Skip to content


एक दिन कुनै एक मित्रको घरबाट साँझको भोजनको निम्तो आयो। समयमै घर पुगेँ। मित्रका बाबु-छोरा बैठक कक्षमा बसेर टिभी हेर्दै रहेछन्। खाना तयार हुँदै थियो त्यसैले केही बेर म पनि टिभीमै व्यस्त भएँ। अचानक भान्छा कोठाबाट केही खन्द्र्याङ्ग झरेको आवाज आयो र साथै आयो गालीहरूको वर्षा – “अलिकति ढङ्ग पनि छैन। धन्न स्टिलको भाँडो थियो र फुटेन।” अझ अरू गाली त कति हो कति।

गालीको वर्षा रोकिएपछि मित्रको छोरोले बाबुसँग भन्यो – “थाहा पाउनुभयो बुबा दिदीले भाँडा झार्नुभएछ।”

फेरी टेलिभिजनमै व्यस्त भइयो र केही बेर पछि फेरी भान्छा कोठाबाट सिसाको भाँडा झरेर फुटेको प्रस्ट आवाज आयो। अब पक्कै पनि गालीको वर्षा हुन्छ भनेर टिभीको आवाज कम गरेर भान्छातिर कान थाप्यौं। निकै बेरसम्म केही आवाज नआएपछि मैले मित्रको छोरो तर्फ प्रश्न वाचक आँखा तन्काएँ।

मित्रको छोरोले सहज रूपमा मेरो प्रश्न वाचक आँखाको उत्तर दियो – “अहिले भने सिसाको भाँडा आमाले झार्नुभएछ।”

२०७२ भाद्र ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *