Skip to content


यो टोलका घरमा डेरा सरेपछि उमेशका लागि दुईवटा कुराले उत्सुकता पैदा गरेका छन्— एउटा उत्सुकता पैदा गराउने विषय हो— टोलमा साँझ पर्नासाथ चल्ने बाफिलो धुवाँ र अर्काे हो घरपतिकी नोकर्नी । दिउसो भरि मान्छेहरुको उपस्थिति कम देखिने यस टोलमा साँझ पर्नपर्न लागेपछि निकै बाक्लो उपस्थिति हुन थाल्छ । उसलाई यो पनि उत्सुकताको विषय हो । सम्झन्छ—अघिसम्म यी मान्छेहरु कहाँ थिए र के गर्थे ? यी को होलान् र यहाँ किन जल्याङमल्याङ गर्छन् बेलुकापख ? उसमा उठेको यो उत्सुकता उसले सकैसँग प्रश्न नगरी समन भयो । अर्थात् उसको यो उत्सुकतालाई उमेशले आफ्नै अध्ययन र अनुसन्धानबाट शान्त गर्यो । उसको टोलमा मूल सडकतिर फर्किएका निकै रेष्टुरेन्ट रहेछन् । अलि परतिर मालपोत, भूमिसुधार र नापीशाखाका कार्यालय रहेछन् । तिनै कार्यालयमा कार्यरतर राष्ट्रसेवक घुस्याहाहरुले दिउसोभरि सिधासाधा जनताबाट राष्ट्रसेवा गरेबापत खाएको घुसको केही अंश बिसाउने ठाउँ यी रेष्टुरेन्ट रहेछन् । सेकुवा र रक्सीका बिसौनीमा दिउसो कमाएको घुसको केही अंश बिसाउने ठाउँ यिनै रेष्टुरेन्ट रहेछन् भन्ने कुराको निचोड उमेशले निकाल्यो । साथै बाफिलो धुवाँ आउनुको कारण तिनै राष्ट्रसेवकहरुको सेवाका लागि रेष्टुरेन्टले सेक्ने सेकुवाबाट आएको हो भन्ने कुरा पनि बुझ्यो । यसपछिको साँझमा चल्ने बाक्लो उपस्थिति र हल्लीखल्लीका बारेमा पनि उसले कसैसँग नबुझी आफैं निचोड निकाल्यो, टुङ्गो लगायो । घरबाहिरको वातावरणबाट आफूभित्र उठेको उत्सुकता उमेशले आफ्नै प्रयासलें शान्त पार्यो भने ऊ बसेका घरैभित्रबाट उसभित्र उठेको उत्सुकता भने शान्त हुनुको बदला झन्झन् बाक्लो बनिरहेको छ ।
यो घरमा डेरा सरेदेखि घरमा धेरैजसो एउटी नोकर्नी मात्र तलमाथि गरिरहेकी देखिन्छे, घरका साहू साहूनीहरु घरको माथिल्लो तलाबाट कराइरहन्छन्— “ए काउली कता गइस् ? ए काउली, यसो गर्, ए काउली उसो गर्, ए काउली यता आइज, ए काउली, उता जा, ए गठेरी के गर्न लागेकी ?….” साहू साहुनीहरुको त्यही अराइपराइबाट उमेशले घरमा तलमाथि गर्ने त्यो अधबैंसे हुनहुन खोजेकी आइमाई त्यस घरकी नोकर्नी रहिछे भन्ने थाहा पायो ।
केही दिन यसो काउली उमेशसँग बोल्न थालेकी छे । अन्टसन्ट केके सोध्छे । उसको बिहान र बेलुकाको उमेशसँग गर्ने प्रश्न एउटै हुन्छ— ‘भात पाक्यो ?’ अनि दिउसो भेट भयो भने ‘भात खानुभो ?’ भन्ने प्रश्न हुन्छ ।
बेलुका बेलुका हुन लाग्दै थियो । उमेश साँझपख टहल्नका लागि यसो बाहिर निस्कन लाग्दै थियो । कोठामा बाहिरबाट साँचो लगाउँदै थियो । तलबाट पानीको गाग्रो लिएर काउली सिंढीमा आउँदै रहिछे । उमेशले अनुमान गरिहाल्यो— अब यसले सोध्ने प्रश्न भनेको ‘भात पाक्यो’ हुन सक्छ । नभन्दै उमेशलाई देख्नासाथ उसले सोधी पनि हाली— “भात पाक्यो मास्साप ?!”
“पाकेको छैन । यस्तो दिउसै कहाँ भात पाक्नु ?” उसले उत्तर दियो ।
“कता जान लाग्नु भएको ?” उसले सोधी ।
“तरकारी छैन । लिन जान लागेको ।”
“तरकारी किनिदिने मान्छे ल्याउनुपर्छ । कति दुःख गर्नुहुन्छ ?” उसले केही सर्माउँदै अप्रत्याशितसँग कुरा राखी ।
उमेशलाई पनि रउस चल्यो र भनिदियो—“तिमीजस्तै मान्छे भेटे ता राख्ने पनि थिएँ । यसो भाँडा पनि सफा गर्ने थिई । मलाई काम गर्न हलुको पनि हुने थियो । तर खै कहाँ पाउनु र ?”
पानीको गाग्रो बोकेर बाटो छेकेर उभिएकी काउलीले केही सर्माएजस्तो गरी र उमेशलाई सोधी—“अनि तपाईंको बिहे भएर ल्याएको छैन ?”
“मेरो बिहेको तिमीलाई किन खाँचो पर्यो ? होस् कि राखोस् नि ?” उमेशले काउलीतिर नियाल्दै उत्तर दियो । अनि पो उसको दृष्टि काउलीका शरीरमाथि पर्यो । काउलीले तल लुङ्गी लगाएकी रहिछे । अनि माथि भने पातलो सेतो रङको ब्लाउज लगाएकी रहिछे । काखीमा पानीको गाग्रो बोकेर उभिएकी काउलीको माथिल्लो शरीरको कपडा गाग्रोको पानी छलल्किएर भिजेको रहेछ । काखीमा बोकेरा गाग्रीको पानीले भिजेको ब्लाउज गाग्रीमा टाँसिएको रहेछ । कुचकलशको भेट भएको रहेछ । नचाहेर पनि उसका आँखा त्यहाँ पुुगेर केही बेर अडिरहे । काउलीले कुनै अप्ठेरो नमानी त्यो दृश्य उमेशका लागि उपस्थिति गरिरही । उमेशले पहिले त आँखा तर्काउन खोज्यो तर काउलीले नै दृश्य खुला छाडेपछि उमेशको मन केही बलियो भयो र दृश्यसुखमा उसले आफूलाई खुला छाडिदियो ।
अलिकति समय यसै उपक्रममा बित्यो र उमेश आफैं सतर्क भएर भन्यो—“बाटो छोड, म बाहिर जान्छु तरकारी किन्नु छ ।”
“साँच्चै भन्नुहोस् न मास्साप तपाईंंको बिहे भएर ल्यायो ?” उसले फेरि पनि अघिकै प्रश्न गरी । उमेशलाई अलिकति रिस उठेझैं भयो । अनि यत्तिकै फ्यास्स भनिदियो—“भरे भनौंला नि ।”
“तपाईंको तरकारी म नै किनेर ल्याइदिउँला न । मैले किनिदिए हुँदैन ? हुन्छ हो कि ! पानी राखेर आऊँ है त । तपाईं के दुुःख गर्नुुहुन्छ ? भोलिदेखि पानी पनि म नै ल्याइदिउँला । भाँडा माझ्ने झन्झट पनि नगर्नू ! भात पकाउन भने म अलिक भ्याउँदिनँ !” काउलीले उमेशले कहिल्यै नसोचेको प्रस्ताव राखी । उमेशले केही भन्न सकेन ।
“तपाईं कोठामा आराम गर्नुहोस् कलेजमा पढ्दापढ्दा दिउसो भरि गलेको मान्छे । गलेको मान्छेले काम गर्न सक्नुहुन्न । आराम गर्नुपर्छ । म आइहालें है ।” काउली भरेङबाट हतारहतार उकालो लागी । उमेश के गर्ने र कसो गर्ने भन्ने दुविधामा पर्यो । ‘काठमाडौंमा अलिक सतर्क भएर बस्नुपर्छ’ भन्ने आमाको वचन सम्झियो । ‘यो नोकर्नीले मसँग अन्यथा अपेक्षा पो राखेकी छे कि !’ उसका मनमा एउटा शङ्का पनि जन्मियो । उसको पैताला जहाँको तहीं अडिरहे । दुविधाको घेरामा ढिङ्ग उभिइरहेको उमेशका अघि एकै छिनमा काउली माथिबाट फटाफट ओर्लिएर उपस्थित भई र सोधी—“ के तरकारी ल्याइदिऊँ मास्साप ? खै पैसा यता ल्याउनुहोस् ।”
“तिमीलाई जे मन पर्छ त्यही ल्याऊ ।” उमेशले अनायासै काउलीका हातमा पैसा र झोला थमाइदियो ।
“लौ त लौ । मलाई मन पर्ने कुरा नै ल्याउँला । तपाईं आराम गर्नुहोस् ।” काउलीले भनी र तलतिर ओर्लिई । उमेश आफ्ना कोठामा गएर किताब पल्टाएर केके पढ्न थाल्यो ।
पन्ध्र मिनेटपछि कोठाको ढोका ढक्ढकियो । उमेशले ढोका खोल्यो । काउली रहिछे । उसले तरकारी किनेर ल्याइछे । ढाकोबाट भित्रै नपसी उमेशलाई तरकारीको झोला दिँदै भनी—“अघि भन्छु भनेको कुरा अब ता भन्नुहुन्छ होला नि ?”
“कुन कुरा ?” उमेशले सोध्यो ।
“त्यही बिहे गरेको छ कि छैन भन्ने कुरा ।”
“साँच्चै भनौं कि झूटो भनूँ ?” उसले जिस्कने उपक्रम गर्यो ।
“साँच्चै भन्नु नि अब । मसँग झुटो किन बोल्नुपर्यो ?” उसले भनी ।
“साँच्चै भन्ने हो भने मेरो बिहे भइसक्यो ।”
“हँ !! बिहे भइसक्यो ! साँच्चै बिहे भइसक्यो ? साँच्चै भनेको ?! यो उमेरमै बिहे भैसक्यो ?”
“साँच्चै ता भेनेको नि । तिमीलाई किन ढाँट्ने !” वास्तवमा उमेशले ढाँटिदिएको नै थियो । तर उसको यो झूटो भनाइको प्रतिक्रिया काउलीबाट यस्तो होला भनेर उसले सोचेको पनि थिएन ।
“थुक्क मेरो कर्म…….! कति चाँडै बिहे गरेको होला !” काउलीको प्रतिक्रिया थियो । काउलीको यो प्रतिक्रियाको रहस्य उमेशले पटक्कै बुझेन । उलाई लाग्यो—काउली किन यसो भन्दै छे ? काउलीको अपेक्षा ममाथि के थियो त ?
काउली कालो कालो मुख लगाएर उमेशको ढोका ढ्याम्म ढप्काउँदै उकालो लागी । उमेशलाई तत्कालै काउलीमा आएको यो परिवर्तन देखेर निकै आश्चर्य लाग्यो । उसको उत्सुकता झन् बढेर गयो । किन काउली रिसाएकी होली ?
साँझ पर्दै थियो । काउली माथिबाट भुत्भुताउँदै तलतिर झरी । उसको भुत्भुताई उमेशका कानमा परिरहेको थियो । ऊ भन्दै थिई— “कति छिटो बिहे गरिहालेको होला । मान्छेले एउटा उमेर भएपछि पो बिहे गर्नुपर्छ त । पानी ल्याइदिन्छु भनेर पनि व्यर्थैमा भनिछु । व्यर्थैमा तरकारी किनिदिएँछु । अब किनिदिए त के र…… !”
उमेशका मनमा काउलीका बारेको उत्सुकता झन् दोब्बर भएर बढ्यो ।
काउली भने अझै केके भुत्भुताइरहेकी थिई ।

