तिम्रो संवादको निरन्तरतामा
शव्दै पिच्छे बागमती संग्लियो रे
मलाई विश्वास छैन
किनकि तिमी अँझै संग्लिएका छैनौ
त्यसैले बागमती संग्लिदै संग्लिदैन अहिले
हो, तिमी संग्लियौ भने
हिमाल हाँसेर तिम्रो स्वागतमा
संग्लो कञ्चन छोड्ने छ
त्यो तराइको फाँटमा
सुनौलो संसार रम्ने छ
थाहा छ
बागमती संग्लिन
विष्णुमती टुकुचा पनि संग्लिनु पर्छ
त्यो धरहरा त्यो हिटी र सिंह दरवार पनि संग्लिनु पर्छ
ठमेलको दिउसै रात पनि संग्लिनु पर्छ
हे काठमान्डू
बागमती संग्लिन
धेरै नगर बधुहरू संग्लिनु पर्छ
बालुवाटार बल्खु अनि पेरिसडाडा पनि संग्लिनु पर्छ
हो नि, धेरै भोका पेटहरूपनि संग्लिनु पर्छ
बागमती संग्लिनलाई तिम्ले हसुरेको
हग्ने टुंगो पनि लाग्नु पर्छ
बागमती संग्लिन त सबै मनहरू संग्लिनु पर्छ
बागमती लाखौ हातहरूले मात्र हैन
करोडौ मनहरूले संग्लिनु पर्छ
जुलुशले बागमती संग्लिदैन
नाराले बागमती संग्लिदैन
टायर बालेर बागमती संग्लिदैन
गरी खाने हातहरूले
भोको पेटमा सहजै अन्न हालेर
ती मनहरूले बागमती संग्लिनु पर्छ
गण्डकी पनि संग्लिनु पर्छ
फेवाताल मेची काली संग्लिनु पर्छ
के तराइ के हिमाल अनि के पहाड
ती सबै मनहरू संग्लिनु पर्छ
सबै मनहरू कञ्चन भएर संग्लिनु पर्छ
तिम्रो अन्तरात्माको लोभ संग्लिनु पर्छ
तिम्रो मन नसंग्लिए
बागमती संग्लिदै संग्लिदैन !!
