Skip to content


‘खोदा पहाड निक्ला चुहा’पोष्टाचार्य (विद्यावारिधि)ले पनि त्यति ज्ञान प्राप्त गर्छ कि गर्दैन आफ्नो थेसिस् पास भएपछि र डाक्टर लेख्न थालेपछिको खुसीयालीमा । समग्र पहाड खनेपछि मुसो निस्कियो । कति निराश भयो होला त्यो अविश्रान्त र अविदित अभियन्ता ? तर जीवनको सोपानमा निराशाले कबै स्थान पाउन सक्दैन । खोज्नेलाई थाहा नै हुँदैन । म के खोजिरहेको छु । मैले पाउने के हो ?

गीतामा त्यसै भनिएको कहाँ हो र ? ‘कर्मण्ये वाधिकारास्तेमा फलेसु कदाचन:’ कर्म गर तर फलको आसा नगर । सामान्य दृष्टिले हेर्दा यो अति नै मूर्खपरक वाणि जस्तो देखिन्छ तर यसको गूढ रहस्यलाई छिचोल्ने हो भने यसले दिने अनेक र बहुप्रभावकारी अर्थले समग्र जीवनकै बास्तविकतालाई छर्लङ्ग पार्दछ । श्रमगर्ने जो सुकै किन नहोस् उसले अविश्रान्त भएर आफ्नो श्रमलाई अगाडि बढाउने हो । फल: प्राप्त होस् या नहोस् श्रमिकको कर्तव्य त श्रम गर्ने हो । फलको हेक्का राख्ने होइन । यसले कर्मवादलाई व्याख्या गर्छ ।

गीतामा ज्ञानयोग, भक्तियोग र कर्मयोगको व्याख्या छ ।

यी तीनै वादहरू सजिलोसँग हेर्दा विदित जस्ता देखिन्छन् र गहिरोसँग हेर्दा अविदितजस्ता देखिन्छन् । गोलचक्कर छ दुनियाँ पनि बाहिरबाट हेर्दा विदितजस्तो भित्र पसेपछि अविदितजस्तो । हाडेओखर ।

बिरामी भएर थलिएका (यी हरफ लेख्दाताकसम्म) प्रिय कवि मोहन हिमांशु थापाले आफ्नो चर्चित कविता ‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ लेख्दाको अन्तर्य सुनाएका थिए । उनी भन्थे –म काव्य गोष्ठीको निम्ता मान्न त्यसबेला पोखरामा थिएँ । खाईपिई गरेर सुतेको थिएँ । राति सपनामा एउटी षोडसी आइन् । हातमा फूलअक्षताको थाली लिएकी ती सुन्दरीले मलाई मेरो शयनागारमा आएर फूलप्रसाद दिन खोजिन् । मैले सपनासपना मै कविताको दुई हरफ गुन्गुनाएँ ।’

‘म आफ्नो देशको पहरामा हुन्छु । म आफ्नो देशको छहरामा हुन्छु ।’

थापाले फेरि थपे –‘मिठासमिठास मै निद्रा खुल्यो । सुन्दरी अलप भइन् । दुई हरफ कवितांश छोडेर ।’

बीस वर्ष पहिले । २०५१ सालमा कवि मोहन हिमांशु थापाले सुब्बा कृष्णलाल स्मृति सेवा समितिको कार्यक्रम दौरानमा रामेछापको मन्थलीमा दर्शकदीर्घालाई रोमाञ्चित बनाउन मात्र होइन । आफ्नु उपरोक्त चर्चित कविता लेखनको अन्तर्य बाँड्दै कुरा भनेका हुन् ।

बूढा अहिले ओच्छ्यान परेका छन् । भेट्न नपाएको पनि जुग भयो ।

लेखनका गुत्थी हुन् या अभिनयका आलम्बनहरू ती तालिमका भरमा होइनन् अविदितका सारथिभएर नै जीवनको नौका अगाडि बढेको पाइन्छ । व्यक्तिको अन्र्तशक्तिलाई कम आँक्नै मिल्दैन । मानिसले चाह्यो भने ऊ कहाँबाट कहाँ पुग्छ । खप्तड बाबाकै दृष्टांश लिऊँ न उनी आफ्नो जमानाका नामी र दामी एलोपेथिक डाक्टर तर जब एउटा सानो केसमा एउटा बच्चाको ज्यान बचाउन उनी र उनको एलोपेथिक औषधी प्रविधिले काम गरेन अनि उनी हानिए डोटीको खप्तड लेकमा । औषधीको खोजीमा होइन । प्रकृतिको अथाह शक्ति र अदृश्य शक्तिको पारम्परिक पाइन्मा । जिन्दगीभरि नै उनी त्यस्तो अगम्य लेकमा बसे जहाँ मानव त के जनावरहरू पनि अत्यल्प संख्यामा थिए उनी वरिपरि ।

एकान्तवस्थाले सिर्जनालाई मलजल प्रदान गर्छ । कवि र कलाकारहरूलाई एकान्त दिन सकियो भने उनीहरू अँझ बढी क्रिएटिभ हुन सक्छन् । हल्लामा सिर्जनको गुञ्जायस हुँदैन । चराको कलरव होस् या नदीको नाद् ती दुवैमा निरवताको अंश सन्निहित रहन्छ । फलत: खोजीको विहंगम यात्रा तिनैमा पुष्पित र पल्लवित हुन्छ ।

वाणी शक्तिले अहर्निष अभिव्यक्ति प्रशारण गरेर मानिसलाई बुझाइरहनुभन्दा चर्मचक्षुले नै सही केवल हेराहेर गरेर नै अनन्त शक्ति प्रशारण गर्न सकिन्छ । सायद् प्रेमीप्रेमिकाले एकान्तस्थलको फाइदा उठाएर वाचाल मुद्रामा गरेको उद्दीपन विभाव प्रशारणार्थ अमूक संवादमा जति आनन्दको शिखर आरोहण गर्न सक्छन् त्यति अन्यले सक्दैनन् । सोपानका सहारामा पनि अविदितकै यात्रा उत्कर्षमा पुग्न सक्छ ।

देवकोटा अविदितको यात्रामा रमाउन चाहन्थे । उनले लेखेका हजारौंथरि लेखरचनाले त्यही पथको अवलम्बन गरेका छन् । निर्बन्ध उडानमा जो जोखिममिश्रित आनन्द हुन्छ त्यो बन्धनसहितको जीवनमा हुँदैन । दश दिक्पाललाई ख्याल नगरी उड्नेलाई थाहा हुन्छ धर्तीलाई हेरेर आकाशगंगा समाउने उद्देश्यसहित उड्नुको मज्जा । दावानलले वनका खुरीखण्ड भएका झिक्राझिक्रीदेखि ठूल्ठूला रूखहरूलाई पनि एकै निमेषमा जसरी हुर्हुरी डडाइदिन सक्छ त्यसैगरी भोकको ज्वालाले उदरमा समाहित भएका रूखासुखा जे हुन् सबैलाई पाचनरस उत्सर्जित गरी पचाइदिन सक्छ ।

चौका चँदुवाको फर्फराइसँगै आफू जन्मिएको जन्मघरबाट परायाघरमा जाँदै गरेकी नव दुलहीको यात्रा के अविदित होइन र ? परीक्षामा जाँदै गरेको सानो गुथुमुने बालक जसले आफ्नो नर्सरी कक्षाको मिसलाई नै संसारको सबैभन्दा जान्ने मानिसमा लिएको हुन्छ । उसले गरेको कल्पनात्मक परिणाम के अविदित यात्राको पहेली होइन र ? संगीत नभरिएका गीतका फाँकीहरू हुन् या विमोचन नगरिएका आख्यानका ठेलीहरू हुन् सबैसबै अविदितको यात्रामा यात्रारत सन्दर्भहरू हुन् । समुद्रको यात्रामा निस्किएका ती नाविकहरू जसले हप्तौं र महिनौंसम्म पृथ्वी स्पर्श गर्न समेत त के देख्न पनि पाएका हुँदैनन् । तर पनि तिनीहरूको यात्रामा मिल्ने रोमाञ्चकतालाई अवर्णनीय आनन्दका रूपमा लिन सकिन्छ ।