3 thoughts on “काउली”

  1. मैले याे कथामा केही सम्पादन
    मैले याे कथामा केही सम्पादन गरे‌ । यहाँ पाेस्ट गरेकाे दस मित्रनट जति मैले यसलाइ सुधार गर‌े । तर यति गर्दा नगर्दा ११ रिड भनेकाे देखियाे । याे हाे हाेइन पत्ता लगाउन पाए पनि हुने ।

  2. हो । तर के बुझ्न जरुरी छ भने
    हो । तर के बुझ्न जरुरी छ भने – यो संख्याले यो पेज हेर्नको निमित्त कतिवटा रिक्वेस्ट आए भन्ने जनाउँछ । पेज हेरिसकेपछि मान्छेले पढ्न पनि सक्छन्, नपढ्न सक्छन्; त्यो हिसाब निकाल्न सकिन्न । तपाईं आफैंले पनि कति पटक क्लिक गर्दै एउटै पेज बारम्बार हेर्नुभएको हुनसक्छ र जानी-नजानी त्यो संख्या बढ्न मद्दत गर्नुभएको हुन सक्छ । त्यस बाहेक गुगलआदिहरूले समय-समयमा अटोमेटिक रुपमा पेजको जानकारी ‘तानिरहेको’ हुनसक्छन् जसले गर्दा पनि त्यो संख्या बढ्दै जान्छ ।

  3. धन्यवाद । मैले अब छर्लङ्ग सँग
    धन्यवाद । मैले अब छर्लङ्ग सँग बुझे‌ । फेरि पनि धन्यवाद सि‌खडाजीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *