Skip to content

भागवत गीताको सुख


‘संसारमा सबै चिज खोजे मिल्छ घरीघरी
तर जन्मदिने आमा, पाइँदैन कसैगरी ।’

माथिको दुई हरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो कविता पुरानो माध्यमिक विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको थियो । जहाँ यसको अति नै उच्चत म तवरले अध्यापन हुने गर्दथ्यो । आमाको महिमाका लागि योजस्तो शक्तिशाली कविता अहिलेसम्म नेपाली भाषामा अर्को प्रकाशित भएका छैनन् ।

अब सन्दर्भमा जाऊँ । अहिलेको सन्दर्भ भनेको गीतामा रहेको सुख हो । के हो सुख भनेको ? भौतिक या अभौतिक ? शारीरिक या आत्मिक ? यसलाई वारपार गर्नेगरी बुझ्ने हो भने हरेकले श्रीमद्भागवत गीताको मीमांशा गर्ने पर्ने हुन्छ । गीतालाई शब्द, लय र भावमा पूर्णरूपेण नखारीकन यो दार्शनिक कुराको गुत्थी बुझ्न सकिँदैन पनि ।

पङ्तिकारले यहाँ गीतालाई आमासँग तुलना गर्न खोजेको छु । हुन् त पूर्वको पुरानो धर्मग्रन्थ भनेको वेद हो । वेदलाई आमासँग तुलना गर्नुपर्ने हो तर सबै मानिसको पहूँच वेदमा नभएकाले सरलसँग बुझ्नका लागि नै गीतासँग तुलना गरिएको हो । गीता साक्षर, निरक्षर र शिक्षित सबैले बुझ्ने प्रकृतिको ग्रन्थ हो । जसरी जो कोहीले गीतालाई दैनिक पाठ गर्ने गरेका छन् त्यसैगरी हाम्रो आफ्नो जीवनमा पनि यो दैनन्दिन रूपमा लागू हुने सुकृतिका रूपमा देखिएको छ । यसलाई भावानुभूतिका साथ दैनिक र दैहिक जीवनमा लागू गर्ने हो भने हाम्रो जीवन मोक्ष हुन्छ । यसमा संशय र द्विविधा अब रहेन किनकि संसारका विकसितभन्दा विकसित देशका विभिन्न क्षेत्रका विद्वान्हरूले यसको सैद्धान्तिक मात्र नभएर व्यवहारिक प्रयोग पनि गरिसक्नुभएको छ । यो संसारकै हिन्दूका लागि खुसीको कुरा हो ।

गीतालाई संस्कृत वाङ्मयले अति पवित्र धर्मग्रन्थ र उपजीव्य धार्मिक ग्रन्थका रूपमा समेत लिएको छ । ‘गेयते इति गीता’ ‘गाउन मिल्ने चिज गीता हो’ भनेर यसको परिभाषा बनाइएको छ । गीता हिन्दूहरूको पवित्र धर्मग्रन्थ मात्र नभएर यो संसारकै मार्गदर्शक ग्रन्थ पनि हो । यसमा ज्ञानयोग, भक्तियोग र कर्मयोगको सिद्धान्त प्रतिपादन भएको पाइन्छ । महाभारतीय युद्धक्षेत्र र कालमा भगवान् श्रीकृष्णले अर्जुनलाई दिनु भएको ज्ञान नै गीता ज्ञान हो ।

विद्वान्हरूले वेदलाई दूध र उपनिषद्लाई दही र गीतालाई ध्यू मानेका छन् । ध्यू मानिएकाले यसलाई हरेक मानवले आफ्नो जीवनमा शारीरिक र मानसिक पोषका लागि उपयुक्त मान्नु पर्छ । तसर्थ के हिन्दू, के क्रिश्चियन, के बौद्ध र के ईश्लाम सबैका लागि गीता ज्ञान महाज्ञानको रूपमा रहेको छ ।

गीताले हरेक मानिसको जीवनलाई मार्गदर्शन गर्नेगर्छ । बाटो बिराएका मानिसहरू हुन् या सफलताको बाटो नियालिरहेका मानिसहरू सबैलाई गीताको आवश्यकता पर्दछ । गीताले आफ्नो १८ अध्यायमा विभिन्न श्लोक र सन्दर्भबाट मानिसको बौद्धिक मापन गर्दै शान्त्वनाका शब्दहरू प्रदान गरेर व्याख्या गर्दछ ।

गीता सर्बधर्मको रक्षा र व्याख्यामा कामयाव भए पनि यसलाई सबैभन्दा बढी धर्मशास्त्रका रूपमा भने हिन्दूहरूले पढ्ने गरेका छन् । यो धर्मगन्थ्रका अलावा दर्शनको पुस्तक पनि हो । यसलाई संसारका प्रायः सबै भाषामा शब्दानुवाद र भावानुवाद गरिएको छ । यसको चुरो चाहिँ कर्मयोग हो ।

गीता भन्दछ –‘कर्मण्ये वाधिका रास्ते माफलेषु कदाचन् । मानवहरू हो ! फलको आसा नगरीकन कर्मका क्षेत्रमा सततः लागिरहू । मानवको कर्तव्य नै कर्म गर्ने हो । फलको आसा गर्ने होइन । फल त अवश्य र आपसे आप मिलिहाल्छ । जसको प्राप्त्याशामा अल्झेर समय बर्वाद गर्ने होइन । समय चिनेर कर्म गर । यही नै कर्मयोगको गुत्थी हो । अहिलेको मानिस कर्म गर्नु कहाँ छ कहाँ पहिले नै फलको आसा गर्छ । त्यसो गर्नाले मानिसको चित्त नै पूर्णरूपेण कर्ममा लाग्न पाउँदैन । पूर्ण रूपले निमग्न भएर नगरिएको कामले मानिसमा आत्मविश्वासको संचार नै गर्न पाउँदैन । त्यसैले मनषा, वाचा र कर्मणा काम र कर्तव्यमा उन्मुख हुने मानिस नै यो भवसागरको सफलत म मानव हो ।

गीताको यस्तो दर्शन र सारलाई् बुझेर नै विकसित संसारले यसको महत्व बुझेको हो । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम गीतालाई आफ्नो जीवनको सफलत म पुस्तकका रूपमा लिन्थे र हरेक दिन गीतापाठ गरेर मात्र नित्य भोजन गर्ने गर्दथे । यो उनको कर्म गीताप्रतिको सम्मान मात्र नभएर गीताले दिने दर्शन र त्यसको महत्वका लागि गरिएको थियो ।

गीताले हरेक मानवलाई प्रेम र भाइचाराको सन्देश दिन्छ । गीताले कर्मयोगमा कर्मको, ज्ञानयोगमा ज्ञानको र भक्तियोगमा भक्तिको बारेमा भलिभाँती ज्ञान र शिक्षा दिएको छ । सनातान हिन्दू धर्मका पवित्र धर्मग्रन्थहरू वेद, पूराण, उपनिषद्, रामायण, महाभारत र गीताजस्ता ग्रन्थहरूले नै मानवताको मार्गबाट चिप्लिएर बाटो बिराइरहेका मानिसहरूलाई गीताले पवित्र ज्ञान दिने कोशिस गरेको छ । यसमा सबै धर्मका विद्वत्जनहरूको एकमत रहेको छ ।

अहिलेको युगलाई विकसित मानिसहरूले जतिसुकै नै विज्ञान र प्रविधिको युग माने पनि या भने पनि यसमा पनि आध्यात्मिक ज्ञान र सोचको विकास पउल रूपमा भएको पाइन्छ । यसलाई व्यवहारमा उतारेर हेर्ने हो भने अहिलेको युगमा अँझ बढी धार्मिक र आध्यात्मिक कार्यहरू भैरहेका पाइन्छन् । यही कुराको पुष्टिका लागि भारतवर्षका अनेकौं भाषा र भावमा गीताका उपजीव्यताका अनेक पुस्तकहरू प्रकाशित भएका पाइन्छन् । यो भारतवर्षमा बसोबास गर्ने व्यक्तिका नाताले हामी सबैलाई खुसीको कुरा हो । कि हामी भाषा र संस्कृतिका रूपमा मात्र सम्पन्न छैनौं । सभ्यताका रूपमा पनि सम्पन्न छौं । गीताकै दर्शनले आज संसारमा सांख्य दर्शन र वेदान्त दर्शनको उद्भव हुन सकेको हो ।

मानिसलाई आफ्नो उद्देश्यको पथालम्बन गर्न र जीवनका अनेक तरहका सफलता एव म असफलताहरूमा एकाभावले व्यवहार गर्ने शिलशिलामा गीताले मार्गदर्शन गरेको छ । जस्तासुकै निराशाका भावहरूमा पनि समभावको रूपमा व्यवहार गर्ने सल्लाह दिएको छ । आत्मा अमर छ तर शरीरभने मरणाशील छ । थोत्रा लुगा शरीरले फेरेजस्तै हो यो आत्मा र शरीरको मिलन । हामी शरीर मर्दा रोइकराइ गर्छौं तर बास्तवमा शरीर त मर्ने नै हो । जो जन्मन्छ त्यही नै मर्छ । अजन्मा त आत्मा हो । न यो जन्मन्छ । न त मर्छ । त्यसैले यो अजरामर नै रहिरहन्छ । नित्य नवीन रूपमा । ‘अजो नित्य………न हन्यते, हन्यमाने शरीरे ।’

आज विश्वले गीताको ज्ञानलाई बुझेको छ । उसले भलिभाँती रूपमा प्रयोग र परीक्षणहरू गरेको छ । जर्मनीमा हिन्दू धर्म र दर्शनलाई पढाइने विश्वविद्यालयको स्थापना गरिएको छ । डच युनिभर्सिटी नामको सो विश्वविद्यालयमा विश्वका सबैधर्मको अध्यापन हुने गर्छ । नेपालमा पनि नेपाल विश्वविद्यालय नामको एकमात्र संस्कृत विश्वविद्यालयलाई सोही विश्वविद्यालयले नै अनुदान दिने गर्छ । पूर्वीय भाषा र संस्कृति संरक्षण सन्दर्भका शिलशिलामा डच युनिभर्सिटीको विश्वमा अब्बल नाम रहेको छ ।

यी त भए गीताका अनेकानेक रूप र प्रभावहरू ।

गीता अध्यायी किन सुखी हुन्छ ? यो प्रश्न आफैँमा विचारणीय प्रश्न हो । ज्ञानले मानिसलाई अज्ञानका अँध्यारा खाडलहरूमा पर्नबाट जोगाउँछ । गीताले जीवन, मृत्यु, आफन्त, परचक्री, दाजुभाइ, अनुज, कनिष्ठ, योग, दर्शन, काम, क्रोध, लोभ, मोह र मोक्षका बारेमा सविस्तार बताउँछ । गीता ज्ञानले मानिसलाई कर्ममा लागिरहन प्रेरणा दिइरहन्छ । जो मानिस काममा लागिरहन्छ उसलाई अन्य कुरामा चाख र वास्ता पनि हुँदैन । मानिस जो आफ्नो काममा लागिरहन्छ अनि त्यो कामबाट आनन्द लिइरहन्छ त्यही मानिस नै बास्वविक रूपमा सुखी मानिस हो । खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ ।

जसले आफूलाई पनि नराखीकन अरूलाई वा आफूभन्दा नभएकाहरूलाई केही कुरा दिन्छ । त्यो नै दयावान् हो । दयावान्ले त केवल दयाको मात्र भावले संसारलाई नियालिरहेको हुन्छ । संसारमा दयावीर, दानवीर, धर्मवीर र युद्धवीरजस्ता विरहरू रहेका हुन्छन् । दान महिमा नै संसारमा सबैभन्दा ठूलो महिमा हो । हाम्रो हिन्दू धर्ममा राजा बलि र दधिचि ऋषिको दान महिमालाई अति नै आदर्श महिमाका रूपमा लिइन्छ । महाभारतमा पनि दया, दान, धर्म र युद्धविरहरू प्रशस्त मात्रामा पाइन्छन् । जसले महाभारतको सन्देशलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् र जसबाटै उपजीव्यताको विशेषण लागेको छ ।