आत्माको सम्मिलन परमात्मामा हुनु पनि अविदित कै महायात्रा हो । मानिस भएर जन्मेका प्राणीलाई जब औपचारिक शिक्षा दिएर सांसारिक जीवनका विषय र वासनाहरू सिकाउन थालिन्छ त्यहाँ उसले क्षणपलमा नै अनेकानेक सूत्र र थ्योरमलाई मान्यता दिँदै सिक्नुपर्ने हुन्छ । त्यस्तै अति नै दुष्कर मानिएको आरोहण यात्रामा निस्किएका पर्वतारोहणका यात्रीहरूलाई श्वेत हिमालयका शृङ्खलाहरू देख्दा असिम अलौकिक रोमाञ्चानुभूति हुँदो हो । गोरखधन्दालाई सजिलोसँग चलाउनका लागि हिमलिनीको सिरानी लगाएर औ सानिध्यमै रहेर समाहित भएका अति साहसी सेर्पा र कहिल्यै हिमाल नदेखेका कैला आँखा र आँत भएका म्लेच्छ जातिले गर्ने आरोहणको अनुभूतिलाई एकाकार रूपमा त पक्कै लिइँदैन होला । प्रातिशतिक भए पनि पृथक्पृथक् त हुने गर्छ नै जीवन भोगाइका छाल र प्रतिछालहरू ।

पानीको पामर कति छ ? त्यो कि पानीसँग डराउनेलाई थाहा हुन्छ ? कि पानीसँग जिन्दगीभर लडेर सौहार्द्रपूर्ण वीरत्वको मेखाला परिहिएका गोताखोरहरूलाई ज्ञात हुन्छ । आकारविहीन, रङविहीन र स्वाद्विहीन सलिल नै संसारको त्यस्तो तरल पदार्थ हो जसको जुनसुकै स्थानमा सजिलैसँग समाहित हुने विशेषता रहेको हुन्छ । लघु–बृहत्, कोमल–कठोर, निकट–दूर, स्व–पर, लोक–परलोक, लौकिक–अलौकिक, कर्कष–शान्त र अन्र्त–वाह्यजस्ता हरेक विशेषताले विभूषित ठोस, तरल र ग्यास पदार्थका अणु र परमाणुहरूको अक्षीय र कक्षीय यात्राहरू हुन् या पागलसरिका वैज्ञानिकहरूको आविष्कारीय सुखद् एव म अकल्पनीय क्षण जसमा उनीहरू आफूभित्रको असिम खुसीलाई रोक्नै नसकेर युरेकायुरेका शब्दमा व्यक्त गर्दै उफ्रन्छन् । के त्यसमा अविदितको जोखिम मोलिएको हुँदैन र ? अवश्य हुन्छ ।

जोखिम नमोलिएको प्राप्तिभन्दा खम्भीर भएर जोखिम मोलिएको प्राप्ति नै हजारौं–लाखौं गुणा मिष्ठ हुन्छ । पसिना बगाएर गरिएको परिश्रमले पाएको तालीभन्दा सुतीसुती पाएका जुनसुकै र जत्रासुकै दामका पुरस्कारहरू पनि मौलिक विद्वान्विदुषीलाई निको लाग्दैन । लाग्नु पनि हुँदैन । जसरी भोकका प्रताडनामा ग्रहण गरिएका बेस्वादु वा सुस्वादु व्यञ्जनहरूलाई उदर भण्डारण शक्तिले नकार गर्दैन गर्नु पनि हुँदैन । पानीले उसले बगाउने जेसुकै वस्तुलाई पनि समगतिमा बहाएर लैजान्छ ।

जल र पवन नै धरा र व्योमका त्यस्ता वस्तु हुन् जो हर मानवाकृतिलाई नि:शुल्क प्राप्त छन् । सशुल्क हुन् या निशुल्क ती मानवलाई अनिवार्य छन् । ऐच्छिक छैनन् । होइनन् ।

खोजेजति त कहिल्यै पनि पाइँदैन । मरे पनि पाइँदैन । पाइँदै पाइँदैन ।

नामथर बिर्सिएँ । एकजना विदेशी विद्वानले भनेका छन् –कायरहरू जीवनको आधा उमेरसम्म योजनामै सीमित हुन्छन् अनि बाँकी उमेर त्यो काम नगरेको ठिक भयो । गरेको भा असफल होइन्थ्यो भनेर गम्छन् ।

गीतगंगाले पनि निराशानै दिएका छन् । कताकतै । ‘खोजिएको आफ्नो हैन । भेटिएको नै हो ।’ गीतले भनेको ठिक हो । नखोजी भेटिँदैनन् । भेटिएकाहरू नै खोजिएका हुन् । तर भेटिन्छ भनेर नखोजी चुपो लागेर बस्ने हो भने प्राप्ताशाको फुल खोलिन बेर लाग्दैन ।

बीसवर्षसँगै पढाएर एकजना अति नै अध्ययनशील र मन मिल्ने नारायण सुवेदी नामका आदरणीय गुरु रिटायर्ड भए । नक्कली दाँतलाई फुकालेर फेरि मुखमा सिउरिँदै उनी बेलाबेलामा अर्तीमिश्रित स्वरमा रोमाञ्चपाराले भन्थे –पेशलजी तपाईंलाई थाहा छ ? छोराछोरीमा गरिने जुनसुकै लगानी पनि संसारको त्यस्तो जोखिमपूर्ण लगानी हो । जो सन्तान सफल भए पनि असफल भए पनि बाउआमा अन्तमा रित्ताका रित्तै हुन्छन् ।

म छक्क परेँ । आफू अहिले सन्तान सुखका लागि भएभरको बल निकालेर शिक्षामा लगानी गरिरहिएको छ । हो कि क्या हो ? जस्तो लाग्न थालेको छ ।
विदेशिएका सन्तानका आमाबाका कुरा सुन्दा पनि सोरै आना सत्यजस्तो लाग्छ । मानौं कि नमानौं । मान्दा पनि सुख छैन । नमान्दा पनि सुख छैन । होला कसैकसैका सन्तानले गर्दा होलान् त्यसै पनि । घरमा सम्पन्नताको भरिभन्नका बीच आफ्ना बाआमालाई झुक्याएर वृद्धाश्रम पुर्याउने छोराछोरीको पनि यहाँ केही कमी छैन । अघिको दु:ख ‘मिठो झन्झट’ र पछिको दु:ख ‘तीतो झन्झट’ मानिने जो परम्परा छ । त्यसलाई पनि के भन्ने ? उहिलेका बूढापाका त भन्थे नै– बाघले खाए पनि किलो रित्तै । भीरबाट लडे पनि किलो रित्तै । गुँडबाट उडेका चराका बच्चाहरूले छाडिराखेर गएको रित्तो र सुली नै सुलीले भरिएको घरझैँ हुन्छ छोरी अन्माएपछिको माइतीघर । अनि परदेशिएका छोराहरूले छाडेर गएको घर हुन्छ –चराको इथिक्स भएको घर ।

हो रहेछ । जीवन त रित्तो पो रहेछ । नपढिएको पुस्तक । नभोगिएको मानिस । नहिँडिएको बाटो । नपाइएको दु:ख । नसुनिएको गीत । नहेरिएको सिनेमा । पीडा नपाइएको प्रेम । आदिआदि । के भन्नु के नभन्नु ?

‘बम्बैका लड्डु जो खाया ओभि पछ्ताया । जो नही खाया ओभि पछ्ताया ।’ हिन्दीको यो मुहाबराले पनि त्यही कुराको उद्देलन गरेको छ । मिथकका कथामिश्रित उखानटुक्काले जहिले पनि मानिसलाई दिशानिर्देश गरिरहेकै हुन्छन् ।

थेसिस सिकाउँदा त्रिभुवन विश्वविद्यालयका एकजना अङ्ग्रेजीका प्राध्यापक थिए –मिश्र थरका । उनी भन्थे –सिद्धान्तले, दर्शनले, तर्कले, मीमांशाले र अध्ययनले कतै पनि प्रमाणित गर्न सकेनन्, पुष्टि हुन सकेनन् भने कल्पनाको शक्तिमा जानु । त्यहीँ थेसिसको अपार गुत्थी लुकेको हुन्छ । तालिम लिँदा त केही पनि बुझिनँ तर पछि भोग्दै जाँदा पो थाहा लाग्यो । हो रहेछ ।

अन्र्तवैयक्तिक शक्तिले संसारलाई नियाल्ने जोहो गरिएको रहेछ –त्यो ।

भन्छन् नि सन्त र ज्ञानीहरू । आँखा खोलेर नदेखिएका कुराहरू आँखा चिम्लेर देखिन्छन् । चर्मचक्षुको लघुताभाष भनेको यही हो । जब आँखाले देख्न छाड्छन् अनि मनले देख्छ । इन्द्रीय संवेद्य ज्ञानमा पनि यही कुरा लागू हुन्छ ।

अरू मानिसलाई केकसो लाग्छ ? मलाई भने नदेखिएको ठाउँ र देखेको ठाउँमा आकास जमिनको अन्तर लाग्छ । तर जो देख्नु अघिको अविदित स्थान हुन्छ त्योभन्दा विदित ठाउँ कसोकसो खल्लो लाग्छ । किन त्यस्तो भएको होला ? अहिलेसम्म आफूभन्दा जान्नेलाई सोधेँ । कसैले यसैभन्न सकेका छैनन् ।
चितवनमा त्रिसठ्ठी सालमा एउटा मास्टरटटको तालिम लिन जाँदा एकजना अन्तर्मुखी प्रशिक्षकले भन्थे –प्रत्येक पटकको भेटमा मानिस खुल्दै जान्छ र अघिल्लो पटकको रहस्यको पर्दा हट्दै जान्छ । किन ? कसरी ? भनेर सोध्दा उनी शंकर लामिछानेको दृष्टांश दिन्थे । भत्ताको तातोले रापिएका बेला सूक्ष्मातिसूक्ष्म त्यस्ता कुराले मगजमा घर बनाएनन् ।

कुरोको चुरो अर्कै हो ।

जानेर साध्य छैन । नजानेर पनि साध्य छैन । गाउँकी एउटी आमा हुनुहुन्थ्यो । आफ्नी अली लठेब्रीलठेब्री पाराकी छोरीको तालसुर देखेर भन्नु हुन्थ्यो –यसले के गरी घर खाली ? तर अर्ती दिने आमा बितेपछि तिनै लठ्ेब्रीले राम्ररी घर गरी खाइन् । लोग्ने असल परेछन् र कमाऊ पनि । भाग्य पनि जन्ँिमदै आउँछ भन्थे हो रहेछ, कि क्या हो ?

बाउआमा एउटै, स्कुल एउटै, मास्टर एउटै, घरमा खाने दानापानी पनि एउटै, तर दुई दाजुभाइमा एउटा लेखाको घगडान् कर्मचारी बन्यो । जिन्दगीभरि चेक काटेर नसकिने गरी जागिर खाइरहेछ । दोस्रो, विचरा अर्काको धान माडाबनीमा काट्छ । जन्मिँदै आउने रहेछ भाग्य । के थाहा ? कसको के ? कसको के ? अन्तर्वार्ताका क्रममा एनेकपा माओवादीका डा. बाबुराम भट्टराई भन्थे –त्यो जमानामा हामी भाग्यले जन्मेका अनि संजोगले हुर्केका । डाक्टरसाहेबको भनाइको गुत्थी जुन जमानामा वहाँहरू जन्मिनु भयो र बाँच्नुभयो । त्यस समयलाई भन्नुभएको हो ।

मैले पढाएको पच्चीस वर्ष भयो । उहिल्यै कानून व्यवसायको अभ्यास गर्दा एकजना पुराना वकिल भन्थे –दस वर्ष मुद्दा खेप्यो भने कुनै झगडीया आफैँ वकिलजस्तो हुन्छ रे ! अहिले मैले पढाएको अनुभवलाई खारेर भन्यो भने पनि स्कुलमा ब्याक बेन्चर जति विद्यार्थी थिए । ती सबैले जीवनमा अनौठाअनौठा नाम राख्ने खालका काम गरेका छन् । जो फाइँफुट्टी छाँटेर टपटेन भित्र पर्दथे तीमध्ये सबै अब्बल भएका छैनन् । एकादुएक मात्र ठूला भए तर असल भएनन् ।

ब्याक बेन्चर सफल र असल दुवै हुनु तर फ्रन्ट बेन्चर चाहिँ सफल मात्र हुनु आखिर के हो त ? कुन तत्वले घर गरेको छ, यसमा ?

मान्छे मारेर थुनामा जाकिएको मानिस आखिरमा निस्किएपछि बेमिसाल धर्मभीरू बन्छ । जिन्दगीभरि माछामासु खाएर छड्छड् गरी हान्ने गोरुझैँ हिँडेको मनिस चालीस कट्ने बित्तिकै त्रिपुण्ड धारण गरी भरसक श्रीवैष्णव नभए पनि निम्मार्गी वैष्णव त अवश्य बन्छबन्छ । तृप्त भएपछि मात्रै छोड्ने रहेछ मानिसले सबैथोक । तृप्तिको त्यान्द्रो समातेर जगत्मा कसलाई कति समय कसलाई कति समयको नियतिले घुमाइरहँदो रहेछ ।

