हराए थिए जो पुजारी अनेकौँ
यहाँ जन्मिए धुन्धुकारी अनेकौँ ।
तमासा भयो लौ न यो संविधान
बजारै भरी छन् मदारी अनेकौँ ।
कुनै जात माग्ने कुनैले तराई
कहाँबाट आए भिखारी अनेकौँ ।
उदायो यहाँ नाकको राजनीति
अहो ! देश लुट्ने तयारी अनेकौँ ।
बनूँ रैति कस्को परेँ उल्झनैमा
म देख्दै छु श्रीपेचधारी अनेकौँ ।
लुकाएर राखेँ म भन्थेँ कलेजो
समीपै रहेछन् शिकारी अनेकौँ ।
– पथरीशनिश्चरे-१३, कीर्तिपुर, मोरङ
