कृपया म मेरो देशलाई सहस्रपटक नमन गर्दै माथिको शीर्षकमा लेख लेख्ने अनुमति मातृभूमिसँग माग्न चाहन्छु ।
अन्तर्मनको आवाजलाई निकाल्नै यो शीर्षकमा लेख लेख्नु पर्ने भयो । मेरा आदरणीय पाठकहरू ! मेरा सम्पादकहरू अहिले हामी चाहेर होस् या नचाहेर होस् इतिहासको त्यो संगीन घडीमा उभिएका छौं । जहाँबाट हामीले सम्पूर्णमा मनहरूको सकारात्मक र सही सम्मिलन गरेर सहमति गर्न सक्यौं भने हामी यो शताब्दीकै उच्च राजनीतिक फड्को मार्ने तयारीमा छौं । मेरो मनले भन्छ त्यो हुन सक्दैन किनकि मेरो देशका नेताहरूलाई मैले नेमुनि कै पालादेखि फेहरिस्त लगाएर पढ्दा त्यस्तो पाएको छैन ।
नेपालमा कर, बल या छल जेजसरी भए पनि सत्तामा जाने, शासनको बागडोर हातमा लिने, देशी या विदेशी प्रभुको आर्शीवाद लिएर/पाएर या सत्ताको उन्माद पसेका मानिसहरूमा विवेक र स्वविवेकको परिपालना भएको अनि स्वानुशासन र परानुशासनको व्यवहार विद्यमान समयको मागअनुसार पालना भएको मैले इतिहासमा पढिनँ । वर्तमानमा पनि देखिनँ । भविष्यमा के हुन्छ ? त्यो बारेमा अहिले यसै भन्न सक्ने अवस्थामा छैन । संसारमा सबैथोक आयात गर्न सकिन्छ तर नेता आयात गर्न सकिन्न । नेता जहाँको लागि चाहिन्छ त्यहीँ उत्पादन गर्नु देशीय बाध्यता हो । कम्तीमा यसको विकल्प हामीसँग अहिले छैन ।
प्रिय ! मेरी आमा समान मातृभूमि मलाई माफ गर । म हरेक तिहारमा तिम्रो सुगन्ध मट्टी टीकास्वरूप लगाएर म तिमीलाई मेरी आमा जत्तिकै माया र आदर गर्दछु । तिमी मेरी आमा मात्र हुन्नौ त्यसबखत, तिमी मेरी चेली पनि हुन्छ्यौ कारण मेरा दिदीबहिनीहरू छैनन् । भनौं न भाडामा लिएका दिदीबहिनीहरूबाट आत्मीयताको टीका ग्रहण गर्न कहिले पाइनँ । त्यसैले मैले तिम्रो शश्यशालिनी मृतिकालाई नै आदरको टीको बनाई लाइआएको छु । यो मेरो मौलिक संस्कार हो ।
मलाई प्रसिद्ध ‘रामायण’ महाकाव्यमा भनिएको ‘जननी जन्मभूमिश्यः स्वगादपि गरियसी’ भन्ने कुराको मजबुन भलिभाँती थाहा छ । मैले मेरो शिक्षण जीवनको करिब २५ वर्षे दौरानमा यो उक्तिलाई दसौंहजारपटक कक्षा कोठाहरूमा ओजपूर्वक बोलेँ हूँला । त्यसको अर्थ लगाएँ हूँला या त्यसमा एकअनेक प्रश्न बनाएर शिष्यार्थीलाई कक्षाकार्य या गृहकार्य दिएँ हूँला । तर अहिले मेरो स्वय म भौतिक संलग्नता गरिएको आन्दोलनबाट प्राप्त र पुनप्र्राप्त दुईदुई पटकको सत्ता परिवर्तन भएको भनिएको यो बहुलवादी सोचको समाजमा पुराना जमानामा भएका या असल थिति र उम्दोसँग जतनले राखिएका संस्कारहरूभन्दा पनि सामाजिक, धार्मिक, नैतिक र राजनीतिक अवस्था गए गुज्रिएको देख्दा, सुन्दा, हेर्दा या पढ्दा असिम ग्लानिबोध भएर आउँछ । किन होला ? म निकै वर्षदेखि उत्तरापेक्षी भएर लागिरहेको छु तर विश्लेषण गर्न सक्ने पामरका कुनै मानिस मैले फ्रन्ट लाइनमा अहिलेसम्म देख्न नसकेको हुँदा मेरो अध्ययन, मनन, चिन्तन र लेखनदेखि नै कताकता आरिस र झोँक चलेको छ ।
मैले पढेको आस्थाको प्रजातन्त्र भनेको बेलायतको जस्तो प्रजातन्त्र हो । जहाँ जो कोहीसँग आमनेसामने भएर उभिँदा हाच्छ्यूँ आयो भने फरक्क पछाडि फर्किएर हाच्छ्यूँ गरी अघिल्तिर टाउको घुमाएर ‘सरी’ भन्नु पर्छ । म भन्छु पनि । अमेरिकाको जस्तो हो जहाँ सिष्टमको खिलापमा राष्ट्रपति नै उभिए भने पनि उनलाई सामान्य कानून कार्यान्वयन गर्ने एकाइका मानिसले कारबाही गर्न सक्छन् । जस्तो एकछिनलाई राष्ट्रपतिले सडकको कानून मिचे रे ! त्यहाँ उनलाई सडक पुलिस (ट्राफिक)ले ऐनमुताविक कारबाही गर्न सक्छ । गल्तीको मात्रा हेरी जरिवाना भराउँन सक्छ । अनि उनी त्यहाँ अनावश्यक गलफद्दी नगरी सो कारबाहीको चुपचाप जरिवाना तिर्नु पर्ने हो कि या के गर्नुपर्ने हो सोकुरा गर्न तत्पर हुन्छन् । मैले खोजेको प्रजातन्त्र क्यानाडा र अष्टे«लियाको जस्तो हो । त्यहाँ मैले सरकारलाई बुझाउनु पर्ने ऐन अनुसारको कर या राजश्व बुझाएपछि राज्यले मलाई दिनु पर्ने कुराहरू मैले जुलुस या हडताल नगरी या चक्काजाम र टायर नबाली दिने गर्छ ।
मैले त नेपालको प्रजातन्त्र ‘जस्को शक्ति उसको भक्ति’ शैलीमा अघि बढ्या देखेको छु । कताकता यो प्रजातन्त्र मनी, मोबाइल, माउजर र मोटरबाइक हुनेले हत्याएको पाएको छु । सबै पार्टीका नेताले ‘डन’लाई पालेपोसेका छन् । उनीहरू डनकै हप्ताअसुलीको पैसाले दारू खान्छन् या रण्डीबाजी गर्दछन् । अनि चोचोमोचो मिलाएर एकथरी संसदबाट धमास दिन्छन् अनि अर्कोथरी रेष्टुरेन्ट र रिजोर्टबाट वक्तक्तवाजी गर्छन् । म नेतालाई राजनीतिको ‘सिण्डीकेटवाला डन’ र हरेक डनलाई ‘अपराध दर्शनको राजनेता’ मान्न वाध्यपूर्वक तयार छू । या बनाइएको हूँ । कृपया म यतिखेर रनभुल्लमा छु ।
यो विश्वको त्यस्तो देश हो जहाँ राजनीति भ्रष्टाचारमा दोषी देखिएका मानिसहरूलाई अहिलेसम्म नै कुनै कारबाही गरिएको छैन । यो देशमा सयौँ र हजारौंवटा सानाठूला राजनीति प्रेरित भ्रष्टाचारका काण्डहरू भएका भन्छन् पत्रपत्रिका, रेडिया र टेलिभिजनहरू तर अहिलेसम्म एकजनालाई पनि भ्रष्टाचारको कसुरमा सजाय भएको देखिएन । लाउडा, धमिजा, चेज एयर, कल बाइपास, एनएसी, आयल निगमदेखि अस्पताल स्वीकृति, हाउजिङ निर्माण र कलेज स्वीकृतिका एकअनेक काइदाहरूमा यति मिलाएर कार्टेलिङ गरी खाने/खुवाउने संस्कृतिको वीजारोपण गरिएको छ कि त्यसको कहिरन कहेर साध्यै छैन । अँझ पुलिसको सुडान घोटाला, सेनाको बिस्कुट टेण्डर त कहिले प्रश्नपत्रका छपाइ घोटालाहरू हुन् चाहे रक्तचन्दन, सुन र यार्सागुम्बा प्रकरण नै हुन् । सबै ठूलाहरू पानी माथिका ओभाना बनेका छन् अनि साना र निम्छराहरूलाई बलीको बोको बनाइएको छ ।
रगत पसिना एक हुनेगरी कमाएको र थुकतेल गरी जमाएर बैँकमा राखिएको जनताको बैंकको पैसा पनि अहिले यो लोकतन्त्रमा सुरक्षित छैन । बेला बेलामा लुटेराहरूले बैँक लुटेको खबर साँझबिहान झ्वास्सझ्वास्स मनमा आइरहन्छ । रोगका लागि जिउँदा ईश्वर नै मानिने डाक्टर बन्नका लागि चाहिने योग्यताको प्रवेश परीक्षाको प्रश्नपत्र खरिद बिक्रीका लागि यहाँ करोडौं रूपैयाँको खेल बन्छ । गरिब र निमुखाहरू विनाकुनै कसुर बसयात्रा गर्दा अनाहकमा मारिन्छन् । अनि दुर्गमका जनसंख्यै शून्य हुने गर्छ । यातायात संचालन गर्ने साहू र सिण्डीकेटवालाहरूको दादागिरी हेर्दा सरकार निरीह बनेर चुपो लाग्छ । झोले र पण्डा राजनीतिको हंकीडंकीमा शिक्षाको स्तर गिर्दो छ । सामुदायिक शिक्षाको स्तर उकास्न त परै जाओस् सम्बन्धित मन्त्रीहरू नगद–नजरानामा मख्ख पर्दै कुर्सीमा पादेरै बस्छन् । अनि पूर्वतयारी विना अब आइन्दा एसएलसी फेल हुनै नपर्ने जस्तो जगतै हँसाउने ग्रेडिङ् सिस्टमको शैक्षिक हौवा फुकिन्छ । ‘कुन्ताकी बुहारी भट्मास खाकी’ भन्ने उखानलाई अबको त्यो लेटर ग्रेडिङ् सिष्टमले फेरि नसम्झाउला भन्न सकिन्न । नारीको अस्मिता त झन् कति सस्तो बनाइएको छ त्यो प्रत्येक दिन आउने समाचारका शीर्षकमै सुन्न नसिकिने पाराको देखिन्छ ।
३४ प्रतिशत जनताले आयकर तिर्न सक्ने अवस्था एक अनुसन्धानले देखाएको छ तर ४ प्रतिशतले मात्र कर तिरेका छन् । कर्मचारीहरू नै करदातालाई कर छल्ने विधि सिकाइदिन्छन् । अनि देशले कसरी राजश्व बढीसेबढी उठाउन पाओस् । हुने खानेका सन्तानले गरिब र छेउ लागेका मानिसका छोराछोरीहरूको छात्रवृत्ति खोसेर मुख मोसेका छन् । सरकारी रेडियो र पत्रिकाहरू अनि राजनीतिक पार्टीका नेताहरू नै आफ्ना जनतालाई विदेश जाओ भन्छन् । गाउँहरू चाहिँ रित्तिएर दैनिक पन्ध्रसय देखि अठारसयका हाराहारीमा युवायुवतीहरू विदेश गएका छन् । अहिले त गाउँमा लाश पर्यो भने पनि उठाउने मानिस पाइँदैनन् । रेमिट्यान्समा मख्ख छन् –मेरो देशका कुर्सीपदुवा अर्थशास्त्रीहरू । देश कहिले पनि रेमिट्यान्सले बन्दैन । बनेका पनि छैनन् भन्ने तिनले सार्वजनिक रूपलेभन्दा पनि भन्दैनन् ।
मैले नेपालको इतिहास र विश्वको इतिहासमा २० वर्ष भन्दाअघि स्नातक गरेको हूँ । मैले पढेको किराँत, लिच्छवी, मल्ल र शाह हुँदै राणा कालको इतिहास भनेको मेरो देशको गौरवकै इतिहास हो । मैले इतिहासबाट असल र खराब पात्रहरूका बारेमा भलिभाँती थाहा पाएको छु । ती पात्रहरूलाई आफैँले मूल्याङ्कन गर्दा असललाई हृदयकेन्द्रमा र खराबलाई मष्तिस्कको अन्तरकुन्तरमा राखेर मूल्याङ्कन गरेको छु । एकपटक एकजना पञ्चायतका नेताले कुनै चुनावको शिलशिलामा भनेको कुरा नढाँटी यहाँ सविनय राख्न चाहन्छु –‘बहुदल आएपछि हामीलाई यस्तो लागेको छ कि राणा शासन कालले मानिस भएर अहिलेको समयसँग संवाद गर्दथ्यो भने राणा कालले उल्टै खुच्चिङ् बहुदल खुच्चिङ् भन्दथ्यो ।’ उसले त्यसोभन्दा हामी त्यहाँ भएका बहुदलपन्थी समर्थकहरूको बोल्ती बन्द थियो कारण उसँग गर्न सक्ने प्रतितर्क हामीसँग त्यसबेला थिएन ।
पञ्चायत कालमा लेख्नबोल्न पाइन्नथ्यो । त्यहाँ अभिव्यक्ति स्वतन्त्रता थिएन । साँचो लेखे बोलेमा या विरोधी लेखे बोलेमा कि त जीव्रो थुतिन्थ्यो । कि त राजाका मतियार र भाटहरूले सत्ता निकटका जर्नेलकर्नेल औ हबल्दार तथा सुवेदारलाई अनेकओली कुरा लगाएर बोल्ने मानिसलाई सजायको भागी बनाएर ‘दामल’ बनाई छाड्थे । अहिले बहुदलमा जति पनि बोल्न पाइन्छ तर सरकार सुन्दै सुन्दैन । सुनिहाले पनि कारबाही नै गर्दैन । अहिले देशमा जनता छैनन् सबै कार्यकर्ता छन् । कसै न कसैका । मानिसका नभए देउताका पनि कार्यकर्ता बनाइएका छन् । यो बहुदलमा । त्यो बोल्न नपाइने शासन र यो प्रतिक्रिया नपाइने शासनमा कुन जायज कुन नाजायज मैले केही मेसो पाइनँ ।
यो हल्लै हल्लाको देश हो । मेरो जमानाकाभन्दा अलि अघिका पुस्ताका कवि भूपिले भन्नुभएको हो । यो हल्लै हल्लाको देश हो । ‘साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन सबथोक छ । देवताले बनाएका मानिसहरू र मानिसले बनाएका देवताहरू ।’ ‘हामी’ कवितामा वहाँ लेख्नुहुन्छ – ‘हामी आफूखुसी मिल्न नसक्ने कसैले मिलाइदिनु पर्ने । हामी आफूखुसी फुट्न पनि नसक्ने कसैले फुटाइदिनु पर्ने । हामी रङरोगन उडेका टुटेफुटेका क्यारामबोर्डका पुराना गोटी हौँ ।’
अहिलेको नेपालको अवस्था र गतिगँरास हेर्दा यो सोरैआना सत्यजस्तो लाग्छ । ‘अन्धेर नगरी चौपट राजा टकासेर भाजी टकासेर खाजा’ यो मैथिली मुहावराको कति राम्रोसँग प्रयोग भएको छ भन्ने बारेमा एउटा किस्सा सुनौं । एकजना प्रदीप खतिवडा नामका राजदूत रहेछन् । देश बिर्सिएँ । इमान्दार भएकाले उनले आफूले पाउने सरकारी सेवा सुविधाबाट राज्यलाई कर तिर्नका लागि आफू पदमा रहँदै करिब ३ हजार अमेरिकी डलर परराष्ट्र मन्त्रालयमा पठाएछन् । तर परराष्ट्रका कर छल्न माहिर हाकिमहरूले त्यो उनको डेढ अक्कली (!) विचारलाई थान्को लगाइदिँदै ६ महिनासम्म उनले पठाएको आफ्नो आयकरको चेक मन्त्रालयमा रोकेर राखिदिँदा उनले अहिले आफ्नो कर र त्यसको जरिवानासमेत गरी करिब कूल ६ हजार अमेरिकी डलर तिर्नु पर्ने हुन आउँदो रहेछ । उनको जिकीर कर्मचारीले सुनवाई नगर्दा न राज्यलाई कर समयमै दिन कर्मचारीले सहयोग गरे न अब उनले तिर्ने भनिएको ६ हजार उनी तिर्न नै सक्छन् रे ! तर पनि उनी कर तिर्ने मनयासमा छन् भन्ने खबर अर्कोतिरबाट आएको छ ।
यो मुलुकमा जो भ्रष्टाचार गर्न सक्दैन उसलाई भ्रष्टाचार गर्न नसक्ने या पदमा नपुगेको मानिस भनेर लिनु पर्दछ रे ! एकजना शिक्षक थिए पढन्ता पाराका । उनी भन्थे –हामी नेपालीहरू भ्रष्टाचार गर्न नसक्ने प्रवृत्तिलाई पनि नपुंसक भन्छौं । हामी नचाहेर होइन नसकेर इमान्दार भएका हौं ।’ उनको या भनाइमा कति पीडा लुकुेको छ ? हामी औशतमा मापन गर्न सक्छौं । नेपालमा विश्वविद्यालयको प्राध्यापककोभन्दा भन्सारको पियनको हैसियत ठूलो हुन्छ । हा मुलुक ! हे ! कानून !
त्रिमूर्ति निकेतन नामधारी साहित्यिक संस्थाले हालै नेपालका संस्कृतिविद् सत्यमोहन जोशीलाई ९५ वर्ष पनि नकट्दै सय वर्ष पुगेका व्यक्तित्वलाई दिइने ‘शताब्दी वर्ष पुरुष’ नामको सम्मान दिइयो । पाँच वर्ष उमेर ग्रेसमा दिएर दिइएको यो सम्मानको पनि जताततै विरोध भयो । खरो समालोचक हरि अधिकारीले नयाँ पत्रिका दैनिकमा गत मङ्सिर २७ गतेको अंकमा लेख लेखे । उनको लेखमा दम थियो । चौतर्फी कोणबाट पुरस्कार दिने संस्थाको नियत र लिने व्यक्तिको लोभी प्रवृत्तिलाई बडो सटिक पाराले विश्लेषण गरेका छन् । यद्यपि जोशी तीन/तीनपटक मदन पुरस्कारजस्तो देशकै स्वनामधन्य (?) भनिएको पुरस्कारबाट सम्मानित व्यक्तित्व पनि हुन् ।
५ वर्षको उमेर ग्रेस के आधारले सम्मान गर्ने संस्थाका व्यक्तिले दिए ? त्यो चाहिँ तर्क गर्न मिल्ने प्रसङ्गको छ । उनीभन्दा एकवर्ष जेठा राष्ट्रकवि नै ९६ वर्ष लागेका अर्का व्यक्तित्व थिए । साथै शताब्दी पुरुष हुनका लागि सम्मानित पुरुषले केके युगीन कार्य गरेर उनलाई त्यत्रो सम्मान दिइयो सो पनि सम्मान दिने संस्थाले खुलाएको छैन । कसैको स्वार्थ वा लहडमा कसैलाई ‘युग पुरुष’ या ‘शताब्दी पुरुष’ भनिहाल्न मिल्छ कि मिल्दैन ? यो पनि संस्थाका पदाधिकारीले उत्तर दिने प्रश्न हो ।
देशमा अहिले सबै क्षेत्रमा सेटिङ्को कल्चर छ । मानिसहरू सबै क्षेत्रमा पैसामुखी भएका छन् । धन भनेपछि जो कसैले आफ्नो इमानजमानलाई पनि तिजाञ्जली दिने कुसंस्कारले जरा गाडेको छ । अहिले नेपालमा एउटा यस्तो नाफाखोर स्वार्थी गिरोह साहित्य क्षेत्रमा सल्बलाइरहेको छ । ऊ आफूलाई मन परेको कुरामा विना कुनै तर्क र योगदान सम्मान र पुरस्कारको खरिदबिक्रीमा संलग्न भैहाल्छ । यो क्रम नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको परिस्थितिमा अँझ नराम्ररी मौलाएको छ । एकपटक राजधानीमा १५ हजारको नामै नचलेको ठिनेमिने पुरस्कार पाउनका लागि पाउने व्यक्तिले १० हजार दाताहरूलाई नै लगानी गरेको समाचार एभेन्यूज नामक चर्चित टेलिभिजनले ‘खबरभित्रको खबर’मा देखाएको र सुनाएको थियो ।
नेपाली साहित्यको स्तर २०४६ सालपछिको समयमा निकै गिर्दौ रुपमा झरिरहेको छ । एकेडेमीको हालत देख्दा स्वाभिमानी साहित्यकारहरू डाँको छोडेर रुन्छन् । साझामा झन् एक प्रकारको भूतले खाजा खाने बेला भएको जस्तो भएको छ । ६/६ महिनादेखि त्यहाँका कर्मचारीहरूले तलबभत्ता खान पाएका छैनन् । जनकशिक्षाको हविगत त्यस्तै छ । उमाशिपमा भाँडभैलो छ । गोरखापत्र, मधुपर्क, गरिमा, एकेडेमीको कविता र समकालीन साहित्यजस्ता साहित्य प्रकाशनले त्यागी र कतै पनि आफ्नो पहूँच पुर्याउन नसक्ने उदीयमान युवा लेखकलाई अति नै होच्याएर हेला गरेको अवस्था छ । साहित्यमा अँझै २ सय ४० वर्षदेखिको राजतन्त्रीय सोच र खस समझका मुर्कुट्टाहरू उफ्रिएकाउफ्रिऐ छन् । राजधानीलाई भत्काउन सकिएको छैन –न कला, न राजनीति, न साहित्यका एकात्मक सोचका किल्लाबाट । ताप्लेजुङ र दार्चुलाले अँझै पत्रिकामा मूल लेख र आवरण कथा बन्ने सौभाग्य पाएकै छैनन् । एउटै लेखलाई शीर र पुच्छर बदलेर राजधानीका लाउके लेखकहरू आफ्नो दाउन सिद्धिएको कलमको धमास देखाएरै नबिक्ने पत्रिकामा कृत्रिम र फेसबुके लाइक पर्खिएर रिँगटा संस्कृतिलाई उग्राएर बसेका छन् । गोठ मक्किसकेको हेक्का पनि ती अदना दोपाया जीवलाई छैन । सिङ्गो साहित्य र समग्रतामा मोफसलले अहिलेको स्तरलाई धानेको छ तर पनि मोफसल छैन भन्ने सिद्धान्तको डिङ हाँकिएको छ । पुनारो घरमा फेरि पनि भैँचालो आउन सक्छ । यसपालाको भैँचालो रोल्पा र रुकुम हैन पाँचथर र बैतडीबाट सुरूहुन सक्छ । त्यो साहित्यका मठाधीशहरूलाई पत्तै छैन ।
