Skip to content


कोही सामान्य पिलपिले प्लाष्टिकलाई पाल बनाएर र कोही त्यतिकै घाम पानी झेल्दै पाँच दिनदेखि धोबीखोलाको किनारमा बिल्लिबाठ भै रहेका भूकम्प पीडितहरूको लर्को हेर्दै चुपचाप अघि बढेका सभासद जसै खोलाको एउटा किनारको लर्के छिचोलेर अर्को किनार पुगे, अर्को किनारपटी उसै गरेर बसिरहेका पीडितहरूमध्येबाट एउटाले सभासदलाई चिनेर करायो–‘सभासदज्यू आउँनु भो सभासद ज्यू’ र उसले सभासदलाई अभिवादन गर्न पनि भ्यायो । उसले सभासदलाई नमस्कार भनेकोमात्र के थियो खोला किनारमा भएका सबैलेसभासदको जय ! जयकार गर्दा र नमस्कार गरेका स्वरले धोबिखोला नै गुन्जायान भयो । सभासद पनि मानिसहरूको जय ! जयकार र अभिवादनले प्रशन्न भएर उनका पछि–पछि त्रिपालले ढाकिएर आएको मोटरलाई रोक्न इसारा गरे ड्राभरलाई र मोटरबाट भूकम्प पीडितहरूका लागि आएको राहत सामाग्री झिक्दै दिल खोलेर बाँडे ।

जसै उनी राहत बाँडिसकेर पुरानो बानेश्वरको उकालो लागे उनका अघिपछि–पछि हुँदै सभासदसँग हिडिरहेको उनको सहायकले अलि माथि पुगेपछि सोध्यो –‘हैन हजुर, पारीपटि पनि वारीकै जसरी भूकम्पले बिल्लिबाठ भएका मानिसहरूनै थिए राहतको पर्खाइमा, तर हजुरले तिनीहरूको वास्तै गरिबक्सेन तर वारीकालाई भने दिल खोलेर राहत बाँडी बक्स्यो किन होला हजुर ? मैले त कुरै बुझिन ।’

‘पारीपटी हाम्रा मानिस नभएर बिपक्षी पार्टीका मानिस भएकाले’–सभसदले दुइटुक उत्तर दिए ।

‘कसरी चिनिबक्स्यो हजुरले, मैले त चिन्ने सकिन त ?’–पछौटेले आश्चर्य चकित भएर फेरि प्रश्न गर्यो ।

‘मलाई चिनेर नमस्कार गरेकाले’–सभासदले उसै गरी उत्तर दिए र ब्यङ्ग गरे–‘यति बुद्धि भएको भए त तिमीले पनि सभासदको टिकट पाएर भै हाल्ने थियौ नि म जस्तै सभासद ।’

‘तिनीहरूको बिल्लीबाठ देख्ता–देख्तै पनि हजुरले नै छोडेर हिडेपछि अब तिनीहरूलाई कसले राहत उपलब्ध गराउँला त हजुर ? मर्छन त यस्तो झरीमा भिजेर र भात न पानी भएर’–सहायकले चित्त नबुझेको कुरो उठाउँन छोडेन र फेरि थप्यो पनि ‘आपत विपद पनि पार्टीगत हुन्छ र ? जुन पार्टीमा आश्था राखे पनि पीडित भनेका त आखिरमा पीडितै हुन् नि ।’

‘मेरा भागमा परेका कोटा मेरा कार्यकर्तालाई छोडि–छोडी किन बाड्नु मैले अर्काका कार्यकर्तालाई ?’ बाँडे उनीहरूकै पार्टीको सभासदले बाँड्छ न बाँडे बाँड्दैन, कति प्यार्रप्यार गरिरहेको चुप् लागेर हिड्न सक्तैनौ ?’–सहायकले एकहोरो प्रश्न माथि प्रश्न गरिरहेकाले सभासद झर्किए सहायकलाई चुप् लगाउँन ।

जीवन दाहाल
जुरोपानी-४,झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *