भत्किएर भग्नावशेष भएको थुप्रोमाथि ठिङ्ग उभिएर मेरी सानी छोरीले मलाई सोधी -” बाबा अब हामी कहा बस्ने ?”
पसिनाले लुथ्रुक्क भिजेको पुरानो मजेत्रोले मुख पुछ्दै गरेकी जहानको मुखमा हेरेर मैले सानी छोरीको जवाफ खोजे l छोरीले एकनासले त्यही प्रश्न दोहोराइरहेकी थिई l आँखाबाट बलिन्द्र धारा आँशु चुहाउदै जहानले आफ्ना आँखा नजानिँदो पाराले मेरो आँखामा जुधाएर छोरीको त्यही प्रश्नको उत्तर माग मसँगै गरेको अनुभूतिले मलाई बेस्सरी चिमाट्यो l म नाजवाफ भएर मुन्टो निहुराएरआफ्नै मनसँग भित्रभित्र रोइरहे l
” संगीता हेर त भोगटेको रुख पनि ढलेछ है ”
यसो भन्दै गर्दा मैले मेरी आमालाई सम्झिए l मेरी आमाले घरमा आउने आफन्तलाई सधै भन्ने गर्नु हुन्थ्यो -” यो ठुले जति वर्षको भयो त्यत्तिनै वर्षको भयो यो भोगटेको बोट पनि l ”
मेरी आमाले यो संसारलाई छोडेर यही घरसँगै ढल्नुभयो l आमा ढल्दा म आफू उहासँग हुन नपाउदाकोपश्चातापले मलाई निरन्तर पोलिरहन्छ l घरको सोभा बढाएको मेरो जीवनको बालसखा भोगटेको बोट पनि घर र आमासँगै ढलेछ l मेरो बाबाले आफू जिउदो हुदा यो भोगटेको बोटलाई रोप्नु मात्र भएको थियो तर हुर्काउन पाउनु भएको थिएन l मेरी आमाको जिम्मा लगाएर उहाले पहिले नै यो संसार छोडेर जानु भयो l म सम्झन्छु ती दिनहरू जुन दिन मेरो बाबा मर्दा मेरो बाबाको पार्थिब शरीरलाई सेतो कपडाले ढाकेर लैजादै गर्दा पनि म यही भोगटेको बोटमा बसेर रमिता हेरिरहेको थिए l यही भोगटेको बोटसँगै आफू खेल्दै हुर्किदै गरेका अतितका ती रमाइला क्षणका सम्झनाले मन कुडिएर आयो l अहिले आएर ती अतितहरू बर्तमान बनेर आँखा वरिपरि नाचिरहेका छन् शुन्यताले भरिएको यो भाग्नाभशेषको थुप्रो बाहिर l
” मामु बाबाले बिदेशबाट पठाई दिएको मेरो ज्यामिति बक्स पनि कुच्चिएछ हेर्नुस त ”
ढलेको घरमा पुरिएको आफ्नो प्यारो सामान आफ्नो मामुलाई देखाउदै छोरी कालीनिली भई l सानी छोरीको मुहारमा देखिएको भावुकता प्रतिविम्बित हुदै संगीताको मुहारमा छरपष्ट भै रहेको थियो l म भने मेरी आमाको अन्तिम सास गएको ठाउलाई नियालिरहेको थिए l
” यसलाई बचाउन भनेर घरभित्र पसेको सासूआमा आफू भने निस्कननै भ्यानु भएन ”
कुच्चिएको ज्यामिति बक्स लिएर कोखमा लुटपुटिएकि सानी छोरीलाई देखाउदै संगीताले यसो भन्दै गर्दा म मेरी आमाको महानता बाटअँझ भावुक बन्दै गइरहेको थिए l म सानो छदा जहिले पनि मेरी आमाले मलाई आफ्नो साथमा लिएर जानु हुन्थ्यो l कहिलेकाही म उहाबाट छुट्टिएर एक्लिए भने भेटिनसाथ तलाई केही भयो भने म कसरी बाच्छु ठुले भन्दै एक कोहोरो रोइरहनु हुन्थ्यो l आज तिनै आमाको अन्तिम अनुहार पनि देख्न नपाइ उनले अन्तिम सास त्यागेको ठाउलाई हेरेर बसिरहेको छु l
” नातिनी पनि भईहाली घर पनि भयो अब केही चाहिदैन ठुले जसरी भए पनि तँ यो दशैमा नफर्कने गरेर आइज है ”
केही दिन अगाडि भएको यो नै अन्तिम सम्वाद थियो मेरी आमासँग l हुन्छ आमा म यही दसैमा आउछु भनेर मैले आमालाई दिएको बचन पनि पुरा हुन नपाउदै भूकम्पमा परेर मेरी आमा मबाट अलग हुनु भयो l मेरो आफ्नो मेहनतले मेरी आमाको खुसीको लागि बनाएको घरको यथार्थ रुप पनि मैले देख्न पाएन l बिदेशमा ४/४ वर्ष बसेर रगत र पसिना बेचेर बनाएको घरसँगै मेरी आमा पनि मैले गुमाएको छु l मेरो बाबाले जिम्मा दिनु भएको र मेरो दाइ-भाइ र दिदी -बहिनी बनेर मसँगै हुर्किएको भोगटेको बोट पनि मैले गुमाएको छु l अहिले आएर म संघ सस्थाले दिएको राहतको पालमा बसेर मैले मेरो जन्मघरको भाग्नाभाशेष हेरेर अतितहरू बल्झाइरहेको छु l
” संगीता तिमीलाई थाहा छ- मेरो र यो भोगटेको बोट बिचको सम्बन्ध?”
भूकम्पको मारमा परेर ढलेको बोटलाई देखाउदै मैले मेरी जहानलाई सोधे l
” मलाई कसले भनोस र थाहा पाउने ! ”
नमिठो मुख लगाइन l
” तिमीलाई लिन तिम्रो माइती घरमा म दुलाहा बनेर जादा पनि मैले यो भोगटेलाई सोधेर गएको थिए l ”
लाजले उनी अलिकन मुस्कुराइन l सुन आज म भन्छु म र यो भोगटे बिचको सम्बन्ध-
” मैले जान्दा यो भोगटेको बोट जत्रो थियो त्यति बेला देखि म यही बोटमा सुरेली खेल्दै चढ्न सिकेको थिए l यसैको फेदमा बसेर मैले क ख पढ्न सिकेको हुँ l कहिलेकाही मैले बदमासी गर्दा यसैको फेदमा बाधिएर दिन बिताउनु पर्थ्यो l अनि यसमा लागेको फललाई बेचेर मेरो पढाइमा लाग्ने कापी कलम र कहिलेकाही फीस पनि पुर्याउनु पर्थ्यो l मेरी आमा र यो घर मात्र भएको भए सायद मैले यति पढ्ने मौका पनि पाउदैन थिए होला l मेरी आमाले गरेको मेलापातको कमाइले मात्र हामी आमा छोरा पालिन धौ धौ पर्दाको त्यस परिस्थितिमा यसले लगाएको गुन मैले कहिल्लै बिर्सन सक्दैन l”
“अनि मैले लगाएको गुन नि ”
मेरो मुखमा पुलुक्क हेरेर उनले यसोभन्दा विवाहको पहिलो रातमा घटेको घटनाको सम्झनाले मलाई लज्जित बनायो l १५ वर्ष पुग्दै गर्दा मेरो विवाह भए पछिको पहिलो रात पाहुनाबाट म यिनै संगीतासँगै गोठमा रहेको सानो कोठामा थुनिएको थिए l सिमसिम पानी परेको त्यो अनौठो रातमा अपरिचित एउटी केटी मेरी दुलही भएर मेरो कोठामा मसँगै एक्लै भएपछि त्यसबेलाको परिबेसले उकुसमुकुस भएर अत्तालिएर म भक्कानिएर रोएको थिए l अनि गोठको छेउमा रहेको त्यही भोगटेको बोटमा चढेर लुक्ने दुस्सास गर्दा लडेको थिए l म लडिसकेपछि संगीताले उठाएर कोठामा लगेर त्यो रात मेरो आफ्नो मान्छे बनेर स्याहार सुसार गरेकी थिइन् l तन्नेरी युवकको आँखाबाट झरेका आँशु देखेर लाजको हासो हासेकी थिइन् l अनायासै आज यो विपत्तिको बेला बिगतको त्यो लज्जाजनक कहानीको सम्झनाले म पुन लज्जित भैरहेको थिए l
” संगीता हेर त आज हाम्रो जिन्दगी त्यही सानी छोरीले हातमा लिएको ज्यामिति बक्स झैँ कुच्चिएर कच्याक कुचुक्क भएको छ ”
बिगतको आफ्नो कर्तुतलाई बिर्साउन प्रशंगलाई केही मोड्ने प्रयास गरे l संगीता भने विवाहको त्यही पहिलो रातको घटनामा रुमल्लिरहेकी थिइन् l
झन्डै ३ रोपनी जग्ग्गाले ओगटेको सानो खरले छाएको घरमा मैले यिनै संगीतालाई आफ्नो बनाएर भित्राएको थिए l खाना लाउनको हाहाकार भए पनि आफ्ना माइती कुटुम्ब सबै बिर्सिएर एक्लो घरमा रहेकी एक्ली सासूसँग रमाएर यो घरलाई सम्हालेकी थिइन् l सानी छोरी पेटमा हुर्किदै गर्दा म बिदेशिए पछि मेरो कमाइलाई एक-एक हिसाब गरेर यही घरमा लगानी गरेकी थिइन् l नया बनेको घरसँगै छुन्मुनाउदै आगनमा खेल्ने सानी छोरीले पनि क्रमस यही एक्लो घरसँगै रहेको भोगटेको बोटसँगै सम्बन्ध बनाएर हुर्किने छिन भनेर मैले गरेको कल्पना माथि परेको प्राकृतिक विपत्तिले सारा सपनाहरू यही घरसँगै ढलेर धुलाम्मै भएका छन् l म बाइस वर्षको हुदासम्म पनि हिजोको जस्तै सानो बच्चा ठानेर सधै मेरो ख्याल गर्ने मेरी आमासँगै मेरो बाबाले जिम्मा दिएर गएका सारा इतिहास पनि मेटिएर गएका छन् l यस्तो बेला मेरी अबोध सानी छोरीले सोधेको प्रश्नको जवाफ मैले कसरी दिन सक्छु र ! हो मेरा हात पाखुरा सग्ला रहुन्जेल त म खाडीको तातो हावा र तातो बालुवासँग पैठेजोरी खेलेर भए पनि कमाउला तर मेरो आमा अनि भोगटेको त्यही बोट कमाउन सकुला र ? धुलाम्मै भएर थुप्रो लागेको घरबाट एक्कासि उडेर मडारिदै आएको हावा र धुलोसँगै आफ्नै सुरमा खेलिरहेकी छोरी अत्तालिएर मेरो काखमा आएर बस्दै चिच्चाएर सोधी-” बाबा मेरो ज्यामिति बक्स ”
” भूकम्प गएको त्यो दिन पछि यो छोरीले खालि यही ज्यामिति बक्स भनेर हैरान पार्छे l त्यो दिनभरिको अत्यासलाग्दो घटनाले म त्यस पछिका रातहरूसँग समाहित भएर बाच्न पनि सकिरहेकी छैन l ४ वर्षसम्म आफ्नो जीवन साथीले कमाएको एक-एक सिक्काहरू मेरै आँखाका अगाढी गर्ल्याम गुर्लुम्म भएर ढल्दा दुखेको मेरो हृदयको घाउमा मलहम लगाउन सकिरहेकी छैन l आफ्नै जन्म दिने आमा जस्तै भएर मेरो माइती घरनै बिर्साई दिने सासू आमाको त्यो हृदयबिदारक दृश्यलाई अहिलेसम्म पनि भुल्न सकेकी छैन l यस्तो परिबेस र अवस्थामा पनि के अब यही भाग्नाभशेष घरलाई फेरि जुरुक्क उठाएर म तपाईं बिनाको एक्लो जीवन जिउन सकुला र ?”
मुटु भित्र गाठो परेर थुप्रिएको पीडाहरू संगीताले एकै सासमा बाहिर ओकलेपछि म आफू अँझ कम्जोर भएको महसुस गर्दै उनीसँग बाँकी बचेको साहास र आट्लाई बचाई राख्न भनेर उनलाई गर्लम्म अंगालोमा बाधे l देखाई र हेराइबाट मैले संगीतालाई सम्हाल्ने प्रयास गरेको थिए तर वास्तबमा म पनि भित्र भित्र झन् नराम्रोसँग डराइरहेको थिए र पनि भने –
” संगीता भूकम्पले हाम्रो घर गोठ ढालेको छ,हामीलाई माया गर्ने र बाटो देखाउने आमालाई ढालेको छ यथार्थमा भन्ने हो भने हाम्रा सबै भौतिक सम्पत्तिहरू ढालेको छ तर त्यसले हाम्रो इतिहास ढालेको छैन,त्यसले हाम्रो पुर्खाको जमिन खोसेको छैन र अँझ साचो अर्थमा भन्ने हो भने हाम्रो आफ्नो आत्मीय मन ढालेको छैन l त्यसैले सम्हाल्लिनु पर्छ र पौरख गरेर यही भग्नाभशेषलाई खोतलेर हाम्रा अतितहरूलाई बर्तमानमा बचाइराख्नु पर्दछ l लामो सास फेरेर मैले सानी छोरीलाई हाम्रो वरिपरि खोजे तर छोरी त्यहा थिइन l भत्किएको घरको धुलो माटोबाट उसले आफ्ना प्रिय बस्तुहरू एकनासले खोजिरहेकी थिई l
” हाम्रो भन्ने अब यहा केनै रह्यो र बरु अन्त कतै जाऊ जहा हामीलाई ती अत्यासलाग्दा अतितहरूले पटक पटक चिथोर्न नसकुन ” डराइरहेको भावले सुक्सुकाउदै भनिन l
