Skip to content

नयाँ बर्ष (जब आरुका फूलहरु…)

जब आरुका फूलहरु
नयाँ आशा र उमङ्ग लिएर
मुस्कुराउँछन-बारीका डिलहरुमा !

जब शिशिरले
करङ्ग निस्किएका गिरिहरु
भरिन्छन-बशन्ती रङ्गहरुले,
अनि जब त्यहीँ हाँस्छ-एकमुठि हाँसो
सम्भावित
उज्यालो भबिश्यको स्वप्नमा-लालिगुराँश !

जब एकछिनलाई चल्छ-मन्द पवन,
अनि टरेर जान्छ
आँधी,तुफान र बादल-समस्याको
क्षितिजचुम्बी भिरबाट !

जब हाक्पारे,सालैज्यू र पालमको लयमा
गाउँन थाल्छे कोइलीले-हाम्रो पिरती ,
अनि जब हाम्रै
मारुनी, सेलो र चन्डिको तालमा
नाँच्छन-डाँफे,मुनाल र मयूरहरु !

जब भित्तेपात्रो झै
अनयासै फेरिन्छ-
घाउको एक पत्र !

तब
फेरि शुरु हुन्छ-
एक नौलो र बेग्लै अध्याय
पृष्ठ-पृष्ठमा जिन्दगीको ।
*****************

Leave a Reply

Your email address will not be published. Required fields are marked *