हुन त पूर्वीय साहित्य हुन् कि धर्मग्रन्थ सबैमा केही न केही उपजीव्यता लुकेकै पाइन्छ । यो तथ्यले हामीले पूर्वीय शास्त्रलाई सूक्ष्मातिसूक्ष्म दृष्टिले हेरेका खण्डमा संस्कृत वाङ्मय विश्वसाहित्य मै गौरवपूर्ण तवरको धनी साहित्य मानिन्छ । वाल्मीकिदेखि कालिदाससम्म, माघदेखि दण्डीसम्म, वेदव्यासदेखि भरतमुनिसम्मका सबै विद्वत् मनिषिहरूका करकमलबाट निस्केका सौन्दर्यप्रधान ती साहित्यलाई हेर्ने र तुलना गर्ने हो भने आजका लेखक साहित्यकारहरूद्वारा लेखिएका साहित्यहरूको स्थिति ज्यादै न्यूनस्तरको देखिन्छ ।

गीता एउटै त्यस्तो पुस्तक हो जसको धार्मिक, नैतिक, साहित्यिक र सामाजिक महत्व रहेको छ । यो जस्तो पुस्तक आजको संसारमा अर्को निस्कन सकेको छैन । कृष्णले अर्जुनलाई युद्धक्षेत्रमा दिएको भनिएको ज्ञान मात्र गीता होइन । गीताले त यस लोकका सबै तत्व र कर्मलाई मीमांशा गर्दै व्याख्या गरेको छ । यो अवस्थाले हामी गीताध्यायी र गीतानुरागी सम्पूर्ण हिन्दूजनहरूमा एउटा दरो आत्मविश्वासको जग हालिदिएको छ । यो ज्ञानको परम्परामा हामीले हाम्रा ज्ञान र विज्ञानका सैद्धान्तिक एव म प्रौद्योगिकी सीपहरूलाई एकै ठाउँमा गालेर हेर्ने हो भने हाम्रो स्थिति संसारमा आज अर्कै भैसक्ने थियो । यो कुरा झट्ट हेर्दा सानोजस्तो लागे पनि यसको गूढ रहस्यको न छेउ भेट्न सकिन्छ न टुप्पो नै समात्न पाइन्छ ।

महात्मा गान्धी गीताको सम्मान गर्थे । नेपालमा पनि राजनेता कृष्णप्रसाद भट्टराई गीतापन्थी थिए । उनले गीताका श्लोकहरूलाई आफ्नो जीवनको एकमात्र मोक्षका रूपमा लिएका थिए । शिक्षक हुन् कि पत्रकार, व्यापारी हुन् कि कृषक, कर्मचारी हुन् कि राजनेता सबैका लागि अहिलेको समयमा गीताको महत्व अँझ बढेर गरेको छ । मोती समुद्रकै पिँधमा पाइन्छ भन्नुको अर्थ झैँ गीतालाई आफ्नो जीवनको अन्तिम दर्शन मानेर त्यसका शिक्षाहरू व्यवहारमा प्रयोग गर्नु हो भने जो कोहीको पनि यसलोक त सप्रिन्छ नै परलोक पनि सप्रिन्छ ।

मानिसले आखिरमा खोज्ने भनेको नै मुक्ति वा मोक्ष हो ।

सन्सारका सबै मानिसको अन्तिम चाहना सन्तोषपूर्वक मोक्षको कल्पना हो । मोक्षका लागि गरिने जप, तप, पाठ, पूजा र होमादि कर्मले बताएको के छ भने मानिस आफ्नो आनन्दलाई परमानन्दमा लगेर जोड्न चाहन्छ । यो उसको जीवनभरिको चाहना हुने गर्छ । उसले चाहेको या पाएको जति सबैसबै नै उसले आफू मरेर जाँदा लैजान पाएको हुँदैन । उसको त्यही आत्मविश्वस र आनन्द नै उसका सामु जाने हो । त्यो कुरा गीताले आफ्ना विभिन्न श्लोकमा अर्थ्याइसकेको छ । त्यसैले गीताको श्रवण मात्रले पनि अज्ञानी मानिसले गर्ने सबै किसिमका पापहरू नाश भएर जाने गर्दछन् ।

पेशल आचार्य
सहायक प्राचार्य
मन्थली उमावि, मन्थली

Leave a Reply

Your email address will not be published. Required fields are marked *