ज्ञाताज्ञात छ यो भगसागर पनि । मैले जानेका एकजना उपत्यकामै पढाउने पेसामा आबद्ध उपप्राध्यापक छन् । तिनी आफ्नो बातै पिछे –तपाईंलाई थाहा छैन । भन्ने थेगोको सहारामा अनि मात्र आफ्ना कुराको कहिरन हाल्छन् । विचरा आफू त एक विषयमा जम्माजम्मी एम्ए गरेका प्राणी हुन् । बातैपिछे सोभन्दा उनलाई आफू निकै सेर भएको भान हुँदो रहेछ । संगतको कुहिरो निकै बाक्लो भएपछि मैले एकदिन धक मानेरै उनलाई सो उनको थेगोपरक बानी सच्याउन भनेको थिएँ । विचराले उत्तिखेर कानै रातो पारेका थिए । पछि यसो विचारेँ । उनले आफ्नो बानी छोडेका रहेनछन् ।

आखिरमा कसैले बुझेको हुँदो रहेनछ यो संसारको गुह्यसार । भवसागर ।

‘भएको समुद्र’ त हो नि जीवन पनि । सबैको आफ्नै मौलिक र पृथकाभिमुख छ । अध्ययन, अनुभूति र अक्कल ।

जीवन चलाउनका लागि बुद्धि र बठ्याइँ त चाहिने रहेछन् नि । साक्षर/निरक्षर, शिक्षित/अशिक्षित, सभ्य/असभ्य, गँवार/पाखे सबैका लागि कि बुद्धि कि बठ्याइँ नै हो जीवनको ओलन पनि । धानचामल जस्तै हो यो पनि मानिसका लागि । कसैमा कुन तत्व बढी हुन्छ । कसैमा कुन तत्व बढी हुन्छ । बुद्धिले बठ्याइँलाई छोप्ने कि ? बठ्याइँले बुद्धिको नेतृत्व लिने हो ? के थाहा ? कुन तत्वले मानिसलाई सफल बनाउँछ ? यो आजपर्यन्त कसैलाई पनि थाहा भएको छैन ।

न चित्रकारले । न लेखकले । न बेपारीले । न राष्ट्रसेवकले । न पत्रकारले । न अध्यापकले । सबैले आफू अनुकूलका व्याख्यामा बुझेर बुझेजस्ता देखिएका हुँदा रहेछन् । सबै आआफ्ना कथा, उपकथा, थेगो, उखान, र तर्कको कन्धनी समातेर बठ्याइँको पिङ मच्चाउँदा रहेछन् । कसैलाई पनि आफ्नो भाग्य, रोग, आयु र मृत्युको बारेमा केही थाहा हुँदो रहेछन् ।

जीवन नै लाटाले गुलियो चाटेजस्तो रहेछ । गुलियो भन्ने स्वाद् थाहा पाए पनि अनुभूति बताउन नसक्ने कस्तो मौन अनुभूति ? मानौं गैरानुभूति । स्वगतानुभूति । वा अल्पानुभूति । कठै स्वाद् थाहा भएर पनि बताउन नसकिने बेस्वादे अनुभूति ।

साना केटाकेटीमा भातपकाइ खेल्दा आमाबाले मायालु पारामा गाली गर्दा हामी संसारका सबैभन्दा ठूला र जान्ने मान्छे नै बाआमालाई मान्थ्यौं । पछिपछि बाआमाभन्दा स्कुलका मास्टरलाई जान्ने ठान्न थाल्यौं । अलिपछि स्कुलकाभन्दा कलेजका मास्टरलाई जान्ने ठान्न थाल्यौं । सीप सिकेर काममा आएपछि त्यो भ्रम पनि हरायो । आखिर कोही जान्दा रहेनछन् । आफ्नो सवारी हाँकेजस्तै पो रहेछ जीवन त । लेन अनुशासन पालना गरेर हिँड्नुजस्तै । राजमार्गमा भनेपनि । जनमार्गमा भनेपनि ।

षट्रस पस्किने ऊर्जाशील धरतीलाई के ज्ञात हुन्छ र ? कहाँ गुलियो उब्जाउन सकिने तागत छ ? तीतो, टर्रो, अमिलो, नूनिलो र पिरो यी पाँचै रसको स्वाद् मानिसले लिने न हुन् । माटो न पानी कसैले लिन सक्दैनन् ।

डाडुले स्वाद् नलिएजस्तै हो । कुकर या तसलाले मुख मिठ्याएको कहीँ पनि देखेको छैन । रामजाने । के थाहा केले गराउँछ ? केले ?

