Skip to content

भाग्यमानीको भूतै कमारो


आउन पनि ओइरै आयो
सरसामानको ता कुरै छाडौं
डलरको पनि पो पैरै आयो
त्यसका लागि
नेपाल बन्द गर्नै परेन
पालित मुन्द्रेलाई चारो छर्नै परेन ।

रुखहरु ढाल्नै परेन
टायरहरु बाल्नै परेन
अफबाह लगाएर जनतालाई
भड्काउनै परेन
बमबारुद पड्काउनै परेन ।
हामीले भत्काएको भन्दा कैंयौं बढी भत्काइदियो
मने यो भैंचालो धन्न नेपालमा आइदियो ।

अघिपछि जस्तो फिरौतीका लागि
मुन्द्रे कुन्डलेहरु पनि लाउनै परेन
जनताहरुलाई थातबासबाट भगाउनै परेन
चन्दा आतंकको धुन जगाउँनै परेन
बाबा ठाकुरे हो यस पालि ता अलओल्ले नै भयो
भैंचालोबाट हामीलाई ठुलो अनुकम्पा रह्यो !

अरु डराउन् कि राखून्
हामीलाई यससँग डराउनै परेन
हाम्रा लागि यसले सानो गुन गरेन ।
तर यो हामी भन्दा निकै कमजोर थियो
हाम्रो आँकडालाई आधीसम्म पनि यसले पारै गरेन ।

तर पनि साथीहरु हो
हामीले यसको गुन मान्नै पर्छ
हाम्रो ढिकुटी भरिदियो यसलाई लालसलाम हान्नै पर्छ
ढिकुरी भर्न फाली अड्काउनै परेन
बम पड्काउनै परेन
हामीले बार बर्खमा नसकेका काम
एकै छिनको भैंचालोले गरिदियो
यसै बहानामा संसारले हामीलाई डलर छरिदियो ।

भैंचालोलाई धन्यवाद छ
केही वर्खलाई यसले चुप लागे हुन्छ ।
हाम्रो लागि पैसाको काम केही बर्खलाई सल्टियो
अहिलेलाई ता हाम्रो सत्रै पल्टियो ।
सधैं यस्तै कमाइ भइरहोस्
यस पालिको जस्तै गरी बार बार भैंचालो गैरहोस्
बार बार भैंचालो गैरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *