त्यसबेला अहिलेको जस्तो कम्प्युटर पत्रकारिताको जमाना थिएन । लेटर प्रेसमा समाचार बनाउँन कहिले साता दिन त कहिले पन्ध्रौं दिन लाग्थ्यो । उसले विचरा किशोरवयदेखि नै दुःख गर्यो । पत्रकारितालाई उसले रोजेको थियो –आफ्नै गाउँका एकजना सम्पादकको प्रेरणाले । तिनी स्थानीय जागरण नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए । सफा सेता पतलुनका कमेजसुरुवाल अनि अनुहारै देखिने गरी पालिस दलेका छालाका जुत्तालगाएर फ्रेन्चकट दारी चट्ट मिलाएर काटेपछि तिनी सन् सतरीको दसकका हिन्दी सिनेमाका विनोद मेहराजस्ता देखिन्थे । हो, तिनै सम्पादकको व्यक्तित्वको रोलमोडल देखेर उसले नौ कक्षा पढ्दादेखि नै ऊ एउटा स्थानीय पत्रिकाको सम्वाददाता भएर काम सिकेको थियो ।
यो कुरा अब उसको जीवनमा इतिहास भैसक्यो । अहिले ऊ राष्ट्रिय दैनिकको स्वनामधन्य सम्वाददाता कम पत्रकार भएको छ । यो उसको वर्तमान हो । व्यक्तिको वर्तमानले इतिहासलाई सधैँ छोपिदिन्छ ।
x x x
गिरेन्द्र हो उसको नाम । केटाकेटीमा उसलाई उसका बालदौंतरीहरू खेल खेल्दा होस् या रिसाएर बोलाउँदा होस् ‘गिरे’ भन्थे । मापाको थियो –ऊ । ठूलाठूला थिए उसका पासुँला र तिघ्राहरू पनि । हामी सबै उसका लुरे साथी थियौं । कहिलेकाहीँ त दिनभरि शनिबार छुट्टीका दिन गाईबस्तु चराउँन गोठालो जाँदा ऊ आँपका टिकुला नूनखोर्सानीसँग अघाँउजी खान्थ्यो अनि घरमा आएर भुटेका मकैभटमास माना दुएक कुरूम्कुरू म चबाएर खान्थ्यो । बल्लतल्ल मरेर उसले एस्एल्सी पास गर्यो । प्रमोद, विनोद, मणि, रामकुमार, गुणराज, र म हामी सबै उसका बालदौंतरी रेगुलर ब्याचबाट एस्एल्सी भयौं । गिरे पढ्नमा उस्तो तेज थिएन । घिस्रिपिस्रिकन आइएचाहिँ भएछ । निकै वर्ष मेरो र उसको भेटघाट भएन । उसले घर छोडेन । मैले अध्ययन र जागिरका लागि बेलैमा घरलाई माया गरिगरी भए पनि छोड्नुपर्यो ।
उसका बाले दुईटी बिहे गरेका थिए । ऊ आफ्नी आमासँग बस्थ्यो । उसका बा कान्छी आमालाई लिएर छुट्टै बसेका थिए । तिनीहरूको परिवारमा एक प्रकारको कचिङ्गल थियो ।
हामी सबैको जीवनको नौका आआफ्नो रफ्तारमा लाग्यो । कसैलाई कसैको बारेमा चियोचर्चो गर्ने फुर्सदै पनि भएन । ऊ आफ्नै गाउँमा रमायो । हामीलाई त्यो गाउँले केही दिन नसक्ने लागेर हामी फात्तफुत्त गाउँबाहिर लाग्यौं ।
x x x
बीस वर्षको अन्तरालमा पोहोर साल म गाउँ गएको थिएँ । मैले सहरमा डेरा गरेर बसेको पनि लगभग बीसै वर्ष भैसकेको रहेछ । मैले पोहोरसाल गाउँ जाँदा मेरो गाउँ जहाँ मेरो बाल्यकालको जीवन गुजारेका हरेक कुराहरूमा फेरबदल भइसकेको रहेछ । मैले मेरा साथीहरूको रियल लाइफलाई एकपटक एकाकार गरेर हेर्ने अवसर पाएँ । प्रमोद सहरमा घर बनाएर बस्न थालिसकेको रहेछ । गाउँमा उसका बूढा भएका बाउआमाहरू र केही दाजुभाइहरू मात्र व्यवहारमा रहेछन् । विनोद गाउँमै हेल्थपोष्टमा सुब्बा भएछ । रामकुमार केही वर्ष भारतमा काम गरेर गाउँमै आई खेतीपातीमा रमाएको रहेछ । रह्यो अर्को मिल्ने साथी गीतारमण । उसको लगभग स्थिति खस्केको पाएँ । अठार वर्षसम्म खाएको सरकारी जागिरबाट सन्केर हात धोएछ । विचराका पढाउँने बेला भएका छोराछोरीहरूको बिजोग भएको पाएँ । केही सान्त्वनाका शब्दबाहेक मसँग केही पनि थिएन –उसलाई दिने ।
दृष्टि दिग्भ्रम भएको मेरो साथी गिरेको कानमा मुन्द्रा देखिन्थे । फर्सीका लहराझैँ घुँगुरिएका कपाल लिएर पीतवस्त्र धारण गरी साउनका प्रत्येक सोमबार ऊ चतरा– पिण्डेश्वर बोलबम जाँदोरहेछ । धर्म कमाउँने इच्छामा उसले आफूलाई वर्षेनि कसैको ब्वाइफ्रेण्ड बनाएर त्यहाँ जाने गरेको मैले थाहा पाएँ ।
पत्रकारिता हो के ? मैले न बुझेको हो कि मेरो साथीले नबुझेको हो ? मैले त्यतिखेर केही पनि बुझिनँ । अध्ययन नाइँ । घर व्यवहारका गोरखधन्दा भ्याएर समाचार संकलन गर्यो, पठायो । मासिक आयलाई लोभका चस्माले हेर्यो । छोराछोरीसँग आवश्यकताहरू बढेका छन्/बढेका छन् । समाचार संकलन र साफी लेखनमा दिन बितेको पत्तो हुँदैन । प्रकाशित विराटनगरीय संस्करण हेरेर पत्रिकाको कालम गन्दै ऊ भविष्यमा सम्पादक हुने सपनालाई क्रमशः गोडमेल गरेर बाँचिरहेको रहेछ ।
‘एभन’ नामको इण्डियन ब्राण्डको थोत्रो साइकलको ऊ आफ्नी जीवनसँगिनीलाई झैँ माया गर्दो रहेछ । खुट्टाले सकिनसकी पाइडल पेलेर गोजीमा जोगी वा ज्योति नामका चुनसूर्तीहरूलाई पाइन्टमा राखी कहिले इटहरी त कहिले धरानमा विकासे गोष्ठीको समाचार बटुल्न धपेडीयुक्त जीवनलाई चलाइरहेको गिरेन्द्र शर्मा आम मोफसलको प्रतिनीधि पत्रकार हो । उसले हिजोको ‘कान्तिपुर’को नारायण वाग्ले वा समाचारपत्रको टंक पन्तलाई आफ्नो आदर्श सम्पादक र संवाददाता मानेको रहेछ तर उनीहरूले रिपोटर्स क्लबमा आएर समाचार बनाउँने व्यक्तित्व बनाउँन कहाँकहाँ गएर पढे अनि त्यस्तो व्यक्तित्व बनाए भन्नेचाहिँ थाहा पाएको रहेनछ ।
‘तपाईँले जसलाई आदर्श पत्रकार मान्नुभएको छ तिनीहरूको अध्ययन र पत्रकारितामा लगानि कम्ती छैन’ –मैले यस्तो कुरा गरेपछि मेरो बालसाथी गिरे झल्याँस्स भयो । ‘नेपाल’ साप्ताहिकमा रवीन्द्र मिश्रको ‘भूमध्ये रेखा’ स्तम्भ र हिमाल पाक्षिकमा ऋतुराजको ‘ऋतुविचार’को फ्यानै भएको रहेछ –ऊ । ऊ आफूलाई विकासे समाचारमा अभ्यस्त गराउँन चाहँदो रहेछ तर समाचारका बिट र थप भित्री कुरा उसलाई अहिलेसम्म कसैले पनि सिकाएका रहेनछन् ।