यति भनेर धर कहाँ पाइन्छ र ? मोक्षका लागि पनि खोजी नै मार्ग हो । सबै माओवादी जस्ता कहाँ हुन्छन् र मान्छे काटेर मान्छेकै मुक्तिको खोजीगर्नेहरू । ‘कोही पनि बेठिक छैन’ संसारमा यस्तो दर्शनको पनि प्रतिपादन भएको छ –सन् १९८० को दसकमा अमेरिकामा ।

अगम्यताभित्र पनि मानवले खोज्ने रहेछ । दुरुहतामा पनि मानवले नियाल्ने नै रहेछ । जटिल, पर्गेल्न कठिन र अकल्पनीय गाह्रा विषयहरू पनि एकसेएक समाधानका गुत्थी लिएर आएका हुन्छन् । समस्याभित्र नै समाधानका पहेलीहरू रहेका हुन्छन् । नियाल्न सक्नु पर्यो । खोज्न सक्नु पर्यो । भन्न खोजिएको चाहिँ सपाट के हो भने । खोजी सधैँ थाहा भएको क्षेत्रमा मात्र हुँदैन । विदितभन्दा अविदित समुद्रमा हेलिन मज्जा आउँछ – आँटी र जो कोही रौसेलाई । अहिले हामी अलिअलि अङ्ग्रेजी खारेकाहरू काउन्सिलिङ् भन्छौं । माने रौस्याउनु नै त हो । उहिले रौस्याउँथे । बाहरू । हजुरबाहरू । अहिलेका नातिहरू काउन्सिलिङ् गर्छन् । समयले रङ बदलेको हो । कुराको चुरो उही हो ।
रूप फरक सार उही । सोमरस फरक मात उही ।

‘पढेरभन्दा परेर जानिन्छ’ –भन्थे पुर्खाहरू ।

‘गाउँभरिको भाले, घरको पोथी’ कम मार्मिक छैन यो उखान पनि । संसारलाई बुझाउने गुरुगुरुआमाका सन्तानहरूले आफ्ना बाबाआमाका बोर्डिङ्स्कुलमा पढ्न मन पराएनन् अरे । क्याबात् यहाँ माथिको उखान नै आकर्षित भयो । माया, ममत्वमा पनि शिक्षा दिन सजिलो छैन । जति धेरै लाड प्यार उति धेरै हेलचेक्र्याइँ ।

बाउआमालाई बाल मतलब नगर्ने सन्ततिको जमात अहिलेको यो हाइटेक युगमा बढ्दै गएको छ । अहिले म पैंसठ्ठी कटेकी आमा र सत्तरी कटेका बाबुलाई नजिकबाट स्याहारसुसार गरेको अनुभूतिले जीवन जिइरहेको छु । टाढाबाट लोकाचार र चेब्य्राइँ घसेर मिठोसँग भुल्याउने तर नजिक आउन नसक्ने क्यानाडा र अष्ट्रेलियामा पिआर लिएर बसेका सुकिलामुकिला एनआरएन विशेषणले सुशोभित सन्तानभन्दा बरू दिनैपिछे रूखोसुखो खुवाउने मैलाधैला तर नजिकका सन्तान नै बेस् ।

आत्मप्रवञ्चना होइन हो, यो ।

सत्यको प्रवचन गरेको हो । सत्य पनि अहिले हारिरहेको यो युगमा नजाने मैले पनि आफ्ना विदेशिएका दाजुभाइबाट कतिपटक हेलाहाँसो सहनु पर्ने होला ? के ठेगान ? को कतिखेर आफ्नो र को कतिखेर आफ्नो बिरानो हुन्छ ? केही भन्न सकिँदैन ।

विदित/अविदितको गीत कहिलेसम्म गाउने हो ? कहिलेसम्म रहने हो ? सत्यांश पनि र मिथ्यांश पनि थाहा छैन ।

पेशल आचार्य
महालक्ष्मी नपा –१०, ललितपुर
हाल : सहायक प्राचार्य,
मन्थली उच्च माध्यमिक विद्यालय, मन्थली

Leave a Reply

Your email address will not be published. Required fields are marked *