Skip to content

मलाई काखीभरि अटाएर,
आफ्नै छातीमा अठ्याएर,
शैलुङ्गको बतासबाट बचाई,
हिमालको चिसोबाट जोगाई,
तराईको गर्मीबाट टढाई,
सुन्तला, जुनार र काफल खुवाई,
ऐँसेलु, घँघेरु र गुराँस खुवाई,
आफ्नो औँलामा नौनी दलेर चुसाई,
तातेताते गर्दै हिँडन सिकाएको,
आफ्नै माटोमा हुर्काएको,
मेरो प्यारो रामेछापलाई,
मेरो प्यारो जन्मभूमीलाई,
म कसरी भुल्न सक्छु र आमा?

पहाड झै स्थिर हुन सिकाउने,
बतासले झैँ कूरितिको सिमा तोड्न सिकाउने,
नदिले झैँ निरन्तर सँघर्ष गर्न सिकाउने,
र,
समाज बिरुद्द,
मेरा हातहरुले हतियार समाँउदा,
कलम थमाई,
शिक्षा क्रान्तिको पाठ सिकाउने,
बिचार क्रान्तिको पाठ सिकाउने,
मेरो प्यारो रामेछापलाई,
मेरो प्यारो जन्मभूमीलाई,
म कसरी भुल्न सक्छु र आमा?

आफ्नै माटोलाई छातीमा राखी,
म यो समाज बिरुद्द,
म यो कूबिचार बिरुद्द,
अन्धबिश्वास बिरुद्द,
मेरै जन्मभूमी र तिमीले थमाई दिएको,
कलम भरि मसिको गोली भरेर,
मसिभरि बिचारको बारुद्द भरेर,
म युद्ध मैदानमा युद्ध लडिरहेको छु, आमा।
तर पनि आमा,
म मेरो जन्मभूमीलाई सम्झिरहेको छु।

झिलिङ्ग पहाडहरु एक्कासी मूस्कदा,
शैलुङ्गका सय थुम्काहरु मूस्कदा,
सेतागिरीहरु एक्कासी चम्कदा,
निलगिरीहरु एक्कासी चम्कदा,
बसन्ति गुराँसका थुँगाहरु मूस्कदा,
सोच्नु आमा, ‘मेरो युद्धमा जित भयो।’
किनकी आमा,
त्यहि दिन मेरो युद्धमा जित हुनेछ।

मेरो जितसँगै,
हरेक गरिबहरुका भोकसँगको युद्ध जित हुनेछ।
हरेक दलितहरुका छुवाछुतसँगको युद्ध जित हुनेछ।
हरेक नारीहरुका भेदभाबसँगको युद्ध जित हुनेछ।
हरेक बिधार्थीका रोजगारमूखि, चेतनाहिनता र अशिक्षामूलक किताबसँगको युद्ध जित हुनेछ।
किनकी आमा,
म यिनै युद्धहरुका लागी,
म यिनै जीतहरुका लागी,
तिमीले नै थमाई दिएको,
कलम भरि मसिको गोली भरेर,
मसिभरि बिचारको बारुद्द भरेर,
युद्ध लडिरहेको छु।
तर पनि आमा,
म मेरो जन्मभूमीलाई सम्झिरहको छु।
मेरो प्यरो जन्मभूमी,
मेरै छातीमा छापीत छ।
मेरै मुटुमा नामेट छ।
यो छातीमा छापीत,
यो मुटुमा नामेट,
मेरो प्यारो रामेछापलाई,
मेरो प्यारो लखनपुरलाई,
मेरो प्यारो तिमलडाँडालाई,
मेरो प्यारो, प्यारो, प्यारो, प्यारो, प्यारो, जन्मभूमीलाई,
म कसरी भूल्न सक्छु र आमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *