध हुन्छ भने वक्ताको सिङ्गो अभिप्राय वाक्यहरूबाट मात्र स्पष्ट हुन्छ । त्यस्तै अधिकांश स्रोताले पनि वक्ताको अभिप्राय वाक्यबाट मात्रै ग्रहण गर्न सक्छन् । केही विशेष पदहरूले अपवादमा स्वतन्त्र रूपमा वाक्यार्थको बोध गर्ने हैसियत बोकेको कारण व्यवहारमा देखिन्छ, तर त्यस्ता पदले विशेष विशेष कुराको अपेक्षा गरेर मात्र वाक्यार्थ बोध गर्दछन् । गाईका गोठमा ‘कुकुरदेखि सावधान’ लेखेको देखियो भने यो विशेष तथा सान्दर्भिक स्थान भएन । यसैले यस्ता पदहरूले वाक्यको रूप लिनका लागि उपयुक्त स्थान वा सन्दर्भको खाँचो पर्दछ । यस सन्दर्भमा यहाँ ‘खतरा’ पदलाई लिऊँ ।
शब्दकोशमा ‘खतरा’को अर्थ र कोटीलाई हेर्दा यो एक नामिक पद मात्र हो । यो अरविक भाषाबाट नेपालीमा आएको आगन्तुक शब्द हो । सम्भावित विपत्ति, आशङ्का, डर, भय, सन्देह (बृहत् नेपाली शब्दकोश, प्रा. बालकृष्ण पोखरेल, निर्देशक समेत : २०४० : २८४) नै यसको शब्दार्थ हो । तर यो पदले स्थान, अवस्था र विशेष परिस्थितिमा एक पदको अर्थ मात्र नभई अनेक पदहरू मिलेर बनेको वाक्यकै अर्थ दिन सक्छ । यो जस्ता मात्र नभई यस बाहेकका कतिपय शब्दहरू पनि सन्दर्भमा वाक्यार्थ दिन सक्छन्, तर तिनले सबैतिर वाक्यको अर्थ दिन भने सक्तैनन् । ठुलो बिजुलीको ट्रान्सफरमरका नजिक वा साँघुरो सडकतिर ‘खतरा’ शब्द लेखिएको रहेछ । त्यस्ता र अन्य कतिपय स्थानमा त्यस शब्दले परोक्ष रूपमा वाक्यकै अर्थ प्रदान गरिरहेको हुन्छ । त्यही ‘खतरा’ पदले विद्युतको अधिक प्रसारण क्षमता भएका स्थानका नजिकै लेखिएको रहेछ भने त्यसको अर्थ यस्तो हुन सक्छ—
अ. यहाँ शक्तिशाली करेन्ट प्रवाहित छ ।
आ. यसलाई नछुनू ।
इ. यसलाई छोए/चलाएमा अनर्थ हुन सक्छ ।
इत्यादि प्रकृतिका अर्थहरू सहितको वाक्यार्थ यस पदभित्र उक्त सन्दर्भमा समाविष्ट गरिएको भएको हुन्छ । त्यो अर्थको समाविष्टताका लागि त्यो र त्यो जस्ता डरलाग्दा स्थानमा यसको प्रयोग सान्दर्भिक हुन सक्छ र त्यसले पूर्ण वाक्यले दिने अर्थ दिएको हुन्छ । यस्तै त्यही स्थानमा ‘सावधान’ शब्द लेखिएको भए त्यसबाट पनि ‘यो स्थानमा सतर्क हुनुहोला’ भन्ने अर्थबोध गरिरहेको हुन्छ । तर त्यस्ता शब्दहरूको प्रयोग सन्दर्भबाहिर भएमा तिनको अर्थ यसरी वाक्यात्मक हुन सक्तैन । यस्तै खतरा, सावधान, धन्यवाद, पार्किङ्ग, पार्किङ्ग निषेध, स्वागतम् आदि पदहरूले पनि खास खास अवस्था र स्थानहरूमा वक्ता/स्रोताका अघि वाक्यार्थको बोध गर्ने क्षमता राख्छन् । तर माथि भने झैं यस्ता पदहरूले एक पूर्ण वाक्यको जस्तो अर्थ दिनका लागि भने केही विशिष्ट विषय वा परिस्थितिको अपेक्षा राख्छन् । त्यस्ता पदहरूले वाक्यार्थ दिनका लागि तलका कुराहरू सान्दर्भिक हुन सक्छन् ।
जस्तै :
३. अ. विशिष्ट वक्ता/स्रोता/ दर्शक/पाठक/ बोद्धा आदि हुनुपर्छ ।
आ. खास स्थान हुनुपर्छ ।
इ. खास परिस्थिति हुनु आवश्यक छ ।
ई. खास खास सन्दर्भको अपेक्षा हुन्छ ।
उ. वाक्यार्थबोधक पद रुढ भएको हुनु पर्छ ।
शब्दकोशमा लेखिएका वाक्यार्थबोधक शब्दहरू वाक्यार्थक संरचना बेगरका हुन्छन् । त्यस्ता पदलाई खास स्थानमा प्रयोग गर्दा मात्र तिनले वाक्यको अर्थ दिन सक्छन् । त्यसैगरी अर्थबोधका लागि पनि विशिष्ट स्रोेता–दर्शक आदिको खाँचो पर्छ । निरक्षर एवम् अर्थबोध गर्ने क्षमता नभएका दर्शक वा पाठकलाई त त्यस्ता पदहरू मात्रै नभई सामान्य पदहरू पनि दुष्कर लाग्न सक्छन् । अत: यस्ता पदात्मक वाक्यले वाक्यार्थ दिने सन्दर्भमा त्यस पदको अर्थको ग्राहक वा बोद्धा विशिष्ट प्रकृतिको हुनु आवश्यक पर्छ । अब एकपदात्मक वाक्यको विश्लेषणात्मक निरीक्षण गरौं—
४. १. वाक्यात्मक पदावली= प्रवेश निषेध
(क) यो रुढ भएको पदावली हो ।
(ख) यसको प्रयोग हुनुपर्ने कुनै स्थान= कार्यालय आदिका कक्षको बाहिरतिर ।
(ग) वक्ता, स्रोता आदि= बोद्धा वा बुझ्झकी हुनु आवश्यक ।
(घ) समय वा परिवेश= कार्यालय, खुलेको समय वा कार्यालयको निर्धारित समय ।
(ङ) अवस्था= औपचारिक ।
४.२. बोध हुन आउने यो पदावलीको वाक्यार्थ यस्तो प्रकृतिका हुन सक्छन् :
(क) कार्यालय खुलेको बेला छ ।
(ख) यो खास ठाउँ हो ।
(ग) त्यसो हुनाले अहिले भित्र पस्न निषिद्ध छ । एकपदात्मक यस वाक्यको पूर्ण आन्तरिक संरचना :
(घ) अहिले कार्यालय खुलेको बेला भएको हुँदा कक्षभित्र अनुमति बिना सिधै जान निषेध छ ।
(ङ) पदात्मक वाक्यको बाह्य संरचना := प्रवेश निषेध ।
यसै रूपले अरु कतिपय पदहरूलाई पनि विश्लेषण गर्न सकिन्छ । आजको वैज्ञानिक युगको मान्छेको स्वभाव नै मितव्ययितातिर गएको छ । भाषाको प्रयोगमा पनि ऊ निरन्तर मितव्ययी छ । ‘एक शब्द लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा:’ भन्ने कुरा उहिल्यैदेखिको हो । कम शब्दबाट काम काट्न सक्ता छोरो जन्मेको आनन्द मान्थे वैयाकरणहरू । यसको अर्थ थोरै प्रयोगबाट विशिष्ट कथन हुनुपर्छ भन्ने कुरा उहिल्यैदेखिको हो । मान्छेको त्यही मितव्ययी स्वभावका कारणले भाषाका यस्ता अनेकौं पदहरूले वाक्यको कार्य गरेका हुन्छन् । अझ आजको कम्प्युटरको भाषामा ता यस्ता अनेकौं पदहरूले वाक्यको कार्य नगरी धरै हुन्न । हुन त चिन्ह, संकेत, रेखाचित्रहरू वा कार्टुनहरू पनि वाक्यात्मक अर्थबोधका लागि व्यवहारमा मनग्गे प्रयोग भएका पाइन्छन्, तर ती संरचनाहरू अर्थबोधका भाषिक कोटीहरू नभई अन्य क्षेत्रबाट तदर्थ मात्र प्रयोगमा लिइएका हुन् । तिनको भाषिक रूपमा विश्लेषण हुन सके पनि कथ्यमा भन्दा सांकेतिक भाषाको रूपमा तिनको विश्लेषण हुनु सान्दर्भिक हुन सक्छ । यहाँ भाषाका र त्यसमा पनि रुढ भइसकेका कतिपय पदहरू जसले वाक्यार्थ दिन सक्छन्, तिनको मात्र आकलन गरिएको हो । कतिपय विशिष्ट अर्थ र सन्दर्भमा जुनसुकै पदले पनि वाक्यको अर्थ दिन सक्छन् भन्ने कुरालाई पनि बिर्सन सकिन्न ।
तलका केही पदहरू वाक्यार्थ दिन रुढ भइसकेका छन्—
क. सतर्क
ख. रोक्नू, हेर्नू, जानू ।
ग. धन्यवाद
घ. स्वागतम्
ङ. ढोग/दण्डवत् ।
च.दर्शन/नमस्ते/नमस्कार
छ. पकेटमारदेखि सावधान,
ज. सावधान
झ. प्रवेश निषेध
ञ.चोर, चोर
ट. होसियार,
ठ. बचाउ/गुहार गुहार
ड. चूप
ढ. त्राहिमाम् त्राहिमाम्,
ण. खतरा,
त. हाउसफुल
थ. डिलिट,
द. इन्सर्ट
ध.भित्र/बाहिर (क्याम्पसप्रमुख वा कर्मचारी)
प. पार्किङ निषेध
फ. शान्ति
ब. धन्यवाद
भ. भ. समाप्त
म. आरम्भय. मध्यान्तर आदि आदि
सन्दर्भ ग्रन्थ :
१. पोखरेल, बालकृष्ण र अन्य, नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं २०४० ।
२. बन्धु, डा. चूडामणि, नेपाली भाषाको उत्पत्ति, (पाँचौं संस्करण), साझा प्रकाशन, काठमाडौं, २०५२
३. तिवारी भोलानाथ, भाषा विज्ञान, किताब महल, इलाहाबाद, १९९४ ईं. ।
५. श्रीवास्तव, रविन्द्रनाथ, भाषा विज्ञान : सैद्धान्तिक चिन्तन, राधाकृष्ण प्रकाशन, दरियागन्ज, दिल्ली, १९९७ ई. ।
६. ढुङ्गेल, डा. भोजराज तथा दाहाल दुर्गाप्रसाद, सामान्य र प्रायोगिक भाषा विज्ञान, एम.के. पब्लिसर्स एन्ड, डिस्ट्रिव्युटर्स, काठमाडौं, २०६६ ।
७. पोखरेल, डा. माधवप्रसाद, नेपाली वाक्य व्याकरण, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं २०५४ ।
८. लम्साल, प्रा.डा. रामचन्द्र, कोश विज्ञान र नेपाली शब्दकोश, विद्यार्थी पुस्तक भन्डार, काठमाडौं, २०५७ ।
९. सुवेदी, होम, ‘वाक्यको विकल्प : पदात्मक वाक्य’, जुही, २५, झर्रो नेपाली घर, चन्द्रगढी, २०४६ ।
अध्ययन जर्नल, मेची क्याम्पस, भद्रपुर