” तिमी आफूमाथि भर्खर परेको विपत्तिले थिचिएर थकित भएकोले यसो भनिरहेकी छै संगीता l यहा हाम्रो जे छ त्यो अन्यत्र कतै गएर पाइने छैन l ऊ हेर त एउटी अबोध सानी छोरीले पनि आफ्ना अतितहरू त्यही भाग्नाभेश्मा खोतलिरहेकी छे l हो हाम्रो जे छ सबै यही छ l हाम्रा पसिनाले भिजेको यो माटोको गन्ध अन्त गएर पनि हामीले बिर्सन सक्ने छैनौ l हाम्रा अतितहरू हाम्रा उत्प्रेरणाका मार्ग दर्सक हुन् जसलाई पच्छाउदै हामीले बर्तमान सगै बाच्न सिक्नु पर्दछ l प्राकृतिक बिपत्ति ठाउ छाड्दैमा फेरि नपर्ने भन्ने हुदैन l यहाँको माटोसँगै यहाको परोबेसमा हाम्रो अतित कैद भएर बसेको छ जसलाई हाम्रो जीवन रहदा सम्ममा बिर्सु भनेर पनि बिर्सन सकिदैन l”
मेरा भनाइहरूमा संगीता कति आस्वस्त भइन मलाई थाहा भएन तर उनको आसयलाई बुझेर पनि मैले यसो भन्न बाध्य भै रहेको थिए l खुट्टा टेक्ने आफ्नो सानो टुक्रा जमिन हुदा त जीवनभर अर्काको मेलापात गरेर जीवन बिताउन बाध्य भएको परिवार कसरी नया ठाउ नया परिबेसमा गएर अर्काको जमिन मागेर नया जिन्दगी जिउन सकिन्थ्यो र !
“बाबा मैले मेरो नाना भेट्टाए ”
धुलो माटोले धुलाम्मे भएको रातो कपडाको टुक्रा झुण्डाउदै फेरि सानी छोरी हामी बसिरहेको ठाउमा आएर देखाउदै खुसीले उफ्रिरही l केही समय ओबानो भएको संगीताको आँखा फेरि रसायरआए l म एकतमासले हेरिरहे आमा छोरीका भावुताका नाजानिदा ती बार्तालापहरू l
भूकम्प पछिका दिनहरू पुरिएका अन्नका दानाहरू केलाएर बाच्न सिकेका छौ l कहाबाट कुन सस्थाले के ल्याइदिञ्छ र जीवन धानौला भनेर आश जगाउन सिकेका छौ l सरकारको रेडियोबाट कुन दिन के समाचार भनेर हामी बस्ने ठाउ ठेगान लगाउला भनेर कान ठाडो गर्दै बस्न सिकेका छौ l सधै आकासमा मडारिने कालो बादललाई हेरेर बारीको पाटामा लगाएको पाल मुनिबाट घरको त्यो भाग्नाबेश्मा पुरिएर पनि बिर्सन नसकिने कथाहरू कोट्याउदै बाच्न सिकेका छौ l
हरेक रात अतित मेरो कानै छेउमा आएर भन्छ –
“म यही छु भागेर कतै नजा l बर्तमान भन्छ यहा तेरो केही छैन जे थियो त्यो अतितसँगै गयो l तँ फेरि बसिस भने पनि न तेरो आमा तँसँग हुनेछिन नत तेरो बालसखा त्यो भोगटेको बोट नै हुने छ l जो बाचे अब तेरा तिनै हुन् l जहा गएर हुन्छ तँ पनि बाच् अनि बाचेकालाई पनि बचा l भबिष्य खोज्छु के गरौ भनेर अह भबिष्य कतै देखिदैन l छेउमै सुतेकी संगीता र सानी छोरीलाई हातले सुम्सुमाउछु l चिसो शरीरको अनुभूतिले अत्तालिंछु अनि जोड जोडले हल्लाउछु l छोरी रुन्छे चिसोले अनि गुडुल्किन्छे आमाको काखमा l आकासमा मडारिएको कालो बादल थुप्रिएर हाम्रै पालको माथि आएर टक्क अडिन्छ l उठेर त्यो मडारिएको कालो बादललाई नियाल्दै सम्झन्छु मेरी आमालाई अनि हेर्छु त्यही भग्नाभशेष घरको थूप्रोलाई l जहा मेरी आमा मेरो आफ्नो सन्तानको लागि पुरिएकी थिइन् l पीडाले निचोरिदै निस्किएका दुई थोपा नूनिलाआँशु संगीताको छातीमा गएर खस्छ l उठेर मेरा भिजेका परेली मुसार्दैअनि मुस्कुराउदै भन्छिन-” केआज पनि विवाहको पहिलो रात हो र ? ” . . . . . . .
