“साहुजी, दुई किलो चिनी दिनुस त।” कार्की बाले साहुजी समक्ष अनुनय गरे।
“होइन कार्कि बा, एक किलो मात्र लैजानुस।” साहुजीले ओठे जवाफ फर्काए।
“के हो साहुजी चिनीको भाउ बढ्दै छ कि के हो?” कार्कि बाले जिज्ञासा राखे।
“होइन कार्कि बा, अहिले चिनी त्यति धेरै आएको छैन। मेरा लागि त सबै ग्राहक एकै हुन् अरूलाई पनि पुऱ्याउनु पर्छ। अहिले एक किलो मात्र लैजानुस भन्दा पनि मेरो विश्वास नगर्ने।” साहुजीले एक किलो चिनी जोख्दै हकारे।
कार्कि बा चिनी लिएर बाहिर निक्लेका मात्र के थिए, एउटा मरन्च्याँसे पसलमा आइपुग्यो।
साहुजीले जम्लाहात जोड्दै उसको लागि कुर्ची तानेर राखिदिए।
“मैले भनेको काम भयो त?” मरन्च्याँसेले हुँकाऱ्यो।
“दुई बोरा आज बिहानै हजुरको घर तिर पठाएको छु, हजुर।” कार्कीबालाई हकार्ने साहुजीको बोली एकाएक दब्यो।
“पाँच बोरा भनेको किन दुई बोरा मात्र त?” मरन्च्याँसे अझ चर्को स्वरमा कुर्लियो।
“गोदाममा जम्मा तीन बोरा मात्र थियो, हजुर। अगाडि सर्टेज होला भन्ने थाहा पनि थिएन, त्यसैले मसँग पनि भएन। दुई बोरा हजुरलाई पठाएर एक बोरा मात्र खुद्रा बिक्रिको लागि राखेको छु, हजुर।” साहुजीले एक सासमा उत्तर दिए।
“त्यसो भए सहयोग रसिद काट्नुपर्ने भयो होइन त? रसिद भोलि पठाइदिन्छु, पैसा उसैलाई दिईपठाउनु।” मरन्च्याँसेले हुँकार्दै बाहिर निक्लियो।
मरन्च्याँसे बाहिर गएपछि बल्ल साहुजीको होश फिऱ्यो र म भएतिर फर्के। मेरो प्रश्नवाचक नजर देखेर भन्न थाले – “चिन्नु भएन, उही गौरवशाली पार्टीबाट भर्खरै चोइटिएको नयाँ पार्टीको कार्यकर्ता हो। देशमा भ्रष्टाचार हटाउन र सुशासन ल्याउन मूल पार्टीबाट छुट्टीएका रे।”
२०७१ चैत्र २८
