यस अघि पनि मैले कतै राघी गाईको कथा भनेको छु ।
फेरि आज पनि । २०, २२ सालतिरको कुरा हो । हाम्रो राघी गाई चोर्नमा रिपु थियो । गोठालाले ऐचन नसक्ने खालको थियो । दाम्लो पनि कसरी हो खुस्काउँथ्यो । गाईलाई फाले लाउनु हुन्न भनेकोले फाले लगाइन्नथ्यो । भोकाएपछि थलैबाट अघि बारीमा पसेर डम्म पेट पारेर फेरि थलैमा गएर मचमच गरेर गाज काढ्दै उघ्राइरहेको हुन्थ्यो अाँखा छलेर। हामी तिनछक्क पथ्र्याैं । जंगलमा चराउन लगे पनि घर फर्कने बेलामा त्यसले बाटामा पर्ने छरछिमेकीहरुको बालीनालीमा पसेर नलुँड्याएको दिनै हुन्नथ्यो । आँखा छलेर अघि कताकताबाट त्यसले गोठालाको दोहोलो काढ्थ्यो । यति बाठो र चोर गाई ता देखिएन भनेर छिमेकी बुढाबुढीहरु पनि भन्थे । त्यसले गोठालालाई सारै पिरोलेको थियो । मेरा लागि पनि ठुलो काउछो थियो राघी गाई, जङ्गलमा साथीहरुका साथ गुडुगुट्टु पनि धौ फुकाएर खेल्न नपाइने । दिनङ्गे जसो गोठालाको हुर्मत । अर्मलमा परिने डर । गाली खाँदाको हुर्मत । कसैले त्यसलाई तह लाउन नै नसक्ने । दिउसो भरि वनमा राम्रै चर्छ । बेलुका घर ल्याउन लाग्यो अघिअघि लागेर आउँछ । देख्तादेख्तै सुटुक्क हराउँछ । खेतको धान, बारीको मकै, कोदो, अरु बिउपलबिउ केही देख्नै हुन्न । गोठालालाई तिरिमिरी झ्याइँ देखाइसक्यो, हाराबारा हेलाइसक्यो ।
छरछिमेकीहरुबाट यसलाई चाँडै चलाउने सल्लाह भयो । गाभिनो भएकोले केही महिना पछि यसलाई चलाउने कुरा पिताजीले गरेपछि गाउँकाहरु पनि चुप लागे ।
बल्ल बल्ल राघी गाई ब्यायो । तर जिउडाल अनुसार दूध आएन राघी गाईको । साँझ बिहान एक पासोको दुइ माना मात्र आउनुलाई गतिलो मानिएन, चोक्रे । अनि त्यसलाई चलाउने कामका लागि पिताजी लाग्नुभो । यो चोर गाईका बारेमा ओरिपरिका सबै छिमेकीहरुलाई थाहै छ । कसैले लिने होइनन् । दोरुम्बाको एक ग्राहकसँग एक थोत्रो थोत्रो हारमोनिममा पिताजीले राघी गाई साट्नु भो । अलिकति पैसा पनि थपिदिएको जस्तो लाग्छ । यसबारे उति बढी हेक्का छैन ।
अनि गोठालोलाई पनि ढुक्क भो । हामी केटाहरुलाई ता हारमोनियम बजाउने धुन नै चल्यो ।
सम्झेर बुझेर दिहाल त्यो जोबान
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन ।
त्यतिखेर नेपाल रेडियोबाट आउने यो गीतले गाउँ नै पिटेको थियो । मैले हारमोनियममा यही गीत झाँगलझुगल पारेर बजाउन सिकेको थिएँ । छिमेकीका दिदी बहिनीहरु हारमोनियम सुन्न झुम्मिन्थे । दाजु पनि बजाउनुहुन्थ्यो । पिताजी पनि अनि अरु अरु पनि । हारमोनियम के भएर हो कुन्नि केही दिनमै बज्न छोड्यो । हारमोनियम बनाउने को हो त्यहाँ । हामी हिस्रिक्क । हारमोनियम बजाउने यो लत लागेको हाम्रो परिवारमा माल्दाजु र मैले भद्रपुरबाट एक नयाँ हारमोनिम किनेर चार दिनको बाटो झापाबाट पाँचथरसम्म काँधमा बोकेर लगेका थियौं २३ सालतिर होला ।
फेरि राघी गाईकै कुरा । एक दिन राघी गाईका साथ हारमोनियम साटिदिने ग्राहक गाई फर्काउन आए ।
हाउ दाजु गाई ता सारै चोर पो रछ हाउ । बरु फर्काउँ भनेर पो आका हाउ ।
पिताजीले उनको यस प्रस्तावमा भनेकोजस्तो लाग्छ लौ तिमीले थोत्रो हारमोनियम दियौ । लैजाऊ लैजाऊ यो हारमोनिय । यसलाई लगेर गाई ल्याइदेउ न त भनेपछि उनी हस्स परेर फर्किएका थिए ।
हामी माल्दाजु र म जहिले भेट हुन्छ घरका पुराना कुराका साथ राघी गाई अझै आउँछ । हो वास्तवमा अहिले पनि हारमोनियमसँग साटेको राघी गाईको कथाको सन्दर्भ आइरहन्छ । गाउँमा केही छिमेकी राघी गाईको करतुत जान्ने केही छिमेकी अहिले पनि छने ।