जिल्लाका तोरीलाहुरे पाराका नेताहरू ऊ र उजस्ता सम्वाददाताहरूलाई पत्रकार भनेका राजदण्ड नलगाएका सांसद् भनेर सर्काउँदारहेछन् । जागिर खाने बेलासम्ममा उसले जिल्ला विकासका विकासे समाचार लेखेर आफूलाई पैँतीस कटायो । अहिले उमेरले खैनी खाएपछि ऊ आफ्नो लेखन र समाचारको व्यापार देखेर तीन छक्क परेको छ ।
मैले सबैको हालखबर उबाटै थाहा पाएँ । उसले गाउँमा बसेको अरू साथीहरूको जीवनलाई पनि स्वस्थ समालोचना गरेर बताइदियो । जो मुखिया खरदारमा झुण्डिएका थिए तिनीहरूका सन्तानहरू पनि मुखिया खरदारमै अल्झिएका रहेछन् –अँझै पनि । जो हिँडे ती कोही हरितन्नम भएछन् । कोहीकोहीचाहिँ बन्दबेपारमा लागेर करोड पति भएछन् । ‘आआफ्नो भागभोग रहेछ’ –उसले खैनी माडेर ओठमा च्याप्दै भन्यो ।
उसले मलाई आफूले जीवनमा केही गर्न नसकेकोमा पछुतो लागेको कन्था सुनायो । उसले भन्यो –‘घरको छानो अँझै खरको छ । जहाँबाट बर्खाको त के हिँउदको पानीसमेत थोपो बाहिर जाँदैन । समाचार पठाउँन वा पत्रिकाको काम गर्न अँझै अर्काको घरबाट टेलिफोन गर्नुपर्छ । बहिनीहरू विवाह योग्य हुँदै गए पनि तिनीहरूको बिहेका लागि भनेजति नभए पनि इज्जत राखेर बिहे गर्दिने खर्चसमेत छैन । समाजवाद आउँछ भनेर ढुक्कसँग पार्टीमा लागेको छु । भारतदत्त कोइरालाले त त्यत्रो पुरस्कार पत्रकारिता गरेर पाए भने हाम्रो भविष्य कसो उज्ज्वल नहोला ? दैनिकमा काम गर्ने मेरा एकसेएक साथीहरू स्कुटर चढ्छन् । मेरोचाहिँ मोटरसाइकल चढ्ने सपना पनि ब्लाक एण्ड ह्वाइट हुने भयो । आधुनिक घर, फ्रिज, वासिङ्मेसिन, कम्प्युटर, फ्याक्स, मोबाइल आदि कल्पना गर्दागर्दै ट्वाइलेटमा पसेर हस्तमैथुन गर्छु । खैनीको टर्रो रस निल्दै औपचारिक समाचार लेखेर बूढो भैसकियो ।’
x x x
उसका स्वगत्कथनलाई सुनेर मैले सरररर उसको विगत् सझिएँ । सानामा निकै पुल्पुलिएको मेरो बालसाथी गिरेले आज जति जीवन बुझेको छ त्यति मैले विश्वविद्यालयको औपचारिक डिग्री लिएर पनि बुझ्न सकिरहेको छैन । उसको विगत् सुखीखुसी दुवै थियो र वर्तमान भने दुःखी भएको देखेर मलाई द्विविधा लाग्यो –‘पत्रकारिता वैचारिक लडाइँ या बाँच्ने पेसा के हो ? म त्यसको उत्तर गिरे र गिरेजस्ता मेरा सम्वाददाता साथीहरूका जीवनमा खोज्दै छु ।’
जिल्लास्थित एउटा सम्वाददाता सहरबाट निस्कने टाइकुन दैनिकहरूको ब्वाक बोन भएतापनि तिनीहरूको आफ्नै ब्याक बोन भने गरिबी र असक्षमताले मक्किसकेको हुँदो रहेछ ।
पेशल आचार्य
महालक्ष्मी नगरपालिका –१०, ललितपुर
हाल : सहायक प्राचार्य,
मन्थली उमावि, मन्थली रामेछाप ।