एउटा पुस्तक नलेख्ने मानिसहरू पार्टीको सदस्यताका भरमा एकेडेमीका आदेश दिने कुर्सीमा बसेका छन् । भागबन्डामा साहित्य, कला र संगीत एकेडेमीका टाउके र लाउकेहरू बाँडिएका छन् । कोही सुशील कोइरालाका दौराका फेर समातेर त्यहाँ पुगेका छन् भने कोही केपी ओलीका कुर्ता र कोही पुष्पकमल दाहालको कोटको बक्रम मिलाइदिएकै भरमा कमरेडी सदस्यमा भर्ती भएका छन् । कठै ! तात्कालीन कवि राजाले कति स्वच्छ हृदयले नेपाली साहित्यका महाकवि देवकोटालाई ‘फ्रेम वर्क’ गर्न लगाएर बनाएको एकेडेमीको हविगत देख्दा अहिले कलमका असली जादुगरहरूलाई कुरीकुरी लाग्छ । पाण्डुलिपिका सम्पादक दीपकजी र एनसेल लिटरेचर फेस्टिबल आयोजनागर्ने निरज र अजितहरू खुसीखुसी मनले त्यो वाग्देवीको मन्दिर पस्न पनि सायद् हच्कन्छन् होलान् ! उनीहरूको आस्थाले सरकारी साहित्यका महिसालाई नमन गर्न रहरले दिँदैन । जताततै निजामति साहित्यकारको बोलबाला बढेको छ ।
भ्रष्टाचारको मुद्दामा डामिएकाहरू अहिले फेरि धमासको भाषा बोलेर राजनीतिको राइँदाइँमा अर्को गणेश मार्काको लोलीमा बोली मिलाएर आएका छन् । ४६ सालको आन्दोलनको जनादेशले देशनिकाला र फाँसीको सजाय दिनु पर्नेजस्ता सजाय दिइनेलाई कथित (!) यो प्रजातन्त्रले पुरस्कार दियो । अहिले तिनीहरू नै कोही अख्तिायरको जिम्वाल भएर ठाउँ न कुठाउँ डुक्रेर हिँडिरहेका छन् भने कोही संसदमा आफ्नो पालिस खुइलिसकेको विचारको बमन गर्दै चटारिइरहेका छन् । जनता अँझै पनि शासकबाट हेपिएको अवस्थामै छन् । पार्टीका भाट र लठेतलाई न्यायमूर्तिको कुर्सीमा विराजमान गराउने भागवण्डाको कुसंस्कारले बलात्कारजस्तो मुद्दाका अपराधीलाई तल्लो अदालतको फैसला उल्टाएर सफाइदिने कुनियति न्यायको प्रपञ्च भएको छ । विचरा ती किशोरीको के मनोदशा भएको होला ? फैसलागर्ने कथित (?) ती न्यायमूर्तिका छोरीचेलीहरू यो संसारमा छैनन् या उनीहरूले आफ्ना नातेदारमा त्यस्तो आपद्विपद् पर्दा कसरी त्यस्तो सजायको समन गर्ने हूनन् ? हाय ! दैव तिमी छौ ? म यतिखेर यो प्रश्न देशका कानून मन्त्रीको हैसियतमा बसेका ‘नर’ उपनामधारी नरहरि आचार्यलाई सोध्न चाहन्छु । के तिमीहरूकै सोचले न्यायसेवाका लोकसेवा उत्तीर्ण गरेकाभन्दा बाहेकका पब्लिक वकिललाई न्यायूमूर्तिमा ल्याउने संस्कारको थालनी गरेका होइनौ ? यसरी समाजमा निमुखाको आँसुमा होली खेलेर आत्मालाई रुवाउने बिरालालाई घरभित्र झ्यालढोका थुनेर कुट्ने संस्कारको थालनी गर्ने हो भने अँझै समाजमा दबेर रहेका एकअनेक प्रवृत्तिहरू कि विप्लव प्रवृत्ति बनेर फेरि बागी हुनेछन् । कि अन्य कुनै न कुनै न पात्रबाट प्रकट हुनेछन् । समयले रक्तवीजहरूको जन्म नगराउला भन्न सकिन्न ।
रक्तवीजहरूको समुल नष्टका लागि अब पौराणिक युगमा भनेजस्तो देवीको अवतार नै हुनु पर्छ भन्ने छैन । मुलुकमा जोकोही पनि समय, बेला र परिस्थिति हेरेर देवी अवतारमा अवतरित हुन सक्छ । सबैमा चेतना भया ।
।। समाप्त ।।
